कथा : कविताको त्यो आगो

~शशी लुमुम्बू~Shashi Lumumbu

हामी कविताको त्यो आगोमी गफिँदै–जिस्किँदै ढोँडेको जंगलमा पुगेका मात्रै के थियौँ, खोलापारि तीनजना प्रहरी देखिए । सिकारको खोजीमा बस्तीतिर पसेका भोका स्यालझैँ लखरलखर हामीतिरै आउँदै गरेका । तिनलाई देखेर म बोलेँ– ‘ऊ प्रहरी † यतै पो आउँदै छन् त, कतै मलाई नै समात्न आएका त होइनन् ?’ मेरो शंकाले साथीहरूलाई पनि झस्काएछ । डिल्लीले भने– ‘तँ कतै लुक् । हामी अगाडि जान्छौँ । कता हिँडेका रहेछन् थाहा लागिहाल्छ ।’

साथीहरू अगाडि लम्किए । मचाहिँ के गरौँ, कसो गरौँको दोधारमा परेँ । मास्तिर झाडीमा गएर लुकौँ कि जस्तो पनि लाग्यो तर आइपरेको परिस्थितिको सामना गर्ने विचार आयो । र, अगाडि बढेँ ।

प्रहरीहरू हामीछेउ आइपुगे । एकजना हामीले चिनेकै प्रहरी रहेछ– रुद्रबहादुर ढकाल । उसले मलाई सोधिहाल्यो– ‘भाइ † तपाईंको नाम के पो ?’

‘ल ठीकै भएछ, हामी तिमीलाई नै लिन आएका हौँ । सिडिओ सा’बले तिमीलाई भेट्न बोलाउनु भा’को छ । ल हिँड हामीसँग जिल्लातिर,’ उसले भन्यो ।

यकिन भयो म पक्राउ परेँ । अब के गर्ने होला ? एसएलसीको परीक्षा नजिकिइरहेको छ । ट्युसन पढ्न हिँडेको मान्छे । सब बर्बाद भयो । मनमनै सोचेँ र सोधेँेँ— ‘म ट्युसन पढ्न हिँडेको मान्छेलाई किन पक्रेको ? मैले के बिराएँ ? मलाई पक्रनुको कारण के हो ? खोइ पुर्जी ?’

‘ए † तँलाई पुर्जी चाहियो ? गफ त निकै जानेको रै’छस् । सरासर हिँड न हामीसँग, पुर्जी त पाइहाल्छस्नि †’ ओठमा घना जुँगा पालेको एउटा मोटे प्रहरीले भन्यो । ऊ हवल्दार प्रेमबहादुर दङ्गाल रहेछ । रुद्रेचाहिँ हामै्र गाउँको मान्छे थियो । छुद्र र लिच्चड किसिमको छवि भएको उसलाई गाउँमा कसैले पनि मन पराउँदैनथे । केही दिनअघिदेखि गाउँमा बढिरहेको उसको चुरीफुरी यही कारण रहेछ भन्ने मैले बल्ल चाल पाएँ । सेन्टअप टेस्ट दिएका विद्यार्थीहरूको बिदाइ समारोहमा मलाई उसले देखेको थियो । त्यसबेला मैले गरेको क्रान्तिकारी भाषण र वाचन गरेको कविता उसले अझै सम्झिरहेको रहेछ । ऊ हवल्दारलाई मेराबारे उकेरा लाइरहेको थियो– ‘हवल्दार सा’ब † यो त नेता पनि पो हो त ।’

अर्को प्रहरी मौन थियो । तामाङ भन्दै बोलाउँथ्यो हवल्दारले उसलाई । उसले चाहिँ मलाई बाटैभरि भनिरहेको थियो– ‘यति सानो मान्छे पनि कहीँ कम्निस्ट हुन्छ र † भाइ त भागे पनि हुन्छ ।’ म साँच्चै नै लुरे ज्यानको थिएँ ।

केही दिनअघि शालिकराम ढकालले मलाई एक दिन खुसुक्क भनेका थिए– ‘शशी भाइ † तपाईंको नाममा सिडिओ कार्यालयबाट वारेन्ट आएको रहेछ, रुद्रे प्रहरीले सोधखोज गर्दै थियो । होसियार भएर हिँड्नु होला है † प्रहरीले कुनै पनि बेला तपाईंलाई पक्रन सक्छ ।’

मैले उनको कुरालाई खासै वास्ता गरिनँ । पक्रे पक्रन्छ भन्ने लाग्यो । अन्तत: म गिरफ्तारीमा परेँ । तथापि मलाई आफू गिरफ्तारीमा परेकोमा दु:ख नलागेर एकप्रकारले गर्वानुभूति भइरहेको थियो ।

मलाई प्रहरीहरूले आफूसँगै लिएर हिँडे हाम्रै गाउँतिर । मेरा साथीहरूचाहिँ स्कुलतिरै लागेजस्तो गरे । यदि म पक्राउ परिहालँे भने अरू क–कसलाई पक्राउ गर्न आएका रहेछन् ? बुझेर र तिनलाई सूचना दिएर भगाउने भन्ने हाम्रो सल्लाह भइसकेको थियो ।

‘तँ त खुब क्रान्तिकारी कवि पो रै’छस् । राजाविरोधी कविता लेख्ने मु…† भन् तेरो त्यो कविता कसले लेखिदिएको हो ?’

ए † यिनेरले मलाई त्यो कविताको कारणले पो पक्राउ गरेका रहेछन् भन्ने मैले बल्ल बुझेँ । तर, केही नबुझेझैँ उल्टै जुँगे हवल्दारतिर प्रश्न फर्काएँ– ‘कस्तो कविता ? मलाई केही थाहा छैन ।’

‘बढो बाठो बन्दो रै’छस् । हेर्दा त फुच्चे देखिन्छस् । मान्छे त कडै पो रै’छस् । नढाँटी भन्, अस्ति नै देवकोटा जयन्तीमा तैँले सुनाएको त्यो कविता कसले लेखिदिएको हो ?’

‘ए त्यो कविता ? म आफैँले लेखेको हुँ । कविता पनि कसैले लेखिदिएर हुन्छ ?’ मैले जवाफ फर्काएँ ।

‘तँ निकै बाठो रै’छस् । अब थाहा पाउँछस् ।’ हवल्दार कड्कियो र जुँगामा ताउ लगाउँदै मलाई शिरदेखि पाउसम्म नियाल्यो । म चुपचाप तिनीहरूको बीचमा हिँडे । बाटोभरि तिनले मलाई अत्याए– ‘राजाको गाथगद्दी ताक्ने मुला † अब जिन्दगीभरि जेलमा सड्ने भइस् ।’ हाइस्कुल पढ्ने फुच्चे केटाले यस्तो राजतन्त्रविरोधी क्रान्तिकारी कविता लेखेकै होइन, अरू कसैले लेखेर मलाई वाचन गर्न मात्र लगाएको हो भन्ने ठानेको रहेछ प्रहरी प्रशासनले ।

भक्तकिरण तल खोलैखोला, जंगलैजंगल फालहान्दै अघि नै मेरो घरमा पुगेर म पक्राउ परेको समाचार दिएछन् र घरमा भएका क्रान्तिकारी किताबहरू लुकाउन सहयोग गरेछन् । मलाई ती किताबहरूको बारेमा डर लागिरहेको थियो । अनेरास्ववियुको तत्कालीन भोजपुर जिल्ला कमिटी सहसचिव थिएँ म र मेरो खल्तीभरि सदस्यता रसिद, पर्चा–पम्प्लेट थिए, जसलाई मैले यस्सो पाखा लागेजस्तो गरी नष्ट गरिदिएँ ।

प्रहरी घरमै पुगेर खानतलासी गर्ला कि भन्ने भयले मलाई खुब पछ्याइरहेको थियो । तर, धन्य तिनीहरू हाम्रो घरतिर लागेनन् । मणि राईलाई खोज्दै उनको घरमा पुगे । उनलाई घरमा नभेटेपछि कट्टीतिर उकालिए । तिनले कट्टी स्कुलबाट मणि र भूमि राईलाई पक्राउ गरे अनि याकुतिर लगे । याकुमा पुगेर शंकरप्रसाद ढकाललाई पनि पक्रिए । विप्लव र देवराज ढकालको नाममा पनि वारेन्ट रहेछ । विप्लव दाइ भोजपुरमै थिए । देवराजले चाहिँ हामी पक्राउ परेको सुइँको पाएर सुइँकुच्चा ठोकेछन् ।
महाकवि देवकोटाको जन्मजयन्ती मनाएको अभियोगमा हामीलाई पक्राउ गरिएको रहेछ । याकुमा धुमधामले मनाएका थियौँ जन्मजयन्ती । र, त्यस कार्यक्रममा वाचित कविता तथा देवराजहरूले प्रस्तुत गरेको प्रहसनलाई आधार मानेर देवकोटा जयन्ती मनाउने बहानामा राजतन्त्रविरोधी गतिविधि गरेको भनेर हामीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको रहेछ । कुनचाहिँ मण्डलेले त्यो काम गर्‍यो ? अहिलेसम्म पनि रहस्यको गर्भमै छ ।

डिएसपी कार्यालय पुगेपछि अर्को कुरा पनि थाहा भो– मेरो नाममा त अर्को पनि वारेन्ट रहेछ । रेकर्ड फायल पल्टाएर मलाई इन्सपेक्टरले थर्कायो— ‘ओठ निचोर्यो भने दूध आउलाजस्तो छ, साला फुच्चे कम्युनिस्ट राजनीति गर्ने ? क्रान्तिकारी कविता लेख्ने ? अब गइस् तँ जेलमा । एई यसलाई खोरभित्र लगेर थुनिदेओ ।’

कविता लेखेकै कारण मैले स्कुलबाट पाइरहेको छात्रवृत्ति खोसियो । नागरिकता प्रदान गरिनमा पनि बन्देज लगाइयो । घरमा बुबाआमालाई दिनरात विभिन्न किसिमका टर्चर दिइन्थ्यो । अब त राजाको गाथगद्दी ताकेको अभियोग पनि लाग्यो ।
हामीलाई सिडिओले अन्तत: पन्ध्र दिने तारिखमा रिहा गरिदियो । लागेको थियो– जेल हाल्ला । तर, कुन्नि † किन हो तारिखमा छोडिदियो । दुई तीनचोटि तारिख धाइयो पनि । त्यत्तिकैमा ०४६ सालको जनआन्दोलन सुरु भयो । हामी भूमिगत भएर आन्दोलनमा होमियौँ । प्रहरीले धुइँपत्तालसँग हामीलाई खोजिरहेकै थियो । र, हामीविरुद्धको मुद्दा बहुदल आएपछि मात्र खारेज भयो ।

मैले त्यतिबेला सुनाएको कविताको शीर्षक थियो— कुन्नि † अब यहाँ के हुने हो ? फ्रान्सेली राज्यक्रान्तिको विषयलाई आधार मानेर लेखिएको त्यो कविताले तत्कालीन निर्दलीय पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रलाई साँच्चीकै हल्लाइदिएको रहेछ र त कविता लेखेकै कारणले मलाई गिरफ्तार गरी राजगद्दी ताकेको मुद्दा लगाइयो ।

म आठ–नौ कक्षाको विद्यार्थी हुँदैखेरि (वि.सं.२०४५ सालमा) लेखेको यो कविताले राज्यसत्ताको मुटु त्यस्तरी हल्लाइदेला र त्यत्ति ठूलो तरंग सिर्जना गर्ला भन्ने मैले त अन्दाजै गरेको रहेनछु त्यतिबेला । तर, जब–जब आज यो कविताले बोकेको भाव र यसको भयानक सन्देशबारे म गहिरिन्छु, तब–तब मेरो आङ सिरिङ्ग भएर आउँछ ।

(स्रोत : SouryaDaily)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.