कथा : नौलो सेवा जेड्प्रेस

~पूर्ण ओली~Purna Oli

“कहाँ आइपुग्यौ ?” मोबाइलमा उसको निरन्तर घण्टीले आतुरी जनाएपछि मैले उसलाई सोधेँ ।

“खोइ ? अँध्यारोमा ठाउँको नाउँ थाहा भएन । अब एकसय किमि बाँकि लेखेको छ ।”

“ए हो ? यताबाट पनि एक सय किलोमिटरको दूरी छ । अहिले त्यताजस्तै यताको बाटो पनि राम्रो भैसकेको छ रे । अब तिमीहरु र म संगसंगै एकाबिहानै पुगिसक्छौँ । मलाई ढिलै भएछ भने पनि आधा घण्टा बढी लाग्ला । बस स्टेशनमा पर्खँदै गर्नू । म आउने बित्तिकै उपचारको काम शुरु गर्नुपर्छ ।” मैले उसलाई आश्वासन दिएँ । ऊ उपचारको लागि आफ्नी बिरामी आमालाई ल्याएर आउँदै थिई ।

“भोलिको कि ? पर्सि बिहानको कुरा गरेको हो, भाइ ?” मसंगै हिँडिरहेको एउटा यात्रुले मलाई सोधे, संगैका अरु यात्रुहरु गललल हाँसे । मैले आश्चर्यसूचक नजरले उनीहरुलाई हेरेँ । उनीहरु झन् पेट मिचिमिचि हाँस्न थाले ।

नौलो सेवा सञ्चालनमा ल्याउने अन्तिम बस आज बिहानै छुट्ने हल्ला सुनेको थिएँ । यता बसुन्जेल यस्तो सेवा उपभोग गर्ने अवसर पाइएको थिएन तसर्थ उक्त अवसर नगुमाउने उत्कट ईच्छा जागेकोले म यही बसबाटै आजको यात्रा गर्ने सुनिश्चित गरी बिहानै चार बजे नै बस स्टेशनमा आइपुगेको थिएँ । टिकट लिनु पहिले सिट हेर्नु पर्यो भनी बसको ढोका खोजेँ बसको ढोका भेटिन । बसको चारैतिर एकफन्का घुमेपछि बल्ल ढोका फेला पर्यो । यो बसको ढोका पछाडितिर एउटा मात्र रहेछ । ढोकाभित्र मन्टो छिराउने बित्तिकै अमिलो दुर्गन्ध नाकैमा ठोक्किएकोले अघि बढ्न हिम्मत गर्न सकिन । अनि एकहातले नाकमुख थुनी बल्लबल्ल भित्र पसेँ । भित्र निष्पट्ट अँध्यारो भएकोले सिट नै ठम्याउन सकिन । म छामछुम गर्दै अलिकति अघि सरेँ ।

“ए, यता होइन पछाडिका सिट सबै बुक भैसकेको छ । अगाडि जाऊ ।” भन्दै एकजनाले मलाई अघिल्तिर धकेल्यो । त्यसपछि धक्कमधक्का शुरु भयो । मेरो हात नाकबाट छुट्यो । गाडीभित्र पाइने सबै प्रकारको गन्ध एकैसाथ नाकमा ह्वात्तै पस्यो ।

“आँखा देखिन्न कि क्या हो ? काँ मेरो हात समातेको !” आइमाइको स्वर थियो यो । उसले मलाई बेस्करी चिमोटी । ‘ऐया’ भन्न नपाउँदै “मेरो टाउकोमा कुल्चिने को हो यो ?” भन्दै अर्काले एक मुक्का मेरो जीउमा हिर्कायो ।

“काँ बस्न आँटेको यो त मेरो जीउ हो ।”

“मरेँ नि ! मेरो खुट्टा त बेसरी पिल्सियो !” अर्काले लात्तीले हिर्कायो ।

मैले सिट छाम्दाछाम्दा रित्तो त के भरिएको एउटा सिट पनि भेट्टाउन सकिन । जताकतै मान्छे खाँदिएर बसेका छन् । धकेलिँदाधकलिँदै म बसको सबभन्दा अगाडिको भागमा पुगिसकेछु । बल्ल एउटा नरम सिट भेट्टाएकोले त्यतै गुडुल्किएँ ।

“मैले त टिकट लिन नै पाइन । अब टिकट लिन कसरी बाहिर निस्किने होला ? कन्डक्टरले टिकट चेक गर्न आउँदा फेरि कचकच गर्ला । तपाइँले टिकट लिनुभो दाइ ?” मसंगै बसेको एकजना यात्रुलाई सोधेँ ।

“के रे ? के भनेको ? मैले तिम्रो केही लिएको छैन । त्यत्तिकै अर्कालाई आरोप नलाऊ है ।” उसले कानैखाने गरी मलाई हप्कायो ।

बसमा यात्रुको कल्याङमल्याङले गर्दा संगैको यात्रुले के बोलेको हो, केही बुझिदैनथ्यो । बच्चाहरु चिच्याइरहेका थिए । यात्रुहरु हल्लाखल्ला गर्दै थिए, बाहिर आफ्ना मान्छे छोड्न आउनेको हल्ला त्यत्तिकै थियो । बससम्म पुर्याउन आउनेहरु प्रायः डाँको छाडीछाडी रोइकराइ गरिरहेका थिए । त्यसैमा गाडीभित्र लाउडस्पिकरबाट गाना घन्काइएको थियो । गाडीको हर्नको चित्कारले नजिकको पहाडै फोर्ला जस्तो गरिरहेको थियो । पक्का पनि मैले सोधेको नबुझेर बुढा रन्किएका होलान् भनी मैले लख काटिहालेँ । अनि उनको स्वरभन्दा झन् ठूलो स्वर लगाउँदै म पनि चिच्याएँ, “बसको टिकट भनेको मैले । टिकट लिनुभो तपाईँले ?”

“अलि बिस्तारै बोले पनि सुनिहाल्छु नि म, कानै खानेगरी कराउनुपर्छ त ?” ती वृद्ध यात्रुले मैलाई उल्टो हप्काए । अनि केही बेरपछि मलाई सोधे, “के हो भाइ ? नौलो सेवाको बसमा कैलै नचढे जस्तो पो गर्छौ त !”

“नाईँ दाइ, म कैलै चढेको थिएन, यस्तो बसमा ।” उनले सुन्ने गरी मैले सोझो कहलिएर जवाफ दिएँ ।

“हो र ? यो बसमा पैंसा तिरेर टिकट लिइरहनुपर्दैन । विभिन्न स्टपहरुमा यसले नौलो सेवा उपलब्ध गराउँछ । त्यस्तो सेवामा जति सहभागिता जनाउन सकियो, बरु त्यति धेरै पैंसा यात्रुले कमाउन सक्छ ।”

म छक्क परेँ । ‘ए, त्यस्तो काइदाको सेवा रैछ र पो यस बसमा चढ्न यति धेरै मान्छेले मरिहत्ते गर्दा रहेछन्’ भनी बुझिहालेँ । बसमा चढेको करिब एक घण्टा भैसकेको थियो । कोच्चिएर बस्दाबस्दा खुट्टा निदाएर झमझमाउन थालिसकेका थिए ।

“पिल्सिएर सासै जाला जस्तो भैसक्यो, कुन बेला छुट्छ त यो बस ? हँ दाइ ।” मैले उनलाई फेरि सोधेँ ।

“एकसय जना पुगेपछि मात्र छुट्छ । अब त सयजना पनि पुग्न थालिसके होलान् ।” पछिल्तिरको ढोकाबाट बस चढ्नेको घुइँचो अझै घटेको थिएन ।

“कसरी अट्छन्, यति सानो बसमा सयजना ? जम्मा पच्चीसजनाको त सिट होला नि ।”

“तिमीलाई नै थाहा रहेछ त ! अनि किन करकर करकर गरिरहेको त मसित ? कुरै नबुझी प्याच्च प्याच्च बोलेर दिक्कै लगाइसक्यो एल्ले त ! तिम्रा आँखा फुटेका छन् र देखेनौ ? यो बसमा कहाँ छन् सिट ? यात्रुको बढ्दो मागलाई ध्यानमा राखेर सिटभरि सबै हटाइ सकेको छ यसमा !”

मैले फेरि प्रश्न गरेँ भने यस बुढाले मलाई बाँकि राख्नेछैन भनी मैले बुझिसकेको थिएँ । अब प्रश्न गर्न छाडेर म बसेको सिट हो कि होइन भनी यकिन गर्न यसो सिटलाई कोट्याएर हेरेँ । मुनिबाट मान्छे कराएको आवाज पो आयो, “ऐया! को असत्ती हो यो ? निदाएको मान्छेलाई चिमोटी चिमोटी ब्यूँझाउने ? अहिले तेरा बङ्गारा झारिदिन्छु, अनि जिस्क्याएको फल चाख्लास् ।”

बल्ल थाहा पाएँ म त एकजना सुतेको मान्छेको पिठ्यूँलाई पो सिट ठानेर बसिरहेको रहेछु । म जुरुक्क उठेर बसको झ्यालतिर लेपस्सिएँ । मलाई कुतकुती लागिरहेको थियो यो ट्रक हो कि साँच्चिकै बस नै हो भनी जान्न । पक्का पनि ट्रकमा झ्याल निकालेर बनाइएको नवनिर्मित बस होला भनी लख काटेँ ।

बाहिर मिरमिरे उज्यालो भैसकेको थियो । स्पिकरबाट गीत बजाउन बन्द गरियो र सन्देश प्रसारण हुन थाल्यो । यात्रुहरुको कल्याङमल्याङको आवाज बन्द भयो । बच्चाको रुवाइ भने फुटि नै रहेको थियो ।

“यात्रु महानुभावहरु, अब हाम्रो यात्रा केही बेरमै शुरु हुन गैरहेको छ । तपाईँहरुले आफ्नो धैर्यताको बाँध फुट्न नदिएर संयमता अपनाउनु भएकोमा तपाईँहरुको जति प्रशंशा गरे पनि कमै हुन्छ । तपाईँले यात्रा अवधिभर सांसारिक मायामोहतिर ध्यान नदिई हाम्रै नौलो सेवालाई मात्र ध्यान दिनुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ । तपाईँहरुलाई थाहै छ यो सेवा यस महिनाको लागि अन्तिम हो । तपाईँहरुको माग बढ्दै गएमा र सरकारले यतातिर पुर्याउने ध्यान घट्दै गएमा फेरि पनि यस्ता सेवाहरु लिएर हामी तपाईँहरु सामू पुनः हाजिर हुने नै छौँ ।

यस यात्राको सेवालाई सँधैकोझैँ चार सत्रमा विभाजन गरिएको छ: पूर्वान्ह, मध्यान्ह, अपरान्ह र रात्रीकालीन सेवा । पूर्वान्ह सत्रमा निम्नानुसारको सेवामूलक कार्यक्रम तय गरिएको छः रसफलआस्वादन, उच्छाद संकलन, मलमूत्र संकलन, वायु संकलन र महानिर्वाण प्रयास । एक कार्यक्रम सम्पन्न गर्न एक वा एकभन्दा बढी सेवाकेन्द्रहरुको योगदान रहनेछ । पहिलो सत्र पार गरेपछि मात्र दोस्रो सत्र शुरु हुनेछ र थप कार्यक्रमको क्रमशः घोषणा गर्दै लगिनेछ । तपाईँहरुले सेवा उपभोग गरेवापत सँधैझैँ उपव्यवस्थापक समूहले निश्चित दरअनुसार तपाईँहरुलाई सेवाफल रकम उपलब्ध गराउनेछ । त्यसमाथि कुनै तलमाथि हुनेछैन । प्रत्येक सेवा केन्द्र एकएक किलोमिटरको दूरीमा रहेका छन् र सबै सेवाकेन्द्रहरुमा सेवा निरीक्षणकर्ताले सेवा जाँच गर्नेछन् । अरु रहस्यहरु यात्रा अवधिमा खुल्दै जानेछन् । यात्रा अवधिभर भरपूर मनोरञ्जन लिनुहुनेछ भन्ने पूर्ण विश्वास गर्दछौँ । धन्यवाद् ।”

यति भनेर सन्देश प्रसारण बन्द भयो र पुनः गीत घन्किन थाल्यो । पछाडिको प्रवेशद्वार बन्द गरियो । गाडी स्टार्ट गर्न थालेको पूर्व संकेत देखिनथाल्यो, गुरुजीले घ्याचघ्याच किक हान्दा पूरै बस जोडले हल्लिन्थ्यो, गाडी स्टार्ट हुँदै बन्द हुँदै गर्न थाल्यो । सितिमिति गाडी स्टार्ट नभएपछि पछिल्तिरको यात्रु झरेर गाडीलाई अघिपछि हल्लाउन थाले ।

एकजना महिला कराइन्, “ए, मलाई त अहिल्यै उच्छाद् आउन थालिसक्यो ! के गरम् ?”

अर्काले भन्यो, “अहिल्यै गरे के त ! तोकिएको रसफल आस्वादन नगरी, संकलनकेन्द्र आइनपुगी गरेको उच्छादनको पैंसा मिल्दैन क्यारे ! अहिल्यै उच्छादन गरे भो, नगरे भो !”

महिला कराइन्, “त्यसो भनेर कहाँ हुन्छ ? ठाउँठाउँमा राख्नुपर्यो नि उच्छाद संकलनकेन्द्र । घरमा गरेको भोजनको उच्छादको पैंसा पनि पाउने व्यवस्था गरिनुपर्छ । देखाउँदा यात्रुको सेवाको लागि भन्ने, यात्रुको मागलाई पनि ध्यान दिनुपर्यो नि !”

के कुरा भैरहेको छ, मैले केही बुझ्न सकिरहेको थिइन ।

परसम्म गाडीलाई घचेट्दै लगेपछि बल्ल गाडी स्टार्ट भयो । यात्रा शुभारम्भको शुभसंकेत पाएकोले गाडीमा हल्लाखल्ला फेरि शुरु भयो । गाडी बिस्तारै बल्ड्याङबुल्डुङ खेल्दै र चर्को थरथराहट दिँदै अघि बढ्नथाल्यो । गाडीको हल्लाईले शुरुमै आन्द्राभुँडी बाउँडिन थाले । गाडी गुडेको दश मिनेट नबित्दै सबैले ताली बजाउन थाले, “आइपुग्यो, आइपुग्यो” भन्दै । बाहिर अब उज्यालो भैसकेको थियो । अलि पर सानो बजार देखियो । त्यसबजारको साइनबोर्ड राखेको रहेछ “रसफल आस्वादन केन्द्र ।” गाडी त्यही साइनबोर्ड नजिकै पुगेर घच्याक्क रोकियो । अनि सबै यात्रुहरु तँछाडमछाड गर्दै एकले अर्कालाई हतासमा उछिन्दै बाहिर निक्लिन थाले । म भने एक्लै रणभुल्ल भइ हेरिरहेको थिएँ ।

मोबाइलको घण्टी फेरि बजेकोले मैले उठाएँ । उताबाट आवाज आयो, “तिमी कहाँ आइपुग्यौ ? हामीले आधाबाटो नाघीसक्यौँ । अब पचास किमि मात्र बाँकि लेखेको छ । तिमी पनि आधा बाटो आइसक्यौ होला हैन ?”

मलाई निकै छटपटी भयो । म के भनेर जवाफ दिऊँ ? मेरो भर्खर यात्रा शुरु भएको छ । एक किमि पार भैसकेको छैन, यही हिसाबले यसको कार्यक्रमतिर लागेमा गन्तव्यमा पुग्न अझै सयगुणा बढी समय लाग्ने देखिन्छ । तर उनीहरुलाई आश्वासन दिनैपर्यो । मैले “टावर राम्रो नभएकोले केही बुझिएको छैन । टावर लाग्ने ठाउँबाट फोन गरुँला । पर्खँदै गर्नू” भनी फोन कटाइहालेँ ।

त्यतिखेरै एकजना परिचयपत्र पहिरेको मान्छे गाडीभित्र पस्दै मलाई भन्यो, “बाहिर नओर्लेर किन एक्लै धुम्धुम्ती बसेको भाइ ? बाहिर निक्लिहाल्नू । यस केन्द्रमा रसफल आस्वादन नगरेमा उल्टो जरिवानामा पो परिन्छ त ।”

“भरखर कोठामै चियानास्ता गरेर आएको दाइ । मलाई केही आस्वादन गर्ने मन छैन । म ओर्लँदिन ।”

“त्यसो भनेर कहाँ हुन्छ ? हाम्रो व्यवसायिक कार्यक्रमलाई चौपट पार्न खोज्दै हुनुहुन्छ तपाईँ । निक्लिहाल्नूस् छिटो । नत्र बलजफ्ती निकालेर यहीँ थुनिनुहुन्छ तपाईँ ।”

मेरो केही नलागेपछि उसको आदेशलाई शिरोपर गर्दै म गाडीको पुछारतिरबाट तल झरेँ ।

“भयो क्या ! भयो !! अब म खान सक्तिन । घाँटीबाट तलतिर जाँदैजाँदैन त म के गरुँ ?” एकजना महिला आँखाबाट आँशु र नाकमुखबाट रालसिँगान निकाल्दै आफ्नो लोग्नेसंग अनुनय विनय गर्दैथिइन् ।

“त्यसो भनेर कहाँ हुन्छ ? यही तरिकाबाट अरुले धेरै पैंसा कमाएको देख्दा र उनीहरुको तुलनामा हामीले थोरै पैंसा मात्र लिएर गाउँ फर्कँदा अरुले के भन्ला ? इज्जत जाँदैन हाम्रो ? धेरै भन्दिन, मेरी प्यारी, अब २ घुट्को मात्र खाइदेऊ ।” एउटा पसलमा लोग्नेचाँहिले आफ्नी स्वास्नीलाई कर गरीगरी लोकल ठर्रा ख्वाउन बल गर्दै थियो ।

म हाँसो थाम्न नसकी अर्को पसलतिर लागेँ । त्यहाँ कोक, फाण्टाका बोत्तलका बोत्तल रित्याउँदै थिए केही यात्रुहरु । अलि पर गएँ केही यात्रु पानीसंग चिउराको साथै चामल, मकै, गहुँ निल्दै थिए । कसैले चाउचाउका प्याकेटहरु बुकाइरहेका थिए भने कसैले बिस्कुट, पाउरोटी बलजफ्ती निलिरहेका थिए । कोही बासी भात हसुरिरहेका थिए । हप्तौँ दिन खोरमा थुनिएका पशुचौपायालाई खोरबाट छाडिदिएपछि गर्ने व्यवहारजस्तै मान्छेले गरेको पशुवत् प्रदर्शन औधि रमाइलो देखिन्थ्यो ।

मैले एउटा पसलको बेञ्चमा बसेर ताजा र राम्रो गुणस्तरको दालमोठको अर्डर गरेँ ।

“यो बजारमा कुनै पनि चिज ताजा र राम्रो गुणस्तरको पाइँदैन, भाइ । त्यो प्रयोजनको लागि खोलिएको बजार नै होइन यो । नौलो सेवाको लागि मात्र खोलिएको हो । यही दालमोठ छ दिऊँ ?” पसलेले सोध्यो ।

मैले मन नलागी नलागी “हुन्छ” भनेँ र साहुजीले दिएको दालमोठ खान थालेँ । दालमोठ ओसिएर गलिसकेको जस्तो थियो, अत्यन्त पीरो र अमिलो थियो । प्याकेजिङमा बनेको र म्याद सकिने मिति समेत मेटिइसकेको थियो, सायद अन्तबाट डेटएक्सपायर भइसकेका खाद्यवस्तुहरु यतै ल्याएर बेचिन्छ होला । मैले दालमोठ निस्तै खाएको देखी एकजना केटीले फाण्टाको बोत्तल अघि सार्दै भनी, “यी योसित निल्नुस्, ठोस पदार्थ थोरै र गुलियो झोलिलो पदार्थ पेट फुल्नेगरी धेरैभन्दा धेरै पिउनुपर्छ के दाइ, अनि पो धेरै उच्छाद उत्पादन गर्नसकिन्छ र पैंसा पनि धेरै आउँछ । जे जति खाए पनि पैंसा तिर्नुनपर्ने होइन, उल्टै झन् पैंसा मिल्ने भएपछि केको कञ्जुस्याँइ नि ? तपाईँले खाइरहेको दालमोठको कति आउँदोरहेछ दाइ ? सबैभन्दा बढी त लोकल ठर्राकै आउँछ रे । मैले खाएको ओसिएको चिउरा र फाण्टाको मात्रै तीन सय रुप्या जति आउँछ बाइ ।”

“दालमोठको के आउँछ ? भनेको बहिनी ! मैले तिम्रा कुरै बुझिन । मैले केही आउनको लागि र केही पाउनको लागि खाएकै होइन त ।”

मेरा कुरा सुनेर त्यो केटी पेट मिचिमिचि हाँस्न थाली । मैले दालमोठ आधाजति खाएपछि खल्तीमा राखिदिएँ । म उठ्न थालेपछि पसलेले बीस रुपैयाँको बील दियो । मैले पैंसाको लागि खल्ती छामेँ ।

“पैंसा पर्दैन । के हो तपाईँ नौलो हो कि क्या हो ?”

“हो । कसरी चिन्नुभो र मलाई ?” मैले जिज्ञासा राखेँ ।

“उसोभए यो सुरक्षित राख्नुहोला । जहाँ बील मागिन्छ, त्यहीँ दिनुहोला ।” पसलेले सुझाव दियो ।

यसैबेला एकजना परीक्षक आएर मैले लिएको बीलको जाँच गर्यो । केही कुरा नोट गरेर त्यो बील मलाई नै फिर्ता दियो । म बील लिएर गाडीमा चढेँ । गाडी रोकिएको झण्डै आधा घण्टा भैसकेको थियो ।

म फेरि गाडी चालकलाई खोज्दै गएँ र चिनेपछि “छिटो जाऊँ गुरुजी, अबेर भैसक्यो” भनेर उसलाई डोर्याउन खोजेँ ।

चालकले मेरो हात छुटायो र मेरो व्यवहार देखेर हाँस्न थाल्यो ।

एकजना यात्रुले भन्यो, “हाम्रो पेट राम्रोसंग भरिएकै छैन । कहाँ अहिल्यै गाडी हिडाउन पाइन्छ ? अझै पन्ध्र मिनेट पर्खनुपर्छ ।” ती यात्रुहरु घुमीघुमी प्रत्येक पसलको केही न केही वस्तु उधारोमा खाइरहेका थिए र बील संकलन गरिरहेका थिए ।

अर्कोले गुनासो गर्दैथियो, “आज त लाष्टै बोर भो ! सडेको मासु चाख्नै पाइएन भन्या ! यो बजारमा सडेगलेका रसफल पाइनै छाड्यो । यसरी त कहाँ मनलाग्दो कमाउन सकिन्छ र ?”

पेट फुट्नेगरी हसुरेपछि यात्रुहरु पेट मिच्दै गाडी चढ्न थाले ।

सबै यात्रु चढिसकेपछि चालकलाई गाडी स्टार्ट गरी गुडाउन पहिलेको जस्तै कसरत गर्नुपर्यो । गाडी फेरि उस्तै आवाज, उस्तै हल्लाई, उस्तै गतिले अगाडि बढ्यो । डोर्याइ डोर्याइ सडकमै पानी लगाइएकोले ठाउँठाउँमा खाल्डाखुल्डीहरु बन्न पुगेका थिए, फलस्वरुप खाल्डाखुल्डीमा गाडी पल्टिएलाझैँ गरी ढक्लाकढुक्लुक गरी ढल्किँदै कछुवा गतिले यात्राको दूरी घटाउँदै थियो । बाटो राम्रो भैसक्यो भन्ने हल्ला सुने तापनि यो अवस्था देखेर मलाई पत्यार लागेन र एकजना यात्रुलाई सोधिहालेँ, “ए दाई, सडक त पिच भैसक्यो भन्ने हल्ला थियो त ! खोइ ? कतै पिच भएको देख्दिन त म ।”

“खाल्डाखुल्डीमा मात्र हेरेर हुन्छ त ? त्यसको वरपर पनि हेर्नुपर्यो नि ! ऊ, हेर त्यता पिचको बाँकि अंशको प्रमाण । दिउँसो पिच हुन्छ राति भत्काइन्छ र त्यति मात्रै बाँकि रहन्छ । बाटो पूरै पिच भएमा को अल्झिन्छ बीचमा ? कि जस्तो सडक त्यस्तै व्यवसाय हुनुपर्यो, कि जस्तो व्यवसाय त्यस्तै सडक हुनुपर्यो नि । हो कि होइन ?”

मैलै उनको तर्कलाई ‘होइन’ भनेर काट्न सकिन ।

पूरै उज्यालो भइसकेकोले मलाई गाडीभित्रका यात्रुतिर ध्यान दिन सजिलो भयो । गाडीमा अनेक प्रकारका यात्रु थिए । बाहिर उखरमाउलो गर्मी शुरु भैसकेको थियो । भित्र भने यात्रुहरुले एकएकवटा कम्बल वा सिरक वा डसना ओढेर बसेका थिए । कतैकतै मुढाहरु पनि राखिएकोले कोही मुढामा बसेका थिए । कोही लम्पसार सुतेका थिए । कोही घुँडा खुम्च्याएर बसेका थिए । कोही बसको बीचबीचका डण्डी समातेर उभिएका थिए भने कोही झ्यालको डण्डी समातेर उभिएका थिए । सबैको आसन छिनछिनमा परिवर्तन भइरहन्थ्यो । दायाँबायाँ अघिपछि सर्न कुनै समस्या थिएन, अर्कोलाई ठेल्दै गएपछि जतापनि पुगिन्थ्यो । मलाई लाग्यो, ‘आहा, क्या राम्रो काइदा । जति बुझ्दैगयो, त्यति रमाइलो लाग्ने ।’ प्रायःजसो मान्छेहरु पछाडितिर नै कोच्चिएका थिए । अगाडिपट्टि बस्नेलाई भन्दा पछाडितिर बस्ने यात्रुलाई गाडीले बढी उछारपछार पारिरहेको देखिन्थ्यो, तैपनि मान्छे कोचाकोच गरी पछाडि नै सरिरहेका थिए ।

केही बेरमै अलि पर अर्को बजार देखियो । बजार देख्ने बित्तिकै यात्रीहरु “आइपुग्यो ! “आइपुग्यो !!” भन्दै फेरि रमाउन थाले । मलाई भने भाउन्न भएर आयो । सेवाहरु अहिलेसम्म गन्तव्यमा पुगिसके होलान् । म भने अझै दुई किमि पार गर्न सकेको छैन । फेरि फोनको घण्टी बजे के जवाफ दिने होला ? ख्यालको कुरा होइन, ऊ मेरै विश्वासले बिरामी आमालाई उपचार गर्न उसले कोही नचिनेको अपरिचित शहरमा आइरहेकी छ । यो गाडी रोकियो भने फेरि आधा घण्टा नभई अगाडि बढ्ने छैन । अब के हुनेहोला ? हिँडेर पुग्न सम्भव छैन, अर्को गाडी पाइँदैन । म दुई किमिको बाटोमा तीन घण्टा ढिला भइसकेको छु । मेरो मुख सुकेर आयो र सर्वाङ्ग काँप्न थाल्यो ।

नभन्दै गाडी फेरि घ्याच्च रोकियो । तर अहिले पहिलो बजार जस्तो यात्रुहरु गाडीबाट ओर्लिएनन् बरु झ्यालझ्यालबाट हातखुट्टा निकाल्दै बाहिरका मान्छेहरुसंग “ठूलो मलाई !” “पहिला मलाई !” भन्दै केही चिज मागिरहेका देखिन्थे ।

पछाडिको ढोका खुल्ने बित्तिकै दुईतीनजना परिचयपत्रधारीहरु गाडीभित्र प्रवेश गरे । माहुरीहरुले रानी घेरेझैँ सबै यात्रुले ती मान्छेलाई तँछाडमछाड गर्दै घेर्न पुगे । उनीहरु यात्रुलाई धकेल्दै र हातमा रहेको प्लास्टिकका झोलाहरु बाँड्दै गाडीको अघिल्लो भागसम्म आइपुगे । मैले परिचयपत्र हेरेर थाहा पाएँ, उनीहरु उच्छाद् अनुगमनकर्ता रहेछन् ।

उनीहरुले निर्देशन दिन थाले, “कसैले पनि हामीले शुरु नभनी उच्छादन गर्न पाउने छैन । हामीले समाप्त भनिसकेपछि उच्छादन कार्यलाई समाप्त गर्नुपर्नेछ । हामीले वितरण गरेकै झोलामा उच्छादन गर्नुपर्नेछ । त्यसबाहेकको उच्छादनलाई मान्यता दिइनेछैन । आजको लागि निम्नस्तरीय छादलाई प्रतिलिटर रु पचास र उच्चस्तरीय छाद्लाई प्रतिलिटर रु पाँचसयसम्म निर्धारण गरिएको छ । बीलबिनाको उच्छादको लागि समिति भुक्तानी दिन बाध्य हुनेछैन ।”

गाडी उकालो लागेर घुमाउरा मोडमोडमा जोल्ट्याङ खान थालेपछि एकछिन यात्रुहरुलाई हेर्दै एकजना अनुगमनकर्ताले भन्यो, “रेडी…. एक… दुई… तीन, शुरु !!!”

उसले ‘शुरु’ भनी नभ्याउँदै यात्रुहरुले उलुलुलु, वाक्क, ह्वार्र, घ्वाँक्कघ्वाँक्क, ख्वाक्क गर्दै झोलामा उच्छादन भर्न थाले । गाडीमा मलाई आजसम्म कहिल्यै वान्ता भएको थिएन । सबैको त्यो कार्यक्रममा भाग लिएको देख्दा मलाई पनि आन्द्राभुँडी बाँउडिएर आए, मुख अमिलिएर आयो । एकदुई उल्टी मैले पनि झोलामा भर्न भ्याएँ । अरुको अवस्था हेरिसक्नु थिएन । कसैले पेट हल्लाईहल्लाई, कसैले पेट थिचिथिचि, कसैले घाँटीभित्र औँला कोचीकोची उच्छादन गरिरहेका थिए । अनुगमनकर्ताले घुमीघुमी निरीक्षण गर्दैथिए । मलाई त्यो अवस्था देख्दा अर्को कुरामा आश्चर्य लाग्यो, ‘अनुगमनकर्ताबाट कडा जाँच हुँदाहुँदै केहीले चीट पो चोरिरहेका रहेछन्’ भन्नुको मतलब अनुगमनकर्ताको आँखा छलेर छाद् तोकिएको झोलामा नभरेर कम्बल, कमिजको बाहुला, पाइन्टको खल्ती आदिमा समेत लुकाइरहेका थिए । पहिले दिइएको पाँचकेजीको झोलाले नपुगेर धेरैजसोले अरु झोला समेत थपिरहेका थिए ।

अलि पर फेरि अर्को बजार देख्ने बित्तिकै फेरि यात्रुमा खुशियाली छायो । त्यस बजारको नाम रहेछ ‘उच्छादन संकलन केन्द्र’ । गाडी रोकिने बित्तिकै यात्रुहरु आआफ्ना प्लाष्टिकका झोला लिएर फेरि तँछाडमछाड गर्दै ओर्लिन थाले । उनीहरुको सिको गर्दै म पनि लुरुलुरु उनीहरुको पछि लागेँ । पर एउटा घरमा सबै पस्न थाले र म पनि त्यतै पसेँ । त्यहाँ लेखिएको थियो ‘उच्च गुणस्तरीय ग्यास उत्पादन केन्द्र’ । भित्र विभिन्न प्रकारका मेशिनहरु राखिएका रहेछन् । पहिलो मेशिनमा पालैपालो आफूले ल्याएको झोला खन्याउनुपर्दो रहेछ । त्यस मेशिनले गुणस्तर र परिमाण एकिन गर्दोरहेछ । त्यो जम्मा भएको उच्छादित पदार्थ ठूलो ट्याङ्कमा जम्मा हुन जाँदोरहेछ, त्यहाँ ग्यास निर्माण तथा प्रशोधन भइसकेपछि त्यतैबाट विभिन्न ठाउँमा पाइपबाट ग्यास वितरण हुँदोरहेछ ।

यात्रुको लाइन फेरि अर्को मेशिनतिर सर्यो । त्यस मेशिनले पहिलो बजारबाट पाएको बील प्राप्त गरी बील र उच्छादको सम्बन्धको विश्लेषण गर्दोरहेछ ।

त्यसपछि फेरि लाइन तेस्रो मेशिनतिर सर्यो । त्यो मेशिनले गुणस्तर, परिमाण र दरको आधारमा चेक काट्दो रहेछ । सबै यात्रुहरुले आफूले सोचेभन्दा बढी रकमको चेक प्राप्त गर्दा खुशीले रमाइरहेका थिए । धेरै उच्छादन गर्नेले त रु पच्चीस सयसम्मको चेक पनि पाएछन् । उनीहरु गर्वले फुलेर हिँडेको देख्दा चेकप्रतिको मोह मेरो पनि बढ्न पुग्यो ।

कसैले आफ्नो उच्छादबाट बढी कमिशन काटिएकोले थोरै भुक्तानी पाएको भनी गुनासो पनि गरे । खासमा कुरा के रहेछ भने ग्यासको निर्माण र बढ्दो खपतको आधारमा कच्चा पदार्थको रुपमा प्रयोग हुने उच्छादको मूल्य अत्यन्तै महंगो हुने भएकोले करिब आधा जति कमिशनको रुपमा छुट्याइ आधा मात्र उच्छाद उत्पादनकर्ताले मूल्य पाउँदा रहेछन् । आधा कमिशनबाट नै उद्योग सञ्चालनको विभिन्न लागत र नाफा, गाडीवालालाई कमिशन तथा बजार सञ्चालकलाई निशुल्क वस्तु उपलब्ध गराएवापतको भुक्तानी पो हुँदोरहेछ । एकातिर अन्यत्र काम नलागेको खाद्यवस्तुको खपत तथा भोकमरीको अन्त्य, राज्यलाई डम्पिङसाइट निर्माण गर्ने झञ्झट पनि खतम् र अर्कोतर्फ ग्यास उत्पादनको लागि उच्छाद उत्पादकलाई हाइ इन्सेन्टिभ ! कति राम्रो काइदा !! नेपालीहरुको यस कलालाई संसारको आजसम्मको कुनै विकासले पनि उछिन्न सकेको छैन ।

यस्तै कुरा सोच्दै गर्दा केहीबेरपछि चेक प्राप्त गर्ने पालो मेरो पनि आयो, मैले रु पच्चीसको चेक पाएँ । बीस रुपैयाँको दालमोठ आधा खाएर रु पच्चीसको चेक पाउँदा म पनि रमाएँ । धेरै रकमको चेक प्राप्त गर्नेले मलाई खिसि गरिरहेका थिए । मैले पनि शरीरलाई कुनै पनि बाधा नपारी चेक प्राप्त गर्न सफल भएँ भनी अरुलाई खिसि गरिरहेको थिएँ । त्यसैबेला फेरि फोनको घण्टी बज्यो । मेरो सातोपुत्लो उड्यो । हे भगवान् अब के भन्ने होला । मन नलागी नलागी फोन उठाउनैपर्यो ।

उताबाट सेवाकै स्वर आयो “तिमीलाई हाम्रो केही मतलब छैन, हैन ? कहाँ आइपुग्यौ, कसरी आउँदैछौ, कहाँ खायौ भनी यात्रा अवधिभर आफै एकपटक पनि फोन गर्न सकेको छैन । आफैले उपचारको लागि बोलाएपछि एकपटक त फोन गर्नुपर्छ नि । कहाँ आइपुग्यौ भन ? कि बस स्टेशनमा आइपुगिसक्यौ ? नआइपुगेको भए अब कति समय लाग्छ तिमीलाई ?”

मैले डराईडराई जवाफ दिएँ, “म आउँदैछु । बरु तिमीहरु कहाँ आइपुग्यौ ?”

“अब दश किमि बाँकि लेखेको छ । अब हामी दशपन्ध्र मिनेटमै पुग्छौँ, गन्तव्यमा । हामीलाई बाटोमा चिया खान रोकेपछि अलिकति ढिला भयो । तिमी हामीभन्दा पहिल्यै आइपुग्छौ कि ? पछि आइपुग्छौ ? हामीलाई अलिकति बढी कुर्न लगाएर मैले तिमीलाई फेरि बदमाश, कपटी भन्नुनपरोस् है ।”

म सेवादेखि डराउनुको कारण छ । उसको उग्रचण्डी व्यवहारको म धेरै पटक शिकार भइसकेको छु । म यस कुरामा अझै ढुक्क छु कि उसले मलाई अझै ‘तिमी’ भनेर सम्बोधन गर्दैछे । जब उसबाट ‘तँ’ सम्बोधन हुनथाल्छ, त्यसपछि स्थिति सम्हालिनसक्नु हुन्छ । मेरो ऊ कुनै नजिकको नातेदार पर्दिन, तै पनि म उससंग किन डराउँछु ? किन उसको आक्रमणको शिकार बन्न लाचार भैरहेछु ? म केही भन्न सक्दिन ।

“हेर न सेवा, अलि बिग्रेको गाडी परेछ । बाटोमा गाडी बिग्रेको बिग्रेइछ । म छिट्टै समयमै आइपुग्छु । पर्खँदै गर्नू है । म बाटोबाट फोन गर्दैगर्छु नि ल ल ।” भन्दै मैले फोन काटिदिएँ । फोन काट्ने मात्र होइन, फोनलाई फ्लाइट मोडमा सेटिङ पनि गरिदिएँ । अब ढुक्क भएँ सेवाको धम्कीपूर्ण आवेश मैले नचाहँदानचाहँदै फोनबाटै सामना गर्नुपर्नेछैन ।

मलाई रिङ्टा लागेर आयो । खुट्टा बसको पेलाईले निदाइरहेको थियो । म खोच्याउँदै अलि पर पुगेँ । परिस्थितिले वाचा हार्ने सम्भावना बढ्दै थियो । सेवाको रिसाहा स्वभाव र उसको आमाको बिरामीले बिग्रँदै गएको अवस्था सम्झँदै गएँ, मुटु भक्कानिएर आयो । अनि घोप्टो परेर रुन थालेँ ।

अरुहरुले फेरि मलाई गिज्याउन थाले, “जाबो एउटा कार्यक्रममा कम पैंसा पाएँ भनेर रुने हो ? यस नौलो यात्रामा त यति धेरै कार्यक्रम छन् कि एउटैमा रु पच्चीस लाखसम्म कमाउन सकिने स्किमहरु छन् । धत् लाटा रुन बन्द गर् । अब गाडी चढौँ ।” भन्दै उनीहरुले मलाई तान्न थाले । म खुरुखुरु उनीहरुकै पछि लागेँ ।

अब भने रु पच्चीस लाखको स्किम कस्तो होला भन्ने जिज्ञासाले गन्तव्यतिरको याद मत्थर हुँदै गइरहेको थियो ।

August 17, 2015

(स्रोत : Purnaoli)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.