रातको निस्तब्धतामा
एकोहोरो
जलिरहेछ दियो
झलमल झलमल ।
ओभाएको तिम्रो शरिरमा
पसिना लतपतिएको चिन्ह
मधुर उज्यालोमा
प्रस्टै देखिन्छ
उसका आयातित
बस्त्रहरू भन्दा पनि
सुन्दर देखिरहेछु म
र
हावामा फैलिएको
पसिनाको
एकतमासको गन्ध
लट्ठ बनाइरहेको छ मलाइ
खै उसका अत्तरहरू
अचेल किन
उति सुवासिला लाग्दैनन् ।
तिम्रो गठिलो शरिर
ठेला उठेका
हत्केला र पाइतालाहरू
जिस्काइरहन्छन्
उसको सुन्दरतालाइ
टाढै बाट
र
ताता स्वासहरू
न्यानो सामिप्यताको
भोक जगाउन
सक्षम छन्
चिमोट्दै उसको
न्यानो आलिङ्गन ।
तिम्रो थकित वय
निस्फिक्रि विस्तारामा
तृप्त छ
ललकार्दै उसका
रातका छटपटिहरू
र
सन्तुष्टिका रेखाहरू
चम्चम् चम्किरहेकाछन्
तिम्रा निधारमा
खिज्याउँदै उसका, मेरा
अनगिन्ति अतृप्त
भोकहरूलाइ, सपनाहरूलाइ ।
उफ्, यो रात
विहानी कहिले होला ?
दियोको तेल
निख्रदैछ
विस्तारै विस्तारै
तैपनि
एकोहोरो
जलिरहेछ दियो
झलमल झलमल ।।
(शनिबार, ४ मङ्सिर २०६७)
(जय होस् पाठकिय स्वतन्त्रता ।)
(स्रोत : Sabda Sarathi)