~सिरुखर्के जेठा~
साहित्यकार सिरुखर्के जेठाको परिचय पाउन ?
म मलेसियामा एउटा श्रमिकको रुपमा नै काम गरिरहेको छु । नेपालमा रहँदा पत्रकार र साहित्यमा रुची भएकोले म आफूलाई साहित्यप्रेमीको रुपमा चिनाउन चाहन्छु । साथै म साहित्य लेख्ने मान्छे हो भनेर चिनाउन चाहन्छु ।
तपाईंको घरमा को–को हुनु हुन्छ ?
मेरो घर अर्घाखाँची जिल्ला सिद्धनाथ गा.वि.स. हो । घरमा आमा, बाबा, भाइबहिनी, श्रीमती र एक छोरा छन् ।
मलेसियामा कस्तो किसिमको साहित्यमा तपाई सहभागिता रहेको छ ?
मलेसियामा पत्रिकाहरुका लागि कथा, छोटा मिठा गीत, गजलहरु पठाउने गरेको छु । मलेसियाकै भावभूमिमा समेटेर नोरी भन्ने उपन्यास २०१० मा नै लेखिसकेको छु । यसलाई सम्पादनको क्रममा छ । यहाँ पुस्तौंदेखि बस्दै आएको नेपलीहरु जो राम्ररी नेपाली पनि बोल्न नसक्ने छोरा नातीको कथालाई बाहिर ल्याउने प्रयास नोरीमा गरेको छु ।
नेपाली साहित्यको यात्रा मलेसियमा कसरी बढिरहेको छ ?
म राम्रै देख्दछु । २÷४ जना अनुहारहरु बाहिर आइरहेका छन् । मलेसियमा बसेर राम्रा कथा, गीत, गजल, निबन्ध लेख्ने राम्रा साहित्यकार पनि हुनुहुन्छ । तर नेपालबाट चाहिँ धेरै प्रकाशन संस्थाहरु भए पनि नेपाली साहित्य विस्तार गर्नको लागि मलेसियामा व्यवस्थापन हुन नसकेको जस्तो मलाई लागेको छ । तर लेख्ने मान्छेको कमी छैन । लेख्ने त धेरै भए पनि तिनीहरुमध्येबाट २÷४ जनाको लेखन शैली र तिनीहरुले लेखनमा आएको विचार राम्रो छ ।
यहाँ पढ्ने र लेख्ने साहित्य प्राय श्रमिकका निम्ति लेखिन्छ, यहाँको साहित्यिक यात्राले श्रमिकको जीवन रुपान्तरणमा कस्तो भूमिका खेल्छ ?
खासै भन्ने हो भने श्रमिकको हक अधिकार र उनीहरुलाई जागरुक गर्ने उद्देश्यले त यहाँ साहित्य लेखिएको छैन होला । नेपालमा पनि व्यवसायिक प्रकाशन संस्थाहरुले त ध्यानै दिएका छैनन् । साहित्यलाई एउटा विकाउको रुपमा छापिरहेका छन् र एउटा मध्यम वर्गले कस्तो रुचाउँछन् त्यस्तो किसिमले प्रकाशन गरिहेका छन् । श्रमिकहरुलाई उजागर गर्ने किसिमको साहित्य पहिलादेखि अहिलेसम्म लेखिएको छ जस्तो लाग्दैन ।
म पनि एउटा साक्षी हो मलेसियाको साहित्यिक यात्राको सुरुवातदेखि अहिलेसम्मको । मलाई लाग्छ यहाँका पत्रपत्रिकाहरुले साहित्यिक कृति र मनहरुलाई राम्रो साथ दियो तर आजभोली पत्रपत्रिकामा भन्दा पनि फेसबुक तिर बढि झुम्मिने गरेको सुनिन्छ के यो साँचो हो ?
पहिला म मलेसियामा २००७÷८ तिर थिएँ, त्यतिबेला जसरी हामी पढ्ने गथ्र्यौं आजभोली हामी आफैं पनि पत्रिका नपढ्नुमा धेरै कारणहरु छ । एउटा राम्रो बजार व्यवस्थापन नहुनु हो । जस्तै मैले ड्यूटी गर्ने ठाउँ साहालम पनि कहिले पत्रिका आउने त कहिले पाउँदैन । कहिलेकाहीँ एउटा मात्र पत्रिका पाउने गरेकोले पनि साहित्य लेख्ने साथीहरुले आफ्नो लेख रचनाहरु कम दिइरहेका छन् जस्तो लागेको छ । त्यो चाँही दुखको कुरो हो ।
पहिला मलेसियमा साहित्य प्रकाशनको लागी हामीलाई कुन साहित्य राख्ने भनेर छान्न नै गाह्रो हुने गर्दथ्यो, धेरै नै आउने भएको र सबैलाई पालो दिनुपर्ने भएकोले राम्रा साहित्यकारले पनि अन्याय हुने गर्दथ्यो तर अहिले त्यस्तो छैन धेरै कम छ किन होला ?
पहिलो कुरो त त्यतिबेला सामाजिक सञ्जालहरु थिएन । त्यसकारणले पनि सबैले आफ्नो रचनाहरु प्रकाशन र अरुलाई देखाउनको लागि पनि पत्रिकाममा दिने गरेको पाइन्थ्यो । तर अहिले सामाजिक सञ्जालले गर्दा फेसबुकमा स्टाटस लेख्यो २÷४ मिनेटमा नै प्रतिक्रिया आउने भएकोले र चर्चामा आउन सजिलो हुने भएकोले पत्रिकामा छपाउनेमा कमी भएको जस्तो लाग्छ ।
तर प्रभावकारी त पत्रिका नै होइन र ? मलाई पनि त्यही लाग्छ । छापा पत्रिकाको महत्व एकदमै बढी छ । यो अहिले पनि छ र भोली पनि रहने छ । सामाजिक सञ्जाल हुन् या रेडियो, टेलिभिजन त्यो छापामाध्यमजस्तो सशक्त बन्न सक्दैन ।
मलेसियामा भएका श्रमिकहरुका समस्या र चुनैति के देख्नु भएको छ ?
मलेसियामा रहेका श्रमिकहरुका समस्या त धेरै नै रहेका छन् । तर सबै भन्दा ठुलो कुरो चाहीँ भनेको मेनपावरले दिएको एग्रीमेन्ट पेपर र यहाँ आउँदा पाउने एग्रीमेन्ट पेपर फरक फरक हुने, भनेको सेवा सुविधा नपाउने देखेको छु । म आफैं पनि यसको शिकार हुन पुगेको छु । मेरो सेक्यूरिटी कम्पनी हो । हामीलाई २६ दिनको १४०० रिंगेट भनेर दिएको एग्रीमेन्ट पेपर पछि यहाँ आएर हामीलाई झुक्याएर अर्को एग्रीमेन्ट पेपरमा सही गर्न लगाएर अहिले ३० दिनको १४०० छ, छुट्टी छैन । अलि कति बुझेकोलाई त यसरी ठगिएको छ भने झन् आफ्नो नाम पनि लेख्न नजान्ने साथीहरुलाई के गरको होला त्यो त कल्पना पनि गर्न सकिँदैन ।
समाधान के देख्नु हुन्छ ?
समाधान त राज्यले नै गर्नु पर्ने हो । राज्यको यहाँको हकमा अभिन्न अंग भनेकै राजदुतावास हो । मैले धेरै नै श्रमिकहरुको मुखबाट सुन्ने गरेको छु राजदुतावासको फोन नै उठ्दैन भन्ने तर चिनजान र दलालहरुको मात्रै फोन उठ्छ भनेर । मैले आफूले पनि महसुस गरको कुरा हो हाम्रो पनि फोन उठ्दैन । मलेसियाको हकमा राजदुतावासले पनि खासै श्रमिकका लागि केही गरेको छैन । अहिले घर जानेहरुलाई भने केही सजिलो पारको छ ।
श्रम र आप्रवासनको यो निरन्तरता विदेशप्रतिको मोह र राज्यको त्यसप्रतिको चासो नदेखिएकोमा यसलाई सुधार्न के गर्नु पर्ला ?
राज्यले युवा लक्षित कार्यक्रमहरु ल्याउनु पर्छ । अहिलेसम्म हाम्रो देशमा आएका जुनै पनि सरकारले युवाहरु लक्षित गरेर कुनै पनि कार्यक्रमहरु ल्याएको र भएको कार्यक्रलाई पनि प्रभावकारी ढगंले सञ्चालन गर्न सकेको छैन । जुनै पनि पार्टीले आफ्ना कार्यकर्ता बाहेक अरुलाई ध्यान दिन सकेको छैन । म आफैं पनि एउटा लेख्ने मान्छे भएकोले ममा पनि एक किसिमको स्वाभिमान थियो । देश छोडेर नजाऊँ भन्थेँ । पहिला पनि आएको थिएँ त्यस्तै बाध्यताले नेपाल फर्के पछि पनि केही गर्छु भनेको थिएँ र गरे पनि । तर सफल हुन नसकेपछि फेरी मलेसिया आउनु प¥यो । युवाहरु विदेशिनु देशको लागि घातक नै छ तर सरकार पनि अप्रत्यक्ष रुपमा जसरी हुन्छ युवाहरुलाई विदेश नै खेद्नु पर्छ भन्ने उदेश्यमा लागेको जस्तो लाग्छ किनभने युवाहरु लक्षित कुनै पनि त्यस्ता योजनाहरु ल्याइएको छैन ।
कति पल्ट विदेशिनु भयो ?
पहिलो पल्ट २००७ मा आएर २०१० मा फर्केको थिएँ । अहिले २०१३ को अन्तिममा आएको हुँ ।
तपाई फेरी त्यही निरन्तरता दिइ राख्नु भएको छ नि ?
बिड्म्बना नै भन्नु प¥यो सर म नचाहँदा नचाहँदै पनि आउनु परेको छ । कोही त रहरले पनि आएका होलान तर नचाहँदा नचाहँदै आउनेहरु पनि लाखौँ युवाहरु विदेशिएका होलान् ।
तपाईको विदेश यात्रामा के कति कमाउनु भयो ?
कमाउनु त केही रहेनछ । एक जना साथीले भन्नु हुन्थ्यो अचानोले मासु खान पाएको छु भन्नु र विदेश आएको छु कमाएको छु भन्नु एउटै कुरा हो । त्यो कुरा मलाई जायज लागेको छ । हामीले यहाँ ३ बसेर कमाएको भन्दा बढि गुमाउँदा रहेछौ हामीले ३ वर्षमा गुमाएको समयलाई रिकभर गर्न फेरी अर्को ६ वर्ष लाग्ने रहेछ । यो मेरो बुझाई हो मलाई लाग्छ विदेश आएर कमाउनु भन्दा पनि गुमाउनु पर्ने बढि रहेछ ।
प्रवासी साथीहरुलाई केही सन्देश दिनुहुन्छ कि ?
प्रवासी साथीहरुलाई म के भन्न चाहन्छु भने यहाभन्दा पनि नेपालमा नै केही गर्नु पर्छ । एक्लैले त केही गर्न सकिएला जस्तो लाग्दैन । त्यसैले कुनै समूह वा संगठनमा आवद्ध भएर कृषिमा लगानी ग¥यो भने केही हाम्रो देशमा नै गर्न सकिन्छ ।
प्रकाशित मिति: २०७१ कार्तिक १२ गते १४:३५ बजे
(स्रोत : Nepalaawaj)