~लक्ष्मी गाइजु~
“हेर बूढी, म पनि अहिले चल्दै गरेको मधेस आन्दोलनमा जाँदै छु”– लखनले गम्भीर हुँदै भन्यो ।
अचानक आफ्नो लोग्नेको कुरा सुनेर धनु झस्किन् ।
“तपाईं किन जानुप¥यो आन्दोलनमा ? हामीजस्ता गरिबहरुका लागि कसैले केही गर्ने छैनन्”– एकै सासमा उनले आफ्नो पतिलाई सम्झाउने चेष्टा गरिन् । लखनले तराईमा चल्दै गरेको आन्दोलनमा जाने नै निश्चय गरिसकेको थियो । त्यसैले, धनुको चेष्टा निरर्थक भयो । उनले आत्तिदै फेरि भनिन्– “आजभोलि पुलिसलाई त सुरक्षा छैन, तपाईं हामीजस्ताको सुरक्षा कसरी हुन्छ ? त्यसैले नजानुस् तपाईं,मलाई डर लाग्छ ।”
आफ्नी पत्नीको पीडाले पनि लखनको आन्दोलनमा जाने अडानलाई ढाल्न सकेन । उसले अझ गम्भीर हुँदै भन्यो– “धनु, मैले सोचविचार गरेरै यो निर्णय लिएको ह्ुँ । हाम्रो भविष्यका निम्ति मैले आन्दोलनमा जानैपर्छ, तिमी मलाई नरोक ।”
धनुले मन थाम्न सकिन । आन्दोलनमा गोली चलेको कुरा, कफ्र्युका कुरा, निषेधका कुरा आदि मनमा आउन थाले । उसले रूँदै फेरि लखनलाई सम्झाउने प्रयास गरिन् ः “हेर्नुस्, तपाईं जाने जिद्दी नगर्नुस् । आफ्ना छोराछोरीका बारेमा पनि सोच्नुस् । नाबालक छोरा मृगौलाको रोगी छ । घरमा अभावको ताण्डव नृत्य छ । उसको उपचार कसरी गर्ने र पैसा कहाँबाट ल्याउने ? सोच्नुुस् । अरुको लहलहैमा तपाई यसरी नहिँड्नुस् ।”
धनु आफ्नो बिरामी छोरातिर हेर्दै सुँक्क–सुँक्क गर्न थालिन् । आँखाभरि आँसु राख्दै लखनले भन्यो– “धनु, म कसैको लहलहैमा लागेको होइन । मैले धेरै सोचेपछि नै यो निष्कर्षमा पुगेको हँु । मैले छोराको भविष्यकै निम्ति यो कदम चाल्न लागेको हँु । तिमीलाई थाहा नभएको होइन,छोराको उपचारका लागि लाखौँ रूपैया चाहिन्छ । हामीले कहाँबाट ल्याउने यति धेरै पैसा ? तिमीलाई थाहा छ नि ? यो आन्दोलनमा लागेर यदि कोही मर्छ भने उसले पचास लाख पाउँछ । हो, म त्यसैको निम्ति जान लागेको हो । हाम्रो छोराको भविष्यका निम्ति जान लागेको हो । त्यसैले बिन्ती छ, मलाई नरोक ।”
यति भनेर लखन आँसु पुछ्दै बाहिर गयो । धनु बर्बर आँसु झार्दै भर्खरै लखन ओझेल भएको ढोकातिर हेर्दै बसिन् । अगाडिबाट हिर्काइए पनि पछाडिबाट हिर्काइए पनि झटारो आफ्नै जिन्दगीमा पर्ने सम्झेर उनी डाँको छाडेर एकनासले रोइन् ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )