बाल कथा : मेरो साथीलाई नकुट

~प्रतीक प्रधान~

सुप्रीतिको कक्षामा सबै विद्यार्थी गफ गरिरहेका थिए। तेस्रो घन्टीमा अरूपा मिस नआउनुभएकाले उनीहरू आपसमा मस्त थिए। कोही डेस्कमा सुतेझंै गरेर अर्को साथीको गफ सुनिरहेका थिए भने कोही आमिर खानको नयाँ सिनेमा पिकेको कहानी सुनाउँदै थिए। यत्तिकैमा सबैको ध्यान जिगरले तान्यो। ऊ अगाडि उभिएर चौथो घन्टीको रविन सरको नक्कल गर्दै थियो। एउटा छडी लिएर कसैको डेस्कमा ठोक्ने, कसैको ढाडमा बजार्ने, कसैको टाउकोमा हान्ने नक्कल गर्दै ऊ कक्षाकोठाको पछिल्तिर जाँदै थियो। यत्तिकैमा पछाडिबाट रविन सर आएको उसले चालै पाएन।

अघिसम्म हाँस्दै गरेका साथीहरू अचानक बाघलाई देखेको बाख्राजस्तो चुपचाप बने। उसको हंशले ठाउँ छाड्यो। बिस्तारै पछाडि फर्कन पाएको थिएन उसको गालामा चट्याङ्ग एक थप्पड बजि्रयो।
जिगरको हातबाट लट्ठी खसेर भुइँमा झर्यो । रविन सरको हात रोकिएन। चट्याङ्ग… चट्याङ्ग… अझ दुई थप्पड उसको गालामा थपियो। जिगर थचक्कै भुइँमा बस्यो। सुप्रीतिलाई जिगरको साह्रै दया लाग्यो। तर उनी चुपचाप बस्नेबाहेक केही गर्न सक्ने अवस्थामा थिइनन्।

सुप्रीति र जिगरको घर नजिकै छ। स्कुल आउँदा र घर जाँदा उनीहरू एउटै बाटो हिँड्छन्। स्कुलतिर जाँदा सुप्रीति सधैं अघिअघि हुन्छिन् तर घर फर्कंदा भने प्रायः जिगर अगाडि हुन्छ। उसलाई घर गएर कम्प्युटर गेम खेल्नकै हतार हुन्छ। उनीहरू एक–आपसमा खासै कुरा गर्दैनन्, कहिलेकाहीँ भोलि स्कुल लाग्छ कि लाग्दैन भनेर यसो कुरोसम्म हुन्छ। सुप्रीति कक्षामा प्रथम हुन्छिन् तर जिगर बल्लतल्ल पास हुन्छ। सायद यसै कारण उनीहरूलाई एक–अर्कासँग टाढा राखेको छ।

सुप्रीतिलाई जिगरको मात्र होइन कक्षा सात का धेरै केटाको दया लाग्छ। किन कुट्छन् रविन सर केटाहरूलाई– उनले बुझेकी छैनन्। कक्षा छ मा हुँदा प्रभाकर सर कति सरल तरिकाले हिसाब पढाउनुहुन्थ्यो तर रविन सर त बहुलाजस्तो लाग्छ उनलाई। कहिलेकाहीँ त केटीहरूलाई पनि थप्पड लगाउन वा कपाल तान्न छोडनुहुन्न। किन पढदैनन् होला केटाहरू पनि? तिनले अलिअलि पढेका भए अनि होमवर्क गरेका भए सुप्रीतिलाई तिनले कुटाइ खाएको दृश्य त हेर्नु पर्थेन। तर के गर्नु!

त्यस घटनाको एक हप्तापछि सुप्रीतिलाई अन्तर विद्यालय कविता प्रतियोगितामा जानु थियो। उनले एउटा लामो कविता लेखिन्। कविताको शीर्षक थियो ‘मेरो साथीलाई नकुट’। रविन सरको रिस र घृणालाई उनले सहज तवरले वर्णन गरेकी थिइन्। सरले सधैं आफ्ना साथीहरूलाई कुटेको पीरमा उनको मनको बह पोखिएको थियो। तर रविन सरको नाम भने कवितामा लिएकी थिइनन्। लिनुुहुन्न भन्ने उनलाई थाहा थियो। कविता भने कताकता रविन सरलाई सुनाऊँ झैं लागेको थियो तर हिसाबको शिक्षकलाई कविता सुनाउदा झन् व्यंग्य गरेकी भनेर गाली खाइएला भनेर उनले सुनाउन सकिनन्। उनलाई विश्वास थियो यो कविता सुनेपछि रविन सरले केही सोच्नुहुन्थ्यो होला। तर उनले आँट गर्न सकिनन्।

कविता वाचनका लागि अर्को स्कुलमा भाग लिन जाने दिन पनि आयो। नेपाली शिक्षिका नफिसा मिसले सुप्रीतिलाई ट्याक्सीमा राखेर अर्को स्कुलमा लग्नुभयो। त्यहा धेरै स्कुलका विद्यार्थी आएका थिए। उनले कसैलाई चिनेकी थिइनन् त्यसैले एक कुनामा गएर बसिन्। नफिसा मिस कता जानुभयो उनले थाहा पाइनन्। विद्यार्थीहरू एकएक गर्दै कविता पाठ गरिरहेका थिए। एकै छिनमा कार्यक्रम उद्घोषक दिदीले उनको नाम बोलाउनुभयो। उनी नडराई मञ्चमा गइन्। त्यहाँ धेरै नाम चलेका कविहरू निर्णायक मण्डलीका रूपमा बसेका थिए। उनले आफ्नो कविता सुनाइन्, ‘मेरो साथीलाई नकुट’। उनको कविता सुनेर धेरै विद्यार्थी भावुक भएको उनले महसुस गरिन्। कविताको अन्तमा सबैले बेस्सरी ताली बजाए। उनलाई कताकता आफू नै प्रथम हुन्छु कि भन्ने लाग्यो। कविता पढेपछि उनी आफ्नो स्थानमा गएर बसिन्। त्यसपछि अरू आठ–दस जना विद्यार्थीले कविता वाचन गरे। अन्त्यमा समारोहकी सञ्चालिकाले नतिजा आउन्जेलका लागि आधा घन्टाको चिया समय घोषणा गर्नुभयो। उनी हलबाट बाहिर निक्लेर चउरमा गएर बसिन्।

त्यतिकैमा अर्को स्कुलको एउटा प्रतियोगी उनको नजिकै आएर भन्यो, ‘सुप्रीति, म रबिम। तिम्रो कविता एकदम राम्रो लाग्यो। के तिम्रो स्कुलमा सरले विद्यार्थीलाई पिट्नुहुन्छ? मलाई त नराम्रो लाग्यो।’

एउटा केटाले यसरी आएर आफ्नो कविताको सराहना गरेकोमा उनलाई आनन्द लाग्यो। एकै छिनमा उनीहरू साथी बने। सँगै गएर चिया र बिस्कुट पनि खाए अनि कविताकै विषयमा गफ गरे। रबिमले सुप्रीतिको कविता नै प्रथम हुन्छ भनेर ठोकुवा गर्योि, उनी केही बोलिनन्। यत्तिकैमा कविताको नतिजा सुन्न बोलावट भयो।

हलभित्र प्रवेश गर्दैगर्दा रबिमले भन्यो, ‘मलाई तिम्रो कविता इमेल गरिदिन्छौ?’

उसले एउटा कागजको टुक्रामा इमेल लेखिसकेको रहेछ, सुप्रीतिको हातमा राखिदियो। सुप्रीतिले आफ्नो कविताको पहिलो फ्यान भेटेकी थिइन्। सोचिन्– इमेल त गरिदिऊँला नि।

सबैजना बसेपछि निर्णायक मण्डलले नतिजा सुनाउने तरखर गर्यो । अनि कार्यक्रम सञ्चालिकाले एकपछि अर्को गर्दै नतिजा सुनाउन थाल्नुभयो। तेस्रो पुरस्कार विजेताको नाम लिँदा नै सुप्रीतिको मुटु ढुकढुक गरिसकेको थियो। किनभने रबिमले तेस्रो पुरस्कार जितेको थियो। उनी खुसी भएकी हुन् कि आफू केही भइएन भनेर डराएकी हुन्– थाहा पाइनन्। दोस्रोको नाम आयो। अर्को स्कुलको एक केटी दोस्रो भएकी थिइन्। तर उनी कतै हराइरहेकी थिईन्। रबिमको कविता कति राम्रो रहेछ, उनले त अघि ध्यानै दिइनछन्। दोस्रो हुने केटीले पुरस्कार लिएपछि सबैले ताली बजाउँदा पो उनी झसङ्ङ भइन्। रबिम कतिखेर स्टेजमा गएर पुरस्कार लिएर गयो र कतिखेर दोस्रो हुने केटीले पुरस्कार लिइन् उनलाई पत्तै भएन। उनी त त्यस बेला झनै आत्तिइन्, जब प्रथम हुनेमा उनकै नाम उद्घोषण भयो। उनी खुसी हुँदै स्टेजमा चढिन् र पुरस्कार थापिन्। उनको नयाँ साथी रबिम दंग परेर अगाडि नै बसिरहेको थियो। मानौं भन्दै थियो, ‘देख्यौ त मैले अघि नै भनेको होइन?’

सुप्रीति र नफिसा मिस एकदम खुसी हुँदै घर फर्के। मिसले भन्नुभयो, ‘आज तिमिले हाम्रो स्कुलको नाम राखेकी छौ सुप्रीति।’

घरमा बुबा र ममी पनि उनी प्रथम भएको खबरले असाध्यै खुसी हुनुभयो। खाना खाएपछि ‘एक छिन चलाउँछु’ भन्दै सुप्रीतिले बुबाको ल्यापटप मागिन्। रबिमले लेखेको कागजको टुक्रा निकालिन् र आफ्नो कविता इमेल गरेर पठाइदिइन्। अनि एक छिन कम्प्युटर चलाएर कोठामा गएर सुतिन्। भोलिपल्ट सबै साथीलाई आफ्नो सफलताको कथा सुनाउने मिठो कल्पना गर्दै निदाइन्।

भोलिपल्ट बिहान स्कुल जाँदा उनले यसो पछाडि फर्केर हेरिन्, जिगर एकदम कस्सिएर उनको पछिपछि आउँदै थियो। उनले सोचिन्– जिगरको कारणले कविता लेखियो र पुरस्कार पनि पाइयो।

स्कुलमा उनलाई प्रिन्सिपल सरले बोलाएर बधाई दिनुभयो। क्लास टिचरले पनि बधाई दिनुभयो। उनी क्लासमा आउँदा सबैले एकै स्वरमा बधाई दिँदै भने, ‘उनलाई खुसी पनि लाग्यो सँगै लाज पनि लाग्यो।’

आज पनि तेस्रो पिरियडको मिस आउनुभएन। फेरि कक्षा हल्लाखल्ला गर्न थाल्यो। एक हप्ताअघि पिटाइ खाएको जिगर आज फेरि रविन सरको नक्कल गर्न थाल्यो। सिनेमामा फ्ल्यासब्याक भएजस्तै चौथो पिरियडको घन्टी बज्यो, रविन सर कक्षामा प्रवेश गर्नुभयो। फेरि जिगरले थाहा पाएन। सबै जना जिगरले आज पनि पिटाइ खाने भयो भनेर पर्खेर बसे। तर अचम्म! रविन सरले जिगरलाई हातमा समाएर उसको बेन्चमा बसाइदिनुभयो र नरम भएर भन्नुभयो, ‘जिगर अलि ज्ञानी बन न, म कसैलाई पिट्न चाहन्नँ।’

अनि सुप्रीतिको नजिकै आएर पुरस्कार पाएकोमा बधाई दिनुभयो र खुसुक्क भन्नुभयो, ‘रबिम मेरो छोरा हो। तिम्रो प्रथम भएको कविता पढेँ।’

सुप्रीति छक्क परिन्। खुसीले उनको मुहार धपक्क बल्यो तर मुखबाट धन्यवाद भन्न पनि स्वर खुलेन।

(स्रोत : Nagariknews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.