ईशान बाबासँगै मङ्गल ग्रहको यात्रा गर्दै थियो । उनीहरू पृथ्वीबाट उडेको आज छैटौं दिन थियो । यानको कम्प्युटरबाट अरु यात्रुजस्तै ऊ पनि आफ्नो यान उडिरहेको अन्तरिक्षका दृश्य हेरिरहेको थियो । यानका चारैतिर आँखाले नभ्याउने आकाश फैलिएको थियो । टाढा टाढा ग्रह ताराहरू टिम्टिमाइरहेका देखिन्थे । कहिले कहिले क्षुद्रग्रहहरू आगोको लप्कासहित आकाशमा झिलिल्ल गर्दै खसिरहेका देखिन्थे । ईशान ती दृश्य हेरेर रमाइरहेको थियो ।
एक्कासि सबै कम्प्युटरका पर्दामा अँधेरो छाएर केही देखिएन । के भयो यो ? सबै एकै स्वरमा सोधिरहेका थिए । केही बेरपछि बल्ल यानका चालकले भने– “न आत्तिनोस्, बाटो बिराएर यान अन्तरिक्षको अँध्यारो क्षेत्र वा कृष्ण गर्त ( ब्ल्याक होल) भित्र पस्न पुग्यो । हामी बाहिर निस्कने प्रयास गरिरहेका छौं । कृपया नआत्तिइकन आ–आफ्नो ठाउँमा बसिदिनु होला ।”
त्यसरी विमानले बाटो बिराएर अक्कासिँदा अन्तरिक्षको अँध्यारो गुफाभित्र हराएको कुरा उनीहरूले पछि मात्रै थाहा पाए । ईशानलाई थाहा थियो– कृष्ण गर्त (ब्ल्याक होल) अन्तरिक्षको त्यस्तो भूलभलैया हो, जहाँ पसेपछि निस्कन असंभव हुन्छ । त्यसभित्र पसिसके पछि पनि सुरुमा त सबै कुरा पहिलेजस्तै देखिएको थियो । केही बेर पछि भने सबैतिर अन्धकारले छोप्यो । शिकारीले थापेको जालजस्तै लाग्यो इसानलाई त्यो कालो गुफा । सुरुमां फसेको पत्तै नहुने, पसेपछि भने निस्कन नसकिने !
अहिले उनीहरूलाई त्यस्तै भएको थियो । त्यसमा फसेको थाहा पाए पछि चालकले हड्बडाएर यानलाई आएकै बाटो फर्काउन नखोजेका होइनन् । तर चारैतिरबाट घेरेको अँध्यारोबाट आत्तिएर उनीहरूले यानलाई कहिले कता कहिले कता घुमाइरहे । सुरुमा त कम्प्युटरले समेत काम गरेन । त्यसबाट उनीहरू झनै डराए । डरले अताल्लिँदै यानलाइ कहिले यता, कहिले उता मोड्दा मोड्दै यान झन भूलभूलैयामा फस्दै गयो ।
यो विश्ब्रह्माण्डमा हाम्रो पृथ्वी सहित अर्बौ ग्रह, उपग्रह, नक्षत्र, तारा रहेका छन् । ती कति छन् भन्ने अझै यकिन भै सकेको छैन । अहिलेसम्म हामीलाई नौवटा ग्रह मात्रै भएको थाहा थियो । । तर होइन रहेछ, भर्खरै दशौं ग्रह पत्ता लाग्यो । यस्ता अरु कति ग्रह–उपग्रह र तारा नक्षत्र कति छन्, कति कसैलाई थाहा छैन ।
ती ग्रह, उपग्रह, नक्षत्र, तारा आदिको बीचमा खाली ठाउँ हुन्छ । त्यही खाली ठाउँ आकाश वा अन्तरिक्ष हो भन्ने इशानलाई थाहा थियो । तिनै खाली ठाउँमध्ये कतै कतैको वातावरण अर्थात् चारैतिर फैलिएको हावामा ज्यादै धेरै गुरुत्वाकर्णण हुन्छ । त्यस्तो गुरुत्वाकर्षण शक्तिले जुनसुकै कुरालाई पनि आफूतिर तान्छ । त्यस्तो गुरुत्वाकर्षण भएको क्षेत्र वा ठाउँलाई कृष्णगर्त (ब्ल्याक होल) भनिन्थ्यो । त्यही गुरुत्वाकर्षणको कारण त्यहाँ कुनै प्रकारको उज्यालो छिर्न सक्दैन । त्यसैले त्यो ठाउँ सधैँ अँध्यारो हुन्छ । त्यो अँध्यारो गुफाभित्रको गुरुत्वाकर्षणले तानेर त्यसभित्र एक पटक पसेपछि त्यहाँ बाटो बिराएर हराइन्थ्यो । विज्ञानले जतिसुकै उन्नति गरेको भए पनि त्यो कालो गुफबाट बाहिर निस्कने तरिका अझै थाहा थिएन । त्यस्तोमा फसेर धेरैले ज्यान गुमाइसकेका थिए ।
त्यस्तो डरलाग्दो अँध्यारो गुफमा फसेको थाहा पाए पछि सबै आत्तिए–लौन अब के गर्ने ? ईशानको पनि सातो गयो– अब कहिल्यै पृथ्वमा फर्कन नपाइने त होइन !
यो विक्रम संवत्को २१०७ साल कार्तिक महिना थियो । निल आर्मस्ट्रङ ८१ वर्ष अघि पहिलोपल्ट चन्द्रमामा ओर्लेका थिए । यो ८१ वर्षमा अन्तरिक्ष विज्ञानले धेरै उन्नति गरेको कारण अहिले पृथ्वीका मानिसहरू चन्द, मङ्गल, बुधजस्ता ग्रहहरूमा छुट्टी मनाउन जान थालिसकेका थिए । नेपालंबाट समेत त्यस्तो अन्तरिक्ष यात्रा गर्न सकिन्थ्यो । जान आउन र दुई दिन त्यहाँ बस्ने गरी बीस दिने यात्रा गराइन्थ्यो । उसका बाबा पनि अन्तरिक्ष वैज्ञानिक हुनुहुन्थ्यो । उहाँ अन्तरिक्ष अनुसन्धान गर्न भनेर मङ्गल ग्रहतिर जाँदै हुनुहुन्थ्यो । ईशान यसै वर्ष परीक्षामा पहिलो भएको थियो । त्यही खुसीमा बाबाले उसलाई पनि आफूसँगै अन्तरिक्ष घुमाउन लैजानु भएको थियो ।
“नडराउनोस्, हामी यानलाई यो गुफाबाट निकाल्ने उपाय खोज्दै छौं ।” निकै बेर पछि यानका चालकहरूको आवाज सुनियो । त्यो सुनेर यात्रीहरूमा थोरै भए पनि बाँच्ने आशा पलायो ।
त्यही झिनो आशामा कालो गुफाभित्रै हराएर उनीहरूले दुई दिन बिताए । कति कोशिस गर्दा पनि चालकहरू यानलाई बाहिर निकाल्न सफल भएनन् । अब उनीहरूले हार मानिसकेका थिए । त्यो देखेर अब कहिल्यै पृथ्वीमा फर्कन नपाउने डरले सबैजना झनै आत्तिए ।
इशानका बाबा भने कम्प्युटरमा ब्ल्याक होलसम्बन्धी जानकारी खोजिरहनु भएको थियो । उहाँसँँग सधैं अन्तरिक्षसम्बन्धी सबै जानकारी भएको ल्यापटप कम्प्युटर साथै रहने गथ्र्यो । यानको कम्प्युटरले आफू आएको बाटोको सबै नक्सा बनाइको थियो । उहाँले त्यो नक्साको पनि राम्ररी अध्यन गर्नु भयो । कालो गुफाभित्र बाटो बिराएका दुई दिनको नक्सा हेरे पछि उहाँले नक्सामा एक ठाउँ देखाउँदै चालकसँग भन्नु भयो– “यहाँबाट हाम्रो यान यो गुफाभित्र छिरेको थियो । फेरि त्यहीँ पुगेर पसेकै ठाउँबाट निस्कने कोशिस गरौं, निस्कन सकिने संभावना छ ।”
“आएकै तिर जाने कोशिस त पहिले पनि गरेका थियौं, त्यहाँसम्म पुग्नै सकिएन !” चालकले शंका गरे ।
“तपाइँले ब्ल्याक होलको बनावटका बारेमा राम्रोरी ध्यान दिनु भएन होला । यो ब्ल्याक होल भित्रबाट बाहिर देख्न सकिने, तर बाहिरबाट भित्र नदेखिने कालो सिसाजस्तै हो । यस अगाडि तपाइँहरूले आएकैतिर फकँदा अँधेरेले बाटो देख्नु भएन । त्यसो भए पछि पक्कै पनि दिशा बदल्नु भयो होला । अब बाटो नदेखिए पनि यताउता नलागि सोझै अँध्यारोकोभित्रै सोझै बढ्दै जानोस् । मलाई लाग्छ, हामी सफल हुने छौं !” बाबाले नक्सामा देखाउँदै कुरो बुझाउनु भयो ।
“हो, तपाइँले भनेजस्तै भएको थियो, त्यतिबेला । हामीले बाटो नदेखेपछि दिशा बदलेका थियौं । एक पटक यसै गरेर हेरौं न त, कतै सफल भैहालिन्छ कि !” उनीहरूमा पनि केही आशा पलायो ।
त्यसपछि उनीहरूले बाबाले भनेजस्तै गरे । बाबा पनि उनीहरूसँगै बसेर नक्सा हेर्दै कता जाने, के गर्ने भन्ने सल्लाह दिँदै हुनुहुन्थ्यो । उनीह्रूले यानलाई सिधै पहिला पसेको ठाउँतिर लगे । कतै केही नदेखिने बाक्लो अँध्यारोभित्र यान अघि बढ्दै गयो । जति अगाडि पुग्दा पनि कतै उज्यालो देखिँदैनथ्यो । दिनभर जस्तै त्यही रितमा अघि बढेपछि बल्ल यानको झ्याल बाहिर अलि अलि उज्यालो देखियो । अब उनीहरूको यान त्यो ज्यानमारा अँध्यारो गुफाबाट बाहिर निस्किन सफल भएको थियो ।
अन्तरिक्षमा टिलपिल टिलपिल जुन तारा टिल्पिलाइ रहेका थिए । यात्रुहरूका अनुहार पनि बाँचिएको खुसीले तिनै जुनताराझैं चम्किइ रहेका थिए । त्यो खुसीले तिनका आँखाभरि खुसीका आँसु टिल्पिलाई रहेका थिए ।
“अब त यो कालो अँध्यारो गुफादेखि डराउनु पर्दै हगि बाबा, झुक्किएर पसे पनि अब यसरी नै निस्क्न सकिन्छ होइन त ?”ईशानले बाबासँग सोध्यो ।
“हो, अब डराउनु पर्दैन, यसको सबै रहस्य थाहा भयो । यो तिम्रै बाबाले गर्दा संभव भएको हो ।” यानका चालक वैज्ञानिकको कुरा सुनेर ऊ बाबाको अनुहारमा हेर्दै मुस्कुरायो ।
(स्रोत : मुना २०६२ असोज, वर्ष १५ अङ्क १०, पूर्णङ्क १७८ ।)