………म लजालु भन्दा पनि अलि अन्तर्मुखि स्वभावको थिएँ। त्यसैले मेरा साथीहरु धेरै थिएनन्। अझ केटिहरु त छँदै थिएनन्।
स्कुल पछिको कलेज लाइफ नौलो थियो मेरा लागी। उनी नै मेरो जिवनमा पहिलो केटि साथी बनेर आइन्। एउटै टोलबाट एउटै कलेज जाने भएर होला घुलमिल हुन गाह्रो भएन।
हामी बिदाका दिनमा पनि कतै गैरहन्थ्यौँ।ऊ त्यति घर बस्न मन गर्दैनथि। खै के समस्या थियो कुन्नि घरको कुरा गर्दैनथि।
मेरो कम बोल्ने स्वाभावका कारण ऊ मलाई सताइरहन्थि।
‘कति ठूलो हात हो के तिम्रो त, आम्मा!’मेरो हातमा उसको हात राखेर मलाई जिस्काउँथि। मेरो शरीर लाजले चिसो हुन्थ्यो।
‘खै खै नाक पनि मेरो भन्दा लामो रैछ।’,ऊ मसंग नाक जुधाउन आउँथि। म टाप कसेर भाग्थेँ। ऊ मेरो पछिपछि लखेट्दै आउँथि।
‘हेर केटा मान्छे भएर पनि लजाउने हो?केटा मान्छेले त रोएको,लजाएको सुहाउँदैन।’,ऊ यसरी मलाई अलि खुल्न सिकाउँथि।
चिम्सा आँखा र नेप्टो नाकमा पनि ऊ निक्कै राम्री थिई। त्यसमाथी गोरो अनुहार।
‘यो कुर्था कस्तो छ?, यो सल मलाई सुहाएको छ?’,ऊ यस्तै प्रश्न गर्थि।
‘तिमीलाई जे लगाउँदा पनि सुहाउँछ, यो सल त झन् तिम्रो गोरो गलामा म्याच गरेको छ’,
ऊ फुरुक्क पर्थि।
मेरो घरबाट उसको घर अलिपर पर्थ्यो। मेरो झ्यालबाट देखिन्थ्यो। एकदिन बिहान उसको घरमा मान्छेहरुको भीड मैले झ्यालबाटै देखेँ। के रहेछ भन्ने कौतुहल लागेर म उसको घरतिर गएँ।
भीड छिचोलेर भित्र ढोकासम्म पुग्दा नपुग्दै मेरो शरीर लल्याकलुलुक भयो। पृथ्वी दुबैतिरबाट एकैचोटि घुमेजस्तो भयो। रिंगटा लागेर म थचक्क भुईँमा बसेँ।
ऊ सिलिंगमा सलको पासो हालेर झुण्डिएकि थिई।
मेरा आँखाबाट भेलसरी आँशु बग्न थाले। म डाँको छोडेर रुन पनि सकिनँ।
‘तिम्ले सुहाउँदैन भनेपनि मैले आज यो आँशु रोक्न सक्दिनँ। रुवाई थाम्न सक्दिनँ।केटा मान्छेले पीडा पचाउन पर्छ भनेर कहाँ लेखिएको छ र। तिम्लाई पनि त त्यो सल आज कत्ति पनि सुहाएको छैन नि।’मनमनै यति भन्दै गर्दा मेरो भक्कानो छुटिसकेको थियो।
(स्रोत : Suresh Badal’s Facebook )