“वुवा मलाई एक जोडी टि सर्ट र पेन्ट त नभै हुँदै हुँदैन । मैले त भन्दिएको छु नि ।” माईली छोरीले दशैको डिमाण्ड तेर्स्याइन ।
“मलाई त टि सर्ट र पैण्टले मात्र पुग्दैन । त्यसमा मिल्ने एक जोडी स्याण्डल पनि चाहिन्छ ।” ठूली कान्छीको यो डिमाण्ड हो यो ।
“कान्छी छोरीको डिमाण्ड भने लुगा फाटा तिर नभएर दशैमा खसी ल्याउने तर्फ केन्द्रित थियो । उनी भन्दै थिइन – “मामु वावालाई यस पटक त खसी ल्याउनु पर्छ भन्नुहोस् है । पल्लाघरमा त अस्ति नै कति ठूलो खसी ल्याई सके । दशैमा मार हान्ने अरे । हामी पनि मार हान्नु पर्छ ।”
“हो त्यो दशैमा मार त हान्नै पर्छ नत्र त दशै आए जस्तै हुँदो रहेनछ । पोहोरसाल मार नहान्दा दशै आए झैं लागेन ।” ठूली कान्छीले सानी बहिनीको कुरामा सहमती जनाई ।
“मासु त अरुकहाँबाट ल्याएर खाए पनि हुन्छ तर लुगाफाटा चाँही ल्याउनै पर्छ । नत्र म त टिकै लगाउँदिन बरु त ।” भित्रैबाट कान्छो चिच्यायो ।
“तलाई खाली लुगा मात्रै अस्ति मात्र आमाले सर्ट पैण्ट ल्याइदिएको होइन ।” ठूली कान्छीले भाइको कुरामा असहमतीको पोको फुकाई ।
अरुको भन्दा जेठो छोरा विजयको डिमाण्ड पनि कमको थिएन । उसले गत साल देखि नै आमालाई डिङ्गो जुत्ता चाहियो भनेर पिरोलिरहेको थियो । यसपाली भने जसरी भए पनि त्यो डिमाण्ड पूरा गराउने सुरमा थियो जेठो । साथीहरुको अघि उसलाई मुख देखाउन नै नहुने भएको थियो । हाट वजार जाँदा होस या अन्यत्र कतै जाँदा होस ऊ डिङ्गोको अभावमा आफूलाई होचो भएको महसुस गर्दथ्यो । कहिलेकही त डिङ्गोको अभावले होला कही कतै जान पनि अल्छिी गर्दथ्यो । तर साथीभाइलाई भने अरु नै बहाना वनाउँथ्यो । जुत्ता नभएर नगएको भन्दैनथ्यो । उसका साथीहरुले लगाउने गरेका कपडाहरुको त भनेरै साध्य थिएनन । खै के के हुन के के हुन । थरी थरीका थिए । केहीसंग त हिरो हण्डा वाइक पनि थिए । उसले भने जावो एकजोडी डिङ्गो त हाल्न नसकिरहेको अवस्थाामा हिरोहण्डा हाल्न सक्ने त कुरै थिएन । तर जसरी भए पनि जे गरेर भए पनि उसले यसपाली त्यो डिमाण्ड भने पुरा गराउनु थियो ।
श्रीमती सुधाको डिमाण्ड पनि उतिकै चर्को थियो । “सुन्नुहोस है प्रभाका वावा मैले भन्दिएकी छु नि । यतिका साल पछि जुवाई आउने । दशै त राम्रै गरी मान्नु पर्छ है । कुटुम्बको ईज्जत पनि त राख्नै पर् यो । रिनपान गरेरै भए पनि एउटा खसी त ल्याउनै पर्छ । केटा केटी पनि अस्ति देखि नै खसी खसी भनिरहेका छन । खसी पनि ठूलै चाहिन्छ । पाहुना पासा पनि थुप्रै आउलान् । भान्जा भान्जीहरु छन । कान्छी नानीका छोरीहरु पनि यसपाली त मामल गइन्छ दशैमा, मामल नगएको पनि धेरै भयो भन्दै थिए अरे । ठूल्दिदीका सन्तानै आउँछन नजिकै छन ।”
सवैका डिमाण्ड सुनेर प्रभाकर लखतरान पर्छन । एउटा सानो जागीर । खाने मुख त्यति धेरै । जावो माष्टरी जागीर त्यसमा पनि निमाबीको कति नै हुन्छ र ! जागीरले त महिना मर्नै भ्याउँदैन । कहिलेकही त पछिल्लो महिनाको तलव पनि अघिल्लै महिनामै सिद्धिन्थ्यो । झन यसपाली त सरकार वन्न सकेकै थिएन । सरकार वन्न नसक्दा आन्तरिक खिचातानीले गर्दा वजेट नआउँदा दशै पेस्की त परै जाओस तलवै पनि पाउने अवस्था थिएन । उनी असमन्जसमा पर्दै सोच्न थाल्छन यो दशै होकि दशा हो भन्दै ।
(स्रोत : KhassKhass.com )