~चन्द्र घिमिरे~
मान्छे बेच्ने पहाडबाटउर्मिला, कल्पनासितै
जँड्याहा लोग्नेबाट आजित सुनितालाई
काखे छोरी सहित सूर्ती झै खरिदेर
चढाएको फर्जी सपना थियो
भेलपुरी खुवाउँदै रेलबाट ओराले
र मिसियो बगिरहेको मान्छेको समुद्रमा
प्वाल परेर डुबिरहेको नौका
यो धारिलो महानगरमा।
सम्पादक रहेछ कपाल कुर्लुङ्ग परेको महानगर
सम्पादन गरेर
कमनीय नाम दिलायो
― उमराव जान
उसमा दोष थियो
भूकम्प गइरहने उमेर
छालमा पहाडको आईडी
छोरी मान्छेको घडेरी राखियो
बिक्रीमा।
पल्टिएको रेडलाइट गल्ली
ओसिएको थियो वेश्या पुराना हुनाले
गाहकी नमिल्दा दलाल थाक्थ्यो
सस्तो चुरोट आधा तान्थ्यो/आधा राख्थ्यो
झ्ार्कन्थ्यो चिनी रोगी झै दुब्लाएको आफ्नो कमाइसँग
उमरावलाई तन्ना ओछ्याएदेखि
तरुणी भाउ तिर्न रौसिए रातहरू
कोठीमा खुशी लाइन लाग्यो
सिरानीमा ढल्किएर नवाबी साँझहरू
अबेर रातसम्म
बाँच्यो
नाच्यो
मर्क्यो
उमरावको बेचिएको कम्मर
जहाँ कोठा पाउन गाह्रो भो।
कति दैनिकी आए गए
पखालिएन वर्षौं पुरानो त्यो स्मृति
बैंसको शेयर बेच्ने
उमरावको भद्दा लिपस्टिक छेउ
एकदिन स्याउला झै हल्लिने
डाक्टरी पढ्ने पातलो कवि ठिटो थियो
सामाजिक कार्यकर्ता शैलीमा
घर फर्किन फकाउँदै थियो
उसलाई सोधी
छोकरा, मलाई स्वीकार्छौ?
मेरी छोरी छे, अपनाउँछौ?
ड्राइभर गोपाल भन्दा असल छौ?
सामाजिक फिलिममा कथा अर्कै हुन्थ्यो
अस्वीकृत विद्यार्थी तत्कालै किनार लाग्यो
मुजुराको तालमा कामुक नोटहरू
हावामा कावा खाइरहे
ऊ र गोरो कम्मर
कुमालेको चक्र झै घुमिरहे।
वर्तमानले
उमरावलाई विनयपूर्वक बोलाउँछ
– सोना बाई
कोठीवाली औकात त्यसै बनेको हैन
जुन निकुञ्जसँग छ
कलकलाउँदा उमराव जानहरू
आफ्नै बहिनी बेचेको दलाल नन्दन
सेता लुगामा धाउँछन्
हाइप्रोफाइल गाहकीहरू।
अचेल मर्लान्त दुख्छ सोना बाईको कम्मर
छोरीको पातलो कम्मरले पालो दे’को छ
चाहिएको रै’छ एउटा उमराव जान
वर्षौं पहिले बेच्नु अघि
दयावान यो महानगरले एउटा झिकेर
अर्को उभारेको थियो उसको किडनी।
हिमालखबर, मंगलबार , २१ असोज २०७१
(स्रोत : Himal Khabar )