हिजो अस्ति जस्तै देवी आँगन बढाएर पधेंरा लागिन । पानीको गाग्री विसाएर घाँस काट्न जान खाजा थाप्तै गर्दा उनको दाजु रमेश उठेकै थिएन । एक डोको घाँस पालीमा राखेर घर भित्र देवी पसेकी मात्र थिइन रमेश स्कुलतिर लाग्यो ।
साँझ जब देवी गाईको थलोमा सोत्तरको भारी बिसाउँदै थिइन रमेश स्कुलबाट घर भित्रियो ।
देवी भात खान लाग्दा बत्ती बोकेर तलामा चढेको रमेश देवीले जुठो भाँडा माझी सकेर तलामा गई किताव झिक्ता नझिक्ता निदाई सकेको थियो ।
आमाले “दिउँसो स्कुलमा पो पढ्नु पर्छ महँगो तेल बालेर पनि सकिन्छ ?” भन्दा देवी भर्खर किताव खोलेर पढ्न थालेकी मात्र थिइन् ।
“छोरी नाथेले पढेर के लछार्नु छ र ?” भन्ने बाबुको भनाई सुने ता पनि ‘छोरीले पनि पढ्नु पर्छ । आफ्नै खुट्टामा उभिन सक्नु पर्छ । छोरा र छोरी भनेका मानिसका दुई आँखा जत्तिकै हुन’ भनेर स्कुलमा सरले भन्नु भएको कुरा देवीको मनमा ढुंगाका अक्षर भएर कुंदिएको थियो ।
एकदिन दुइदिन गर्दै दशै आयो । नयाँ लुगा लगाएर रमेश पिङ खेल्न गई सकेको थियो ।
आमाले ‘ला तंलाई’ भनेर एक जोर लुगा दिनु भयो । देवी रमाउँदै लुगा फेर्न लागिन । सर्ट लगाई सकेर जव मिडि लगाउन खोलेकी मात्र थिइन् उनको मन एक तमासले दुख्यो । यत्ति दुख्यो कि यस अघि कहिल्यै यसरी दुखेको थिएन । उनलाई आफू संसारमा सवैभन्दा अपहेलित प्राणी लाग्यो । थ्याच्च भुईँमा बसेर उनी क्वां-क्वां रुन लागिन ।
‘किन डाको छाडेकी हँ यस्तरी’ भनेर आमाले सोध्दा पनि देवी एकनास रोई नै रहिन ।
उनको छेउमा रमेशको पुरानो पेन्ट उल्टाएर बनाएको मिडि असरल्ल परेको थियो ।
(भोजपुर)
(स्रोत : KhassKhass.com )