मणि हराएको सर्प जस्तो
किन एकसुर छ मन ?
कसले च्यात्यो सात चिरा इन्द्रेणी,
किन छ यति सादा मौसम ?
निराशा आफैं चकित पर्ने गरी
यो नौजवान
किन छ यति गलित र थकित ?
जिन्दगीको लमतन्न सडकमा
आमाले कति बालिन् होला दीर्घायुको बाती
यता आफ्नो छाती भने
फुकिरहेछ आयु छटपटीमा ।
मैं हराएको हुँ कि
म जस्तो जवान सपना हराएको हो,
खोजिरहन्छु सहरको बगरमा
धुलोका कणहरूसँगै उडिरहन्छु ।
थाप्नुपर्छ रे जिन्दगीमा बल्छी
जोहो गर्नुपर्छ रे सक्दो धेरै सिकार
हेर्छु पृथ्वीको कुण्डमा –
मैं जस्तो देख्छु हरेक चेहरा
चिन्तन होइन चिन्ताको बल्छीमा
फाल हान्छ एउटा चंगा बिहान
डुब्छ एउटा वृद्ध साँझ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार )