बिर्खे कामबाट लखतरान भएर घर फक्र्याे ।
घर पुगेर पिरामा चाक बिसाउन नपाउँदै कुनामा सुँकसुँक गर्दै बसेको माखक्केलाई देख्यो । उसले स्वास्नीलाई पुलुक्क हेर्दै सोध्यो, ‘के भो त्यसलाई ?’
‘मासु खान्छ रे ! तेस्किमालाई छेपारी ताछेर पकाइदिऊँजस्तो । असती !’ माखक्केकी आमाले चुलामा अगुल्टो जोडले ठोस्दै भनिन् । उनले थपिन्, ‘सिकारीकोमा मासु पकाउँदै रैछ । सिकारीको सँघार रुँगिबसेका रैछन् । काँ मरे भनेको त असत्तीहरू । घाँटी सुकिन्जेल कराइमाग्छ । होइ पनि पो भन्दैन त । खानु नपाएर मरेकोहरू !’
माखक्केकी आमाले सुँकसुँक गर्दै मजेत्रोको फेरले नाक पुछिन् । सोथेले आगो ‘फु’ गरेर जोडले फुकिन् । खरानी र आगोको फिलिङ्गो चारैतिर उड्यो । कुनामा बसेको माखक्के हातखुट्टा तानेर हतारहतार परतिर सर्यो । कुक्रुक्क भएर बस्यो ।
‘होस गरेर बस् जाँ… ! तेरो आलुसालु जाला,’ माखक्केको सातो खाउँला गरी आमा कराइन् । माखक्केले दौराको फेरो तानेर आफ््नो जाँघ छोप्यो ।
‘केटाकेटी त्यस्तै हुन्छन्,’ बिर्खेले स्वास्नीलाई सम्झाउन खोज्यो ।
‘दुन्याँका छोराछोरी छन्, हामै्र चाहिँ के भाको ? राक्षेसजस्ता…।’
‘हत्तेरी ! भो हाओ, छोड्दे । याँ मान्छे कस्तरी थाकेर आछु,’ बिर्खेले झर्केर अलिक ठूलो स्वरमा भन्यो ।
सधैँ पनि बिर्खे झर्केपछि माखक्केकी आमा चुप लाग्छिन् ।
एक चोक्टा मासु खान दिन्छन कि भन्ने आशामा सिकारीको सँघार रुँघेर बसेका छोराछोरीको दिगमिक लाग्दो दृश्य बिर्खेले सम्झ्यो ।
‘कस्तो लाजै नभा केटाकेटी ? हुन पनि दसौंदेखि यता एक छाक मासु खुवाउन सक्या होइन । के गर्नु ? मन गरेर मात्र पुग्दैन । साँझ-बिहान हातमुख जोड्नै कस्तो मुस्किल छ । जे भए पनि बाउ पो हुँ त,’ बिर्खेकोे मन एकफेर नराम्ररी चिमोटियो ।
‘ओए, त्यो माथिको एक बिटा चोया भिजा त,’ बिर्खेले स्वास्नीलाई अर्हायो ।
‘केलाई नि फेरि ? थाकेको छु भनेको होइन ?’
‘भाले बेच्नु हटिया लाने,’ बिर्खेले अगुल्टो तान्दै भन्यो ।
‘ए खुबैै ! त्यो भाले त मेरो…’
‘लाटी पख् ना ! तेरै छाउराछाउरीलाई मासु खान दिऊँ भनेर,’ बिर्खेले स्वास्नीको कुरा काट्दै भन्यो ।
फेरि पनि माखक्केकी आमा चुप बसिन् ।
माखक्के र उसकी बहिनी भात नखाई सुते । बिर्खे र उसकी स्वास्नीले पनि छोराछोरीलाई उठाउने दु:ख गरेनन् । निंद्रामा उठायो कि झगडा गरेर हैरान पार्छन्, आमाको एक दुई झापट नखाई सुत्दैनन् । त्यही भएर सुतिसकेपछि कहिल्यै उठाउँदैनन् ।
खाना खाइवरी बिर्खे पेरुङ्गो बुन्न बस्यो । भाले बोक्न मिल्ने । भाले बेच्न बिर्खे नवमी हटिया जाने नै भयो ।
ओछ्यान लगाउँदै माखक्केको आमाले भनिन्, ‘एक किलो सुँगुरको मासु ल्याउनू, त्यतिले पुग्छ । मटितेल पनि सकिन लागेको छ । जिरा नबिर्सी ल्याउनू नि । मसला पुगेन भने त मासु मीठो हुँदैन । अनि छोरीलाई एक जोर चप्पल ल्याइदिनू ! हाओ, अहिलेसम्म एक जोर जुता चप्पल किनिदेको छैन । बिचरा कति खुसी हुन्छ होला नयाँ चप्पल पाउँदा । मसँग पनि यै एउटा लुङ्गी छ । सस्तै को होस्, यसो फेर्नु मिल्ने एउटा लुङ्गी ल्याइदिनू ! ए अनि अर्को …’
‘लु भो हाओ ! तँ नै जा बजार । मुलाङ एउटा भाले बेच्नु छ, हात्तीको दाम काँ पाउनु र ल्याउनु त्यतिका सामान ?’ बिर्खेले पेरुङ्गोको बिट मार्दै भन्यो ।
००००००००००
बिर्खेको रातो भाले गाउँभरिमा नामी थियो । सप्पैले खुङ्खार भाले भनेर चिन्थे । त्यै भालेले गर्दा माखक्केकी आमाले छरछिमेकसँग अनेकपटक बाझ्नुपर्यो । त्यो भालेले गाउँमा नचहारेको सुँगुरखोर र नठुँगेको पोथी नै थिएन । कतिसम्म मापाको भने आकाशमा उडिरहेको चिलको भुइँको छायालाई पनि पोथी ठानेर ठुङ्न लखेट्थ्यो । भर्खर ओथाराबाट निस्केकोे चल्लालाई पनि छाड्दैनथ्यो । देख्नै नहुने, ठुँगेर ठहरै पाथ्र्याे । टोलका केटाकेटी परपरै तर्कन्थे, धेरैको चोक्टा लुछिसकेको थियो । लुङ्गी लाएको छोरीमान्छे पनि देख्नै नहुने, पखेटा फिँजाएर वरपर गर्न थालिहाल्थ्यो । यस्तै घटनामा माखक्केको आमा छिमेकीहरूसँग धेरैपल्ट बाझेकी थिइन् । तर, छोरामान्छेलाई भने भालेले खासै ख्याल गर्दैनथ्यो । घरका जतिलाई भने धनी भनेर चिन्थ्यो ।
त्यसो त राम्रो गुण पनि थियो । त्यसले आकाशतिरै धेर हेरिबस्थ्यो । चील देख्नासाथ एकप्रकारको आवाज निकालेर चल्लाहरूलाई झाडीमा लुक्न आदेश गरिहाल्थ्यो । यसो हुँदा टोलमा कुखुराका चल्ला चिलले कमै लान्थ्यो । बिहान, ‘बिर्खेको भाले बास्यो’ भन्दै गाउँलेहरू उठ्थे ।
गाउँलेहरूका लागि भाले यस्तो थियो—
‘बिर्खेको भाले बास्यो, भात खाने बेला भयो ।’
‘बिर्खेको भाले बास्यो, खाजा खाने बेला भयो ।’
‘बिर्खेको भाले बास्यो, मेला छाड्ने बेला भयो ।’
अर्थात् बिर्खेको भाले गाउँको लागि भरपर्दो घन्टाघर नै थियो । टङटङ.. गर्दै नबज्ने तर ‘कुखुरी काँ’ गर्दै समय बज्ने । भालेघडी ।
माखक्केकी आमाको भाले बचेर एउटा राम्रो तासकुची चोलो लगाउने सपना थियो । यसकै जोडी त हो नि तल्लाघरे रिकुटेलाई थोक्ला गर्दा -माइत राख्दा) रिकुटेले लुङ्गी दिएको । त्यही एउटा लुङ्गीले पूरै वर्ष दिन कटाइल्यायो ।
आखिर, बिर्खेको नामी खुङ्खार भालेले भोलिको हटिया भर्ने पक्का भयो ।
००००००००००
बजार भनेकै त्यस्तो कि आफूले बेच्नुपरे जहिले सस्तो, किन्नुपर्दाचाहिँ जहिल्यै महँगो । भाले किन्न आउनेहरूले त्यस्तो गतिलो भालेको दाम तीन सय मात्र दिँदा बिर्खेलाई झनन रिस उठेकै हो । बजारको रीत सम्झेर बिर्खेले रिस थाम्यो । मनमनै निश्चय गर्यो, ‘जस्ले जे दाम गरे पनि पाँच सय घटी मरे बेच्दिनँ ।’
अघिकै कुखुरा गाहकी बिर्खेकहाँ फेरि फर्केर आयो । अघिकै जसरी पेरुङ्गोको भाले निकालेर छामछुम गर्यो । भालेको खुट्टा मर्याकमुरुक पारेर उँधो मुन्टो पार्यो । अन्दाजा लायो र भन्यो, ‘बेच्ने दाम भन्नुहोस दाइ !’
‘पाँच सयभन्दा त एक पैसा घटीमा हुँदैन,’ बिर्खेले दाम कस्यो ।
‘लु यतिमा त पर पनि बिक्दैन, के भनेको ?’
‘नबिके बिक्दैन,’ बिर्खेले घुर्की लगायो । बजारमा यसो पनि गर्नुपर्छ, बिर्खेलाई थाहा छ ।
‘लास्ट दाम गर्छु दाइ,’ त्यो गाहकीले गोजीबाट पैसा झिक्यो । उसले बिर्खेलाई पैसा दिँदै भन्यो, ‘लौ, तीन सय पचास थाप्नुस् !’
‘अहँ हुँदैन । यतिमा त हुँदैन,’ पैसाले छोइन्छ कि जस्तो गरेर बिर्खे पछाडि सर्यो ।
‘मलाई के सम्झेको दाइ ? यो बजारको गाहकी मै हुँ । मैले दाम गरेको जति कसैले दिएछ भने त थुक्क !’ गाहकीले भुइँमा थुकिराखेर गयो ।
००००००००००
यतिखेरसम्म त बिर्खेको भाले बिकिसक्नुपर्ने थियो ।
‘सौदापात गर्नु थियो । राम्रो मासु फेरि चाँडै सकिन्छ । घर छिटो फर्किनुपर्ने, केटाकेटी बाटो हेरेर बसेका होलान्,’ बिर्खेलाई छटपटी हुन थाल्यो ।
‘नबिक्ने पो हो कि क्या हो ?’ बिर्खेको मनमा चिसो पस्यो ।
अरू ग्राहकहरू पनि आए । कतिले भालेलाई छामे, उचाले, निचोरे तर बिर्खेले भनेको दाम कसैले दिएनन् । बजार पातलिँदै गयो । छेउछाउ बसेका मान्छेहरू पनि हिँड्न थाले । बिर्खेले नियाउरो मुख लाएर निकैबेर पख्र्यो । अब त ग्राहकहरू आउनै छाडे ।
‘कुखुरी काँ…’ खाली भइसक्दै आएको बजारमै भाले बास्यो ।
बिर्खेले पश्चिम डाँडातिर हेर्यो । घाम डुब्नलाई एकै इन्ची मात्रै थियो । उसलाई थाहा भयो- रात पर्न लागेको समयको जनाउ दिएको थियो उसको भालेले । बिर्खेले पेरुङ्गो उठायो र काँधमा बोक्यो । प्वाक्कै भन्यो, ‘याँ मात्रै हाट लाग्छ ? पूर्णेमा बेच्न लान्छु । यत्रैसिती !’
अलिपरका दुईजनाले बिर्खेको आवाजलाई सुनेछन् क्यारे । एउटाले त सोधिहाल्यो, ‘कतिमात्र दाम लगाए हाओ दाइ ?’
बिर्खेले कुनै जवाफ दिएन । सीधा हानियो घरतिर ।
००००००००००
बिर्खे घर पुग्दा झमक्क रात परिसकेको थियो । घरको आँगन टेक्न नपाउँदै माखक्के र उसकी बहिनी रमाउँदै उसैलाई छोपिखाऊँझैँ गरेर आए, ‘बाउ आयो ! बाउ आयो !’
माखक्केकी आमाले पनि दैलोमा टाउको मात्रै निकालेर बिर्खेलाई हेरिन् । लोग्नेको काँधमा पेरुङ्गो झुन्डिएको देखेर मन खिन्न पार्दै सोधिन्, ‘बिकेन ?’
‘अँ,’ पेरुङ्गो भुइँमा राख्दै बिर्खेले खुइया काढ्यो ।
‘उसो भा आज मासु सिप्तु (छैन) ? बाउले मासु ल्याउँछ भन्दै केटाकेटी दिनभर कस्तो रमाइराथो । मार्ने भो दुइटाले,’ चुलाको भड्डु उतार्दै माखक्केकी आमाले भनिन् ।
आमाको कुरा नसकिँदै माखक्केकी बहिनीले आँखाभरि आँसु बनाइसकेकी थिई पिलपिल ।
बिर्खेले छोरीलाई काखमा राख्दै सम्झायो, ‘भोलिपर्सि पूर्णेमा खाने ल मासु । म र छोरी नै जाने बजार । छोरीलाई चप्पल पनि किन्दिन्छु त नि ।’
‘खुबै… मासु खाने भनेर… खुबै… !’ माखक्के सँुक्सुँकाउन थालिहाल्यो ।
‘जाँ..लाई अहिले ल्याम्मै दिन्छु गालामा, र…,’ बिर्खेले छोरालाई रिस देखायो ।
‘उँउँ…खुबै, उँउँ…,’ बाउको गालीले माखक्केलाई कति पनि असर गरेन ।
काखको छोरीको पनि आँसु थामिएन । बिर्खे एकछिन चुपचाप बस्यो । मासु खाने भनेर छोराछोरीले टाउकै खाए ।
‘लु भैगो । यही भाले काटी खाने,’ बिर्खेले स्वास्नीतिर हेर्दै भन्यो, ‘तिमीलाई अर्को महिना लुङ्गी किन्दिउँला, हुन्न ?’
बाउको कुरा सुनेर माखक्के केही चुप भयो । बहिनीले पनि आँसु पुछी । छोराछोरी खुसी भएको देखेर माखक्केकी आमाले पनि हुँदैन भन्न सकिनन् ।
बिर्खेले भाले काट्यो । माखक्के र बहिनी खुब रमाए ।
‘हरे, यै पनि खुइ परेको रछ,’ माखक्केकी आमा लसुनका पोटी केलाउँदै थिइन् । सोधिन्, ‘कति मात्रै दाम पुर्याए र ?’
‘लास्टाँ तीन सौ पचास मात्रै ।’
‘अनि, राम्रै दाम पाको र छ त । बेचेको भा हुन्थ्यो नि । एक किलो सुँगुरको मासु र सौदापात गर्नु त पुग्थेछ नि ।’
‘हुन्थेछ,’ खुङ्खार भालेको मासु अन्तिमपल्ट चोक्टाएर बिर्खेले भन्यो, ‘आफैंलाई खानु जुरेको नाइ ।’
प्रकाशित मिति: २०७१ आश्विन ६ ०६:५१
(स्रोत : Ekantipur)