जोरसल्लाको छेवैमा ध्यानस्थसखुवाको बूढो रूख देखेपछि
मैले बाबालाई सम्झे …।
बाबा
पहाडजस्तै खँदिलो
र, पूर्णेको जूनजस्तै हँसिलो हुनुहुन्थ्यो
पवन झै वेगवान
र, नदी झै गतिशील हुनुहुन्थ्यो।
आकाश–आमाले
स–साना बादल नानीबाबुहरूलाई
टाँसेर टपक्क छातीमा
खन्याए झै सहस्र ममता
बाबा
राख्नुहुन्थ्यो उचालेर मलाई
आफ्नो पृथ्वीजस्तो काँधमा
र, देखाउनुहुन्थ्यो आकाश–गंगा।
म हेर्थें―
घुरुक्क उघारेर क्षितिजको दैलो
विश्वयात्रामा निस्किएको बालक–सूर्य
ठुस्किन्थ्यो डाहाले
रिसाउँथ्यो शिशु–जून
र, छलिन्थ्यो इर्ष्याको झ्याङभित्र।
खैंचेर हातमा लट्टाइको लगाम
उडाउँदै डाँडैडाँडा मायाको चंगा
डोर्याउँदै मलाई
बाबा
जब डुल्नुहुन्थ्यो गाउँ
पछ्याउन थाल्थे―
खुशीले उफ्रिंदै शरद–फूलहरू
बज्न थाल्थे―
मालश्री धुनहरू…।
हिमालखबर, मंगलबार , २१ असोज २०७१
(स्रोत : Himal Khabar )