अस्ताउनेछु म कुनैदिन
विलिन हुनेछु त्यो आकाशमा
सुनिने छैनन् मेरा पदचापहरु
गोरेटाहरुमा,
पक्कै मेटिनेछ मेरो छायाँ
धर्तीका नगरहरुबाट अनि
भेटिनेछु म यमनगरका चोकहरुमा।
छापेर तिम्रो मुखाकृति,
आत्माको छातीमा
अनि प्रेमको फेटा
उनेर गलामा
जब हिँड्नेछु स्वर्गका बाटाहरुमा
जिब्रो टोकेर टोलाउनेछन् अप्सराहरु।
तिम्रो नाम पुकारेर
जब पागलजस्तै भौँतारिनेछु
जातका पर्खालहरु नाघ्नेछु
तिरस्कारका काँडा बिझ्न सक्छन् पाउहरुमा
तिम्रा यादको लेप लगाउनेछु घाउहरुमा।
दुश्मन बन्न सक्छ इन्द्र
लड्नेछु तिम्रा निम्ती
त्यो मान्यतासँग
त्यो बिभेदसँग
बगाएर रगत
देखाउनेछु उसलाई
मान्छेको रंग।
आजाद बनाउनेछु तिमीलाई
त्यो सुनको पिंजडाबाट
जब जित्नेछु म समानताको लडाइँ
प्रेमको युद्ध,
सजाउनेछु प्रिया
जुनको टिकाले तिम्रो निधार,
ताराहरुको हार बनाइ
सजाउनेछु तिम्रो गला
अनि बनाउनेछु
फूलैफूलको एउटा प्रेमनगर
मेरी रानी,तिम्रा लागी।।।।।
(स्रोत : Suresh Badal’s Facebook )