कथा : शहरमाझ स्यालको भ्रमण

~आचार्य प्रभा~acharya Prabha

अहिले जस्तो लाग्छ मलाई, म सानो हुँदा पहाडमा घरका ठुला मान्छेहरुले कहिले कहिं साँझमा स्याल कराउँदा “ल स्याल रुन थाल्यो अब गाउँमा को मान्छे मर्छ यो त अशुभ हो ,अलच्छिन जगाएको हो” भनेको सुन्ने गर्दथेँ ।

हुन पनि डाँडामा साँझमा एउटा स्याल रुन अर्थात कराउन थाल्यो भने अर्को डाँडाबाट अर्को स्याल रुन थाल्दथ्यो र हुँदा हुँदै स्यालको झुण्ड नै रुन थाल्दथ्यो तर हत्तपत्त स्यालहरुलाई देख्न भने पाइेन्नथ्यो। मान्छेको छायाँ पर्नासाथ जङ्गल, झाडितिर लुकिहाल्दथ्यो । देख्नलाई भने दुर्लभ नै हुन्थ्यो।

अँ, मैले किन यहाँहरुलाई स्यालको गन्थन गर्न खोजेँ भने भर्खरकै कुरो हो। हामी घरबाट रेस्टुराँ तर्फ बिहानको ठीक १०:३०मा गैरहेकाथियौ । रेस्टुराँ पुग्ने बेलामा बाक्लै बिल्डिङ,शपिङ सेन्टरहरु,बैंकहरु छन् । हामी रेस्टुराँ के पुग्नै लागेका थियौं, ठीक जेब्रा क्रसमा गाडी रोकेकाथियौँ। एउटा राम्रो,बलियो स्याल यताउत्ती पल्याकपुलुक हेरेर सट्ट बाटो काटेर गयो । म त अचम्भित भएँ । मैले ठानेँ कस्तो तालिम प्राप्त कुकुर रहेछ ठीक जेब्राक्रसबाट नै बाटो काट्न जान्ने फेरि गाडी आउँदैछ कि भनेर यता र उती पल्याक पुलुक हेरेको अनी हाम्रो गाडी आएको देखेर टक्क अडिएको । मैले त्यती नै बेला उक्त स्यालको चलाखी र सम्बेदनशीलता देखेर प्वाक्क भनी हालेँ । “हेर कत्ती चलाख कुकुर । सबै थाहा भएको? बाटो कहाँबाट काट्नुपर्ने ?कत्तिबेला रोकिनु पर्ने? म यत्ती भन्दै बडो घत मानेर हासेँ मलाई त्यो कुकुर नै हो भन्ने लाग्यो अनी अर्को अचम्भ के लाग्यो भने यहाँ कुकुर,बिरालो त्यसरी मनपरि बाहिर कुदेको देख्न पाइँदैन । मान्छेलाई भन्दा गाँस,बास,स्याहार,सुसार गरेर राखेका हुन्छन् । उनिहरुको पनि मौलिक अधीकार हुन्छ यदी उनिहरुलाई पालेर बेवास्ता गरेको पोल झोस् पर्‍यो भने त उक्त पाल्ने ब्यक्तिलाई जेल,जरिबाना, सजाय हुन्छ। यहाँ पशुहरुको पनि त्यत्तिकै अधिकार छ त्यसैले यहाँ कुकुर,बिरालोहरु जथाभावी बेवारीसे भएर हिंडेको देख्न पाइन्न बरु प्रायजसो थपक्क कारको अघाडि सिटमा मान्छे भन्दा भलाद्मी भएर आफ्नो मालिकसंगै यात्रा गरिरहेको पाईन्छ । कसो कार चलाऊन मात्र बाँकी छ कुकुरहरुले त्यो पनि अब असम्भव नहोला कि ?

त्यसैले मैले त्यो स्याललाई कुकुर सम्झेर छक्क पर्दै भनेँ “हैन कस्ले त्यो कुकुरलाई यसरी छाडेछ?” तर त्यो त कुकुर नभएर जङ्गलमा बस्ने स्याल पो रहेछ। अनी त म झन आश्चर्य र सोँचमा परेँ र मन मनै सोँच्न थालें “हेर यो देशको भाग्य? पशुहरु पनि कत्ती चलाख ? कत्ती अनुशासित? कस्तो दुरदर्शी? पालेर सिकाएकाहरुले त सिक्लान् रे, गर्लान् रे तर त्यो त जङ्गली जनावार हो नि, ल त्यो पनि कत्ती सम्बेदनशील ?

ओहो !मलाई त दिनभरी त्यही सोँचले रिँग्याइ रह्यो अनी मैले आफ्नो देशलाई सम्झन पुगें । हामी मान्छेको जन्म लिएर पनि खै! त हाम्रो अनुशासन? खै त! हामीभित्र सम्बेदनशीलता ?

साँच्चै भन्ने हो भने हामी बाटो सम्म काट्न अझै अभ्यस्त छैनौ । भै हाले पनि नियम भंग गरेर हिँडिदिन्छौ । बाटो मेरै पेवा हो भनेर यात्रुहरुले पनि ,चालकहरुले पनि नियम उल्लङ्घन गर्दै हिँड्छौ। हो यस्तै यस्तै परीबन्दमा हाम्रो देश जकडिएकोछ । अब हेर्नुहोस् न यहाँ जङ्गल, झाडीमा लुकेर बाँच्ने पशुहरु त आजाद भएर स्वतन्त्रसँग दिनदहाडै शहरभित्र हिँड्छन् । यहाँ नै अलिक पर नोर्थ बोल्डरमा दिनमा नै हरिण,मृग ,जरायोहरु घरका आङनमा चर्न आउँछन् ।कत्ती स्वतन्त्रता ?उनिहरुलाई कसैले छुन चलाऊन पाउँदैनन् । यदी कसैको गिद्दे नजर परीहाल्यो भने र कसैले ति जनावरलाई केही दुष्कर्म गर्‍यो भने उक्त ब्यक्तिको गयो सर्वस्व। तर हाम्रो देशमा भने आरक्षण दिएर राखेका सरकारी जनावारहरुमा नै चोरी छिपी आक्रमण हुन्छ। स्याहार,सुसारको अभावमा अल्पायुमा नै मृत्यु हुन्छ ।हाम्रो देशमा मान्छेको नै मानव अधिकार नभएर पशु सरह बाँच्नु परेको छ भने अब पशुको त के नै कुरा रह्यो र?

हो, त्यो एउटा स्यालको शहर भ्रमणले गर्दा म फेरि आफ्नै देशको स्थिती सोँच्न वाध्य बनेँ। हुनत सबै कुरालाई मध्य नजर गरेर हेर्ने हो भने हाम्रो देशमा आफ्नै आँगनमा पाइला राखेर बाँच्न नै डर मर्दो छ । छात्ती फुकाएर हिँड्न नै असम्भव बनिसकेको छ तर यो देशमा भने जङली पशुहरु पनि कत्ती सहजसँग शहर डुलेका? हो, हाम्रो देशमा भने चाँही मान्छेको खोल ओढेर शहरी स्यालहरु छ्याप्छ्याप्ती शहर बजार डुल्छन त्यसैले त शहरबासी,गाउँबासी हरुले मानवरुपी स्यालहरुको अत्तिक्रमण बाट आजित भएर आफ्नो आँगन,गाउँ,शहर छाड्न नै वाध्य भएर पलायन हुनुपरेको सत्यता छ। आफ्नो न्यानो ओछ्यान,तातो चुल्हो,छाडेर बिदेशको माटोमा भौँतारिनु परेको छ। त्यही नकाबधारी चण्डाल स्यालहरुको रजाइंले गर्दा । हाम्रा देशका मानवरुपी स्यालहरुमा कहाँ त्यस्तो अनुशासन र सम्बेदनशीलता ?बरु यहाँका जङली जनावरहरु नै हामी भन्दा ऊच्च र आदरणीय लाग्यो मलाई। मेरो आशय यही हो कि हामी आफ्नो देशको खिच्चा कुकुरलाई अनुशासित बनाउँ न कि आँफै नै खिच्चा कुकुर बनेर एकापसमा लुछाचुँडी गरौं जब कि यो देशमा पशु पनि तालिम प्राप्त झै छ अनुशासित छ अनी सुरक्षित र अधिकारको भागीदार छ भने हाम्रो देशमा त तालिम पाउन सामार्थ्यवान पशु पनि “खिच्चा”को उपनामले चर्चित छ र हामी मान्छे पनि आफ्नो ओहदा,काम,कर्तब्यलाई बिर्सिएर त्यही खिच्चा कुकुरको पर्याय बनेर एकार्कामा लुछाचुँडी गरिरहेछौँ । अब जङलमा बस्ने स्यालको त कुरै छाडौँ । मान्छेले नै आफ्नो घर,गाउँ,बस्ती,शहर छाडेर परदेशिन थाले भने जङलको पशुले त कहाँ शहर पस्ने कुरा आवोस ?मान्छेले नै आफ्नो आँगन टेक्ने अधिकारबाट बहिष्कृत बन्नु परेको छ भने। समग्रमा मेरो गन्थन यही हो कि हामी आफ्नो नैसर्गिक अधिकारबाट किन बन्चित छौं त ?जब कि कुनै देशमा भने पशुले पनि स्वतन्त्रता,हक,अधिकार पाएका छन भने हाम्रो देशमा भने मान्छेले नै मानवअधिकार बाट बन्चित बन्नु पर्ने बाध्यता किन?

हुन त, यहाँहरुलाई लाग्न सक्छ मैले अर्काको देशलाई मात्र सहि आँखाले हेरेको,अरुको कृयाकलापलाई मात्र उचाइमा पुर्‍याएको , वास्तवमा त्यसो होइन । जब कुनै पनि राम्रो कुरा हुन्छ भने त्यो जहाँको होस्,जस्को होस् सर्‍हाना गर्नै पर्छ । नराम्रो कुरा छ भने आफ्नै देशको होस् वा कहिंको त्यस्लाई प्रतिकार गर्नैपर्छ। हो हाम्रो देशको कला ,संस्कृति सामाजिक मुल्य मान्यता राम्रो छ। हाम्रो देश प्राकृतिक सौन्दर्यताले परीपूर्ण छ। विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा हाम्रै देशमा अवस्थित छ। म पनि गर्वको साथ भन्ने गर्छु यहाँका अमेरिकनहरुलाई विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा भएको देश हाम्रो नेपाल हो। उनिहरु प्रफुल्लित भएर भन्छन “वाउ !यु आर लक्की ” त्यतिबेला मेरो छात्ती गर्वले फुलिन्छ। हो यस्तो राम्रो कुराको बरदान त हाम्रो देशले पाएकै छ नि त र मान्छेले बनाएका नियम,कानुन ,ब्यवहारमा पो हामी पिछडिएका छौं त !त्यसैले पनि लेख्न,भन्न मन लाग्छ कि हामी अरु देशको पशु सरह पनि दिमागी हिसाब र अनुशासनमा उपयुक्त छैनौ शायद हामीले अझै समयलाई पर्खनै पर्छ वा अझै हाम्रोलागी साइेत जुर्न बाँकी नै छ। त्यो त समयले नै बताउला। यसरी त्यो जङली जनावर स्यालबाट पनि मलाई आफैमा केही सोँच्ने प्रभाव पर्‍यो। धन्य छ पशु तिमीलाई जस्ले यो लेख लेख्न अभिप्रेरित गरयौ। अस्तु ।

रचना -२००९ मा ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.