कथा : ग्रीनकार्ड

~राकेश कार्की~Rakesh Karki

म काठमाण्डौँको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पहिले पनि कहिले काहीँ नगएको होइन। आफन्तलाई पुर्याउन र लिन जाँदा गएकै हुँ। पुर्याउन जाँदा चाहिँ माथि तल्ला चढेर प्लेन नउडुन्जेलसम्म प्लेनलाई हेरिरहन्थे आँखादेखि ओझेल नहुन्जेलसम्म। त्यतिखेर सोच्थेँ म पनि यसरी उड्न पाउने कहिले होला ! विदेश जान पाउँछु कि भनि एकदिन ज्योतिषीलाई हात देखाएँ। ज्योतिषीले भने “तपाईको विदेश जाने रेखा कतै छैन।“ अनि म निराश भएर लुरु लुरू हिँड्दै चटक हेर्न जान्थे रत्नपार्कमा। नेपालको बि ए पास न मंत्रीहरु साइनो लाग्ने, न कुनै दलको नेताको चाप्लुसी गर्न जान्ने, न त भेटी, चन्दा नै छ आफूसंग यसो सानोतिनो जागीरमा अल्झिनलाई। म बेरोजगार भएँ।

त्यसपछि माओवादी आन्दोलन भयो। कति मरे, कति अनेक उपायले विदेश तिर जान वाध्य भए। राजा मारिए, राजा हटाइए। मलाई यो सब अचम्म लागिरहेकोथ्यो। किनकी यहाँ कोही पनि आफ्नो हुँदो रहेनछ। त्यत्रो राजाको सुरक्षामा खटिएकाहरु, ज्यू हजुर गर्नेहरू, राजभक्तहरू, राजालाई झुक्काएर अकुत सम्पति बटुल्नेहरू, राजाको निम्ति ज्यानको बाजी थाप्छु भन्नेहरु कोहीले पनि राजाको बिपदमा साथ दिएनन् भने ,म त एउटा साधारण मानिस मेरो निम्ती कल्ले पो सोच्छ र !

मेरो एकजना मिल्ने साथी हो अमिर यादव। एकदिन उसले भन्यो “प्रभु म त अमेरिकातिर हानिने कोशिश गर्दैछु। अब नेपालमा बसेर केही हुने भएन।“ मेरो नाम प्रभु कटुवाल हो। मैले भने “तेरो त खरदारको जागीर छ। किन अमेरिका जानु पर्यो?” “के गर्नु यो खरदारको जागीर, भन्सारको खरदार भए पो। हुलाकको खरदार, त्यैपनि घुस खान र ख्वाउन नमान्नेलाई।“ मैले भने “अमिर, तसंग मलाई पनि लग्न अमेरिका।“ “पख् मेरो एकजना चिनेको नेताले लान्छु भनेको छ। तर ७ लाख लाग्छ रे अनि प्लेनको टिकट पनि आफैले किन्नु पर्छ रे।“
“७ लाख, तेत्रो पैसा!”
“के गर्नु, नत्र लादैन।“
त्यो दिन अमिरको कुरो सुनेर मलाई पनि अमेरिका जान पाए हुन्थ्यो जस्तो लाग्यो। बुढो हुनुभएको बुवा, आमालाई फकाएँ। अनि हाम्रो सबभन्दा उब्जाउ हुने गैह्री खेत बेचियो। बुवा, आमाले आँखाभरी आँसु पार्दै पैसा मेरो हातमा पोको पारी राखिदिनुभयो। “बाबु आफ्नो स्वास्थ्यको बिचार गर्नु, चाँडै फर्केर आउनु ल!”

म काठमाण्डौँतिर हानिएँ। अमिर र म नेताकोमा गयौँ। नेताले मंत्रीकोमा लिएर गए। थाहा पाएँ नेपालको व्यापार प्रवर्धनको लागी अमेरिकामा अमेरिका-नेपाल अन्तरक्रिया सम्मेलन हुँदैरहेछ। त्यही भ्रमण टोलीमा अमिर र म पनि नेपाली लत्ताकपडा र भेषभुषा ब्यापारी भएर जान पाउने भएछौँ। के गर्नु जसरी पनि अमेरिका छिर्ने रहर थियो। हाम्रो पासपोर्ट तयार भएर आयो। प्लेनको टिकट काट्ने पैसा र ७ लाख अमिरले चिनेको नेतालाई हामीले बुझाइसकेका थियौँ। ज्योतिषिको कुरो मलाई विश्वास लागेन। आखिर अमेरिका जान पाउने भएँ।

अमिर पनि संगै भएकोले मलाई त्यति डर लागेन। नेताको दलालले हामीलाई के गर्ने, कसो गर्ने, इमिग्रेशनमा के हुन्छ, अमेरिकासम्म पुर्याइदिने, अनि अमेरिका पुगेपछि हामीले आफ्नो व्यवस्था आफै मिलाउनु पर्ने कुरा छर्लङ्ग पारेर बताए। हामीले ज्ञानी बालकले बुझेझैँ मुन्टो हल्लायौँ। अनि मैले ठूलो ठूलो सपना देख्न थालेँ।

भने जस्तै इमिग्रेशनमा सोध्यो “अमेरिका आउनुको उद्देश्य के हो?” मेरो उत्तर “नेपाल र अमेरिकाको ब्यापार बढाउन दुईपक्षिय फाइदाको लागि, ब्यापारिक सम्मेलनमा भाग लिन आएको हुँ।“ भिसा छाप लाग्यो ६ महिनाको। म र अमिर डामेपछि छाडा भएको साँढे जस्तै छाती फुलाएर अमेरिका भित्र छिर्यौँ।

एयरपोर्टबाट मन्त्री र उनका निकटहरूलाई अमेरिकाका नेपाली संघ संस्थाका पदाधिकारीहरूले खादा ओढाएर फुल गुच्छा अर्पण गरेर चाप्लुसीपूर्वक स्वागत गर्दै महंगा महंगा मोटर चढाएर लगे। पहिले त हामी पनि अमेरिकाका नेपालीहरू देखेर दङ्ग परेका थियौँ। तर म, अमिर र हामीजस्ता अरु नेपालीलाई अमेरिका-नेपाली संघसंस्थाका कसैले पनि चिन्ने कोशिश नै गरेनन्। हामीलाई छोडिदिए एयरपोर्टमै । हामीहरु अलमल्लमा पर्यौँ। पहिले त के गर्ने र कसो गर्ने भयो। तर पछि हामी पनि अमिरले चिनेको उसको गाउँको मान्छे भाकोतिर ट्याक्सी लिएर गुड्कियौँ।

अमेरिका भन्ने कस्तो होला भन्ठानेको थिएँ। तर सोचे अनुसारको मैले पाइन। ठूल्ठूला विल्डिङहरू झुरूप्प एक ठाउँमा कतैकतै मात्र, बाँकी सानासाना कच्चा काठका घर र अझ धेरै ठाउँ त खाली खाली बस्ती नै नभएको। जताततै फाष्टफुड रेष्टुरेन्ट। बिभिन्न थरीका भाषा बोलेर हिँडेका मानिसहरू। कसैलाई कसैको मतलब छैन, सबै आ-आफ्नै सुरमा।

अब खाने बस्ने टुङ्गो लगाउनु पर्ने । अमिरको गाउँको मान्छेको नाम लाक्पा रहेछ। लाक्पाले हामीलाई काम खोज्न दिनै पिच्छे कोशिश गर्नुहुनथ्यो। तर कागज नभएको मानिसहरूलाई काम सजिलै कहाँ पाइन्छ र! इण्डियनकोमा लुकेर काम गर्नुपर्ने रहेछ। कि त ग्याँस स्टेशसन कि त होटेलमा काम गर्नुपर्ने हुँदोरहेछ। ग्याँस स्टेशनमा लुटेराले कति नेपाली कामदार मारेको मैले समाचारमा प्रशस्त सुनेको थिएँ। त्यसैले ग्याँस स्टेशनमा डरमर्दो भएकोले इण्डियनको होटेल नै ठीक हो कि जस्तो लाग्थ्यो। तर होटेलमा पनि मिनिमम वेज भन्दा कम तलबमा समय बेसमय मनपरि दलाउँछ रे भन्ने सुने। त्यत्रो पैसा नेपालमा दलाललाई बुझाएर आएको जे भए पनि काम त गर्नै पर्यो। तर भने अनुरूप तुरून्त काम पाईएन। झण्डै दुई महिना पछि अमिरले लाक्पा काम गरेकै ग्याँस स्टेशनमा काम पायो। त्यसको एक महिना पछि मैले पनि त्यो ग्याँस स्टेशनबाट १५ माइल पर अर्को ग्याँस स्टेशनमा काम पाएँ।

अमिर, म र अरू तिनजना, एकजना इण्डियनको घरमा रूम सेयर गरेर बस्थ्यौँ। त्यसपछि त न दिन न रात, डलर कमाउन साह्रै गाह्रो हुँदोरहेछ। कहिले रातीको काम कहिले दिउँसोको काम, न त निद्रा न त थकान। काम सिक्न पनि समय लाग्यो। सिकुन्जेल त सित्तैमा काम गर्नु पर्नेरहेछ। सधैँ साहु र साहुनिको हुकुम मान्नुपर्ने। साहु रिसाउला भन्ने पीर। त्यसपछि म घडीको सूई भएँ। डेरा पुग्दा थाकेर हत्तु होइन्थ्यो। माइक्रोवेभमा ततायो कुप्लुक्क खायो घुपलुक्क सुत्यो, भोली काममा पुग्ने हतारमा। कति दिनसम्म त अमिरसंग पनि बोल्न पाइएन। म डेरा पुग्दा उ सुतेको हुन्थ्यो। उ आउँदा म सुतेको हुन्थे। पैसा जोगाउनलाई यसो मीठो नमीठो आधा पेटै खाएरै पनि हाडछाला घोट्न थालेँ। त्यत्रो जग्गा बेचेको पैसा, बुढा भाका मेरा बुवा आमाको जिउने सहारा, कमाएर घरमा पठाउन थियो। झलझलति सधैँ मलाई माया गर्ने मेरा बुवा आमाको मुहार मेरो सम्झनामा आइरहन्थ्यो। बुवा आमालाई बुढेसकालमा सहारा दिने मेरो इच्छा आँखाभरी आँसु ढलपल हुँदै केवल त्यो आशा बाँचेको हुन्थ्यो।

अमेरिकामा पनि नेपालमा जस्तै च्याउ उम्रिएका जस्ता संघ संस्थाहरू खुलेका रहेछन्। तर सबै संघ संस्थामा नेपाल अमेरिका भनि दुई देशको नाम जोडिएको हुँदोरहेछ। त्यसबाहेक नेपालका काँग्रेश, कम्यूनिष्ट, माओवादी, मधेशवादी आदी इत्यादी दलहरु र विभिन्न जात जातीको नाममा पनि कार्यक्रमहरु हुँदा रहेछन्। संघ संस्थाका मानिसहरू आफ्नो संघ संस्थामा सदस्य बन्नको लागी फकाउन आउँदा रहेछन्। मेमबरसिपलाई पनि पैसा लाग्ने। संघ संस्थाहरु चन्दा उठाउनमा व्यस्त हुँदा रहेछन्। म दुईचार पैसा कमाएर आफ्नो बुवा आमालाई नेपालमा पठाउने मान्छेले चन्दा दिएर कसरी सक्नु। जुन संघ संस्थाहरुले एयरपोर्टमा राजनीतिक नेताहरूसंगमात्र लोलोपोतो मिलाएर म र अमिरलाई त्यसै एयरपोर्ट छोडेर हिँडेका थिए।
मसंग डेरामा बस्ने आशाकाजीले भने “धेरैजसो यि सबै असाइलम गरेर ग्रीनकार्ड पाएका हुन्। पहिले हामीजस्तै ग्यास स्टेशनमा हाडछाला घोटेका हुन्। अहिले पो व्यापार स्यापार गरेर संघ संस्थामा लागेर फूर्ति गरेका छन्।“
मलाई पनि असाइलम गरेर ग्रीनकार्ड लिएर, व्यापार गरेर, पैसा चाँडो कमाएर, ऋण चुक्ता गरेर बुवा आमासंगै बस्न मनलाग्यो। मैले आशाकाजीसंग थप कुरा बुझेर अमिरसंग सल्लाह गरेँ। अमिर पनि यहि नै सोच्दै रहेछ। आफ्नै नेपालीहरुले नै असाइलाम प्रोसेस गराइदिने थाहा पाइयो।

एकजना रिट्ठे भन्ने बुझक्कड र पाको मानिस हुनुहुँदो रहेछ। वहाँले पनि असाइलमको कागजात मिलाइ दिएर तयार पारिदिनु हुँदोरहेछ। त्यसो त धेरै नेपालीहरूले पैसा लिएर असाइलम प्रोसेस गराइदिइ नेपालीहरुलाई असाइलम गराउदै आएका रहेछन्। म र मेरो साथी अमिरले नेपालाबाट कागजात मगायौँ रिट्ठे दाईको सल्लाहमा। अनि वहाँले याप्लाइ गर्न ६ हजार लाग्छ भनेर भन्नुभयो। “जाबो फाराम भरेर कागजात मिलाएर पेशगर्नकोलागि तयार पारिदिन त्यत्रो पैसा।“ हामीले भन्यौ। त्यसपछि रिट्टे दाई जङ्गिए “त्यसो भए जाओ न त लयरकाहाँ कति ठटाउँछ।“ रिट्ठे दाईले अरु काम गरेको देखिदैनथ्यो। पहिले गर्थे कि त्यो हामीलाई थाहा छैन। वहाँको खाने भाडो नै यो रहेछ असाइलम गराइदिने। असाइलम पास भएपनि नभएपनि नगद चाहिँ बुझाउनै पर्नेरहेछ रिट्ठे दाईलाई। रिट्ठे दाई माछा जालमा पार्न पनि निकै सिपालु रहेछन्। हामीलाई पैसा बुझाउन बाध्य पारे। यस्तै रहेछ अमेरिका जताततै भेटी विना कामै नहुने।

असाइलम पास भयौँ। अमिर र मैले सिँहले जस्तै संपूर्ण शरीर बिराट पारी फैलायौँ। लाग्यो हामी अब अमेरिकाकै राजा हौँ। अब हामीलाई कल्ले छुने। हामीमा घमण्ड चढ्न थाल्नु स्वाभाविक नै थियो। विश्वमा जोसुकै पनि अमेरिका छिरेपछि अमेरिकाको ग्रीनकार्ड पाउने धोको पाल्दा रहेछन्। कतिले त ग्रीनकार्ड प्राप्तीको लागी हुने नहुने काम पनि गर्दा रहेछन्। म र अमिरले पनि ग्रीनकार्ड पाउन असाइलमको सहारा लियौँ। ठीक गर्यौँ कि बेठीक गर्यौँ त्यो अहिलेसम्म पनि हामीलाई थाहा छैन। तर अमेरिकाको ग्रीनकार्डधारी भयौँ। अमेरिकाको संपूर्ण सुविधा भोग्न पाउने भयौँ।

अँ व्यापार गरेर, पैसा चाँडो कमाउन आफ्नै व्यवसाय चलाउन मैले र अमिरले पार्टनर्सिपमा इम्पोर्टसको विजिनेस शुरू गर्यौँ। यो व्यवसायमा धेरैले राम्रो संपति आर्जन गरेकोले हामी पनि निर्धक्क थियौँ। भने जस्तै दिन प्रतिदिन व्यापार बढ्दै गयो। सोचे जस्तै आम्दानि पनि हाम्रो बढ्दै गयो। एक दुईजनालाई जागिर दिएर काम गर्न पनि राख्यौँ। अब हामी पनि पैसा खेलाउन थाल्यौँ। लेन देनको कारोबारमा हामी व्यस्त हुन्थ्यौँ। नेपालबाट समान ल्याउने र ग्राहकलाई सकभर समान बेच्नमा तल्लिन हुन्थ्यौँ। “नबोल्नेको चामल पनि विक्दैन बोल्नेको कनिका पनि बिक्छ” भनेजस्तै बोलेको बोलै गर्नु पर्थ्यो कहिले फोनमा त कहिले आएका ग्राहकसंग।

पैसा पैसा पैसा—- अब मैले दु:ख विर्सिएँ। उहिलेको कुरो सबै खुइलियो। अब लाख डलर भन्दा कमको कुरो गर्दिनथेँ । “यतै लाख फालेको छु, उतै लाख फालेको छु।“ मेरो अरुसंग गर्ने कुरै यस्तो हुन्थ्यो। एकदिन मेरा एक मित्रले छक्क पर्दै सोधे,” लाख रूपैया कि डलर?” “अरे मित्र अमेरिकामा पनि रूपैया हुन्छ र ! डलर नि डलर “ मेरो धेरै फूर्ति थियो।

पैसै-पैसा भएपछि को भन्दा को पैसावाल भन्ने मनचिन्ते द्वन्द चल्न थाल्यो। घर पनि कसको भन्दा कसले ठूलो किन्ने भन्ने कम्पिटिसन हुनथाल्यो। अमिर चाहिँ पैसाको दुरूपयोग गर्नु हुदैन, फजुल खर्च नगर भनेर मलाई सम्झाउथ्यो। अमिर धेरै बुझ्ने र दयालु प्रवृतिको थियो। तर मैले अमिरको कुरो अब किन सुन्थे र। मिलियन डलरको घरमा मेरो बास हुन थाल्यो। बुवा आमालाई पैसा पठाएर ऋण पनि चुक्ता भइसकेको थियो। बुवा आमालाई हेरचाह गर्न मानिस राख्न र बुवा आमाको इच्छा मुताविक सबै पुर्याइदिन म सधैँ फोन गरेर भन्थे। तर बुवा आमा मान्नुहुन्नथ्यो। “बाबु मलाई केहि चाहिदैन, तँ राम्ररी खानु, स्वास्थ्यको खयाल गर्नु।“ बुवा आमाको यहि जवाफ हुन्थ्यो।

त्यसपछि त पैसाले मलाई मात लाग्न थाल्यो। अमिर जस्तो मेरो मिल्ने साथीलाई पनि मैले पैसाको मामलामा शङ्का गर्न थालेँ। आखिरमा अमिरको पनि पचास प्रतिशतको शेयर थियो। तर मैले पाई पाईको हिसाब अमिरसंग खोज्न थालेँ। शायद अमिर सोच्थ्यो होला यसलाई के भो भनेर। कुरा कुरामा अमिरले पैसाको हिनामिना गरेजस्तो लाग्न थाल्यो। विचरा अमिर मलाई सम्झाउन खोज्थ्यो तर मलाई अमिरको हरेक क्रियाकलाप मन नपर्न थाल्यो। म अब खालि म, मेरो, मलाई मात्र भन्नथालेँ।

एकदिन मैले अमिरलाई दोष लगाएर भन्नु नभन्नु भनेर गाली गरेँ। अमिरले एक वचन फर्काएन। शायद मनभरि दु:खी भएर चुप लागेर न्यास्रिरह्यो। मैले अमिरलाई भने, “अमिर, तँ धोकेवाजसंग म आजैदेखि बिजिनेस पार्टनरसिप तोड्न चाहन्छु।“ अमिरको निर्दोषि नयनबाट दुई थोपा आँसु तपक्क खस्यो, शायद मसंगको साँचो मित्रता टुट्यो भनेर। त्यसपछि अमिर विजनेसमा आउन छोड्यो। उसले उसको यो विजिनेसको आधा भाग माग्न तुरून्त आउला जस्तो लागेको थियो। तर आज, भोलि, पर्सि गर्दागर्दै उ आएन। अनि उसंग भेट हुन छोड्यो। यस्तो लाग्यो अमिर अब यो विजनेसमा छैन, यो ठाउँमै छैन। अनि एकदिन एकजना साथी रूपकले भन्यो, “अमिर त गयो यो शहर छोडि टाढा टाढा —-। अब शायद यो शहरमा आउदैन होला”। मेरो कानमा गुञ्जिरह्यो पर कतै सेलफोनको युट्युवमा बजिरहेको गीत, “म तिम्रो शहर छोडि टाढा, टाढा जाँदैछु——–।“

एकदिन नेपालबाट आमाले फोन गर्नुभयो। आमा आत्तिनु भए जस्तो लाग्थ्यो। मैले जवाफमा भने, “आमा म आउन मिल्दैन, मैले अमेरिकाको ग्रीनकार्ड पाएको छु। मलाई मेरो ग्रीनकार्डले गर्दा आउन मिल्दैन।“

“हैन बाबु, बुवा साह्रै बिरामी हुनुहुन्छ, डाक्टरले यहाँ यस रोगको उपचार हुँदैन भारत लैजानु” भनेको छ।

आमालाई के थाहा मेरो असाइलम गरेकोले तुरून्त नेपाल जान मिल्दैन भनेर। शायद आमाले भन्ठान्नुभयो होला यो छोरोलाई के भो भनेर।

“बाबु, तँ कसरी बदलिस बाबु। तँलाई बुवाको माया लाग्दैन। बुवा यस्तो बिरामी हुनुहुन्छ, तँलाई बुवाभन्दा ग्रीनकार्ड प्यारो भो?” उता घुक्क घुक्क गरेको सुनियो। शायद आमा फोनमै रूनथाल्नु भयो।

मलाई पनि दिक्क लाग्यो। नेपालमा तेत्रा मेडिकल कलेजहरु खुलेका छन्। तेत्रा डाक्टरहरु वर्षेनि तयार हुन्छन्। विदेशबाट पढेर त्यतिकै डाक्टरहरु नेपाल भित्रिन्छन्। त्यतिधेरै डाक्टरहरु र तिनले खोलेका क्लिनिक र अस्पतालहरु हुँदाहुँदै पनि नेपालीहरू उपचारको लागि अरू देश धाउनु पर्ने, यो कस्तो बिडम्बना !

एकछिन म सोचमा हराएछु। अनि झल्याँस्स भएर मैले यताबाट, “नरूनु आमा भन्न खोज्दा उता फोन कटिइसकेको थियो। आमाको बोली कटिइसकेको थियो। केवल एकोहोरो इनगेज टोन ट्वुँ ट्वुँ ट्वुँ ट्वुँ मात्र बजिरह्यो।“

त्यसपछि मैले कति फोन गरेँ मेरो बुवा आमालाई। फोन नै उठ्दैनथ्यो। कन्टयाक नै हुँदैनथ्यो। एकदिन दुईदिन गर्दै धेरै दिन बिते। यो के भयो? किन बुवा आमासंग सम्पर्क हुन सकेन? मलाई पनि छट्पटि हुनथाल्यो।

एकातिर मेरो विरामी बुवा अनि आमा, अर्कोतिर मेरो ग्रीनकार्ड—– म असमञ्जसमा परेँ।

तिन महिनापछि आमाको फोन आयो। “बाबु, तँलाई कस्तो छ। स्वास्थ्यको त राम्रो विचार गर्दैछस् हैन!”

“आमा, बुवालाई कस्तो छ ? मैले कति फोन गरे कनट्याक्ट नै भएन, म त धेरै आत्तिएको थिएँ, आमा। अनि हालखबर के छ?”

“बाबु, हामी त मेदान्त अस्पताल, दिल्ली गएका थियौँ। बुवालाई पनि बिसेक हुँदैछ। तँ पीर नगर।“

“अनि बुढा बुढी मान्छे मात्र कसरी जानु भयो? कल्ले लग्यो? के गर्नु मेरो मजबुरी, म आउन पाइन।“

आमाले भन्नुभयो,” तेरो साथी अमिर हामीलाई भेटन आएको थियो। अमेरिकाबाट हिजो मात्र आएको भन्थ्यो। अनि बुवा साह्रै बिरामी देखेर तुरून्त भोलिपल्टै हामीलाई दिल्ली लिएर गयो र बुवाको उपचार गराइदियो। बाबु, अमिर पनि त हाम्रो छोरै हो।“

“अनि अमिर कहाँ छ त? उसले मेरो बारेमा केही भन्यो?” मलाई डर लागेको थियो मेरो बारेमा के के नराम्रो भन्यो भनेर।

“प्रभुको अमेरिकामा एकदम राम्रो छ, स्वास्थ्य पनि राम्रो छ। विजिनेस पनि राम्रो चलेको छ” भन्यो, हामी बुढा बुढीलाई धेरै खुसी लाग्यो। तेरो मिल्ने साथी मलाई के सोध्छस्? तँ पनि त बात मार्छस् होला नि ऊसंग। अहिले उ गाउँतिर गएको छ। अलिदिन पछि आउछु भनेको छ। अब उ त अमेरिका नफर्किने रे।

त्यसपछि मैले अमिरलाई फोन गर्न नम्वर खोजेँ, तर रिसको झोँकमा मैले उसको नम्वर डिलिट गरिसकेको रहेछु। देउता जस्तो मान्छेलाई मैले चिनेर पनि दुर्व्यवहार गरेँ। मलाई धेरै माया गर्ने, सधैँ दु:ख सुखमा साथ दिने, मेरो मिल्ने साथीलाई मैले म देखि टाढा पारेँ । मलाई अमेरिका ल्यायो, हरेक क्षण मेरो साथ दियो अहिले फेरि मेरो बुढो बुवाको उपचार गरेर फेरि अर्को तिर्नै नसक्ने गुण लगायो।

मैले अमिरसंग बालककालदेखि अमेरिकाको ग्रीनकार्ड पाएर बसेसम्मका प्रत्येक दिनका सुखद क्षणहरु सम्झिरहेँ। धुँई धुँई अमिरसंगको मेरो फोटो खोजे, एउटै बाँकी रहेनछ, सप्पै च्यातेर फ्याँकि सकेको रहेछु। मेरो मनमा, सम्झनामा अमिरले मुस्काएर मलाई “दु:ख नमान प्रभु म सधैँ तेरो सच्चा मित्र हुँ” भनिरह्यो। भित्तामा मेरो बुढा भएका बुवा मुवाको फोटो हावाले हल्लाइरहेको थियो। टेबलमाथि मेरो ग्रीनकार्ड मलाई हेरेर गिज्याइरहेको थियो। मैले झ्यालबाट बाहिर हेरेँ अनि अमिरलाई सम्झिरहेँ। मेरा दुबै आँखा रसाएर आयो।

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष अनेसास लस एन्जेलस च्याप्टर लस एन्जेलस

(स्रोत: सेतोपाटी डट कम)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.