~भोला श्रेष्ठ~
नेपालमा ऊर्जा उत्पादनका लागि नर्वेली इन्जिनियरहरूको ‘मिसिनरी’ले सन् ’६० को दशकमा थालेको प्रयासबारेको व्याख्या हो, पावर फर नेपाल, अड हफ्टन एन्ड द हिस्ट्री अफ हाइड्रोपावर डेभलपमेन्ट । परदेशी भूमिमा आफूभन्दा कम भाग्यमानीहरूलाई सघाउने तीव्र इच्छा भएका र क्रिस्चियन धर्मको वातावरणमा जन्मिएका एक व्यक्तिको अभूतपूर्व कथा यस किताबमा छ ।
ती व्यक्ति हुन्, अड हफ्टन । उनले हेनरिक इब्सनको नाटकमा ‘निधारमा भगवान्ले ठप्पा लगाइदिएका’ पात्रझैँ आफैँलाई पाउँछन् र देख्छन् आफ्नाअघि केही ठूला काम । ती भनेका, अभ्यासमूलक निर्णय बनाउने, प्राविधिक चुनौती पार गर्ने, ठूलठूला कामलाई टुक्र्याएर सानो बनाउँदै अघि बढ्ने आदि हुन् ।
सन् १९५८ मा ३१ वर्षीय हफ्टन नर्वेमा हुँदाखाँदाको इन्जिनियरको जागिर छाडेर श्रीमती टुलिससँग नेपाल आए, तानसेनमा मिसन अस्पताल निर्माणमा सघाउनका खातिर ।
त्यही बेला त हो नेपालसँग उनको प्रेम बसेको । १९६३ मा मिसन अस्पताल निर्माण कार्य सम्पन्न भइसकेपछि पनि अड हफ्टनले पाँच दशकसम्म नेपालमै कामको सिलसिला जारी राखे । त्यसबेला उनले दर्जन संस्था तथा कम्पनी स्थापना गरे, जसले नेपालमा जलविद्युत् कम्पनीको स्थापनाका लागि बाटो बनाइदियो । ती दशकमा ऊर्जाका हरेक साना–ठूला काम गर्दा मानव क्षमता निर्माण नै उनको प्राथमिक लक्ष्य थियो ।
स्थान, संस्कृति र समयको मिल्तीको कारण हफ्टनको जिन्दगी सानदार बनेको हो, लेखक आफैँ कबुल गर्छन् । सन् १९२७ मा नर्वेको ग्रामीण इलाकामा जन्मिएका उनका बाबु पनि इन्जिनियर थिए र उनको घर पनि सामान्यार्थमा ‘हाइड्रोपावर प्लान्ट’ नै थियो । हफ्टन केटाकेटी हुँदा आफ्ना बालाई सघाउँथे, पावर प्लान्ट बनाउन ।
कामप्रति एकदम जिम्मेवार थिए एरिक । उनको गाउँचाहिँ प्रगतिको केन्द्रविन्दु हुनुका साथै योजना निर्माण गर्ने विचारको पनि मूलथलो नै थियो । त्यसैले अड हफ्टनका लागि उनका बाबु नै अभिप्रेरणाका स्रोत थिए । ती दिनमा पनि हफ्टन नर्वेका थुप्रै पहाडी भूभागमा जाँदा उनकी आमाले खानेकुराको पन्तुरो बोकाएर पठाउँथिन् । र, ती खानेकुरा थिए, त्यहाँका ग्रामीण समुदायमा बस्ने र चरम गरिबी सहेर बसिरहेका मानिसका लागि । उन्नाइसौँ शताब्दीमा क्रिस्चियन समुदायमा राम्रै प्रभाव जमाएका उद्यमी तथा लेखक हान्स हउजसँग राम्रै उठबस थियो उनको परिवारको । जसबाट हफ्टनले धर्मबारे धेरैथोक जानिसकेका थिए । चर्च र उद्योगको चौबाटोमा हफ्टनको बाल्यकाल उघारिँदै थियो ।
१८ वर्षे हुँदा जब उनले बाबु गुमाए, तब आफू पनि बाबुझैँ काममा लगनशील तथा सीपवान् व्यक्ति बन्ने अठोट गरे ।
त्यसै अनुसार नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्निकलमा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न गए । उनमा नेतृत्व, चिन्तन र बहस गर्ने दह्रो क्षमता थियो । इन्जिनियरिङको विद्यार्थी भए पनि क्रिस्चियन मिसनका काममा लाग्ने तीव्र इच्छा उनमा थियो । नर्वेको ऊर्जा कम्पनीमा केही वर्ष कामको अनुभवपछि आफूहरूको स्वास्थ्यमा केही समस्या भए पनि हफ्टन र उनकी श्रीमती नेपाल आए, युनाइटेड मिसन टु नेपाललाई सघाउन थाले ।
काम गरेको चार दशकमा अड हप् mटनले दर्जनभन्दा बढी कम्पनीको खाका निर्माण, स्थापना र विकास गरे, जसले नेपाललाई ऊर्जाको क्षेत्रमा अन्य विकासशील मुलुकसँगैको विश्व मानचित्रमा राख्यो । जस्तो : बुटवल टेक्निकल इन्स्टिच्युट (१९६४), बुटवल इन्जिनियरिङ वक्र्स प्रालि (१९६४), तिनाउ हाइड्रोपावर प्लान्ट (१९६६–७८), बुटवल उड इन्डस्ट्रिज प्रालि (१९७८), झिमरुक हाइड्रोपावर प्लान्ट (१९९२–१९९५), हिमाल पावर लिमिटेड (१९९२) आदि । यी कम्पनी तथा परियोजनाहरू नेपालीकै स्वामित्वमा छन् र नेपालीले नै व्यवस्थापन गरिरहेका छन् । यसको मतलब हो, नेपालसँग विश्व स्तरको जलविद्युत् परियोजनाको डिजाइन तथा केही ‘इलेक्ट्रो मेकानिकल हाइड्रो मेकानिकल कम्पोनेन्ट’हरू निर्माण गर्ने क्षमता छ ।
किताबमा उनले आफूले यहाँ काम गर्दाका आनन्द र अप्ठ्याराको वर्णन गरेका छन् । नेपालमा जीवनभर काम गर्दाको उत्प्रेरणा यहाँको समाज निर्माणका लागि भयो । यो पुस्तकले नेपालको जलऊर्जाका तिनै पिता अड हफ्टनको अभूतपूर्व जीवन कालको वर्णन गरेको छ ।
आश्विन ८, २०७२
पावर फर नेपाल, अड हफ्टन एन्ड द हिस्ट्री अफ हाइड्रोपावर डेभलपमेन्ट
लेखक : पिटर स्वालहेम
अनुवाद : केथरिन एम परेन्ट
प्रकाशक : मार्टिन चौतारी
पृष्ठ : २९०
मूल्य : ७०० रुपियाँ
प्रकाशित: आश्विन ८, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )