एसएलसी परीक्षाको नतिजा आएको एक महिना भएको थियो। एउटा कलेजमा एसएलसी पास गरेर आएका विद्यार्थीको भिड लाग्यो। त्यहाँ दुर्गमका सरकारी स्कुलदेखि सुगमका निजी स्कुलकासम्म गरि सबै खाले विद्यार्थीको उपस्थिति थियो। त्यही मौकामा राजधानीको निजी स्कुलमा पढ्ने राजुले बोल्यो-
“यार, चोरीचोरी पास हुनेको अगाडि हाम्रो डिस्टिङ्सनको बेइज्जत हुने भो। दुर्गम भेगमा जस्तो हाम्रो अभिभावक आएर हामीलाई चिट चोराएनन्। चोर्न दिएनन् भनेर हुलदङ्गा गरेनन्। के गर्नु? हाम्रो डिस्टिङ्सनको भाउ नै रहेन।”
यो कुरा समिताको मनमा च्वास्स बिझ्यो। उसले सहन सकिन। यसले बडो मुस्किलले जुम्लाको सरकारी स्कुलमा पढेर पहिलो श्रेणीमा पास गरेकी थिई। राजुले सुन्ने गरि उसले भनी-
“के गर्नु? बोर्डिङमाजस्तो चौबीसै घण्टा हाम्रो स्कुलले घोटाएन। र्चोन सजिलो हुने गरि सिटप्लान गराएन। एउटा साथीले अर्को साथीलाई नचोराए नराम्रो कारबाही गर्छु भनेर हेड मास्टरले धम्की पनि दिएनन्। त्यै भएर आफ्नो त पहिलो श्रेणी आएर के गर्नु? डिस्टिङसनहरूका अगाडि केही भाउ भएन।”
नजिकै गेट पाले उभिएको थियो। ऊ दुबैको कुरा सुनेर एक्लै बरबरायो-
“हाम्रा बच्चाहरू जहाँ पढे पनि मार्क्सको लागि पढेका रहेछन्। जान्न बुझ्नको लागि होइन रहेछ। त्यही भएर अलिपछि भएपछि राम्रोराम्रो अङ्क ले’र आउने राम्रो देशमा अनि ठीकै अङ्क ले’र आउने चाहिँ ठीकै देशमा गएर मै जस्तो पाले बस्दा रहेछन्।”
-सिमलटार, काठमाडौं
(स्रोत : Pahilopost)