अचम्म देखिरहेछु
विद्वान्हरू मागिरहेछन्
प्राज्ञसत्ता !
भेँडाच्याङ्ग्राझैँ डोर्याउँदै
बानर र सुग्रीवहरूले-
निर्लज्ज चराइरहेछन्
विद्वतालाई ।
विचित्र संयोग-
यस बेला मेरी सानी छोरी
सोधिरहेकी छ मसँग
बाबा ! मेरो नैतिक शिक्षा हरायो
म कुन किताब पढूँ ?
निर्निमेष –
उसका मौन आँखालाई हेर्दै
म उसका-
सल्लेरी केश सुमसुम्याउँछु
र पढ्छु उसका मनका भाषा
अविराम जिज्ञासाका लहरहरू
मनभरि खेलाउँदै ऊ
खोजिरहेकी छ
एउटा अनुकूल उत्तर
खै के भनूँ ! द्विविधाग्रस्त म
फेरि एकपल्ट
एकोहोरिन्छु/टोलाउँछु
र सम्झाउँछु उसलाई
अनैतिकताका भासमा
नैतिकता डुब्न लागेका बेला
के अर्थ हुन्छ छोरी ! नैतिक शिक्षाको ?
हराओस्, हराउन देऊ
जीवनका पानाहरूमा उपेक्षित छन्
अनुभूति शब्द र अक्षरहरू !
उपेक्षित छन्
नैतिकता इमान र आदर्श !!
-विराटनगर
(स्रोत : नेपाल साप्ताहिक ३७६)