संस्मरण : खिया लागेको स्वर्णपदक

~विमल भौकाजी~

एउटा ‘स्वर्णपदक’ छ मसँग ।

नाम सुन्दै मस्तिष्कमा आइहाल्छ, झलझली सुनको । नआउनु पनि किन र ! नामै ‘स्वर्णपदक’ ।

त्यो पनि चानचुने हो र ! राष्ट्रियस्तरको सुनको पदक । तर…

कसैले देखे भने छक्क पर्नु स्वाभाविक छ । त्यसमा सुनको रङ्ग छैन । अर्थात् पहेँलो छैन त्यो । कालो छ, खिया लागेको छ मेरो सुनको पदक । सुनमा खिया ? घोर आश्चर्य !

पूरा दुई दशक बितेछ, तर स्मृति ताजै छ । विक्रम संवत् २०५२ सालको असार महिना ।

२९ गते, भानुजयन्तीको दिन । तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले प्रत्येक वर्ष गर्ने ‘राष्ट्रिय कविता महोत्सव’ अन्तर्गत त्यस वर्षको ‘प्रथम कवि’ घोषित भएमुताबिक मैले स्वर्णपदक प्राप्त गरेको दिन थियो त्यो ।

पुरस्कृत कविहरूलाई राजाले पुरस्कार दिने परम्परा थियो । हामीलाई तत्कालीन नारायणहिटी राजदरबारको उत्तरी ढोकाबाट पुरस्कार वितरण कार्यक्रमस्थल भनिएको राजा वीरेन्द्रको कार्यकक्षमा लगिएको थियो । त्यही कार्यकक्षमै मलाई पुरस्कार ग्रहणका लागि तयार बनाइँदै थियो, घडीले साँझको ठीक छ बजेको जनाउ दिइरहेको थियो ।

अचानक ! राजा वीरेन्द्र अप्रत्यासित रूपले फुत्त आइपुगे । मलाई तैयार बनाइरहेका व्यक्ति र म दुवै एकछिन अलमल्ल पर्‍यौँ ।

‘ओ… म अलिक छिटो भएँ कि क्या हो ?’ राजा वीरेन्द्रले आफ्नो हातको घडी हेर्दै आफू अघि प्रवेश गरेकै ढोकातर्फ लम्किए । दस मिनेट ढिलो गरेर कार्यक्रम सुरु भयो । अघिल्लो वर्षका पुरस्कृतहरूसमेतलाई त्यही समारोहमा पुरस्कार दिइने भएकाले कार्यक्रम अलिक लम्बियो ।

बाघको छालामाथि उभिएर राजाले मेरो छातीमाथि झुन्डयाइदिए ‘गोल्ड मेडल’ ।

क्लिक्…क्लिक्…क्लिक्…आधिकारिक फोटोग्राफरहरूले फोटो खिच्दै गए ।

त्यो एउटा गौरवको क्षण ! उमेरको तेस्रो दशकमै कविताको झन्डा उठाएर आफ्नो जीवनको परिचय बदलेको क्षण ! त्यो सम्मानको क्षण ! आहा… सीमाहीन, म प्रफुल्ल ! नहोऊँ पनि किन ? संसारका जुनसुकै देशमा पनि राजाका हातबाट विभूषित हुन पाउनु जोकोहीका लागि सामान्यत: हर्षकै विषय मानिन्छ । मैले प्राप्त गरेको विभूषणको शोभा अझ त्यतिखेर बढेको महसुस गरेँ कि मेडल लगाइदिइसकेपछि राजाले भनेका थिए, ‘एउटा तस्बिर लिऊँ न !’

सहर्ष, राजासँगै झन्डै–झन्डै टाँसिएर मैले फोटो खिचाएँ ।

बीस वर्षअघिको पुरानो त्यो फोटो टाँगिएको मेरो कोठाको भित्ताबाट हेर्छु– अहिले पनि अत्यन्त आकर्षक मुस्कान लिएर उभिएका छन् सालीन मुद्राका राजा वीरेन्द्र । तर…

उनैबाट मैले प्राप्त गरेको स्वर्णपदक ? के विजोग यसको ?

म सम्झन्छु, गोल्ड मेडल भिरिसकेपछि कार्यक्रमपश्चात् नाटककार एवम् तत्कालीन प्राज्ञ अशेष मल्लले मेरो पदकप्रति इङ्गित गर्दै भनेका थिए, ‘साँच्चैको सुनको हो नि !बाटोमा कसैले थुतिदेला । सचेत हुनू !’

मैले अत्यन्त सावधानीपूर्वक बडो गर्वका साथ मेरो स्वर्णपदकलाई घर भित्र्याएको थिएँ त्यो साँझ । आज कहिलेकाहीँ जब देख्न पुग्छु त्यही सुनको पदकलाई, त्यसप्रति मोह तोडिएको महसुस हुन्छ मलाई ।

– जब सुनमा सुनको रङ्ग छैन भने…

– जब सुनमा सुनको सुगन्ध छैन भने…

– जब सुनमा सुनको गुण छैन भने…

साँच्चै, बास्ना नभएको गुलाबको के अर्थ ?

मैले स्वर्णपदक प्राप्त गरेको त्यही वर्षको अन्ततिर, एक दिन मध्यान्है मेरो घरमा चोरी भयो । मसमेत मेरो परिवार घरमा नरहेको समयमा, मूलसडककै घरको ढोका फोडियो, दिनदहाडै । साँझ घर पस्दा अस्तव्यस्त कोठाको हालत, सरसामानहरू यत्रतत्र फ्याँकिएका थिए र स्टिलको दराजको ढोका खोलिएको थियो । अनुमान लगाउन सकिन्थ्यो : दराजभित्र राखिने नगद र सुनचाँदी प्राप्त गर्ने उद्देश्य थियो त्यो चोरीको ।

नभन्दै एकछिनमै थाहा भयो, केही गरगहना छाडेर बाँकी चोरी भएछ । तत्काल डीएसपी कार्यालय हनुमानढोकाबाट घटनाको अनुसन्धान सुरु भयो ।

एक दिन मलाई जानकारी दिइयो, ‘अनुसन्धानको काम समाप्त भइसकेको छ, चोरीसम्बन्धी व्यक्तिहरूको पहिचान भइसकेको छ ।’ तर त्यसपछि त्यो अनुसन्धान कहाँसम्म पुग्यो मलाई थाहा भएन ।

चोरी भएको त्यो दिनको अनुसन्धान गरिँदागरिँदै मेरा आँखा त्यो भित्तामा पर्न गए, जहाँ आकर्षक शैलीको एउटा फ्रेमभित्र त्यही सुनको पदक झुन्डिरहेको थियो । सुनेको थिएँ, प्रज्ञाप्रतिष्ठानले गर्ने कविता महोत्सवका कुनै वर्षका स्वर्णपदक विजेताले आफ्नो पदक बैङ्कमा धरौटी राखेर राजधानीमा आधा रोपनी जग्गा जोडेका थिए । यस अर्थमा, आर्थिक दृष्टिकोणले समेत जीवनमा त्यति ठूलो भूमिका खेल्न सक्ने पदकको महत्त्व नहुने कुरै थिएन । चोरले पदक चोर्न छुटाएकोमा मभित्र अलिकति खुसीको तरङ्ग दौडिएको थियो ।

तर कता–कता मभित्र एउटा प्रश्नले चिमोटिहेको थियो, मेरो कोठामा चोरी गर्नेले त्यो सुनको ‘माल’ जानीजानी छाडेको त होइन ? मलाई उत्ति नै खेर, त्यो सुनको पदकले व्यङ्ग्य गरिरहेजस्तो नलागेको पनि होइन ।

कालान्तरमा, बिस्तारै सुनको त्यो पदकले आफ्नो रूप परिवर्तन गर्दै गयो । त्यसको रङ्ग खुइलिँदै गयो । आजको मितिसम्म अधिकांशत: कालो भइसकेको छ । पत्याइनसक्नु ! करिब–करिब फलाममा परिवर्तन भइसकेको छ मेरो सुनको पदक ।

कोठाका भित्तामा यत्रतत्र, मेरी छोरीले र छोराले स्कुल–कलेजबाट प्राप्त गरेका ‘मेडलहरू’ रङ्ग–रङ्का रिबनमा उनिएर झुन्डिएका छन्–

– कुनै, हाजिरीजवाफ प्रतियोगितामा जितेको,

– कुनै, स्पिच कन्टेस्टमा जितेको,

– कुनै, फुटबल–प्रतिस्पर्धामा जितेको, र त्यहीँनिर कतै छेउकुनोमा मिल्किरहेको छ मेरो ‘राष्ट्रिय स्वर्णपदक’ । खिया परेको सुनको पदक ।

प्रकाशित: आश्विन १६, २०७२

(स्रोत : Kosheli – Kantipur)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.