डाँगो स्याल कलास्छ दक्षिण दिशामा नित्य धोती कसी ।
त्यस्का झुन्ड कराउँछन् अथि सबै हाहा र हुहू गरी ।
अर्काको कुभलो सधैं गरिगरी डाँगो खुसी बन्दछ,
आफ्नै मित्र मराई त्यै रगतमा आफू सधैं रम्दछ ।।
अर्काे पीर छ खेतमा पनि सधैं जालै गरी बस्दछ ,
रातारात स्वयं लुकेर उसले आली उँभो कस्दछ ।
आफू मात्र गई भन्यो कि त त्यहाँ डाँका ठुला गर्दछ ,
राखी पञ्च कुरा गर्यो यदि भने आफैं कता मर्दछ ।।
दिल्लीभित्र अजङ्गका जखमले देख्दैन हात्ती पनि,
नेपालीहरुका लिखा सहजले देख्ने कुरा गर्छ नि ।
यो उस्को कुटिल प्रमाण अब ता संसारले जान्दछ,
ब्वाँसाका मतियार हुन् सब जना भन्ने कुरा मान्दछ ।।
ब्वाँसाले त स्वजातिका घरहरू भाँड्दैन यो सत्य छ,
त्यो भन्दा तल गिर्नु नीच पशुता भन्दा अझै तुच्छ छ ।
गिद्धै हो कि स्वयं लुछी अलिअली चोक्टा र लाम्टा गरी,
निल्ने दाउ लिंदैछ हे स्वजन हो भाँचौं चुचो बेस्सरी ।।
पल्क्यो सिक्किम खाइ यो अजिंगरै नेपाल खाँला भनी,
लागेको छ अनेक जुक्ति बलले जिब्रो निकाल्दै छ नि ।
फोरेट् छर्किनु पर्छ है सब मिली या भाग्छ या मर्छ नै,
हे नेता नडराउ छौ. पछिपछि यो देश जोगाउनै ।
अर्काको घर भाँड्न उद्यत हुने त्यो मन्थरापुत्र हो,
उस्को शोचविहीन मूढमति झन् त्यो श्वानको मूत्र हो ।
आओ सिक्न सिकाउँछौं अबुझ हो सिक्ने छ बानी भने,
आओ लड्न तयार छौं खुकुरिको यो धार थाम्छौ भने ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )