लाली गुराँस र चाँपहरुको
बस्ती त्यो चुचुरा
मुस्काएका छन
लालुपाते पाखाभरी
कुमारी बक्षस्थल झै
चुरे पहाड चिरेर
बगेका छन झरनाहरु
इन्द्रेनी पारेर ।
फर्सी कान्क्रा अनी
सर्सिउ फुलेर
अन्तिम प्रहरको
किरण जस्तो
पंहेल्पुर गाउँबेसी
नुनियां झुलेर
समतल छन तराइ
कस्तो मनोरम छन
प्रकृतिको सिर्जना
तर हेरौ कसरी
यो सुन्दरता ?
जन्मिदै अन्धकारमा
बन्दी छन ज्योतिहरु ।
बिप्लाटेको मोहोदा हुँदै
जस्बिरे नाघेसी
माइपोखरिको पाखामा
फलेको ऐंसेलुको फुली
तिपेर तिर्खा मेटाउदै
रात्माटे उकालिन्दा
माबुको थाप्लो बाट
क्षितिजको छिडिमा
प्रभातले घाम
जन्माएको देखिने
प्रकृतिको अर्को सिर्जना
तर त्यहां सम्म
जाउँ कसरी ?
उकाली अोराली
धाउँ कसरी ?
गर्वसयमै सातिएका छन
बैशाखी सँग पाउहरु ।
चैत मासको खदेरिमा
मनोकामनाको थुम्किमा बसेर
मर्स्यान्दी बगेको हेर्दै
साँगुरि बनको थुरमा
बिउ छर चरा
रोएको सुन्दा
बिरहमा चुर्लुम्म डुबेर
कन्दरा थर्काउन
मन लाग्छ
तर कस्तो भाकाले
कुन तालमा ?
न्वारान्को साइतमै
सुन्यताले चोरीदिएछ
सबै लैबरीका सुरहरु ।
लाचार अती लाचार,
यिनिहरुलाई देखेर
म पनि लाचार बन्छु
मस्तिस्क दुख्छ
चर्किने गरी
आफ्नै प्रश्नहरुले
गम्छु निधार गाठो पारेर
अचानक एक दुई वाक्यहरु
फुत्त फुत्त निस्किन्छन
मेरो ओठ खोलेर
अनी टाढिन्छ
ध्वनी बनेर
शायद
भगवानले भाङ खाएर
निरुदेस्य निर्माण
गरेका हुन
यि गन्ती
मात्रको मान्छे हरु ।
…………………..
इलाम, हाल: अमेरिका
मणि बाङ्देल ‘सागर’
(स्रोत : Ianws.org)

