मधेससँग नजिस्क
ओ मेरा देशका मान्छेहरू
मधेसलाई संधै छिमेक नभन
ओ जागिरका हाकिमहरू
मधेसलाई संधै पराई नठान
ओ सदरका नीति नेताहरू
नहेर भूगोलका भेदहरू
मानचित्रमा अन्यत्र पनि
थुप्रै पहाड मधेस छन्
कोरेर विभाजन रेखाहरू रङ्गहरुका
आफू बेरङ्गी नबन
खेलेर फागुनी रङ्गहरू
नाचेर माघी चाडहरू
बसेर छठ व्रतहरू
श्रावणी कामना र गोरैया भाकलहरू
रामविलास रहर र धनियाँ बैंशहरू
सबै सबै
सभ्यता संस्कृति र सहिष्णुताका
अनमोल धरोहरहरू
त्यै हावामा सास फेर्ने म
त्यै पानीमा जीवन हेर्ने तिमी
एउटै आश आत्मा र आकास हाम्रो
तैपनि किन मलाई पर पर हेरिरहन्छौ
नेपाल देश हुनुको पूर्णतामा
हिमाल पहाड र तराई फाँटको
नेपाली मन हुनुको समष्टिमा
म मेरो रहर र मैले टेक्ने माटोको
म मेरो मुटु र मैले हिड्ने बाटोको
बरोबरीको हिस्सा छ
तैपनि किन मलाई टाढा टाढा बनाईरहेछौ
बाड्भञ्ज्याङ्ग भन्दा पर पनि नेपाल देखे हुने
चारभञ्ज्याङ्ग भन्दा पर पनि सीमाना भेटे हुने
कुनै बेला
गङ्गा सतलज र टिष्टा पुगेका मेरा मनहरू
मेची काली सङ्कुचनले दुःखाएको किन बुझ्दैनौं
डोहोर्याएर सांघुरा र अधुरा दृष्टिहरू तिम्रा
बयेली खेल्ने खेत खलियानहरूतिर पनि हेर
बसन्त झूल्ने वाग वगैंचाहरूतिर पनि हेर
वर्षौं भयो
सीमानाहरूमा दशगजाहरू देखिन्नन्
वर्षौं भयो
दशगजाहरूले सीमानाहरू पनि लेख्दैनन्
देशको भूगोल
अलिकति माटो मुटु र मनले कोर्छ
अलिकति रातो रगत र रहरले कोर्छ
जमीनमा कोरिएका धर्साहरू
हावाले नी मेट्छन पानीले नी मेट्छन
सीमानाहरूमा दुःखेका मनहरूमा
घर भित्रैबाट फेरी
विद्रोह बोली नबोल
विभाजन जहर नघोल
म आफैं ठडिएर सीमानाहरू
तिमीलाई मुलुक दिईरहेछु
तैपनि किन मलाई पराई पराई ठानिरहेछौ
तिम्रो भावना जस्तै उच्च मेरो मन
तिम्रो रहर जस्तै मीठो मेरो गीत
कोरलेर राजनीतिका फुलहरू
म माथि विभाजन नरोप
झिकेर मधेस मान चित्रबाट
एकताको नेपाल कसरी भेट्छौ
अखण्डताको नेपाल कहाँ टेक्छौ
मधेससँग नजिस्क
ओ मेरा देशका मान्छेहरू
(स्रोत : रचनाकारको फसबुकबाट सभार )