कविता : सुसाइड नोटमाथिको जीवनबोध

~रामप्रसाद प्रसाईं~Ram Prasad Prasain

To philosophize is to learn how to die.*
को
प्रस्तावनाले
समग्र जीवनको लक्ष्य मृत्यु#
अनि फेरि अमृत्यु किन त?!
हो, त्यसैले
दार्शनिकीकरण गर्नु
बराबर मर्न जान्नु*

भएकाले होला
हिँड्दा हिँड्दा
भिन्न समय र स्थानमा
भिन्न भिन्न आयतनका
शिल्करोडहरू
चियाउँछन्—
चिच्याउछन्—
हम्मुराबी१का आचार सँहिताहरू
आचार सँहिताभित्रका हम्मुराबीहरू
समयका गर्भमा
रोपिइएका कोत र भण्डारखाल पर्वहरूमाथि

युगको आकाश मध्ये भागमा रेटिइएपछि
नाइल सभ्यता बग्थ्यो, बग्छ र बग्नेछ-ले
चेतनाका मृत विम्वहरूमाथि टेकेर
मान्छेका मात्र अस्थिपञ्जरहरू
खप्परभित्रका आकृतिहरू, प्रतिकृति र प्रतिरूपहरू
निरन्तर निरन्तररूपले
सिर्जिरहन्छन्—
सिर्जिरहनेछन्—
पिरामिडहरू
आस्थाका
अवस्थाका
अराजकताका
किनकि
फिराऊनहरू२ गाइरहनेछन्
निरोहरूको चमेनागृहमा
दुःखी सेनेका बनेर१०, ११

मेसोपोटामियाको
बलेसी र सिकुवामा बसेर
सोच्दा हुन्
नेबुचादनेजारहरू३
आफ्ना मानसपुत्रहरू
झुलाउँदै
फुलाउँदै
फलाउँदै
औँठाछापहरूको
ठप्पा लगाउँदै
इतिहाँसका झुलनबागहरू४माथि

सभ्यताका व्यास र हेरा५ गुफाभित्र

योगातीत
भावातीत
जीवनातीत

समय र सन्दर्भको
अक्षरब्रह्म६ खिप्दै रहेका
सुकरात हजुरबाहरू
हातभरि घुङरिङ्ग र सेउली लिएर
दौडिरहेछन्
म्याराथुन
प्राचीन युनानी ओलम्पस पहाड
देखि
सगरमाथा फेदीसम्म

शिरभरि छपक्कै छोपेका
जट्टाहरू पछाडि झड्कार्दै
लामा लामा दाह्री मुसार्दै
अघि अघि
बुर्लुक्क बुर्लुक्क
उफ्रिरहेका बाख्राका पाठाहरू
पछि पछि
प्लेटो, अरस्तु र सिकन्दर महानका सहपाठीहरू
लाग्छ,
जीवन्त छ मुत्यु
सदाबहार छन्
अजीवन=अमृत्यु
श्रष्टाका अमरताहरू
यो बोधिवृक्षमुनिको नाट्यशालामा
छरिइएका
सुकरातका
कतै ‘आइडिया’७का छापहरू, छायाँहरू अनि छालहरू
खसाए होलान् कतै दौड्दा दौड्दै
ग्रेटवाल
अनि
युफ्रेटिसको पटाङ्गिनीभरि

मृत्यु असहज छ
सहज छैनन्
अमृत्युहरू पनि
जीवन एउटा प्रक्रिया
मृत्यु सहजीकरणको

विचार मृत्यु
दर्शन मृत्यु
प्रत्येक अस्वीकृति विचार
बस्
स्वीकृति त मान्यता
एक स्वयंसिद्ध तथ्य
अनि प्रत्येक पूर्णविराममाथि प्रश्नवाचक
विचार निर्माण हुन्छ
विनिर्माण हुन्छ
अस्वीकृत हुन्छ
तर
बिनाश हुन्न
हुन सक्दैन पनि

आत्म स्वीकृति

आम स्वीकृतिको
द्वन्द्वत्मकतामा

हेमलक विचार
विचार हेमलक
त्यसैले त यहाँ
विचार यमलोक भएथ्यो
एकाडेमी र लिसियमका
दार्शनिक वाटिकाहरूमा८
सुकरात विचार हो
विचार हाँसी हाँसी मर्छ
हेमलक६ पिएर
असत्यहरूका दागबतीमाथि हाँस्नलाई

उज्यालाका सलेदा
हाँसी हाँसी निख्खर
बन्दछन्
प्रमिथियसको जीवन ज्योतिमा
हेमलक, यार्सागुम्बा, पाँचऔँले, पाखन्बेद, बिखुम्मा
पाइला पाइलाका
म्याराथुनमा
अभ्यस्त सुकरातहरू
बिषका प्यालामाथि
नापिरहन्छन्
जीवन

जीवन—
नाचिरहन्छ
अस्तित्व—
मुस्काइरहन्छ,
युग युगको दार्शनिक ढाँचामा

प्रलय-लय-विलयका नेपथ्यमा
बिगब्याङ्गको महाविष्फोटले
आज
मूर्तिवत् मान्छे
मान्छेवत् समय

रूमलिँदा रूमलिँदै
ज्ञात अज्ञात चक्रवातहरूमा
मोतीहरू अविरल भासिरहेछन्
प्रबास प्रलापका गहिराइहरूमा
प्रज्ञा प्रबोधनका अज्ञापित पीँधहरूमा
क्षत विक्षत विक्षिप्त समयका
सिकारू अनि विज्ञ आलाकाँचा शल्यक्रियामा

त्यसैले
अबोध घुम्टाहरूबाट, सनपाटका बोराहरूबाट, धुम्म आकाशका घुमहरूबाट
शँखघोष गरिरहनेछन्
युयुत्सुहरू
जिजीविषाका दिउलहरू खन्नलाई
खातका खात सुसाइड नोटहरूमाथि
किनारैबाट
साक्षी बकिरहन्छ, जीवन
आफ्नै मृत्युशैय्यामा
स्वयँ
‘ऊ’
आफैं
हो,
एक
चश्मदिद गवाह
किनकि
क्षेत्राधिकारीहरूको क्षेत्र अतिक्रमण भयो

बिटुलिदैछन्
बरालिदैछन्
बहकिदैछन्

विस्मृतिको रसपानमा
धुमिल, अर्ध/नग्न
स्वभक्षणा तथा आत्महन्ताका करबीरे मसानहरू

असहज सत्य
उही उपसंहारभित्र
अनन्त जीवनको पराग

Cowards die many times before their deaths;
The valiant never taste of death but once.**

अपठ्यारो यथार्थ
‘एक सुकराती विडम्बना’।***

* Cicero

** William Shakespeare

*** Socratic Irony

# Sigmund Freud

१. Hammurabi is known for the set of laws called Hammurabi’s Code, one of the first written codes of law in recorded history.

२. Pharohs, who are called Firaun in Arabic, esp. in The Holy Qur’an. They ordered to make pyramids in Egypt Peninsula.

३. Nebuchadnezar suggested to prepare the Hanging Garden.

४. the Hanging Garden

५. the Hera cave where prophet Mohammed received divine words of the Koran.

६. Logos

७. प्रत्यय or Idea, edos, telos, truth, god, etc.

८. Plato’s Academy, Aristotle’s Lyceum and Followers in the Roman Empire were known as the Garden Philosophers.

९. Socrates was poisoned to death with Hemlock.

१०. Nero

११. Seneca whom Nero compelled to suicide.

अक्टोबर १० सन् २०१०
अबुधाबी श्रमशिविरबाट।
Art is immortal and eternal.

(स्रोत : Shabdahar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.