पवनसँग बतासिँदै
मेरा पुर्खाले फेरेको सास
यहीँ कतै फूलका तरेलीहरुमा
सायद डुल्दै होला
आकाशसँगै फैलिएर
मैले फेरेको सास
तिम्रा रक्तकोषिकाहरुमा
कहीँ घुल्दै होला
पवनसँग लुट्पुटिँदै
मेरा सन्तानले फेरेको सास
तिम्रा वायुकोषिकाहरुमा
निःसन्देह झुल्दै होला
तथापि
मैले छोएको तिमीलाई चल्दैन भने
भो ! काजी म अछूतै सही
बस ! मैले फेरेको सास तिमीले नफेरे पुग्छ
मैले ओढेको आकाश तिमीले नओढे पुग्छ ।।
तिम्रा रङ्गमहलका अनेक रङ्गमा
तिम्रा सप्तरङ्गी हरेक सपनामा
मेरो रगतका आँसु मुछिएकै त छ नि
मेरो मानवरुपी अस्तित्व पुछिएकै त छ नि
तथापि
मैले छोएको तिमीलाई चल्दैन भने
मानवताको दियो बल्दैन भने
नहिँडुला म तिम्रो आँगनको बाटो
नछुउँला म तिम्रो आलीको माटो
नपिउँला म तिम्रो पँधेरीको पानी
नजिउँला म, तिम्रो भगवानलाई मानी
भो ! काजी म अछूतै सही
बस ! मैले कुँदेको मूर्तिमा भगवान नदेखे पुग्छ
मेरो पसिनाले भिजेको धर्तीमा तिमीले नटेके पुग्छ ।।
ब्याँसी–६, बझाङ्ग
(स्रोत : ‘विकसन’ साहित्यिक पत्रिका )