पूर्णरुपले चन्द्रमा लागेको रात; आजै पूर्णिमा परेको कति रमाइलो । हो त, त्यो दिन पनि यस्तै थियो, जुन दिन शारदाको र मेरो प्रथम परिचय भएको दिन । म त्यतिबेला धनकुटामा जागिरे थिएँ । धेरै लामो बाटो हिडेर म थाकेर लखतरान भएको थिएँ, तर पनि मलाई पटक्कै थकाइको महसुस भएको थिएन । साँझ झमक्क परेको बेला म त्यो घरमा बस माग्न पुगेको थिएँ । संजोगबस मलाई त्यही घरमा बास जुरेको । अचम्मै लाग्छ । अहिले पनि झल्झली म शारदालाई देखिरहेको जस्तो भान हुन्छ ।
“यो कसको घर हो ? बास बस्न पाइन्छ कि”– भनेर मैले बाहिरबाट भन्नेसाथ शारदाले ढोकाबाट बाहिर चियाउँदै –“हाम्रो हो; पाइहालिन्छ नि” भन्दै मुसक्क हाँसेर स्वगत गरेकी थिइन् । म त्यहीं बाहिरको खाटमा झोला बिसाएर थचक्क बसें । केही समयपछि तिनै युवती हातमा कुपी लिएर बाहिर आइन् । उनले नम्रताका साथ मुस्कुराउँदै भनिन्–“तपाईंको घर कहाँ होला, कताबाट आउँदै हुनुहुन्छ ? अनि यहाँलाई हाम्रो कुन् सेवाको आवस्यकता होला”– आदि प्रश्नहरूको खोलो बगाइन् ।
उनको त्यो सुमधुर मुस्कान र नम्र स्वभावले गर्दा म त्यसै मोहित हुन पुगेंछु । मैले पनि अति शिष्टताका साथ भने–“माग्न त बास मागेको हुँ, तर पाएदेखि बासको पनि आवस्यकता छ” ।
प्रत्युत्तरमा उनले भनेकी थिइन् –“हुन्छ नि अरु त कुनै समस्या छैन हाला नि ।”
मैले पनि –“अँहँ छैन”– भनेर छोटो उत्तर दिएको थिएँ । उनी घर भित्र पसेर धान्धान् धुन्धुन् गर्न लागिन् । कोही बुढो मान्छे बोले जस्तो आवाज आयो तर केही पनि बुझिएन । केही समयपछि फेरि बाहिर निस्केर “दाजु ! भित्रै जाउँ न जाडो भयो होला”– भन्दै ठिङ्ग उभिइ रहिन् ।
म पनि थपक्क आफ्नो झोला च्यापेर उनको अघाडी लागेर त्यो नौलो घर भित्र पसें । भित्र पसेर म यता उता हेर्दै के थिएँ एकजना बुढा मान्छेले यता बस्नुहोस् न भन्दै अगेनाको डिलमा ओछ्याएको पिरातिर देखाए । म त्यही छेउमा झोला बिसाएर पिरामा थचक्क बसें । ती बुढा मान्छे अघिदेखि नै आगो तापेर बसिरहेका रहेछन् ।
मलाई लाग्यो बाबु र छोरी हालान्, परिवारका अन्य सदस्यहरू कतै बाहिरतिर गएका होलान् । अगेनाको छेउमा बसेर आगो ताप्दै म बुढा बासँग बात मार्न थाले युवतीले भान्साको काम गरिरहिन् ।
“बाबु ! घर कहाँ हो ? कहाँदेखि आउनु भयो ?”– भन्दै बुढाले प्रश्न राखे ।
“म धनकुटातिरबाट आएको हुँ, घर चाहिं दिंला गडीगाउँ हो”– भनेर बताएँ ।
“अनि के थरी त नानी ? कसका छोरा नाति ?”– बुढाले फेरि प्रश्नको पोको सुम्पिए ।
“खतिवडा बाहुन्, पण्डित हरिप्रसादको नाति”– मैले सोझो उत्तर दिएँ ।
“ए ! पण्डित हरिप्रसाद ? अँ अँ उहिले दिंलामा पढ्दा हामीले सँगै पढेका थियौं । उनकै नति पो ? बाबू ! तिम्रा बाजे र म सारै मिल्थिउँ । साथीहरूको लहै लहैमा लागेर कुनै दिन त दिनैभरि पांग्रा खेल्न जान्थिउँ, भोलिपल्ट त गुरुले कुटेर” – भन्दै बुढा त हाँस्न पो थाले ।
“पढ्ने बेलामा किन पांग्रा खेल्नु परो त ?”– भन्दै लामो मैनतालाई तोडेर युवती बोलिन् ।
बुढाले तिनको प्रश्नलाई त्यति महत्व दिएनन् । आफैं मात्र बोलिरहे । “बाबु ! त्यति खेर त अचेल जस्तो जताततै स्कूल थिएनन्, तयही दिंलामा त हो नि पढ्ने ठाउँ”– बुढा मतिरै लक्षगरेर बोलिरहे ।
“हामी त्यो पाठशालामा संस्कृत पढ्थिउँ । लघुकौमुदी, रुद्री, बेद अनि कर्मकाण्ड सबै– थोकको पढाइ दिंलामा नै हुन्थ्यो । त्यति बेलाका साथीहरू हाल मलाई थाहा भएसम्म अब चार जना मात्र जीवित छौं । अरु सबै मरीसके, ती मध्येमा पनि एक तिम्रा बाजे, अर्का कुलनाथ घिमिरे र चन्द्रमणि उपाध्याय अनि एउटा म”– बुढा भट्याउँदै गए ।
बेला बेलामा ती किशोरी पनि पुलुक्क पुलुक्क मतिरै लक्ष गरेर हेर्दै गर्छिन् । म पनि घरिघरि कर्के आँखा घुमाइनै रहेको थिएँ । बुढाको धारा प्रवाह चलि नै रहेको थियो । “अब त खै के गर्नु र ? उहिलेका कुरा खुइले भन्ने गर्छन् यी केटा केटीहरू । जुग जमाना त त्यति बेलै राम्रो थियो । सबै सत्यमा चल्थे, हावा पानीदेखि लिएर सबै चिज बिटुलो भैसकेको छ । शुद्ध चिज त पाउन नै छाडिसक्यो । बाबु खै के गर्नु र, बुढो भयो सब रङ्गगयो भन्छन्, यस्तै रहेछ अब त घुँडाको सिङ हुन्छ भन्थे यही नै रहेछ । उमेरमा ढुङ्गा माटो खाए पनि पचाइन्थ्यो, अहिले चैं नरम र मसिनो चाहिन्छ । म त एक्लो भएँ परिवारका सबैलाई अघि लाएर बसेको । स्वास्नी छोरा छोरी सबैलाई दैबले चुडेर लगिहाल्यो । यो घरमा मलाई तुल्याई बनाई गरेर खान दिने मान्छे कोही पनि नभएकाले, यी मेरी कान्छी बहिनीकी कान्छी छोरी शारदा यहाँ मलाई । यी भाञ्जीको मलाई पाप लाग्छ”– यति भन्दा भन्दै बुढाको मुटुबाट भक्कानु फुटेर आएछ, त्यही घुँक्क गरेर घाप्टो परेर रुन पो थाले । बिचरा बुढा मान्छेको सहारा भनेको नै ती भाञ्जी मात्र । मेरो पनि हृदयमा कताकता दुखे जस्तो अनुभूति हुनथाल्यो । बुढा बोलदा बोल्दै बोल्न छाडे ।
शारदाले भात पाकेको सूचना गरिन् । अंखोरामा पानी ल्याएर दुबै जनालाई टक्राईन् । म अंखोरा टिपेर बाहिर निस्कें । टहटह जुन लागेको हतमा अंखोरा; म त पूर्णिमाको पुर्णचन्द्र झलमल रातलाई अबलोकन गर्दै टोलाउँन थालेंछु । “दाजु ! के हेर्दै हुनुहुन्छ ?”–शारदाको प्रश्नले म झसङ्गहुन्छु ।
हतार हतार हात धोएर भित्र पसें । बुढा बा धोती फेरेर भात खान बसिसकेका रहेछन् । मलाई अलिक संकोच लागेजस्तो भयो । तर पनि गएर चुलैमा बसें जहाँ पिरा आछ्याइएका थियो । भात खान थालेपछि फेरि बुढाको कुरा शुरुभयो । “आफू बुढो भएपछि, एक्लो भएपछि । गरिखान नसक्ने भएपछि; अर्काको सहारामा बाँच्नु पर्दो रहेछ । यी भाञ्जी पनि अहिले दश कक्षामा पढ्दै गरेकी बिचरी मेरो लागि हत्ते छ । यिनले भनेको बेला पढ्न नि पउँदिनन् । अउने साल एस. एल. सी. दिनु पर्ने, यो बुढो मामाको स्याहार सुसार गर्दैमा ठिक्क हुन्छ । कति झर्को लाग्दो हो”– बुढा घरि घरि गाँस हाल्न पनि बिर्सेलान् जस्तो गरेर बालि नै रहनथे ।
मैले चैं खाइसकेको थिएँ, उनी बाल्दै नै थिए “बा ! खाइसक्नु भयो ? म चैं उठ्नु पर्यो”– भन्दै हातमा पानीको गिलास लिएर बाहिर निस्कें । बाहिर उस्तै टहटह जुन, उही पूर्णिमाको रात अनि बुढाको बात, शारदाको साथ ।
खान पिन भैसक्यो, शारदा मझेरीमा जुठो भाँडा माझ्न तल्लिन हुँदै नजनिदो पाराले घरि घरि पुलुक्क पुलुक्क हेर्दै आफ्ना ती युगल नयनलाई मतिर फ्याँक्तै गर्छिन् । घरि घरि त म पनि उस्तै पाराले आँखा कोख्र्याइ दिन्थेँ । उनी लाजले भुतुक्क हुँदै, अर्ध मुस्कानका साथ अनुहार झुकाउँदै आफ्नो काममा निरन्तरता दिने गर्थिन् । म अगेनाको डिलमा आगो ताप्ने बाहनामा तिनै युवतीको बारेमा सोच्न बध्य भएँ ।
नजिकैको मुल ओछ्यानमा बुढा मान्छे, घुर्न थालिसकेका थिए । युवती आफ्नै सुसे धन्दामा ब्यस्त, म अगेनाको डिलमा चुपचाप आगो तापि नै रहेको थिएँ । केही समयपछि युवतीले आफ्नो काम सकेर त्यहीँ अगेनाको तातोमा हात सेकाउन लागिन् ।
“दाजु ! निद्रा लागेको छैन ?”— नम्र स्वरमा उनले भनिन् ।
“ठिकै छ, लागेको छैन, सुत्ने बेला पनि त हुँदै छ”— मैले यस्तै उत्तर दिएको थिएँ ।
बाहिर पिँढीमा टहटह जून लागिरहेको थियो । उनले मलाई त्यही बाहिरको खाटमा ओछ्यान लाइदिनको लागि, ओढ्ने ओछ्याउने झिकेर ठिक पारिन् । म आफैँ ओछ्यान लाउँछु भनेर मैले एउटा राडी र तन्ना समात्न खोजेँ तर दिइनन् उनले, म उनको पछिपछि बाहिर निस्केँ; उनले बिछ्याउना तयार पारिन् । म त्यही ओछ्यानमा बसेँ । त्यसै पनि पूर्णिमाको रात बत्तीको अवस्यकता थिएन तै पनि एउटा सानो कुपी जुन खोपामा रुन्चे बालक जस्तो पिल पिल गरिरहेको थियो । पिँडीको डिलमा एउटा सुकुलको पिरा, जसमा शारदा बसेकी थिइन् । पूर्णिमाको जुनेली रातमा ती शारदाको मुहार साँच्चै खुलेको थियो । स्वर्गकी, अप्सरा अनि के के मेरो मनमा तरङ्गित भैरहे । मैले मेरो यात्राको साथी त्यो सानो झोलालाई कतापट्टि राख्ने भनेर यताउता हेर्न थालेँ । उनले पनि कुरो बुझिहालिछिन् र भनिन् “के छ दाजु ! यो झोलामा ? म राखिदन्छु नि !”
“के हुन्थ्यो र एक दुईवटा पुस्तक र मेरा लाउने लुगाहरू”— मैले यस्तै उत्तर दिएँ । “कस्तो पुस्तक पढ्नु हुन्छ ? मलाई पनि देखाउनुहास् न”— उनले ठट्टा गरे झैं गरी भनिन् र झोला समाउन हात लम्काइन् ।
“ल हुन्छ, खै त;”— भन्दै मैले आफ्नो भोलाबाट एउटा पुस्तक निकालेर उनको हातमा राखिदिएँ ।
“यो के को पुस्तक हो ?”— पुस्तक हातमा लिदै उनले मधुर मुस्कान छर्दै भनिन् ।
“यो महाकवि देवकोटाको मुनामदन हो राम्ररी पढ्नु है”— मैले सहज रुपमा जवाफ दिएँ ।
“अबुइ ! मैले त जिस्केर पो भनेको त; मलाई चाहिदैन अर्काको, तपाईलाई खाँचो पर्ला फेरि !”— अचम्म मान्दै उनले किताब लिन मानिनन् ।
मैले उनलाई त्यो पुस्तक जबर्जस्ती गरेर थमाइदिएँ । उनले झोला समातिन् र एक हातमा पुस्तक, अर्को हातमा झोला लिएर घर भित्र पसिन् । म सुत्ने तरखर गर्दै थिएँ । उनी त फेरि बाहिर निस्केर उही स्थानमा बस्दै “कति रमाइलो जुनेली रात होगी दाजु !”— भन्दै फेरि कुराको पोको फुकाउन थालिन् ।
“हो त; आज मलाई पनि त्यस्तै लागिरहेको छ, आज पूर्णिमाको रात यो कति रमाइलो वातावरण; म त अन्योलमा परेँ, यो उज्यालो जूनको हो या तिम्रो, अचम्म लागि रहेछ । बहिनी ! आज यो धर्तीमा यस्तो रमाइलो दृशय कतै म सपना देखि रहेको त छैन ?”— मैले बहिनी भनेर संबोधन गरेँ ।
म आफैँलाई कता कता असजिलो लागे जस्तो भयो । सुनसान रात एक अपरिचित युवक उनी कत्ति पनि संकोच मानि रहेकी थिइनन् । मानौँ आफ्नै दाइ वा काका हो । साथमा एक जिम्मेवार अविभावक छ । वरिपरिको वातावरण त्यो घुर्मैलो क्षितीज चन्द्रमाको टहटह उज्यालो रातमा पनि छ्याङ्ङ देखिने डाँडाकाँडा; घरिघरि म आफैँमा हराउन खोजिरहे झैँ हुन्छु ।
समय धेरै बितिसकेको थियो । चन्द्रमाको उज्यालो, त्यसमा पनि त्यो चन्द्रमा; जसले मेरो मुटुमा छोइसकेको थियो । आकाशको चन्द्रमा हेर्दा हेर्दै म त धर्तीको चन्द्रमालाई माया गर्न थालिसकेंछु । खै; मलाई के भएको हो, थाहा भएन छेवैमा बसेकी शारदा, म उनलाई आफ्नै मन मन्दिरकी देवी बनाइरहेको; म भावनामा बगिरहेको मात्र नभएर आफैँ भित्र हराइसकेको अवस्थामा, सन्नाटालेभरिएको रातको वातावरण एक्कासि “दाजु !”—भन्ने शब्दले मलाई झस्काइदिन्छ ।
समय करिब रातको मध्यतिर लम्किरहेको थियो होला, तिनी अब चैं बिदा हुने तर्खर गर्न लागिन् । “दाजु ! अब सुत्नु पर्छ, भोलि बिहान सम्मको लागि”— भन्दै जुरुक्क उठिन् ।
घरभित्र पसेर उनले ढोका थुनेर आग्लो ठोकिन् । म पनि सुत्ने तर्खर गर्न लागेँ तर खै के भयो कुन्नि, खटपटी मात्र भैरह्यो । पटक्कै निद्रा लागेन । मनभरि कुरा मात्र खेलिरहे; शारदा ! नाम पनि उस्तै स्वभाव, अनि त्यो मुस्कान, त्यो नम्रता अनि अनि बालीबचन । कति मिलेको अनुहार; कठै ! त्यो सुन्दरता । शरदा ! तिमी साँच्चैकी देवी नै त हैनौ ? तिमी साँच्चै शारदा हौ भने मलाई अझै धेरै विद्या आवोस् । म सधैँ सधैँ तिम्रो भक्ति गरिरहन्छु । मलाई बरदान देऊ, म सदा सदा तिम्रो बन्न सकुँ । मेरा आँखामा अझै पनि निद्रादेवीले बस बस्न खोजिनन् ।
झण्डै उज्यालो हुनेबेला भै सकेको थियो हाला, बल्ल मेरो आँखामा निद्रादेवीले आक्रमण गरिछिन्; बल्ल म निदाउन पुगेँछु ।
“दाजु ! ई, तपाईको पुस्तक मैंले पढिसकें, अब तपाईलाई नै फिर्ता,”— फेरि शारदालाई आफ्नो अघिल्तिर पाएँ । उनी मलाई त्यो मैले दिएको पुस्तक दिदै थिइन् । लिन मानिरहेको थिइन । म कराउँदै थिएँ । अनयास म झसङ्ग भएर ब्युझिएछु ।
हेर्दा उज्यालो भै सकेको, शारदा उठेर घर कसेँर गर्दे गरेकी, बुढा मामा ख्वाँक्क ख्वाँक्क खोकिरहेका । म हतार हतार गर्दै उठेँ ।
“किन; दाजु ! आत्तिएर उठ्नु भयो त ! सुत्नुहोस्न अझै, ” — उनले ब्यङ्य हाने झै गरी भनिन् ।
“बाटो लाग्नु पर्ने, अबेला पो भैसकेछ”— भन्दै म हतार हतार गर्न थालेँ ।
“के हुन्थ्यो अबेला त; घाम झुल्केकै छैनन्”— भन्दै आफ्नो काम गरि नै रहिन् ।
“टाढा जानु छ; भरे घर पुग्न गार्हो हुन्छ”— भन्दै म हिड्ने तर्खर गर्न लागेँ । उनले मेरो झोला ल्याएर दिइन् ।
“यो अपवित्र कुटीलाई आज तपाईले पवित्र बनाइदिनुभयो, कहिलेकाहीँ त यसो निस्किदै गर्नु है, दाजु !” — यति भन्दै उनले मलाई विदा दिइन् ।
“मेरो आवत जावत गर्ने बाटो नै यही हो । महिनामा एक—दुई चोटी अवस्य हिड्छु । आउँदा जाँदा त निस्किहाल्छु नि,”— यति भन्दै मैले बेलुका भात खाएको र बास बसेको कति पैसा भयो ? भनेर गोजीवाट पैसा झिकेर दिन खोजेँ ।
“साँझको पहुनालाई स्वागत गर्न पाइयो । यो नै हाम्रो लागि काफी छ । तपाईको पैसा आफैसँग राख्नुहोस । मलाई त तपाईका पवित्र माया भए पुग्छ । मलाई हजुरले कहिल्यै नबिर्सी दिए पुग्छ; म पनि हजुरलाई,”—भन्दै गहभरि आँसु बहाइन् ।
“हस त बहिनी अब म बिदा ल ! भन्दै मुटुभरिको भक्कानु लिएर बाटो लागेँ । उनी नबोलीकन तगारासम्म आइन् । आँखाभरि आँसु पारेर परसम्म मलाई नै हेरिरहेकी थिइन् । मैले पनि उसैगरी फर्केर हेरेको थिएँ । मैले पर पुगेर बिदाइको हात हल्लाइ दिएँ । उनले पनि उसै गरी हात हल्लाइ रहिन् ।
दिनको बार बजिसकेको थियो, उकालो बाटो म हिडिरहेको थिएँ । मेरो मन भने त्यही बास बसिरहेको थियो । मेरो मनभित्र तिनै शारदा मात्र हाँसिरहेकी, झल्झली देखिरहेको थिएँ । पहिलो चोटकिो भेट मै यत्रो सरो माया, यो के अचम्म होला । कि यो जवनीको दोष हो कि, खै के हो ? बिचरी उनले पनि मलाई नै यर्खेको र मै ले पनि, यो त पक्कै पनि भगवानले नै जुराइदिएको होला । माया प्रीति भनेको यसै गरी बस्दो रहेछ क्यार । म साँच्चै तिनको लागि योग्य वर हुन सक्छु ? मनमा अनेकानेक कुरा खेल्न थाले, के म अब तिनलाई प्रेम ? आदि इत्यदि कुरा मेरा मनमा उब्जिदै थिए । त्यतिकी केटी पाए मलाई अरु के पो चाहिएला र ? मनमा यस्ता तर्कनाहरू बटुलेर हिड्नमै ब्यस्त थिएँ । उकालो बमटो, मलाई थकाइ पनि लागेको थियो, मन पनि निकै गरौँ भएकोले मलाई एकछिन थकाइ मार्ने सुर आयो । बाटाको छउमा भएको एउटा चप्लेटीमा थचक्क बसेँ । अझै पनि झल्झली तिनै शारदालाई देखिरहेको हुन्छु । संयोगको कुरा हो, यसले स्थायी रुप पनि लिन नसक्ला भन्न सक्ने अबस्था पनि त छैन; माया भनेको यसै गरि त बस्ने होला नि । ठिकै त छ नि, एउटी केटीलाई अवस्य पनि दुलही बनाएर घरमा भित्र्याउनै पर्छ र उनले पनि त एउटा कुनै; ए ! कुनै होइन ‘म’ म पो त, मलाई नै पति । मैले फेरि पनि एकचोटी शारदालाई संझिएँ । मनभरिको माया लिएर त्यहाँबाट उठेर बाटो लागेँ ।
बेलुकाको घाम अस्ताउनै लागेको थियो । म घरमा पुगिसकेको थिएँ । दिनभरिको थकाइ अनि रातभरिको निद्रा ताजै भए जस्तो । मनभरिको बियोगको पीडा, यस्तै थकानले लखतरान भएको मलाई बेलुकाको खाना खाइसकेपछि सुतिहाल्न मन लाग्यो । म ओछ्यानमा गएर पल्टिएँ । मलाई पटक्कै निद्रा लागेन किन होला ? म छक्क पर्छु, अचम्म लाग्छ मेरो निद्रा कहाँ गयो ? पक्कै पनि ती शारदाले मेरो निद्रालाई चारेर त्यहीँ राखिछिन् ।
नभन्दै म फेरि तुरुन्तै धनकुटा फिर्नु परो । म बास बस्न फेरि पनि त्यहीँ पुगेँ । मलाई शारदाले परैबाट स्वागत गरिन् । पहिलाकोभन्दा धेरै सम्मान गरिन् । रातभरि दुख सुखका कुरा गरेर रात बितायौँ । उनले मलाई नै जीवन अर्पण गर्ने बाचा पनि गरिन् । मैले पनि उनको सबै कुरा स्वीकार गरेँ । आपसमा हामी दुबै गहिरो प्रेममा बाँधिन पुग्यौँ । यसै गरी म त्यो घरमा धेरै चोटी बास बस्न पुगेँ । हाम्रो यस्तो सम्बन्ध कायम भएको थियो कि, आपसमा हामी कहिल्यै पनि नछुट्ने बचा कसम समेत खाइसकेका अनि मात्र बाँकि थियो बिहे गर्न ।
मेरो जागिर धनकुटाबाट, भोजपुरतिरै सरुवा भयो । हतारमा म भोजपुर हाँजिर हुन नगई भएन । त्यो समयमा मैले शारदालाई भेट्न पनि असमर्थ भएँ । मैले शारदालाई चिठी लेखेर छाडिदिएका थिएँ । शारदाले लखेको चिठी पनि मैले नपाएको होइन । चिठी त बाम्बार आहोर दाहोर हुन्थ्यो । उनका मामालाई पनि बिमारले चाप्यो । धामी झाँक्री खुब लगाइयो; बुढो शरीर ढल्यो ।
अब भने शारदा मामाको घर छाडेर आफ्नै घर गइन् । उनका आमा बुबाले मामाको घरमा भएको सबै झिटी झामटी लिएर गए ।
झण्डै आज चार बर्ष पुग्न आँटेछ, मेरो जागिर फेरि सरुवा भयो । म अहिले विराटनगरमा छु । यति लामो समयपछि, मलाइ शारदाको चिठी प्राप्त भयो । मेरो जागिर हुलाकमा भएको हुनाले भोजपुरको हुलाकबाट चिठी विराटनगर पठाइदिएको रहेछ । म खुसीले धेरै रमाएको थिएँ । हतार हतार चिठी खोलेर पढ्न थालेँ । जब मेरा आँखा अक्षरमा दगुर्न थाले, मेरो मुटु चिरिदै जान थाल्यो । बिडम्बना खुसीले गदगद हुदै खोलेको चिठी ले मलाई मर्माहत बनायो । कठैबरा ! शारदा !! अब त अर्काकी भैसकिछिन् । उनको बिहे भैसकेछ । मैले सबै पढ्न नै सकिन – यो महिनाको पन्ध्र गते मेरो बिवाह । यो महिनाको पन्ध्र गते भनेको त गत महिना पो हो त ! एक महिनापछि मात्र चिठी आइपुगेछ । अब म के गरौँ ?
साँझ झमक्क परेको थियो, बाहिर उस्तै जुन लागेको टहटह म त्यहीँ टोलाउन थालेँ । उही रातको चन्द्रमा; फरक यति हो, त्यस दिन दुई वटा चन्द्रमा थिए अनि वरिपरि घुर्मैला पहाडहरू, तर आज भने । मनका बेदनाहरू उकुस मुकुस हुँदै बाहिर निस्कन खोज्दै थिए । ती बेदनाहरूलाई जबरजस्ती भित्रै कोचेर राख्ने काशिस गरेँ । तर पनि थामिन नसकेर आँखाबाट भल भएर निस्की रहे ।
(स्रोत : Paniphoto.com)