~सौरभ कार्की~
आजको रात
मेरो जून अधेरो उदाउनेछ
सम्भवतः
त्यसबेला तिमी
जूनभन्दा नि’ उजेली हुनेछ्यौ !
भाँच्चिएका सपनाहरु
तप्प तप्प चुहिनेछन् आँखाबाट
र आफ्नो बाटो खोज्दै
टाढा भाग्नेछन् पर………
(उफ्, किन मैले क्षितिजभन्दा पर कहिल्यै देखिन ?)
क्षितिजभन्दा पर
र म एकनाशले हेर्दै हुनेछु
मलाई छाडी भागेका सपनाहरु
चिसा आँखाले ।
आजको रात
यी आँखाहरुले आकाशगङ्गा बगाउनेछन्
सम्भवतः
त्यसबेला तिम्रा आँखा
नयाँ सपनाहरु बुन्न व्यस्त हुनेछन् !
व्यथाहरु
झन् धेरै गहिरिनेछन् !
पीडाहरु
क्रन्दन मच्चाउनेछन् , छातीभित्र !
(उफ्, किन यो पीडा छात्तीमै हुन्छ ?)
अनि फेरी म
डुब्नेछु – तिम्रै यादमा ।
डुब्नेछु – आफ्नै आँसुको सागरमा ।
कोट्याईरहनेछु
तिमीले दिएको घाउको खाटोहरु
र दुखाइरहनेछु आफैलाई !
आजको रात
तिम्रो याद निरन्तर
छातीभरि परेड खेल्नेछ ।
सम्भवतः
त्यसबेला तिमी
छातीभरि रोमाञ्चको
सुखद अनुभूति गर्दै हुनेछ्यौ !
तर्साइरहनेछ मलाई – सन्नाटा !
प्रत्येक पल
गिज्याईरहनेछ मलाई
म भित्रकै मान्छे
हठात्, लामो सुस्केरा हाल्ने छु म ।
(उफ्, कालो रात र सन्त्रास कुन हुन्छ डरलाग्दो ?)
म खुट्याउन सक्नेछैन,
रात या सन्त्रास
कुन कालो हुन्छ ?
अनि कुन निष्पट्ट अधेरो हुन्छ , जीवनमा ?
म एकोहोरिदै गर्दा
सम्झनाका तरेलीहरु
पुनः छछल्किनेछन् आँखाबाट
र म दुखिरहनेछु
यत्रतत्र – सर्वत्र ।
आजको रात
म अनिदो कोल्टे फेर्दो हुनेछु ।
सम्भवतः
त्यसबेला तिमी
बलिष्ठ पाखुराहरुमाझ
कोल्टिदै निदाइरहेकी हुनेछ्यौ !
आजको रात
तप्काउदै आँसुका भेल – आँखाबाट !
बल्झाउदै पुराना घाउ – छातीभित्र !!
अंगालेर तिम्रो याद – मुटुभरि भरि !!!
तिम्रो खुसीमा
एक्लै बर्बराउनेछु
शुभ–कामनाका केही शब्द
फगत् आफ्नै मन बुझाउन ।
र पुछेर आँखा ,
सम्हाल्दै यो छाती ,
बिस्तारै म मुस्काउन खोज्नेछु
कलेटी ओठहरु ।
र सम्भबतः
जब तिमी घाम उदाउनेछ्यौ
म यो जिन्दगी
ग्रहण भोग्दै हुनेछु ।
आजको रात
मेरो जून अधेरो उदाउनेछ
सम्भवतः
त्यसबेला तिमी
जूनभन्दा नि’ उजेली हुनेछ्यौ !
झुले – ४, दोलखा
हाल ः बुध्द एयर, चन्द्रगढी, झापा
(स्रोत : kaflesantosh.wordpress.com )