कथा : बिनानिम्तो, रातहरुले बल्झाउछन् पींडाहरु

~लारा राइ~Laxmi Rai 'LARA'

सधैं ब्यस्त हुन रुचाउने मष्तिष्क- जब बिथोलिन्छन्, मन बैचन हुन्छ । यस्तो बेला प्रायः गजल सुन्न रुचाउँथें । या पुराना गितहरु । समयसँगै मान्छेका रुचिहरुमा ब्यापक परिवर्तन आउँदो रहेछ । हिजोआज-बैचन मनसँगै रातको निस्तब्धतालाई भंग गर्न, मैले या त चुरोट सल्काउन पर्ने हुन्छ कि भने, चुरोटको खिली समात्ने र्अौलाहरुलाई कि-बोर्डमा नचाउनुपर्ने हुन्छ ।

खास नियमबद्धतामा बाँधिएको भन्दा बेगल यो एक टुक्रा साँझ । स्व. नारायण गोपालका कालजयी गितसँगै मार्लबोरो रेडको धुँवाभित्र गहिरिंदै छ । छेवैको साइड टेबलमा ह्विस्कीको आधा पेग ग्लास यथावत छ ।

सुमधुर गित वातावरणमा उस्तै गुन्जिरहेछ –

केहि मिठा बात गर……साँझ त्यसै ढल्किंदैछ
भरै फेरि एकान्तमा, रुनु त छँदैछ………………
भाषा । शब्दको मर्म नबुझे पछि कस्को के लाग्छ ! रक्तवर्ण गुलाफको फूलजस्तै रक्तिम लालिमा गोरो गालाभरि सोह्रॊरेर उ सोफामा बसिरहेकी छे । कालजयी नेपाली गितको शब्द तथा मर्मले उसलाई कति पनि छुदैन । उसको गल्ति पनि होईन। दुई विपरित ध्रुव र संस्कारको भिन्नता । सिगरेटको लामो कससँगै मैले उसको अनुहार नियालें । निधार खुम्च्याउँदै खै के के गर्दै थिई । खुम्चिन्दैं गरेको त्यो धसा्रहरुभित्र म थिएँ या थिईंन अथवा थिएँ भने-कहाँ कतिसम्म र थिईँन भने-किन थिईँन त ?

उसको मौनतालाई भंग गरेर सोध्न मन लागेन ।

अन्ना-मारिया बेलायत आएको एकवर्ष नबित्दै भेटेकी स्पेनिश युवती । लिभिङ-टु-गेदर पार्टनर । मेरो फ्ल्याटबाट भोलि सरेर अन्त्य कतै जाँदैछे। मैले सोधेको छैन-कहाँ कोसँग किनकी कानुनतः अधिकारभित्र पर्दिन उ । स्वतन्त्र आई । जाँदैछे । आपत्ति जनाईन त्यसैले । आखिर निर्णय पनि उसैले गरेकी हो ।

कुनैपनि कुराको सुनियोजित आरम्भ हुँदैन । नत अन्त्य नै । अन्ना-मारियासँगको भेट अनि सम्बन्ध पनि त्यस्तै हो क्यार ! केहि दिनअघिमात्रै उसले अलिकति पनि अप्ठ्यारो नमानिकन आफ्नो निर्णय जाहेर गरि- “म तिमीबाट अलग हुन चाहन्छु तथापि हामी असल मित्र रहने छौं सधैं ।” भविष्यप्रति कुनै सम्झौताहरु थिएनन् हाम्रा । अतः छुट्टिन्दैछौं भोलि-दुवै ।

नौलो शहरमा अभ्यस्त बन्दै थिएँ । प्रेमको निश्चित भूगोल हुँदैन । जात र जाति हुँदैन । उसको सामिप्यतालाई सजिलै स्विकारें । कारण, रिक्तता भोग्नु पनि साह्रै असहज हुँदोरहेछ । अझ लोग्ने मान्छेको जातलाई । बिना उद्ये्रश्य धेरै रातहरु खुट्टा लर्र्बर्याउँदै घर आएको छु । यो पनि लोग्नेमान्छेको स्वभाव तथा स्वभिमान अरे । त्यसो त, परस्त्रीगमनकारी वा नपुशंक पुरुष, म दुवै होईन । नत भाले हुनुको घमण्ड छ । स्वभाविक तवरले-शारीरिक तथा मानसिक दुवैं संरचना अन्र्तगत दुई परिपक्व वयस्क आपस्तमा एकाकार भएर रहनु अनौंठो घटना पनि रहेन । त्यो अर्थमा दुईवर्षका प्रेमिल साथहरु- सहमतिमा गुजार्यौं । सहमतिमा नै छुट्दैछन् पनि ।

सायद यस्तै होला-पश्चिमा जीवन शैली । सजिलै हाई! सजिलै बाई!

एस्ट्रे भरिएछ चुरोटको ठुट्टाहरुले । जल्दै गएर अन्त्यमा फिल्टरसम्म अडिएर सम्पुर्ण जल्न नसकेको चुरोटको ठुट्टाहजस्तै-म । आफालिन्दै छु सायद यो रात ।

आफैंले आफुलाई घोर भत्सर्ना गरें ।

अन्ना-मारिया,
तिमीसँगको यो रात अन्तिम रात हुनेछ । अभ्यस्त बन्ने छु । दैनिकीहरुसँग । फ्ल्याटको यो भित्ता अनि वातावरणमा बस् तिम्रो उन्मुक्त हाँसोको कमि हुनेछ । अपसोच कति पनि गरिन ।

किनभने अन्ना-मारिया मेरो जीवनको प्रथम युवती थिईन । जस्लाई भुल्न नसकुँ । त्यो अर्थमा के लोग्नेमान्छेको जात, साँच्चै कठोर नै हुन्छ त?

कथाको सिलसिला क्रमश :

बकैनाका केहि लश्कर रुखहरुको सिमाना बाहेक माया र मेरो घरको दूरी धेरै टाढा थिएन । हामी छिमेकी थियौं । सँगै खेल्दै हुर्किएको हामीहरु-विशेषतः मेरी बहिनी रमाको प्रिय सखी थिई ।

एकसाँझ, बेपत्तासँग हुर्रिन्दै माया मेरो घर आई । त्यसो त बे-रोकटोक माया सधैं नै मेरो घर आउँछे । अघिल्लो वर्ष मेरी बहिनी रमाको विहे पश्चात् भने आवत्-जावत् अलिक कम गरेकी थिई । लामो श्वास तान्दै भनि- “बुधबार मलाई मान्छेहरु हेर्न आउने’ रे!” जिस्काई रहन्थें सधै । स्वभावतः प्याच्च भन्दिएँ-“अनुहार न दनुवारको कालीलाई कुन आँखा फुटेकोले हेर्न आउन लागेछ नि!” रिसाई । सायद, चित्त दुखाई । अनुहार विगार्दै भनि-तपाईलाईजस्तो आँखामा मोतिविन्दू लाग्या छैनन् यो संसारमा सबैलाई। “नजिकको देवी तपाईलाई पो ढुंगा बराबर ।”

सानैदेखि चिढाउने गर्थे । आज पनि चिड्याउदै भने-“ऐना हेरेको छस् काली, आफैंलाई देवी रे!” झोंक्किन्दै आँखाभुईँ खुम्च्याउँदै आँसु बटुलेर-तपाईसँग त कुरा गर्न ब्यर्थै छ जिद्धि! जुरुक्क कुर्सिबाट उठि । त्यसपछि केहि भन्न नपाउँदै- फन्केर कोठाबाट फटाफट बाहिरिई । झ्यालबाट हेरें । माया जसरी अघि बेपत्तासँग हुर्रिन्दै आएकी थिई, उसैगरि बकैनाको रुखहरु छिचोल्दै बेपत्तासँगले झिसमिसे साँझमा ओझेल भई ।

पूर्वानुमान विल्कलै थिएन । बर्षौ पछि मायालाई पुनः भेट्ने छु ।

एक दशक पश्चात् अचानक प्रकट भई माया । झस्कें । सहज अवस्थामा नै थिई उ । तर, आफूलाई भने असहज महसुस गर्दै थिएँ म । कस्तो अनौंठो ! सधैं मैले उस्लाई चिढाउने गर्थें । लाग्यो-मायाले चिढाईरहेकी छे मलाई आज । किनकी माया भन्दै थिई-तपाईसित एकपटक भेट्ने मेरो धोको थियो । आज संयोगले संभव भयो ।

मायाले सत्य भनेकी हो-जिद्धि! नै हुँ म । उसको मंगनी हुँदैछ भन्ने त्यत्रो बयान आफैंले दिएर गई माया त्यो साँझ । तर मैले उसको आसयलाई बुझ पचाईदिएँ । दिउँसो नै बरण्डामा घाम ताप्दै आमासँग क्याप्टेनी छेमाले मायालाई केटा हेर्न आउँदैछ भन्ने समाचार सुनाउँदै हुनुहुन्थ्यो । सबै थाहा भएर नै, मैले थाहा नपाएजस्तो गर्दैथिएँ ।

अनुमान थियो पहिल्यै- माया अडिग रहन सक्लि र ? आउँछे त्यो पक्कै । पेटमा कुरा पच्दैन त्यसको । नभन्दै माया आई । आफ्नै मंगनीको समाचार सुनाएर गई पनि । रातभर निद्रा बेपत्ता भागिदियो । यस्तरी त निंदहरु सजिलै नाबिच्किनु पर्ने। रातहरु- अनिंदा रहे। निक्कै लामो समयसम्म।

अचानक । पत्याउनै गाहो ! त्यहि मायालाई-अघिल्लो हप्ता वृहत प्रवासी (बेलायत) नेपाली भेटघाट कार्यक्रममा भेटें। सुखद संयोग मानिदिए हुन्न त्यो भेटलाई ? उस्तै रहिछे । कति पनि फरक देखिन । अप्ठ्यारो नमानि भन्दैथिई- आफूलाई सचेत युवती संझिन्छु । त्यो अर्थमा- मैले तपाईलाई मेरो मनको कुरा पोखें हुँला । कस्तो शरम लागिरहेछ अहिले पो । आफ्नो विहेको कुरा पनि आफैं भन्ने । तपाईले के संझनु भो होला भनेर पछिसम्म लाज लागिर्यो । सायद म भ्रममा थिएँ…………मलाई लाग्थ्यो तपाईले पनि मलाई……………।

भैगो! वितेका कुराहरु । प्रसंग अन्त्यै मोडियो । वरिपरी मान्छेको घुइंचो। त्यसपछि, प्रतिक्रियाबिहिन गई- कुन्नि! त्यो भिडभित्र कता हराई । त्यो रात पनि मैले निक्कै असफल निदाउने प्रयास गरें ।

किनकी, वर्षौं मनभित्र गुम्सिएको तिक्ततालाई चिच्याएर आज, म ओकल्न चाहन्थें- भ्रम होईन माया सबै सत्य थियो । त्यो बेचैन अनिंदा रातहरु। सबै सत्य थियो । म सुनाउन चाहन्थें यर्थातः विहेको दिनसम्म धेरै साहसहरु बटुले । भनिन्छ–प्रेममा मान्छे कोसौं दूरीको यात्रा तय गर्छन् । बकैनाका जाबो रुखहरुका सिमानालाई पार गर्ने हिम्मत गर्न सकिन मैले । कायर भएँ । पूर्वानुमान विल्कलै थिएन । अचानक तिम्रो चट मंगनी, पट विहे । हेर्दाहेर्द तिम्रो विहेको लश्कर मेरै आँगनबाट गयो । अनुमान गर्न सक्तिनौ………। छोरा मान्छे हुनुकॊ सामाजिक मान्यता तथा नियति ! तिमीजस्तो रुँदै विदा हुन सकिन। आफैंदेखि सायद । आजसम्म पनि । बरु असल छिमेकी भएर टुलटुलु हेर्दै तिम्रो विहेमा सघाएँ । थाकें त्यो दिनभर दुवै शारीरिक तथा मानसिक द्वन्दले । तैपनि निदाउन सकिन । कसैको अंगालोभित्र तिमीलाई कल्पना गरें हुँला । नालायकीपन । आफैंभित्रको बैचनीले निदाउन सकिन ।

कति क्रुर तथा पींडादायी क्षणहरु थिए, ती मेरा लागि ।

मायाको विहे लगत्तै मैले धरान छोडें । त्यसपछिका दिनहरुमा मायासँग मेरो भेट हुन सकेको थिएन । बहिनीले सुनाउँथि, मायाको आदि/ईत्यादि । अनुमान गर्न सक्थें माया र मेरो उपश्थिति रमालाई खुबै रमाईलो लाग्थ्यो । हामी तीनजनाले धेरैपटक सँगै भानुचौकको गणेश टाकिजमा सिनेमा हेरिसकेपछि सँगै आडैमा रहेको मारवाडी बासामा छोला-भटोरा खाएका थियौं । बजेट पर्याप्त भए-मःम थुक्पा बुना दिदीको फेमस थुक्पा रेस्टुरेन्टमा । एकप्रकारले मेरी बहिनी मेरी ‘हमराज’ थिई । मॆरी बहिनीले हामी दुवैलाई राम्ररी बुझेकी थिई । र मेरो अन्र्तमुखी स्वभावलाई पनि ।

आमालाई भने अपसोच छ । छोराको उमेर ढल्कन लाग्यो । विहे गर्न मनस्थितिमा अझै छैन । जात र खानदान भन्दा पनि विहेमात्र गरे हुन्थ्यो छोराले भन्ने आमाको हार्दिक चाहनालाई मैले राम्ररी बुझेको पनि छु । त्यसो त सबै दौंतरीको विहे सत/प्रतिशत सफल भएको मान्दिन म । वैवाहिक जिम्मेवारीबाट भाग्न खोजेको पनि होईन । दिक्दार लाग्दो सत्य । विहे खास किन र कस्का लागि गर्ने ? अथवा, उमेरको कुन हदबन्दीभित्र- कहिलेसम्म गर्ने ? गणना गर्या छैन ।

दुइएक सालभित्र मेरो विहे होला पनि । या, जीवनभर नहोला पनि । दिमाग खपाउन चाहन्न अहिले । रैथाने धराने शैलीमा जिस्काउँछ रमेश-आँच! ब्रो, भित्ता समात्ने उमेरमा विहे गर्ने विचार छ कि, कसो? अथवा, बुढो भएर अशक्त हिड्ने नसक्ने अवस्थामा भन्ने उसको व्यंग्य ।

भयङ्कर ! बिडम्बना ।

यता-
अन्ना-मारिया यतिबेला धमाधम आफ्नो सामान प्याकिंग गर्दैछे । यो सामानहरुसंगै उसले मेरो यादहरु पनि समेटेर लैजान्छे, कि लग्दिन कुन्नि ! भन्न त् हामीले–’सधैं मित्र हुनेछौ’ भनेका छौं ।

माया-अत्यन्तै जतनसाथ हृदयमा सजाएको अर्की युवतीको नाम । नियतिले हृदयमा नै सधैको लागि कैद गरिदियो। यतिका वर्षपश्चात् पनि लागिरहन्छ-“यतिविघ्न मैले किन उसलाई प्रेम गरे हुँला?” जोसँग, एकरात गुर्जानुको त के कुरा मैले, हातसम्म समातिन कहिले ।

अचानक यो मोडमा-
प्रेमका यति धेरै विश्लेषणको औचित्य के त ? हुनसक्छ, निरर्थक प्रेमका गफहरु पढेर तपाई आफ्नो समय खेर फालिरहनुभएको छ । यो पनि हुनसक्छ, तपाईहरु मलाई अझै बुझ्न सकिरहनुभएको छैन । बरु, यतिबेला कसैले मलाई बुझ्न सक्छ भने केवल-मेरी प्रिय बहिनी रमाले बुझ्न सक्छे–

Nani,
Loneliness is a curse but to be alone is bliss, I am lonely in a bunch of people and, when I am alone, I am with you because only you know the reason- why?

बिनानिम्तो, रातहरुले बल्झाउँछन् पींडाहरु ।

प्रिय सम्बोधन!
शारीरिक आर्कषण/दैहिक सुखभन्दा भावनात्मक सामिप्यताको कत्रो महत्व या भनुँ, अलौकिक अनुभूति हुँदोरहेछ ।

लारा राइ / यु.के

(स्रोत : Milankosansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.