पुस्तक समीक्षा: ‘शब्दहरूको बीचमा’ छन् समय-समयका कविता

~रमण घिमिरे~

३० को दशकदेखि नेपाली कवितामा आफ्नै शैलीका कारण पृथक परिचय बनाउँदै आएका सर्जक हुन् अमर गिरी । तर संंग्रहका रूपमा भने उनी एकैचोटि २०५५ मा घाम छेक्ने पहाड कवितासंग्रह लिएर देखापरे । bookcover - shabda haru ko bichama - Amar Giriत्यसपछि, तर पनि हामी जीवित छौँ (२०६१) र दु:साध्य समय (२०६४) सँगै लगातार संग्रहवद्ध रूपमा प्रकाशित भइरहे । 

उनको ताजा कविता संग्रह हो शब्दहरूको बीचमा । यस संग्रहभित्रका उनका प्राय: हरेक कवितामा एउटा आन्दोलन भेटिन्छ, नारी उत्पीडनका सवाईहरू र उन्मुक्तिको शंखनाद भेटिन्छ । र, भेटिन्छ समसामयिक राजनीतिक–समाजले छोपेको उकुसमुकुसभित्र छट्पटाइरहेको यथास्थितिविरुद्धको इन्कलाब ।

‘चटामरी’ मा यसको स्वाद र सुगन्धसित मिसाएर जसरी समाजको सुगन्ध हराएको प्रसंग उठाएका छन्, जसरी दिनभरि घरका काममा जोतिएर लखतरान भएकी र मध्यरात मात्र सुस्ताउन पाउने भएकी एउटी स्त्री आफ्नो मुक्तिको कुरा सुनिरहिछ वर्षौंदेखि, जसरी पढाइका लागि एउटा बालकले आफ्नो बालस्वभाव विपरीत अरूकै इच्छामा अरूकै खटनको मान्छे बन्न आफूभन्दा गहु्रंगो झोला बोकेर दिनहुँ विद्यालय जान बाध्य छ– यस्ता कवितामार्फत् कवि गिरी आफूलाई समकालीन कविताको बेग्लै कित्तामा स्थापित गराउने प्रयत्नमा देखिन्छन् ।

यस संग्रहमा परेका उनका ‘गाउँको कविता’, ‘भोक’, ‘मातृत्वको रङ’, ‘धोका’जस्ता कविता वास्तवमै उत्कृष्ट छन् । सानो विषयवस्तुमा फराकिला विचार–विम्ब प्रस्तुत गर्नु कवि गिरीको विशेषता देखिन्छ । ‘वृक्ष’, ‘सपनाहरूको जतन’, ‘भय’ तथा ‘स्त्री र वन’ जस्ता छोटा कवितामा उनी मज्जाले जमेका छन् । समय, परिस्थिति र भोगाइ हरेक समकालीन कविका समान काव्यपाटा हुन् । गिरी पनि यीभन्दा परको लोकमा पुगेका छैनन् । यो स्वाभाविक हो, स्रष्टाले आफूले भोगेको या अनुभूत गरेको विषयमै कविताको बान्की तिखारिन्छ ।

कवि गिरी पनि यस्तै भावभूमिमा डुबेका छन् । तर, उनले यिनै पृष्ठभूमिमा जन्माएका कवितामा पाइने आकाश, क्षितिज र आफूले टेकेको धरतीको आभास नयाँ पाइन्छ । ‘घामघामै’ र ‘पशु भएको भए’ यसलाई समर्थन गर्ने अर्का कविता हुन सक्छन् । अर्को कुरा उनको कवितामा विविधता हुँदाहुँदै पनि विषय दोहोरिएका छैनन् । प्रसङ्गहरू उस्तैउस्तै लाग्छन् तर उस्तै हुँदैनन् । आकाश शब्द उनको कवितामा धेरै पटक दोहोरिएको छ तर दोहोरिएका हरेक आकाश फरक छन् । उनले हेर्ने आकाशको स्वभाव, रङ र उपमा फरक छन् । ‘दु:खीराम’ पढेपछि कविको मौलिक उद्गार र निजत्वपूर्ण सिर्जनाको अनुभव हुन्छ ।

गिरीका कवितामा प्रयुक्त भाषा पढ्दा गह्रुंगा लाग्दैनन् । पाठकले उनका कविताका पहाड पनि सजिलै उक्लिन सक्छ, आकाश पनि सजिलै छुन सक्छन् र चन्द्रमालाई म्वाइ खान पनि अवरोध मान्दैनन् ।
आजको कविता फगत कल्पना होइन । यथार्थको नजिक रहेर प्रखर अभिव्यक्ति पोखिन्छन् आजको कवितामा । त्यसैले कवि गिरीका कविता पनि यथार्थकै धरातलमा उभिएका भेटिन्छन् । तर यो यथार्थबाट चिप्लिएर कवि कतैकतै अति भावुकतातिर गएका हुन् कि भन्ने आशंका हुन्छ । विशेषत : ‘जीवनको सुगन्ध’मा यस्तो गन्ध आउँछ । कवितामा एउटा बालिका हजुरबा कविको औँला समाएर अनेक प्रश्न गर्छ । पहाड, आकाश, चन्द्रमा, फूल, झरी यावत सिर्जना–रहस्यमाथि प्रश्न गर्छ । यो स्वाभाविक छ । तर, यही मेसोमा उसले कविसित अर्को रहस्य कोट्याउँछ । भन्छ, ‘कता छ देशको राजधानी ?’ बालिकाको उमेरले यति गहन रहस्य खोतल्ने जिद्दी सायदै गर्लान् ! शब्दहरूको बीचभित्रका ४२ वटा कविताले गिरीको काव्यशिल्पीको सुन्दर परिचय दिएका छन् ।

आश्विन १, २०७२

शब्दहरूको बीचमा

कवि : अमर गिरी
प्रकाशक : याम्बुरी बुक प्वाइन्ट
पृष्ठ : ९७/मूल्य : १५०रुपियाँ

प्रकाशित: आश्विन १, २०७२

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.