हरेक दिन घामले संघार टेक्नु अगाडी नै उ टेक्थ्यो कालिमाटी तरकारी बजार मा । निद्रा खुलेर होइन खुलाएर हेरिएका आँखाहरुले छान्थे सकेसम्म बाँकी नराखी बेच्न सकिने तरकारीहरु । तरकारी बेच्नु माइला दाइको रहर थिएन रे । “माइला दाइ”-बच्चा देखि बुढा सम्म सबैले बोलाउने नाम । उनि भन्थे गाडी चलाउने रहर थियो रे, तर जब गाडी चलाउन सिक्न देखि लाइसेन्स झिक्न र गाडी किन्न सम्म गर्दा निकै पैसा लाग्छ भन्ने बुझे उनले, अनि ड्राइभर बन्ने सपना तिलान्जली दिएर ठेला-गाडा गुडाउन तिर लागे ।
माइलादाईले आफ्ना सपनालाई त पुरा गर्न सकेनन् तर आफ्नो प्यारी छोरी शर्मिलाको सपना पुरा भएको हेर्न चाहन्थे । त्यसैले होला उनले आफ्नो सपनालाई चन्द्रमा संगै उदाउन दिए र चन्द्रमा संगै बादलभित्र जबर्जस्ति लुक्न लगाए । घाम उदाए पछी त कालिमाटी बाट तरकारीले भरिएको गाडा संगै तान्दै र ठेल्दै गर्थे छोरीको सपना, सपना-शर्मिलाको अगाडी डा. लेखाउने । शायद माइला दाइलाइ थाहा थिएन त्यो सपना पुरा गर्न छोरीको मेहनत र उनको तरकारी बेचेर जोडेको पशिनाको मूल्यले मात्र पुग्न गाह्रो छ, त्यसको लागि त उच्च शिक्षा नामको डमीमा लगाइएको सर्टिफिकेट भन्ने खोल किन्न पर्छ जुन एकदम महँगो हुन्छ । तर पनि उनले छोरीको लागि भोक, तिर्खा, घाटा-नाफा केहि नभनी मेहनत गरिरहे ।
छोरी सानै हुँदा उसकी आमा क्यान्सरले संसार छोडेर गइन् साथमा भएको सम्पत्ति पनि उपचार संगै सकियो र एक कोठा भाडामा लिएर छोरी लाइ मेहनत गरेर हुर्काए । आफु भोको बसेर छोरीले खाएको हेर्दै मुस्कुराए त कहिले चिसो पानीमा छाक टारे । उनले हरेक दिन खानाको छाक टारेर बचेको पैसा छोरीलाई जम्मा गर्न दिन्थे । पढेलेखेकी छोरी राम्रै हिसाब गर्छे भन्ने सोच्थे उनि । माइला दाइले कहिल्यै छोरी लाइ आमाको कमि हुन दिएनन् । उनले सधैं सम्झिन्थे छोरीले भनेको “बाबा म ठुलो भएर डाक्टर बन्छु अनि कसैलाई पनि आमालाई जसरि बिरामी परेर मर्न दिन्न” । उनले सधैं छोरीले डाक्टर बन्छु भनेको त सुन्थे तर छोरीको पढाइ प्रतिको लगाव कस्तो छ थाहा थिएन । आफु अशिक्षित भए पनि छोरीको पढाइ पुरा गर्न लागिपरेका माइला दाइलाइ छोरीको कापी र मार्कसिट हेर्न आउदैन थियो अनि स्कुलमा गएर बुझ्ने फुर्सद उनलाई थिएन, दिनभरी तरकारी जो बेच्नु थियो । कतै माइला दाइलाई पनि लाग्यो होला, मैले छोरीलाई धेरै पढाउन सके डाक्टर हुन्छे अनि धेरै पैसा कमाउछे अनि म पनि आरामको जिन्दगि बिताउन सक्छु । हुन त माइला दाइले छोरीलाई डाक्टर बनाउछु भन्दा धेरैले ओठ फर्काएर बिल्ला पनि गरिदिन्थे, तै पनि माइला दाइले हार मानेनन् ।
कक्षा ६,७,८,९, भन्दा भन्दै छोरी १० पढ्ने भैसकी अनि एस एल सी दिने । छोरी कलेज जानासाथ छोरि डाक्टर हुन्छे भन्ने सोचेका माइलादाई झन् उत्साहित हुन थाले । सकेसम्म खान लाउन गर्नु पर्ने खर्च पनि कम गरेर बचत गर्न थाले । अहं उनलाई केहि कुराको पनि लोभ थिएन, न घर बनाउने चाहना पाले न गाडी चढ्ने, चाहना थियो त केवल छोरीलाइ डाक्टर बनाउने । उनले तरकारी जोख्दा तल-माथि गरिरहेको तराजु संगै आफुले जम्मा गरिराखेको पशिनालाई पनि मन-मनै तौल गर्थे र सोच्थे अझ धेरै गह्रौं बनाउनु छ आफ्नो बचतको थैलोलाइ । आफ्नो भोक भुलेर “तरकारी आयो-तरकारी आयो” भनेर कराउदा पनि उनले मन मनै सोच्थे यति फाइदा लिन्छु अनि यति जम्मा गर्छु । तर कसैले यसरि मोलतोल गर्दिन्थ्यो कि उनि सोच्न बाध्य हुन्थे, बेचुं वा अर्को ग्राहक नआउन्जेल भोको आन्द्रा तन्काइ-तन्काइ कराईरहुँ ।
एक साँझ सधैं झैं थकित अनुहार र नबिकेर ओइलिएका तरकारी लिएर कोठामा फर्के माइला दाइ । हरेक दिन जस्तै फाइदा भएको पैसा राख्न दिन छोरी लाइ बोलाए तर छोरी आइनन्, सोचे कतै गएकी होलि केहि बेर मा आउली नि । अनि आफै पैसा राख्नलाई पुरानो टिनको बाकसको चाबी खोजे । चाबी भेटे अनि बाकस नि खोले तर त्यति बेला छाँगा बाट खसे जस्ता भए जब त्यहाँ पैसा कत्ति पनि थिएन । फेरी छोरिलाइ बोलाए, आवाज आएन कतै बाट अनि खाट मा पल्टिए, सोचे छोरी आउली ।
छोरीको लागि मेहनत गरेर नथाकेको त्यो ज्यानमा आश अनि बिश्वास थियो । रात निकै छिप्पीसकेको थियो, कुर्दा कुर्दै थाकिसकेको ज्यान, भोको पेटमा आश भरिएका ति आँखा कति बेला निदाए थाहा पाएनन् उनले ।
भोलि पल्ट भयो, अरुदिन कालिमाटी पुगेर तरकारी छान्ने माइला दाइ त्यो दिन पिर-चिन्ताले काम्न थाले । उनले चिने-जानेका ठाउँ, आफन्त अनि शर्मिलाका साथीहरुलाई सोधे तर अहँ शर्मिलाको पत्तो पाउन सकेनन् । छोरीको लागि त्यस्तो चिन्ता गर्ने बाउको शरीर निकै लुलो भो ।
दिन बित्दै गए, हरेक दिन उनले तरकारी ठेल्दै लग्ने ठेलामा खिया लाग्न थाल्यो अनि ग्राहक कुरेर बित्ने दिनहरु छोरीको पर्खाइमा बित्न थाले । महिनौं बित्दा पनि छोरी फर्कीनन् तर माइला दाइको आश भने मरेन कहिले अनि सपनाहरु पनि मरेनन्, मर्यो त केवल माइला दाइको काम प्रतिको जोश । बिकाउन नसकेर ओइलिएको तरकारी जस्तो जिउ बनाएर पनि छोरीको पर्खाइमा बसे । भोकले अत्ति सताएपछी मात्र उनले आफुले नखाएको बारे सोच्थे अनि घरमा जे बाँकी छ त्यहि खान्थे अनि फेरी कुर्थे शर्मिलाको बाटो । महिनौं सम्म हुँदा नि छोरीको पर्खाइ सकिएन तर घरमा भएको खानेकुरा र केहि पैसा सबै सकियो । सधै झोक्राएर पनि त हुँदैन भनेर सोच्न थाले, आफ्नो बिग्रंदै गरेको शारिरिक अनि मानशिक अबस्था बारे पनि अनि मन बलियो पारेर फेरी तरकारीको ठेला संगै नयाँ दिनहरुको सुरुवात गर्ने निर्णय लिए ।
एउटा नयाँ बिहानी नयाँ दिनको सुरुवात पुरानै जोश तर नया रुप । माइला दाइ उठे, खिया लागेको ठेलालाइ सक्दो सफा गरे अनि ठेल्दै तरकारी बजार तिर लागे । त्यहि ठेला, जसमा पहिले छोरीका धेरै सपना अनि आफ्नै सपनाहरु पनि मिसाएर जोशिलो पारामा ठेल्दै हिड्थे आज निन्याउरो अनुहार र केहि आशा बोकेर जाँदै थिए, छाक टार्ने आशमा । उनलाई सधै आफ्नै ठाउँ जस्तो लाग्ने कालिमाटी बजार नौलो लाग्दै थियो । अन्कनाउदै अलि अलि अप्ठ्यारो मान्दै उनि कालिमाटी बजार बाट तरकारी राखेर फर्किए ।
उनले सधै तरकारी बेच्न राख्ने चोक नेर जाँदा उनि आत्तिए अनि बिस्तारै ठेला ठेल्दै अलि अलि हिनताबोध अनि अन्योल मिसिएको आँखाहरु अनि सिथिल शरिरलाइ नजिकै कुनामा ठेला राखेर आराम दिए । अनि बिस्तारै वरिपरी नजर लगाउन थाले, सबै उस्तै थियो जस्तो उनले छोडेका थिए । बिहान भए पनि शहर पुरै बिउंझीसकेको थिएन, चिसो लागिरहेको थियो ।
बिहान बिहान मार्निंग वाकको लागि निस्केका र उनि जस्तै केहि ब्यापारी बाहेक अरु कोहि थिएनन् । कोहि चिनेका ग्राहक आउथे अनि “माइला दाइ कहाँ हराउनु भएको“ ? भनेर सोध्थे, उनलाई त्यो प्रश्नले घोच्थ्यो अनि जिस्क्याए जस्तो मान्थे । बिस्तारै घामको किरण संगै चोकमा ठेलागाडा अनि नाङ्लो पसल थाप्नेहरु बढ्न थाले । अचानक एउटा बच्चा बामे सर्दै-खेल्दै माइलादाई छेउ आइपुग्यो, बच्चा फोहोर लुगा लगाएको अनि आङमा पातलो भोटो लगाएको थियो जुन त्यो चिसोमा जाडो छेक्नलाइ पुग्दैन थियो । गाडी ओहोर-दोहोर गरिरहने त्यो व्यस्त सडकमा बच्चालाइ त्यसरी छोडेको मन परेन माइला दाइलाइ अनि नजिकै नाङ्लो पसल थापेर बसेकी एक जना बुढी आमै लाइ सोधे “यो बच्चा कसको हो आमा, यसरि ख्याल नगरी सडकमा किन छोडेको ”? आमैले झर्किंदै जवाफ दिइन् “बिना बाउको छोरो, एक्ली आमाले त्यसको स्याहार गरोस् कि, २ पैसाको कमाओस्, खेलोस् न त त्यतै” । माइला दाइलाइ ति आमैको रुखो शब्दहरुको भन्दा त्यो बच्चाको अबस्थाले निकै नरमाइलो लाग्यो । अरुपनि केहि सोध्ने कोशिस गर्दै थिए आमै ग्राहक तिर ध्यान दिन लागिन्, तै पनि सोधे : “खोइ त यसको आमा अनि ?” महिलाले हेर्दै नहेरी पछाडी तिर औलाले इसारा गर्दै भनिन् “ उ त्यहाँ छे” ।
उनले पछाडी फर्केर हेरे, न हास्नु न रुनु अबस्थामा आँखा एक पटक मिचेर फेरी हेरे, पृथ्वी घुमे जस्तै भो उनलाई, अक्क न बक्क हुँदै हेरेको हेर्यै भए । उनले त्यो बच्चाको आमा कतै देखेनन्, देखे त आफ्नो सपना बोकेकी छोरी शर्मिला, जसको जिउमा हड्डी मात्र बाँकी थियो, फाटेको पुरानो मैलो धोति अनि जिङ्रिङग परेको कपालमा ठुलो स्वरमा कराउदै थिइन् “तरकारी आयो हजुर तरकारी, ताजा-ताजा तरकारी !!
(स्रोत : Swechha Raut’s Blog)