~सीता अर्याल~
“बाबु, आज त जनसागर नै उर्लिन्छ रे, दमन पनि अचाक्ली हुन्छ रे, तिमी आन्दोलनमा नजाऊ” । भातको गाँस हाल्दै सँगै खान बसेको छोरोलाई आत्माराम सम्झाउँदै थिए । छोरो अलि एकोहोरो स्वभावको, आफूलाई लागेपछि गरिछाड्ने खालको तर पढ्नलाई अत्यन्त मेधावी थियो । स्कुल सकेर कलेज पढिसक्न लाग्दासम्म पनि पढाइको लागि पैसा खर्च गर्नु परेको थिएन । आफ्नो प्यारो पुत्रको प्रतिभाले बूढालाई बाँच्ने ऊर्जा थपिरहेको थियो । आफ्नी अर्धाङ्गीनीको विछोडको पीडा विस्तारै फिक्का हुँदै जान लागेको थियो ।
आत्माराम बूढा छोराको निकै हेरविचार गर्थे । बिहानदेखि बेलुका नसुतेसम्म छोराकै ध्याउन्नमा उत्तिकै हुन्थे । छोराको लुगा, जुत्ता, मोजा, पाठ्यसामग्री सबैथोकदेखि सञ्चो बिसञ्चोसम्मका कुराहरूमा एउटी आमाले भन्दा पनि राम्ररी हेरचाहमा तल्लीन रहन्थे । यसैमा उनलाई आत्मसन्तुष्टि मिल्थ्यो । समग्रमा भन्दा छोरालाई आमाको अभावको अनुभूति सकेसम्म हुन नदिन प्रयासरत देखिन्थे । एउटा छोरा त हो नि, कुनै कुराको अभाव हुन दिन्न भन्ने उनको सङ्कल्प थियो । परिआएमा छोराको लागि उनले पुख्र्यौली छालासम्म पनि खर्चने मनस्थिति बनाएका थिए ।
केही समय अगाडिसम्म त छोरालाई मात्र सहरमा राखेका थिए । ऊ राम्ररी नै पढिरहे पनि बाबुलाई गाउँमा रत्तिभर चयन थिएन । छोराकै सम्झनाले रातभरि आँखा काँचै हुन्थे । मान्छे एक्लै भएपछि उसको मन बढी व्यस्त हुन्छ । वर्तमानमा एक्लिएको मान्छेले विगतमा डुवुल्की मार्नुपनि स्वाभाविकै हो । त्यसमा पनि आफ्ना सन्तानको सन्ताप र माया कस्तो हुन्छ भन्ने कुरा हरेक आमा बाबुलाई अनुभूत भएकै विषय हो । त्यसैले उनी पनि छोरासँगै बस्न सहरतिरै लागे ।
जमिन्दार आत्माराम बूढा अधियाँबाट पाएको अन्नपात गेडागुडी जोहो जतन गरेर खान्थे र ख्वाउँथे । वर्षभरि खाएर उब्रिएको वेचविखन गर्दथे । गोठमा लैनो, बकेर्नो भैंसी कहिल्यै टुटाउदैनथे र त्यसको लागि एउटा सहयोगी पालेकै हुन्थे । उनी वच्चै हुँदादेखिको उनको घरको चलन चाँजोमा केही फरक आएको थिएन । बाबु आमाको बिँडो थाम्ने बलियो हस्ती थिए आत्माराम बूढा ।
सातै बजेबाट कफ्र्यू लाग्ने कुरा टेलिभिजनले दिइरहेको छ । कडा हुनेछ, घरबाट कोही पनि बाहिर ननिस्कनु होला भनी पुलिसहरू भ्यानमा सयर गर्दै माइकिङ्ग गरिरहेछन् । सडकभरि मानिसहरू हतार–हतार हिडिरहेछन् । नुन, तरकारी, ग्याँस, खाद्यान्न सबै कुराको हाहाकार छ । महङ्गी आकासिएको छ तापनि पेटको लागि मानिसहरू जसरी भए पनि खाद्य सामग्री जुटाउन तल्लीन छन् ।
नुहाई–धुहाई, पूजा–आजाको समापनपश्चात् खाना पाकिसकेको थियो । बूढालाई खसीको मासुमा विशेष स्वाद गढेको थियो । अरू मासु उनलाई चल्दैनथ्यो । खसीको मासुचाहिँ हप्ता कट्न पाउँदैनथ्यो । श्रीमतीको देहान्तपश्चात् पाकविद्यामा निपुर्ण हुन कर लागेको थियो उनलाई । कसरी मीठो पकाएर खाऊँ ख्वाऊँ जस्तो हुनु स्वाभाविकै थियो ।
छोराको नाम कमल भए पनि माया गरेर कालु भन्ने गर्थे बूढा । तातो–तातो खसीको रस र भात खाएर तौलियाले हात पुछ्दै झ्यालबाट हेरेको थियो छोराले । “बा म गएँ है” भन्दै निस्क्यो । आज बूढालाई नमीठो लाग्यो हुनत सधैं यसैगरी गएकै हो । आज नगए पनि हुने भन्ने लाग्यो उनलाई । खै किन हो बिहानदेखि नै कस्तो–कस्तो नमीठो लागिरहेको थियो । सपना पनि त्यस्तै कच्याक–कुचुक देखेकाले चिन्तित थिए उनी ।
घण्टा–घण्टामा एफ.एम.बाट ताजा खवर प्रसार भैरहेछ । विदेशी च्यानलहरूले पनि प्राथमिकताकासाथ समाचार दिन कन्जुस्याईं गरेका थिएनन् । छोरा निस्केर हिँडेपछि बूढाको आँखै टि.भी.मा छ । कान रेडियोमा छ । लठ्ठी हान्यो, कलङ्कीमा त गोली नै चल्यो, अश्रु ग्याँस त कति–कति । ओहो † आज त उत्पात पो भयो । मेरो कालु कता होला ? आए पनि हुने । त्यो दिन बूढालाई अत्यन्त नकारात्मक सोचाइले मात्र घर गरिरहेको थियो । उनी तल सडकमा निस्किए पूर्वतिरबाट ठूलो जुलुस आयो । जोसिला नारा घन्किरहेछ, घाँटीको नसा फुलाउँदै उप्रँmदै छन् । पुत्ला पनि बोकी हिडेका छन् । यी सबै देखेपछि बूढालाई पनि सास उम्लेर आउलाजस्तो भयो । “अन्याय सहेर बस्नु महा पाप हो” ठीकै हो; सकेसम्म सबै जानुपर्छ भन्दै एकछिनसम्म जुलुस हेरिरहे । आफ्नो कालुलाई नदेखेकोमा नमजा मान्दै कोठातिर लागे ।
तोकिएको काम नभएको मान्छेलाई दिन विताउन त कठिन नै हुँदो रहेछ । एकछिनपछि महाभारत पल्टाएर पढ्न थाल्छन् । जति पढ्दै जान्छन् त्यति नै जोसिदै जान्छन् । महाभारतका सञ्जय पात्रसँग ज्यादै प्रभावित हुन्छन् बूढा । अन्धो धृतराष्ट्रलाई दुरदृष्टि भएका सञ्जयले अवगत गराएका यथार्थ र सत्य कुराहरू पढेपछि बूढालाई अहिलेको आन्दोलनको सञ्जय खोज्न बाध्य बनायो । एकछिन घोत्लिए । अहिलेको सञ्जय बूढाले फेला पारे । महाभारतका तात्कालीन सञ्जय सकारात्मक पात्र थिए तर यस आन्दोलनका सञ्जय नकारात्मक तथा अविवेकी पात्र हो जसले दरवारलाई आन्दोलनको जानकारी मनपरी गराइरहेको थियो । त्यसपछि आफ्नै छोराको नाम ‘कमल’ सँग पनि वितृष्णा भयो आत्मारामलाई ।
विवाह गरेको धेरैवर्षसम्म पनि सन्तान नहुँदा सन्तापमा डुबेका आत्माराम दम्पतीलाई छोराको मुख देख्न पाउँदा खुसीले सीमा नाघेको थियो । देवी–देवताप्रति अत्यन्त कृतज्ञ थिए । आफ्नो भाग्यसँग पनि खुसी थिए । आफूलाई चाहिने आधारभूत सामग्री सबैथोक थियो, सन्तानको अभाव खड्किएको अवस्थामा अत्यन्त कान्तियुक्त घुतमुने छोराको मुख देख्न पाएकोमा को प्रफुल्लित हुँदैन होला र ?
फेरि अर्को सन्तान पनि भएनन् । अगाध स्नेहपूर्वक दुई जोई–पोइको कुशल रेखदेखमा औंशीपछिको चन्द्रमाजस्तै हलक्क हुर्केर आएको थियो कमल । बाबु आमाको मायाजति ऊ माथि नै पोखिएको थियो । दुवैको ध्यान छोराप्रति नै एकोहोरिएको थियो । यति धेरै मायाले त ऊ पुल्पुलिनु पर्दथ्यो, मात्तिनु पर्दथ्यो, भुईंमा खुट्टा नटेक्नु पर्दथ्यो तर कमलको छनक बेग्लै प्रकारको थियो ऊ आफ्ना बाबु आमालाई अत्यन्त आदर गर्दथ्यो, मान मर्यादा राख्दथ्यो । “हुने विरुवाको चिल्लो पात” भने झैं सानोबाट नै उसको स्वभाव अध्ययनशील, चिन्तनशील थियो ।
यी तीन प्राणीको स्वर्गीय आनन्द सायद नियतिले पनि देख्न सकेन क्यारे । आमालाई टाइफाइडले आक्रमण गर्यो । सकेसम्म औषधी उपचार त गरेकै हुन् । तर दैवको लाठी बज्रियो आत्माराम र कमलको थाप्लोमा । आधि उमेरमै छोडेर गइन् उनी । कमलले आमाको वात्सल्यताबाट बन्चित रहनु पर्यो । आत्माराम विधुर बने । यिनीहरूको दु:खको दिन सुरुवात भयो तापनि रतिभर विचलित नबनी छोराको हेरविचारमा आफ्ना उत्तराद्र्धका दिनहरू व्यतीत गर्दै छन् आत्माराम ।
बूढा घडी हेर्छन् । तीन बजिरहेको हुन्छ महाभारत थन्क्याएर टि.भी. खोल्छन् । आन्दोलनको समाचार प्रसारण भइरहेको थियो । नभन्दै जनसागर नै उर्लेको जस्तो देखिन्थ्यो । टुङ्गो छैन, कहाँबाट ओइरिएका होलान् ? के खाए होलान् यति विघ्न मानिसले । अन्यायका विरुद्धमा लड्नु अति राम्रो हो । जनता सचेत भैसकेका छन् । आँखा समाचारमा थियो । मनभने छोराप्रति तड्पिई रहेको थियो ।
ड्याम्म… ड्याम्म… । आफ्नै डेराअगाडि गोली चल्न थाल्छ । बूढा झसङ्ग हुन्छन् । झ्यालबाट हेर्छन् त्यहाँ पनि जनसागर उर्लिरहेको थियो । अलिक पर घाइतेलाई अस्पताल लैजाने सुरसार गर्दै रहेछन् । एक हुल मानिसहरू बूढातिरै हान्निए । तीन जना घाइतेमा सबैभन्दा चर्को घाइते कमल नै थियो । सहस्र रगतका धारा बगिरहेको थियो । आँखाबाट समेत रगत भुलभुल निस्किरहेकोले आँखा फुटेको अड्कल काट्न सकिन्थ्यो । छोरालाई देख्ने बित्तिकै आत्माराम बूढा आत्तिए । चिनाजान भएका केहीले सम्झाउन थाले । बूढा दाह्रा किट्दै आफ्नो कमेजको फेरले छोराको अनुहारको रगत पुछिदिंदै थिए ।
कमलले आजसम्म अस्पतालको बेडबाट मुक्ति पाउन सकेको छैन । दुबै आँखाले देख्न सक्दैनन्, खुट्टा दुबै चल्दैनन् । अलिअलि मुख बोल्छ । चम्चाले लेदो खानेकुरा ख्वाउनु, दिशा पिसाव गराउनु, छोराको सम्पूर्ण हेरविचार गर्नु, खर्चको जोहो गर्नु आत्माराम बूढाको दिनचर्या बनेको छ । सहारा, आधार, बूढेसकालको लौरो जे भने पनि उही एउटा थियो । त्यही पनि आजीवन अपाङ्ग भएर अस्पतालमा लडेको छ । खेतीपाती भित्र्याइदिने, बेचविखन गरेर ल्याइदिनेसमेत मान्छे छैनन् ती बूढाको । यस्तै रहेछ । आन्दोलनकारीका बुई चडेर सरकारमा पुगेकाहरूले घाइतेका आर्तनाद बिर्सिहाले । इतिहासका कृतघ्न परम्परामा हुर्किएकाहरूसँग के आशा गर्नु ? सोझा आत्मारामले चर्को स्वरमा हारगुहार गर्न पनि सकेनन् । टाठा–बाठा परिवारका घाइतेहरूले त पर्याप्त उपचार नपाएको अवस्थामा विचरा निमुखा आत्मारामले पैसाको त के कुरा कुनै पनि नेताबाट मानवीय सान्त्वनासम्म पाएनन् । हुन पनि उनले आधा–आधी जायजेथा सम्पत्ति त उपचार गर्दा गर्दै सकिसके । खेती बुझ्न, थन्क्याउन गाउँ जाने अनुकूल पनि छैन । छँदा खाँदाको सग्लो छोरो अपाङ्ग बन्यो । भलभल आँसुका ढिका बगाउँदै बूढेसकालमा आधा पेट खाएर छोरो रुँगिरहेछन् विचरा दु:खी आत्मराम बूढा ।
अस्तु ।
(कथाकार परिचय–
जन्म मिति: वि.सं. २०१८।६।१४,
जन्म स्थान:— बन्दीपुर, तनहुँ ।
स्थाई ठेगाना:— गोरखा बजार ।
पहिलो प्रकाशित रचना:— भय (कथा), प्रकाशित कृतिहरू– १)“मृगतृष्णा“ कथासङ्ग्रह २०६०, २)“उपमा” कथासङ्ग्रह २०६२, ३)पुस्तान्तर —संयुक्त कथा सङग्रह २०६६ ।
सम्पादन– गोरखा पर्यटन, काठमाडौंद्वारा प्रकाशित तीज —२०६२, तीज —२०६४, तीज— २०६६ पत्रिकाहरुको प्रधान सम्पादक ।
संयुक्त सम्पादन– दण्डपाणि अज्र्याल स्मृतिकेन्द्रद्वारा प्रकाशित दण्डपाणि अज्र्याल जन्म शताब्दी स्मृतिग्रन्थ — २०६३ र ज्ञानविन्दु — २०६४ ।
पुरस्कार तथा संमान— छिम्केश्वरी युवा क्लव तनहुाुद्वारा आयोजित कविता प्रतियोगीता २०३७ मा प्रथम, हरि उत्कृष्ट प्रतिभा पुरस्कार २०६२ ।
विभिन्न सङ्घ, संस्थाहरुवाट प्रदान सम्मान—पत्र र कदर—पत्रहरु ग्रहण ।
सोधग्रन्थ:— सीता अर्यालको जीवनी, व्यक्तित्व र कृतित्वको सम्वन्धमा त्रिभुवन विश्वविद्यालयको स्नातक स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुले सोधग्रन्थ तयार ।
शिक्षा—: स्नातकोत्तरसम्मको अध्ययन ।
लेखनको मूल बिधा:— कथा ।
अनुभव:— १९ वर्षको शिक्षण अनुभव ।
हालको ठेगाना:— विस्कान्सन, अमेरिका, फोन नं. ६१२—७४९—३०१३ ।
saryal25@gmail.com
(स्रोत : Nepallooks)