गोबरमा उम्रिएका गुजुक्क च्याउ झैं गुजुप्प बसेको, फुसैफुसका बुकुराहरूको अनुहार आज न्याउलिएको छ । कुनै बुकुराभित्र सानासाना नाङ्गा, धुस्रेन्न र फुस्रेन्न केटाकेटीहरू भुइँमा लडीबुडी गर्दै आमालाई करकर गर्दैछन् । कुनै बुकुरोमा सुत्केरी आइमाईहरू दैलाको ठेलामा बसेर आफ्नो लोग्ने आउने बाटो तिर्खाएका काकाकुलले पानीका डोबिल्का खोजेका आँखाले झैं चालिरहेछन् । बुकुराभित्र लुकिरहेको अन्धकार बिस्तारबिस्तार बाहिर लम्किन लागेको छ । ‘बा आज पनि उसको लोग्नेको झोला रित्तै आउने हो ? …, बा बाबुले आज पनि दाउरा ल्याउन नपाउने हो ?’ यस्ता दुःशङ्काहरू लहरै बुकुराहरूमा आँधी झैं ओइरिरहन्छन् । एकैसाथ सबैका रौं ठाडा हुन्छन् । बिहानदेखिको भोकको विरोध भुराभुरीले आआफ्ना आमा–दिदीहरूलाई दङ्ग्याएर गरिरहेछन् । दिउँसो माछा, गँगटा र घुँगी खोज्न पैनी र खोल्साहुँदी गएका सबै केटाकेटीहरू घरमा भोकले अत्तालिएर भेला भएका छन् । दुई–एक गँगटा पोलेर खाए । त्यसले त झन् सुतेको भोक ब्यूँझे जस्तो मात्र भयो । वस्तीका बुकुराहरू, बुकुराका भुराभुरीहरू, भुराका पेटहरू, पेटका आन्द्राहरू सबैले आ–आफ्ना बाबु, आमा, दाजु, भाउज्यूहरू आउने बाटो हेरे । बाटोलाई क्रमशः साँझको अन्धकारले कालो च्यादर ओडाउन थाल्यो । भुराहरूका एकोहोरिएका आँखा र मनहरूलाई अन्धकारले आफ्नो निठुरी अँगालो भिराएर ङ्याक्न थाल्यो । क्रमशः बुकुरे वस्ती अन्धकारमा डुब्यो । सबैका आँखा भनौं टोलै, वस्ती नै अन्धकारको अधिनमा, अँध्यारोको कब्जामा पर्यो । अब कान थापेर अलिक पर्तिरको चालचुल सुन्नुबाहेक इन्द्रियको कुनै अर्थ रहेन ।
एकलो प्रतीक्षाले अब सीमा नाघ्यो । वल्लोघरको पल्लोघर, पल्लोघरको वल्लोघर हुँदै अब सारा बुकुरे वस्तीमा एउटा कौतुहल उम्रियो । “यति बेलासम्म किन आइपुगेनन् कोही पनि ? … फलानो त आइपुग्नु पर्ने ! … फलानो त जस्तै परे पनि अघि नै आउँथ्यो ! …” यस्तै यस्तै कुराहरू बुकुराहरूका आइमाईहरू माझ, बुढाबुढीहरू माझ चर्चा हुन थाले ।
“ए ! जाया देखिस् ते अजनियेर बाडी ! वे आइछे कि नाईं ? ओर् मागी विमारी आछे ।” (ए ! गएर हेर त रजनीका घरमा ! ऊ आएको छ कि छैन ? उसकी स्वास्नी विमारी छे ।)
“अङ्चलु आइछे कि ? ओर् आइडार पांचुटी होइछे बोले । ओक् आस्वा लागिल् हय् !” (रङचलु आएको छ कि ? उसकी आमा सुत्केरी छ अरे । ऊ आइपुग्नु पर्ने !)
इत्यादि कुरा भए । केटाकेटीहरू गाउँमा अन्धकारमा भुस्याहा कुकुरहरू झैं नजानिंदा कौतुहलहरू बोकेर वर र पर दौडे । जङ्गल गएको कोही पनि आइपुगेको थिएन । कसैको घरमा आगो बलेको थिएन । आगो बल्नुको अर्थ पनि थिएन । जङ्गलबाट जब दाउरालाई सामलतुमल पारेर दाउरे आउँथ्यो तब मात्र आगो बाल्नुको केही अर्थ हुन्थ्यो ।
हिजोदेखि ब्रत बसेको यो गाउँ, बा आज पनि निराहारी हुने हो कि ? एक प्रकारको कोक्याउने आतङ्क व्याप्त भयो वस्तीमा । आतङ्क र अँध्यारोले वस्तीलाई चिहिलविहिल पार्यो । बिरोलिएको मौरीको घार झैं अन्धकारमा त्यो वस्ती नै बिरोलियो । ससाना भुराभुरीहरू काँ–काँ र कीं–कीं रोएको माथि मोडसम्म नै सुनिन थाल्यो । तर अहँ अहिलेसम्म जङ्गलबाट कोही आएन ।
निकै वेरपछि मोडतिरबाट तीन–चार जना मान्छे कल्याङ–कुलुङ गर्दै यतातिर झरेको आवाज नजिकिंदै आयो । नाचघरमा नाच सुरु हुँदा झैं आफैंआफैं गाउँको हल्ला शान्त भयो । गाउँभरि आफैंआफैं उब्जेको त्यो कौतुहल बलेंसीमै पर्खेर बसेको थियो, ठेलोमै कान थापेर बसेको थियो । प्रतीक्षामा बसेको त्यो वस्तीलाई तीन चार जनाको कल्याङ–कुलुङले के सान्त्वना दिंदो हो र ! तैपनि जन्तीको बाटो हेरेका घर्कौंलेलाई भत्खरुले गर्ने काम गर्न सक्तथ्यो । त्यसैले सारा बलेंसीहरू त्यो कल्याङ–कुलुङमा आकर्षित भए । सारा ठेलाहरू त्यही कल्याङ–कुलुङतिर तानिए । तर अजनीकी स्वास्नी सुतीरही । अङ्चलुकी आमा पनि कान ठाडाठाडा पारेर जहाँको तहीं बसिरही । कल्याङ–कुलुङ आयो । गाउँभित्र पस्यो । भवेन, रूपलाल, डोलो, गोलढुङ्गा, धोदा रहेछन् । सबै दाउरेहरूलाई पक्रेको, बञ्चरा–खुर्पा खोसेको, बाङ्कुवा काटेर टुक्राटुक्रा पारेको कुरा उनले सुनाए । उनीहरूचाहिं भागेर अर्कैैतिरबाट उम्केका रहेछन् ।
“वनपालेरा असुनी, अजनी आर अङ्चलुटाक खिप डाङ्गाइछे तो !” (बनपालेले अश्विनी, रजनी र रङ्चलुलाई सारै पिटे) उनीहरूले भने । आआफ्ना परिवारको कुरा सोध्न सब तम्सिए । तर उनीहरूले आफू पनि भाग्ने धुनमा हुँदा अरु सबैको वारेमा केही थाहा नपाएको कुरा भने । एकै छिन्अघिको आसातित कौतुहल यस्तो दुरासामा बद्लियो । दूध चुसिरहेको नानीलाई अंचलुकी आमाले भैंमा लडाइदिई । अजनीकी स्वास्नीलाई पनि असह्य बेचैनी सुरु भयो । एउटा घातक आतङ्कले वस्ती छोपिदियो । बुकुराहरूका सारा भुराभुरी भुँडीहरूले वनपालेहरूलाई सरापे । भोकले र त्रासले वस्तीलाई सोत्तर पारेर लडाउने निश्चित भयो । छोराभन्दा छोरी बुहारी जङ्गल गएकाहरूको, आमा गएकाहरूको मन कुँडियो । उनीहरू न जङ्गल जाने, न घरमा बस्ने, न आगो बाल्ने न यसै बसिरहने, दोधारमा डुबे ।
करिब एक घण्टापछि फेरि आइमाईहरूको रुवाइ र कल्याङ–कुलुङ वस्तीतिर हान्नियो । आइमाई केटाकेटी जङ्गल गएकाहरूका कान ठाडिए । रुँदै र कराउँदै आएका आइमाईहरू र केही बुढापाकाहरू गाउँमा पुगे । उनीहरू अन्धकारमा लड्दै र पढ्दै आफ्नो प्राणको अवशेष मात्र घर पुर्याइ रहेथे । वस्तीमा पुगेको एक छिनको आरामपछि रुन्चे स्वरमा उनीहरूले गाउँलेलाई बताए– “करिब पच्चीस–तीस जनालाई पक्रे । छ–सात जनालाई कुटेर लोथ पारे, अनि घिसार्न थाले । यस्तो अत्याचार भएपछि हामी पनि खप्न नसक्ने अवस्थामा पुगेछौं । अनि दुबैतिर घम्साघम्सी सुरु भयो । दुबैतिर कुटाकुट भीडाभीडकै समयमा कताकताबाट थप गस्तीहरू आइपुगे । अब हाम्रो केही नलाग्ने भयो । भाग–रे–भाग भयो । गस्तीले गोली चलाएको पनि सुनियो । पहिला पक्रेकालाई छुटाएथ्यौं । भरे फेरि छ–सात जनालाई पक्रेर लग्यो भन्थे । दुई जना मरे भन्थे । ढुङ्गा र लाठी त के असिना वर्षिए जतिकै भयो ।
वस्ती अझ भुङ्ग्रोमा पिल्सियो । सुत्केरीहरूका ओठमुख सुके । नानीहरू रुनुको कुनै अर्थ नहुने भयो । विमारीहरूका हातगोडामा भएको अलिअलि ताकत पनि भाग्यो । ससाना भुराभुरी पानी बाहिर परेका पोठी माछा झै पक्याक्–पक्याक् मुख पार्ने अवस्थामा पुगेका थिए । अन्धकारले त आफ्नो साम्राज्य जमाएकै थियो । हुन त उज्यालोको पनि त्यहाँ कुनै महत्व थिएन । ठुला र अभिभावकको मनमा भोलिको सम्भावित एउटा गोमने सन्त्रास पस्यो ।
“भोलि अब यी अवोध झुप्राहरूमा कस्तो अत्याचार नाच्ला ? त्यो जङ्गलको झडप भोलि यो वस्तीमा स्थानान्तरित हुँदा स्थिति के बन्ला ?” यस्ता त्रासपूर्ण कुकल्पनाहरू चिसो भुईँमा लम्पसार लडे । वर्षा गैसकेको थियो । जाडो पलाउन थालेको थियो । फेरि गरिबका दुर्दिनहरू आँगनमा आइसकेका थिए । गोबरको रापमा रातभर बसेर गुजार्नु पर्ने हिउँद दौडिंदै आउँदै थियो । बोराको एक सरो झापाले न्यानो त के ठण्डी मात्रै सङेट्थ्यो । ‘यो हिउँदमा अब कति जनाले जाडोसँगै विदा लिनुपर्ने हो ?’ अलिक बुढाबुढीका लागि यो हाउगुजी थियो । प्रत्येक हिउँद त्यो वस्तीलाई एउटा डरलाग्दो राक्षसको अनुहार जस्तै लाग्थ्यो । तर अर्को नचिताएको शङ्का, बुकुरैबाट विदेशिनु पर्ने शङ्का उनीहरूका झुप्रामाथिको आकासमा चल्ला टिप्ने चिल झैं घुमिरहेथ्यो ।
मध्यरात भएकै थिएन । तर गाउँलेले सधैंको भन्दा लामो रात बिताएको जस्तो सम्झिएका थिए । यस्तैमा दस–बीस त्रस्त पाइलाहरू त्यस गाउँमा पसे । ती पाइलाहरू वस्तीका आफ्नै रहेछन् । तिनीहरूले आफ्ना र आफन्तका घरघर गएर घटनाको छोटकरी वर्णन गरे । भोलि पुलिसले पक्रिएला भन्ने डरले अहिले नै भाग्नु पर्ने कुरा पनि गरे । एकै छिनमा गाउँमा बचेखुचेका युवकहरू, बुढाहरू अँध्यारैमा एकै ठाम भेला भए । एक प्रकारको पञ्चायत नै भयो ।
“पक्रिएर लैजावस् ! नभाग्ने !” भन्ने भए कति जना । उनीहरू “कि त हामीलाई काम दिनु पर्यो , कि त जहान बालबच्चा जिम्मा लिनु पर्यो । नभए लडेपडेका रुख, सुकेका दाउरा, त्यही नै हाम्रो जागिर !” भन्थे ।
“होइन । भेट्यो पुलिसले भने अहिलेसम्म वन जाँचेले बेचेका, वनपालेले घुस खाएर कटाएका काठको बिगो समेत हाम्रै थाप्लामा पार्छन्, छाला तर्छन् । घरमा जस्तो सजिलो हुँदैन सङ्गीनसँग बोल्न । हो पनि हो र होइन पनि हो हुन्छ !” भन्ने भए कति जना ।
एक जना बुढा त छेउमा अन्धनधुन्ध कराउन थाले– “एही जगेन्, बिसु, आर पधान्टा बिगडाइ दिछे …, नाहोले आजी जङ्गल जावार कुनो दर्कार छिलो नि ! ओमा कथा निए तोमा चल दिलोन् । .. देख ती, … अब केनङ् झमेला आसिल् ? अब एइति रहबा होबे नि ! पलाओ ! सब जन पलाओ !” (त्यही जगेन, बिसु र प्रधानले बिगारे । नभए आजै जङ्गल जानुपर्ने केही जरुरी थिएन । उनीहरूको कुरा सुनेर तिमीहरू गयौ । हेर त कस्तो झमेला आइपर्यो ? अब यहाँ बस्नु हुँदैन । भाग ! सबै जना भाग !)
“जङ्गल जाबार कुनो दर्कार छिलो नि ?” (जङ्गल जानुपर्ने केही जरुरी थिएन ?)– जगेनले झोकिएर बोल्यो– “केनं कथा दादा तोमार् ? कि करे खिलावेन् तो छावारक् ? एक्टा उपाय सुझान् ते ? मुईं आप्नार्संगे एक्टा जिज्ञासा करँछु, एलाय् कुनो खेती किसानीयेर् काज नाइँ । कुनो जायगा काज मिल्वे नि ! अब कि करे छावाराक् पोसिवेन् … ले तोमार् कथा हम मानी, कहेन् तो दादा ?” (कस्तो कुरा दाइ तपाईंको ? के गरेर खुवाउनु हुन्छ केटाकेटीलाई ? एउटा उपाय निकाल्नु त ? म तपाईंलाई एउटा प्रश्न सोधूँ, अहिले खेतीकिसानीको केही काम छैन । काम पाइँदैन । अब के गरेर केटाकेटी पाल्ने ? लु तपाईंको कुरा मान्ने ! भन्नोस् त दाइ ?)
बुढाले कुनै जवाफ दिन सकेनन् । जङ्गलै जानु सिवाय यो वस्तीको कुनै विकल्पै थिएन । त्यसैले जङ्गलै गएथे । आखिर त्यस्तो भयो । सबै जनाले ‘जे भयो भलो भयो’ भन्दै रातारात बेपत्ता हुने निधो गरे र बेपत्ता समेत भए । रात अब घुटुक्–घुटुक् हुँदै बित्न थाल्यो । गाउँ सारा भोको छ । चट्पटाउन नसकी अर्धमृत अवस्थामा लडिरहेछ भुराभुरीहरूको, आइमाईहरूको बुकुरे गाउँ । तर पृथ्वी घुमिरहेछ । रात दौडिरहेछ । त्यसैले रात गयो अर्को दिन आयो ।
अर्को दिन सन्त्रस्त भएर डराउँदै–डराउँदै उज्यालो बुकुरे गाउँभित्र पस्यो । पुलिस र वनपालेहरूको हुल झुप्रा–झुप्रामा घुम्यो । कति झुप्राका फरिकाहरू भत्किए । कतिका बेराहरू लडे । अस्ति पश्चिमा आँधीले गाउँका ती प्याराप्यारा झुप्राहरू चिथोरेथ्यो । माया र प्रेमले लगाएका कति मेवा, कति केराका घरीहरू निर्मम पाराले पढङ्–पढङ् भाँचेथ्यो । आज चाडबाडका मुखमा प्रशासनिक आँधीले परिवारका रुख भाँच्यो, जीवनका घरहरू भत्कायो, बिगार्यो । गाउँले जमात म्याल्ल पर्यो । बुढाबुढी समेतले हत्कडीमा जकडिनु पर्यो ।
भोकभोकै यसरी मान्छेको एउटा बुकुरे वस्ती धुक्धुकी गनिरहेछ धिप्धिप् गरेर । आफ्ना सम्पूर्ण पाखुराहरू जेलमा थुनेर, सम्पूर्ण तागत र जोशलाइ हत्कडी लगाएर । हिम्मत र जाँगरलाई फरार पारेर अब कति दिन घस्रिन सक्छ यो गाउँ ? प्लेगले उजाड पारेको सहर झैं, राक्षसहरूले रित्याएको दन्त्यकथाको राजधानी झैं दिनप्रतिदिन यहाँका बुकुराहरू उजाडिन थाले । तर यो गाउँले यो क्षेत्रमा एउटा घण्टी बजायो । ढोल ठोक्यो । त्यो बुकुरेवस्तीको कुरा अहिले ठुलो, सानो, नबुझ्ने, भर्खरको–बुढो, लाटो–बाठो सबैका ओठओठमा जिब्राजिब्रामा पुग्यो ।
“जनपक्षीय प्रधानलाई पनि पक्डिए अरे !”
“दुई जना मास्टरलाई पनि पो आज पक्डिएर लगेछन् !”
“काम पनि नपाउनु । खान पनि नपाउनु ? छोराछोरी पाल्नु सबैले पर्दैन ? जङ्गल गएर दाउराका भारी बोक्न कसलाई रहर छ ? … दिऊन् त यतैतिर अरु काम ! …”
“जमिनदार साहेपहरूले त ताली ठोक्ने नै भए नि ! अब एक किलो चामलमा जन पाइन्छ भनेर !”
“आफ्ना र ट्रकका ट्रक लकडी कालाबजारी ! टुनाका टुना लकडी कालाबजारी ! यता गरिब–गुर्बाले चाहिं एक भार दाउरामा यस्तो ? के गर्नु र बोल्न पाइँदैन …!”
“अस्ति त्यो स्कुलको फिस बढाएका बेलामा फिस घटाउन हड्ताल गरेका बेलामा समोतका थेनन् स्कुलेहरू ? हो तिनलाई पनि अहिले स्कुलैदेखि लग्यो अरे त ! …”
“ए मैले त अब छिटै नारा जुलुस पो हुँदैछ अरे भन्ने सुनें त ! … विचरा ! तिनीहरूलाई बञ्चरो, बाङ्कुवा खोसेर त्यत्रो कुटेर पक्रेको । फेरि वहाँ लगेर अधमरो पारेको छ अरे !”
“गरेर खान पनि नदिने भो यो सरकारले …!”
“सम्पत्तिवान् जति तस्करी गर्छन् । उद्योग व्यवसाय खोले पो मजदुरी मिल्थ्यो, उति सारो अकाल हुन्थेन । देशमा उत्पादन पनि बढ्थ्यो । सरकारै तस्करको भयो के गर्नु र ! हामी झिना–झाँक्राको केही लाग्दो होइन ।”
यस्तैयस्तै कुराकानी गाउँमा सुनिन्थे । को–को पक्डाउ परे, को–को भागे–हराए ? एक–एक खवरहरू चौतारामा, चिया पसलमा रिठ्ठो नबिराई गुन्जन्थे । अलि छोटो कपाल गरेका या कालो टोपी लाएका या हरिया जुत्ता लगाएको या नौलो बलियो–बाङ्ग्रो युवक आएको देख्नासाथ सब चुपचाप लाग्थे । यस्तैमा दिनहरू बित्दै थिए । बुकुरेवस्ती धुक्धुकी गन्दैथ्यो ।
केही दिनपछिको कुरा हो । मान्छेहरू धमाधम बजारतिर जाँदैथे । बुकुरे वस्तीको नजिकैको बजारमा माइक सा–सारो आवाजमा बोल्दै थियो– “आ–आफ्ना घर जानुहोस् ! यहाँ अशान्त क्षेत्र घोषणा गरिएको छ ! यहाँ कोही नआउनु होला !”
यस्तैमा अक्कासै गर्जिने गरी आवाज घन्केको सुनिन थाल्यो । आवाज बजारको दक्षिणतिरबाट नजिकिंदै थियो । मान्छेको भीड समुद्री आँधी झैं, मान्द्रो बेरिए झैं कुँडुलिएर बजारतिर बढ्दै थियो । ढाल र लाठी बोकेका, हेल्मेट लगाएका प्रहरीका गाडीहरू त्यतातिर बढ्दैथे । जुलुसलाई त्यसले किञ्चित असर पारेको थिएन ।
“बेरोजगारलाई – काम दे !, पक्रिएकालाई – छोडि दे !, प्रशासनको अत्याचार – बन्द गर् !, बढ्दो महँगी – नियन्त्रण गर् !” यस्तैयस्तै नाराहरूले बजार गुन्जायमान पार्यो । जगेन, बिसुहरू जुलुसमा अघिअघि देखिन्थे । भोका र दुब्ला शरीरहरू, झत्ता र झुम्रा लगाउनेहरू आज यस जुलुसमा न्वारानदेखिको बल निकालेर कराइ रहेका थिए । पुलिसका लाठीहरू सब नाकाम भए । सङ्गीनसँग कोही डराएन । लाठीबाट कोही भागेन । पसलतिर कसैको कुनै कुदृष्टि थिएन । तर आश्चर्य ! आजसम्म कहिल्यै नभएको यो अदम्य जुलुस, अपूर्व उत्साह, आवेश, इतिहासमा पहिलो पल्ट देखा परिरहेथ्यो । किसानहरू, विद्यार्थीहरू अति उत्तेजित स्वरमा नारा उराल्दै थिए । जुलुस आफ्नो लक्ष्यतिर सफलतासाथ बढिरहेथ्यो ।
भोको गाउँ भोकै थियो । आन्दोलित मान्छेहरू आन्दोलित नै थिए । भोलिपल्ट हुँदी “अझै क्याम्पसका विद्यार्थी पनि पक्राउ परे अरे !” “अर्को जिल्लामा पनि यो हड्ताल हुने अरे !” इत्यादि कुराहरू सुनिन थाले । जगेन, बिसु जस्ता सम्पत्तिले पुछिएका मानिसहरू पो यस आन्दोलनमा ज्यान माया मारेर लडिरहेका थिए । आश्चर्यले मान्छेहरू आफैंआफैं अनियन्त्रित थिए । भोका बुकुरे वस्तीका गरिबहरूले कस्तो समस्या उराले कोनि, यसले आन्दोलन रोकिने, थामिने त होइन देशमै भैंचालो ल्याउला जस्तो, उथलपुथल होला जस्तो लक्षणहरू पो देखिन थाले ।
१३ मंसिर, २०७१
(स्रोत : Recordnepal)