कथा : एउटा सत्य कथा

~नारायण पौडेल~Narayan Paudel

‘सर नमस्ते!’

फेसबुक खोल्न नपाउंदै रोमन लिपीमा लेखिएको मेसेज आयो।

जवाफ फर्काएँ ‘के छ? कहाँ हराको यत्रो दिन?

उता जवाफ टाइप भइरहेको संकेत देखिइरहेको थियो।

‘मैले काठमाडौं छोडे नि!’

‘काठमाडौंलाई परेको बेलामा छाड्ने कातर ?’ अलि रुखो तर मायालु शैलीमा मैले झपारेँ।

‘यस्ता भुकम्प त कति पचाइयो जीवनमा कति तपाईलाई के थाहा र?’ जवाफ फर्काउन उ माहिर थिइ। मलाई चुप बनाइदिइ।

दिप्तिकालाई मैले २ बर्ष अघि भेटेको थिँए। कक्षा ११ मा। ३ महिना ढिलो गरी पढ्न आएकी थिई ऊ। त्यो पनि कक्षामा आउनु पर्ने समय भन्दा ढिलो। नयाँ भएर होला मुन्टो झुकाएर उभिई कक्षा अघि।

उसलाई हेर्दै मैले भनेको थिँए,‘रोल अफ हिरो कम्स् एड द एण्ड।’

सबै गलल्ल हाँसे। उ पनि फिस्स हाँसी।

‘थ्याङ्क यू सर।’ उभिएरै उसले भनि।

उसको निर्दोष धन्यवादले मेरो व्यङ्यात्मक अभिव्यक्ति फिका बनाइदिएको थियो। आफुलाई समाल्दै मैले उसलाई बस्न भनेँ।

‘कोर्स धेरै गइसक्यो,छुटेको साथीहरुलाई सोध्नु। तिमीले सोधेको उत्तर दिन लायक कोहीपनि छैन भन्ने कुरापनि नभुल्नु।’
सबै फेरी गलल्ल हास्न थाले। विद्यार्थीहरुले आफैंप्रतिको व्यङ्यलाई पनि बुझेनन् या हाँसोमा उडाए। कक्षाबाट बाहिर निस्किन नपाउंदै दिप्तिका हुत्तिदै आइ।

‘सरको स्टाइल मन पर्‍यो ।’

‘क्लोज हुन खोज्ने तिम्रो स्टाइल पनि गज्जब छ।’ म ओठ टम्म पारेर हाँसेजस्तो गरेँ।

त्यसपछि दिप्तिका वास्तवमै निकट रही। मनमस्तिष्क राम्रैसंग बुझेको थिँए। कहिलेकाहीँ त शिक्षक विद्यार्थीको सीमा मेटिने हो की भनेझैं हामी बहकिन्थ्यौं। उ भन्थिः म तपाईलाई जति विश्वास गर्छु, घरबाहिरको मान्छे अरु कसैलाई गर्दिन। जति तपाईसंग कुरा सेयर हुन्छ त्यति घरभित्रकै संग पनि हुँदैन । हिजोसम्म यस्ता गफ दिने दिप्तिका आज पर पुगेपछि भन्दै छः मेरो जीवनको रहस्य तपाईलाई के थाहा?

उसले अनायशै दिएको च्याटको रिप्लाईले उससंगका दिन रिप्ले भइरहेका थिए। उ कति ध्यानपूर्वक मेरो लेक्चर सुन्थी। पाँचै पिरियड तपाईले नै पढाए हुने, उसले बेलाबेला सोडा हालिरहन्थी। घरबाट आउँदा मेरा लागि केही न केही बोकेरै आउँथी। बेलाबेला फोन गर्थी। दिल खोलेर कुरा गर्थी। अंग्रेजी साहित्यको कक्षामा प्रेम प्रसंग आउँदा उसको निश्चलताको बखान गर्दै भनिदिन्थे ः मैले बिहे नगरेको भए र तिमी मेरो विद्यार्थी नभएको भए म तिमीलाई नै प्रस्ताव गर्थेँ। अरु ताली पिट्थे। उ लजाएर मुन्टो झुकाउँथी र टोलाउन थाल्थी। उ मेरा लागिमात्र होइन, सबै शिक्षकका लागि प्रिय थिइ। शिक्षक कोठामा उसको बारेमा सबैले कुरा गर्थे। सबैको निचोड हुन्थ्योः सारै ज्ञानी छ।

भर्ना ढिलो गरी भएकी थिइ। ढाडको समस्याले ५ बर्ष पढाइ रोकिएको भन्थि। पढ्ने रहर कति धेरै थियो उसमा। नभन्दै उसले मैले पढाउने पत्रकारिता र अंग्रेजी साहित्यमा राम्रै गति देखाइ।उसको पढाइमा आएको परिवर्तन देखेर म कक्षामै तारिफ गरिदिन्थेः यू अल मस्ट वी लेबरियस, डिस्पिलिन्ड, मोरल एण्ड अनेष्ट लाइक दिप्तिका। सबै गम्भीर हुन्थे। उसका आँखा रसाउँथे। हर्षले आँखा छचल्किएको ठान्थेँ म।

दिप्तिकाले तीन चारवटा लामो मेसेज पठाइसकेकी रहिछ। अन्तिममा आएको ट्वाक्क आवाजले मेरो ध्यान खल्बलियो। च्याट गर्दागर्दै मेरो ध्यान त कक्षा कोठामा पुगेको रहेछ।

‘सर,काठमाडौं छइन्जेल तपाईलाई मेरो वास्तविकता भन्न खोजे सकिन। भन्न खोज्थेँ तर अट्किन्थे। तपाईले मलाई यतिधेरै सज्जन ठान्नुभयो कि मैलें मेरो अध्यारो पाटो भन्नै सकिन। आज भन्न खोज्दै छु तरपनि सकिराखेकी छैन तपाईलाई थाहा छ सर? म तपाईले पढाउदै गर्दा चार पटक कक्षामै रोएको थिएँ। तपाईले मेरो कस्तो मजाले बचाउ गर्नुभयो।’ आदिइत्यादि थिए मेसेजमा ।

कक्षा ११ मा १ पटक र १२ मा ३ पटक मज्जैले रोएकी थिइ ऊ। पहिलो प्रसंग आमाका बारे मैले दिएको अभिव्यक्ति थियो। आमाका बारेमा निबन्ध कसरी लेख्ने भन्ने बारेमा मैले सिकाउँदै गर्दा उसले बरर्र्र आँशु झारेकी थिई। बिना स्वार्थ बिना नापतौल माया गर्ने एकमात्र व्यक्ति आमा हुन्, जो जस्तै परिस्थितिमा पनि सन्तानको संरक्षणका लागि पछि पर्दिनन् भन्न नपाउँदै उ सुक्कसुक्क गर्न थालिसकेकी थिइ। आमालाई सन्चो नभएकाले मुड अफ छ भन्ने उसको सधैंको जवाफ हुन्थ्यो।

वातावरण सहज बनाउन मैले थपेको थिएँ ‘मदर इज अ पर्सन हु इज अलवेज विद अस एण्ड हुम वि अलवेज मिस’

आंशु पुछ्दै उसले भनेकी थिइ, ‘अ म्यान क्यान वन्ली डिस्क्राइव मदरहुड बट अ फिमेल इजिली फिल्स मदरहुड।’

कक्षा १२ मा उ अलि बढी नै भावुक देखिन्थी। साना कुराले पनि उसलाई खुशी र दुखी बनाउँथे। कहिलेकाहीँ त अति सामान्य कुरामा पनि उ रुन थाल्थी। एक दिन म आइरोनीका बारेमा पढाउँदै थिएँ। सधैंझै मैले उसैलाई उदाहरणका रुपमा प्रस्तुत गरेँ।

वास्तविकता र देखाइमा फरक परेको अवश्थालाई व्यङ्ग्य भनिन्छ भन्दै मैले उसको कुरा झिके । ‘जस्तो दिप्तिकालाई म अत्यन्त इमान्दार, नैतिकवान र शिष्ट भन्दै आएको छु, यदि उ वास्तवमा त्यस्तो छैन भन्ने कुरा मलाई थाह भइ भइ मैले भनेको छु भने मैले उप्रति व्यङ्ग्य गरिरहेको छु।’ मैले व्यङ्ग्यको परिभाषा सक्न नपाउंदै दिप्तिकाका आँखा रसाइसकेका थिए।

‘सर त्यस्तो कहिल्यै नहोस्,’ उसले भनि।

‘जस्ट किडिङ, डन्ट वि सिरिएस।’ मैले उसको टाउकोमा हात राखेँ। बेलाबेला उ भन्थी, ‘सरको त केही भर हुँदैन।’उसका अनुसार, मैले जिस्केजस्तो गरेर साँच्चै भन्छु, साँच्चै भनेजस्तो गरेर जिस्किन्छु अरे।

‘पत्रकारका कोही दुस्मन र कोही मित्र हुन्नन् भन्नुहुन्छ। के हो के?’ उसले थपि ‘पत्रकार त सबैकुरा थाहा पाइहाल्छन् रे,ल भन्नु त म काठमाडौं आउनुभन्दा पहिले कहाँ थिए ?’

मपनि कसेर जवाफ फर्काउँथे ‘कहाँ हुनु नी? ढाड बाँधेर ५ वर्ष पल्टेकी थियौ पहाडतिर।

मैले खुबै ख्याल गरेको अनुभुति गरेझैं उ लामो गरी सास फेर्थी।

पत्रकारिताको कक्षा झनै रमाइलो हुन्थ्यो। अनेक रमाइला प्रसंग सुनाउँथे म। बाहिरी दुनियाँका लागि थाहा भइसकेका कुरापनि उनीहरुका लागि नयाँ र मेरा मौलिक विषय हुन्थे।

आफ्नै बाबु र हजुरबुबाबाट बलात्कृत किशोरी पूजा कार्कीसंग मैले गरेको अन्र्तवार्ताको प्रसंग उ घरीघरी निकाल्थी। मेरो इन्टरभ्यु हेरेकै भरमा मलाई पूजाका बारेमा गफ दिन्थी। पुरुषहरु यस्ता हुन्छन र उस्ता हुन्छन् भनेर प्रति मच्चिमच्चि गाली गर्थी। उ भुल्थी जसका सामुन्ने उसले पुरुषप्रतिको विषवमन गर्थी उ स्वंय पुरुष हो।
एकदिन उसले मलिनो आवाज पारेर सोधि,‘सर, पूजालाई अब कसैले विहे गर्दैन होला है ?’

मौकाको फाइदा उठाउदै सुरेश बोल्यो ‘तिमीसंग अफयेर नभएको भए, म आफैँ गर्थे पुजालाई बिहे।’

ठाउँ पाएपिच्छे उ रोमान्टीक गफ दिहाल्थ्यो। उसको बानीसंग सबै अभ्यस्त थिए। अब्बल थियो उसको पढाइ, त्यसैले उसको चटपटपनि सहज लाग्थ्यो।

‘दिप्तिका, एउटा भनाइ नभुल है। बाबु दुष्ट र नेवार इष्ट कहिल्यै हुन्न। यो मोराको विश्वास नगर है,’ मैले भनेँ।

‘इट इज एन इक्जाम्पल अफ डिस्क्रिमिनेसन बेस्ड अन ल्याङ्ग्वेज। ल्याङ्ग्वेज अफ आर्यन्स। स्टेरियोटिपिकल रेप्रिजेन्टेसन अफ नेवारस्।’

मुखैभरिको जवाफ पाएपनि शिक्षक भएर होला म चैँ खुशी भएँ। कमसेकम भाषामा आधारित विभेद र भाषिकरुपमा हुने गलत प्रतिविम्बनका बारेमा उ पोक्त सुनिएको थियो। पढाएको कुरा घुसेकै रहेछ ।

दिप्तिकाले सुरेशकै सपोर्ट गर्दै अमिलो मुख लगाइ। मलाई लाग्यो साँच्चै अफयेर रहेछ।दिप्तिकाको अघिल्लो म्यासेजले मलाई ११ र १२ को पूरै कक्षा रिल घुमे झैं घुमाइदियो।

‘सर तपाईले कक्षाकोठामा पढाउँदा मलाई पीन्च हानेजस्तै लाग्थ्यो।’

यति लेखि सकेपछिपनि मैले रिप्लाइ नदिएपछि उस्ले रुँदै गरेको कार्टुन सेन्ड गरेकी रहिछ। फिलिङ इग्नोर्ड लेखेर अफलाइन बसिछ। मलाई थाहा थियो, उ अफलाइन थिइ तर अफलाइन भएकी थिइन। मलाई पनि उसलाई के कुराले छुन्छ भन्ने थाहा थियो।

‘आइ क्यान नेभर इग्नोर यु नाइदर इमाजिन इट।’

उ फुृर्किहाली,‘रियल्ली ? थाङ्क यू । यू आर माइ टिचर यजवेल यज बेष्ट फ्रेण्ड। हेहे ।’

‘के हासि रा?’ मैले झपारेँ, ‘भन्न खोजेको कुरा प्रष्ट र सिधा भन।’

‘मुटु थामेर बस्नु है त?’

‘तिम्रोजस्तो कमजोर मुटु होर ? भुकम्पसंग त डराइएन।’

‘म डराको हो र ? १२ को परीक्षा सिद्धिएर हिँडेको।’

‘ल ल भन। भन्न खोजेको तर भन्न नसकेको कुरा के हो?’

‘यक्ष प्रश्न आयो। हिहि।’

‘के हो के नचाहिने कुरामात्रै नगर त’ म झर्किँए यसपाली भने।

‘कति चोटी भन्न खोजे सकिन। तपाईले नराम्रो सोच्न पाउनुहुन्न। अरुलाईपनि भन्न पाउनुहुन्न। पक्का ? कसम?’

‘खान्न कसम, विश्वास छैन भने नभन।’

धेरै बेरसम्म मेसेज आएन। खाली टाइप गर्दै गरेको संकेतमात्रै छ। मनमनै सोचें, कतै ‘एकतर्फी प्रेममा त परिन ?चीठीको झल्को मेटाउने गरी लामो न लामो म्यासेज आयो।

‘सर, परिवार र आफन्तपछि तपाईलाई थाहा हुँदै छ मेरो बारेमा। विश्वास गरेर भन्दैछु। म एउटी बिछोड भएकी आमा हुँ। कसरी भनु सर। लभ म्यारिज भयो। हेटमा पुगेर डिभोर्स भयो। कसैलाई थाह नदिइ, एक दिन हामी भाग्यौँ। एसएलसी दिएर बसेको समय थियो। गर्भ बसिसकेको थियो। अप्रेसन गरेर छोरा जन्मियो। होश नै भएन। बच्चा भइसकेपछि बल्ल उसले आफ्नो वास्तविकता भन्यो। उ त पहिल्यै विहे गरिसकेको रहेछ। आफु दोस्री भन्ने थाहा पाएपछि मलाई असह्य भयो। सम्बन्ध राम्रो रहेन। उसले मलाई साह्रै डोमिनेशन गथ्र्यो। उसका लागि म सेक्स कमोडेटीमात्र रहेछु। मेरो वास्तविक प्रेम र उसको खेलौनाको नासोका रुपमा मसंग छोरा छ ।’
म्यासेज पढ्न नपाउंदै मैले जवाफ फर्काएँ ‘यो कुन उपन्यासको अंश हो?’

उसको जवाफ खपिनसक्नु थियो। ‘उपन्यास कल्पनाको विधा हो। यो आत्मकथा हो। मेरो छोरा मजस्तै छ। नपत्याए हेर्नोस्।’

काटीकुटी उसैको अनुहारसंग मिल्ने अलि थेप्चो नाक भएको फुच्चेको तस्बिर उसले सेन्ड गरी। मेरो आंखा तिल्मिलाउन थाले। चस्मा खोलेर पुछे। बाइकमा हिँड्दाको धुलोले पुरिएको चस्मा सफा भएपछि तस्बीर झनै वास्तविक लाग्यो ।

उसले थपी,‘अ फोटो स्पिक्स मोर देन थाउजेण्ड ओर्डस । तपाईले नै पढाको हो।’

छोरालाई चुम्मा गर्दै गरेको अर्को तस्विर उसले ठेलीसकेकी थिइ। मान्छेको जीवन कसलाई के था? सोझी दिप्तिकाको लुकेको पाटोले मलाई गिज्जाइरहेको थियो। न्यापकिनले निधार पुछेँ। उता म्यासेजको बर्षा जारी थियो ।

‘छोरा जन्मेपछि आमा भेट्न आउनुभयो। आमाकै अगाडि उसले मलाई जथाभावि गाली ग¥यो। आमा धरधरी रुनु भयो। आमालाई अगालो हालेर बेस्करी रोएपछि मन हलुका भयो। आमासंगै जान्छु भनेर पछि लागेँ।’

आमाले घरमा पुगेर भन्नुभयो,‘दिप्तिकालाई कसैले कर्के नजरले हेर्यो भने म मरे भनि जान्नु। यो बाबुलाई कसैले हेला गरे मेरो लास नाघेको सम्झनु।झण्डै डेड बर्ष मेरा लागि बन्द रहेको घरको ढोका आमाको जबरजस्त हस्तक्षेपपछि खोलिएको थियो। आमा भइसकेपछि मैले वास्तवमै आमाको महानता अनुभव गरेँ सर। तपाईले आमाको निवन्ध पढाउंदा म रोेएकी होइन, म भित्रकी मातृत्व बोलेकी हो ।’

साहित्यको शिक्षक म च्याट पढेर शब्दविहीन भइसकेको थिएँ। सृजनाका पत्रपत्र अर्थाउँदाअर्थाउँदै बहकिने म संग भन्नलाई केही थिएन। लेखनको साहित्यभन्दा भोगाइको साहित्य जटिल हुँदो रहेछ। साहित्यभन्दा विशाल जीवन जिइरहेकी दिप्तिकालाई मैले साहित्य पढाएको रहेछु।

आफैलाई व्यङ्यानुभुति गर्दै लेखे ‘गो अन।’

‘उसले मलाई फर्केर हेरेन। छोराको समेत वास्ता गरेन। अब त मलाई उप्रति घृणा सिवाय केही छैन। मैले उसंग बिताएको जीवनको सानो अंशले मेरो पूरै जीवनको बाटो बदलिदिएको छ। केही सेकेन्डका लागि आएको भुकम्पले ठूलै बर्बादी ल्याएझैं मेरो जीवनमा उसंगको छोटो संर्सगले कहिल्यै नमेटिने बोझ थोपरिदिएको छ।’

‘दिप्तिका आइ एम स्पिचलेस। यु नो।साइलेन्स इज समटाइम्स बेष्ट ल्याग्वेज’ मैले भनेँ

‘नो प्रोबलम सर। तपाईले मलाई जीवनमा धेरै शब्द सिकाउनुभयो। सायद पत्रकारिता र अंग्रजी नपढेको भए म यति दृढपनि हुने थिइन। तर म जीवनमा पत्रकार र साहित्यकार कहिल्यै बन्न चाहन्न।’

उसको जवाफ अर्को झट्का थियो मेरा लागि। मैले उसलाई जे बनाउन दुई बर्षसम्म प्रेरित गरेँ, उ त्यही बन्न इन्कार गरिरहेकी थिई।

‘किन?के बन्छेउ त?’

‘समाचार बन्न चाहन्छु। पत्रकारले अरुको कुरा लेख्छन्, त्यसैले म पत्रकार हुन्न। साहित्यकार कल्पनामा रमाउँछन्, त्यसैले म साहित्यकार हुन चाहन्न। म समाचार बन्न चाहन्छु जुन वस्तुनिष्ठ हुन्छ।’

उ मलाई पत्रकारिता पढाउनेझैं गरी च्याट गरिरहेकी थिइ । मैले नबुझे झैं गरी रिप्लाई गरे ः भनेको ? बुझिन ।

उसले थपी,‘म समाचार बन्ने मान्छे हुन चाहन्छु। गुडन्युज बन्न चाहन्छु। फिचर स्टोरी बन्न चाहन्छु। अब म समाजसेवामा लाग्दैछु। बुबाआमाले मेरो लागि भनेर
छुट्टाइदिएको घडेरी धितो राखेर म बिजनेस सुरु गर्दैछु। म चाहन्छु बाबुले बुबा नभएको अनुभव कहिल्यै नगरोस्। मजस्ता अबोध किशोरीहरु यौन प्यासीको फन्दामा कहिल्यै नपरुन। म व्यवसाय र समाजसेवालाई संगसंगै लैजान चाहन्छु।

‘गुड थट।’

‘मैले एसएलसी दिएको सात बर्षपछि १२ को जाँच दिएँ। दीदीको अझैं बिहे भाको छैन, मैले बिछोडको भञ्ज्याङ तरेँ। मसंग पढेका साथीहरु मास्र्टस पढ्दै छन्। म कताबाट कता पुगे। पहिले लाग्थ्यो मरुँ क्यारे। घरबाट माया पाएपछि जीवनको माया पलाएको छ। अब म मर्दिन। बरु अरु महिलालाई पनि अनाहकमा मर्नबाट जोगाउँछु।’

‘जीवनमा तिमीले जति पढ्यौं प्राक्टिकल्ली, त्यति मास्र्टस पढेकाले पनि पढ्दैनन्’मैले उसलाई तातो लगाउन खोजेँ।

‘सरको शब्दले मलाई सन्तोष दियो तर मेरोबारेमा कसैलाई नभन्नु है।’

‘आफ्नै जीवन लुकाउन खोज्नेले अर्काको जीवन कसरी बचाउँछेऔं?’

‘होइन सर। म साथीहरु सबैलाई सरप्राइज दिन चाहन्छु। साथीहरुले एकैचोटि पछि समाचारबाट थाहा पाउन मेरो वास्तविकताको बारेमा। न्युज इज समथिङ सरप्राइजिङ। लाइभ इज समथिङ मिस्टिरियस। हेहे। ओक बाइ। फिलिङ साइ।’

‘मिस्ट्री इज हिस्ट्री । यू आर रियल्ली यूनिक। तिम्रो जीवन भोगाइले मलाई लज्जित बनाएको छ। किनकी म एउटा पुरुष हुँ। यो लज्जा हटाउन भएपनि म तिम्रो संर्घषमा सदैव सहयोगी हुनेछु ।’ मैले भनेँ।

‘सो नट बाइ, र्‍यादर हाइ दिप्तिका’

(स्रोत : ‘विकसन’ साहित्यिक पत्रिका )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.