~जेबी खत्री~
वल्लाघर–पल्लाघर, तल्लाघर–माथ्लाघर, छर–छिमेकका प्राय: सबै युवा–युवती रोजगारीका लागि विदेश आउजाउ गर्छन् । कसैको गलामा बिदाइको माला र निधारमा रातो टीका । कसैलाई आगमनको स्वागत । अस्ति भर्खर मात्र पल्लाघरे जेठो दुबईबाट फर्किएको । आज फेरि तल्लाघरे कान्छो साउदीबाट टुप्लुक्क आइपुग्यो ।
बाबाले विदेशबाट ल्याइदिएको खेलौनासँग खेल्दै खुसीले आँगनमा उफ्रिरहेको आकाशलाई देखेर अन्जुले आँखाभरि आँसु पार्दै रुन्चे स्वरमा आमासँग सोधी, ‘मामु हाम्रा बाबा कहिले विदेशबाट आउनुहुन्छ ? बाबाले मलाई पनि आकाशको जस्तै खेलौना अनि कम्प्युटर ल्याइदिनुहुन्छ हगि ?
छोरीका प्रश्नको प्रतिउत्तरमा उनका आँखाबाट आँसु झर्न थाले । धेरै दिनपछि आजफेरि विदेशमा मृत्यु भएका श्रीमान्को पीडा बल्झियो । उनी केवल काखमा बसेकी सानी छोरीको टाउको सुमसुम्याइरहिन् । गालालाई चिर्दै उनका आँखाबाट निरन्तर आँसु झरिरहे ।
प्रकाशित: आश्विन ६, २०७२
(स्रोत : Kantipur – Saptahik)