कथा : महाभारत र कर्ण

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

भारतीय टिभी च्यानल स्टार प्लसमा ‘महाभारत’ शृंखला हालै सकिएको छ। बीआर चोप्राको बहुचर्चित ‘महाभारत’ शृंखलाको भव्यतासँग स्टार प्लस शृंखलालाई दाँज्न सकिन्न। तर, त्यसविपरीत यसले युधिष्ठिरलाई भन्दा कर्णलाई धर्म र सत्यनिष्ठाको पर्याय मानेको छ।

पूर्वीय साहित्यमा रुचि भएका नाताले ‘महाभारत’ मेरो पनि प्रिय किताब हो भने कर्ण प्रिय पात्र। कर्णको दुर्नियति सम्झँदा मलाई आफ्नै जीवनका अनेक प्रसंग साक्षात्कार भएझैं लाग्छ। मेरो दृष्टिमा उनी महाभारतकै नायक हुन्। महाकवि वेदव्यास स्वयंले चाहेर पनि उनलाई खलनायक बनाउन सकेनन्। चक्रपाणि चालिसेको ‘संक्षिप्त भारत’ पढेपछि कर्णप्रति मेरो आकर्षण बढ्यो। त्यसपछि गीता प्रेस भारतको ‘संक्षिप्त महाभारत भाग १, २’, भारतीय लेखक नरेन्द्र कोहलीको उपन्यास ‘कर्ण’, विश्व बुक्सको ‘कितने खरे हमारे आदर्श’, डा. वीणा पौडेलको ‘वेदपुराणका रत्न भाग १, २’ पढेँ। सबैमा कर्णप्रति उच्च प्रेम र सम्मान छ।

कर्ण त्याग, पराक्रम र सत्यनिष्ठाका पर्याय थिए। तथापि उनको जीवन अरण्य रोदनजस्तै एक अविरल निश्वास थियो। एउटा मौन वेदना, मौन चित्कार, मौन विद्रोह। उनको जीवनका केही प्रसंग यस्ता छन्, जसले संवेदनशील हरेक व्यक्तिभित्र भूकम्प मच्चाउँछन्। ‘शूद्र’ भएकै कारण धनुर्विद्यामा उनले अर्जुनसँग प्रतिस्पर्धा गर्न पाएनन्। द्रौपदीको स्वयंवरमा मत्स्यवेद र भीष्मको नेतृत्व रहुन्जेल महाभारत युद्धबाट उनलाई वञ्चित गर्नुको कारण पनि त्यही थियो। यथार्थमा उनी शूद्र थिएनन्। कुन्ती र सूर्यका जेठा छोरा थिए। उनको नश्लमाथि उठाइएको प्रश्न प्रागइतिहासको भयानक गल्ती थियो। त्यसको उत्तरदान आधुनिक युगमा पनि सकल दलित, उपेक्षित र उत्पीडित जनले बेहोर्नुपरेको छ। तिनको प्रतिभा, पराक्रम र सौर्यको कदर गर्न आज पनि हाम्रो समाज तयार छैन। यो त्यही इतिहासको नीलडाम हो।

पाण्डव र कौरवसँगै कर्णले पनि द्रोणाचार्यबाटै धनुर्विद्या सिकेका थिए। तर, उनी ‘राजकुमार’ थिएनन्। त्यसैले आचार्य द्रोणले शस्त्रविद्याको पूर्ण ज्ञान उनलाई दिएनन्। उनको सामाजिक हैसियत एक सामान्य सारथिको छोरा हुनुमात्र थियो। ब्राह्मणलाई मात्र सिकाउने हठी परशुरामबाट ब्राह्मणत्वको परीक्षामा सफल भएर उनले शस्त्रविद्या सिके। तर, गुरुको निद्रा भंग हुन नदिन बिच्छीको टोकाइ चुपचाप सहने उनलाई परशुरामले समेत ब्रह्मास्त्रको पूर्ण ज्ञान दिएनन्। अनुपम गुरुभक्ति र अतिसहनशीलताको पुरस्कार उनले यसरी पाए। शूद्र भएकै कारण एकलव्य यो विद्या सिक्नसमेत अयोग्य ठहरिए। द्रोणको मूर्तिलाई गुरु थापी कडा अभ्यास गरेर धनुर्विद्यामा जब उनी अर्जुनभन्दा पनि पोख्त भए, गुरुदक्षिणास्वरूप उनको बुढी आंैला काटियो। अद्वितीय वीर तथा इमानका प्रतीक कर्ण बदनाममात्र भए। तर, पितातुल्य गुरु द्रोणको हत्या गराउन झुटभन्दा पनि कैयन् गुना खतरनाक अर्ध सत्य बोल्ने युधिष्ठिर सत्यवादी ठहरिए। द्रौपदीलाई पाँच पति थोपर्ने ती आदर्श पुरुष र आर्यावर्तका नायक भए। भारतको विश्व बुक्सद्वारा प्रकाशित ‘कितने खरे हमारे आदर्श?’ ले भनेको छ, ‘हिन्दु संस्कृतिको आरम्भिक युगमा कविहरू इमानदार व्यक्तिको प्रशंसा गर्थे। पछि राज्यआश्रित कविहरूले न्याय र नीतिलाई पाखा लगाए अनि आश्रयदाता राजा, महाराजाका उचित, अनुचित सबै कामको विरुदावलि गाउनमै आफूलाई कृतकृत्य मान्न थाले।’ तिनको यही कृत्यकै कारण सत्य र न्यायकै गलत व्याख्या हुन पुग्यो।

युधिष्ठिरका बुद्धिमत्ता, धैर्य, सहनशीलता र त्याग बिर्सिनसक्नु गुण थिए। तर, आमा कुन्तीको वचन सत्य साबित गर्ने निहुँमा उनले पद्मिनी शरीरकी द्रौपदीलाई पाँचै दाजुभाइकी पत्नी बनाए। सत्य पालना गर्ने नाममा यसरी सत्यको हत्या भयो। जुवामा युधिष्ठिरले राज्य, आफू स्वयं, भाइहरू र द्रौपदीलाई समेत हारे। यो सामन्तवादी चालचलनको चरम रूप थियो। सभामा नंग्याउन ल्याइएकी द्रौपदीले प्रश्न उठाइन्, ‘आफैंलाई हारिसकेका व्यक्तिले अरुलाई दाउमा राख्ने अधिकार कहाँबाट पाए?’ उनको कुरा सुन्ने कोही भएन। बरु कौरव पक्षकै विकर्णले उनको पक्षमा आवाज उठाए। दुर्योधनले समेत घोषणा गरे, ‘द्रौपदी, तिम्रा चार पतिले आफूलाई हारिसकेका युधिष्ठिरको अधीन अस्वीकार गरून्, म तिमीलाई स्वतन्त्र गर्न तयार छु।’ यस्तोमा पनि पाण्डवहरूको मुखबाट कुनै आवाज निस्केन। गुप्तवासका क्रममा राजा विराटकहाँ द्रौपदीसहित पाँचै दाजुभाइको झुटो नाम, जात र व्यवसाय बताउनु अनौठो थिएन। तर, आमाको अञ्जान वचनलाई ‘सत्य साबित’ गर्ने त्यस्ता व्यक्तिले गुरुको हत्या गराउन बोलेको अर्ध सत्य र यस्ता झुटका लागि प्रायश्चित गरेनन्।

युधिष्ठिरको यी कृत्यप्रति सम्पूर्ण ‘लीला रच्ने’ कृष्ण मौन भइदिए। कुनै महाकविले पनि प्रश्न उठाएनन्। बरु सबै मिलेर उनलाई हिन्दु समाजका आदर्श पुरुष घोषणा गरे। तर, आफ्नो युगका महावीर, इमानप्रति प्रतिबद्ध, दानवीर, वचनवीर कर्ण भने सधैं उपेक्षित भए। आदर्श पुरुष होइन, उनलाई खलनायक भनियो। तर, उनको जीवन सदाचार, स्वाभिमान, वीरता, साहस र आत्मबलिदानको जीवन थियो। जीवित रहुन्जेल सामाजिक मान्यता नपाए पनि उनी पाण्डवमध्ये ज्येष्ठ थिए। कुमारी अवस्थामा कुन्तीले सूर्यसँग सहवास गर्दा उनको जन्म भएको थियो। लोकलाजबाट बच्न जन्मनेबित्तिकै कुन्तीले पानीमा नडुब्ने काठको बाकसमा राखेर खोलामा बगाइन्। हस्तिनापुर दरबारका सारथि अधिरथले उद्धार गरेर उनलाई छोराका रूपमा पाले। सूर्यपुत्र कर्ण सारथिपुत्र भए। तिरस्कारपूर्वक उनलाई सूतपुत्र भनियो। यसरी वंशको उच्चता र कुलीनताको अभिमान जन्मनेबित्तिकै उनीबाट खोसियो।

सत्यवादी मानिएका पाण्डव स्वयंको उत्पत्ति सम्मानजनक थिएन। पाण्डु जीवित हुँदै कुन्तीले नियोग प्रथाद्वारा धर्मराजबाट युधिष्ठिर, वायुबाट भीम, इन्द्रबाट अर्जुन जन्माएकी थिइन्। उता, आश्विनी कुमारबाट पाण्डुकी कान्छी पत्नी माद्रीले नकुल र सहदेव जन्माइन्। यसमा पाण्डवहरूको दोष छैन। तर, तिनै पाण्डव कर्णको जन्म र कुलबारे गर्नसम्म उपहास गर्थे।

गुरु शिक्षा सकिएपछि रंगस्थलमा अर्जुनको चुनौती स्वीकार्न सक्ने एकमात्र योद्धा कर्ण थिए। हस्तिनापुरका कुलगुरु कृपाचार्यले ‘सूतपुत्रलाई राजकुमारसँग प्रतिस्पर्धा गर्न अधिकार नहुने’ घोषणा गरे। यो अविवेकी घोषणामा पितातुल्य गुरु द्रोणाचार्य, हस्तिनापुरका महारथि र भारदारहरूले ल्याप्चे लगाइदिए। भीमसेनले त ‘सूतपुत्रले राजकुमारलाई ललकार्ने’ भनेर बातैपिच्छे उनको कुलको अपमान गरे। बाँकी सबै भारदारले वीरताको सम्मान गर्नुको साटो भीमकै बोलीमा लोली मिलाए। कर्णले आफ्नो योग्यताको परीक्षा दिन नपाउने भए। कुन्तीलाई थाहा थियो, कर्ण उनकै जेठो छोरा हो। लोकलाजबाट बच्न आफ्नै जेठो छोराको अपमान उनले चुपचाप हेरिरहिन्। आखिर दुर्योधनले भने, ‘वीरता कुनै जाति वा नश्लको पेवा होइन। नदी र शूरवीरहरूको उत्पत्तिको कथा सबैलाई थाहा हुँदैन। पाण्डवहरू हो, जन्म वा कुलको होइन, वीरताको सम्मान गर्न सिक। होइन भने तिमीहरूको जन्मका हाल हामीलाई पनि थाहा छ।’ कुलगुरुले राजकुमारसँग युद्ध गर्न राजकुमार नै हुनुपर्ने नियम बताएपछि दुर्योधनले तत्काल कर्णलाई अंगदेशको राजा बनाए। तैपनि, घाम डुबिसकेकाले कर्णले प्रतिस्पर्धा गर्न पाएनन्। बदलामा कर्ण आफ्नो असीम अपमान र विपत्मा साथ दिने दुर्योधनको आजीवन हितैषी भए।

कर्णले भोग्नुपरेको अपमान सहस्र छन्। संसारका सारा शूरवीरले प्रतिस्पर्धा गर्न पाउने द्रौपदीको स्वयंवरमा उनले भाग लिन पाएनन्। सारा राजा, राजकुमार मत्स्यवेद गर्न नसकी निहुरीमुन्टी न भइरहेका बेला जब आत्मविश्वाससाथ उनले धनु उठाए, द्रौपदीको मनमा हाहाकार मच्चियो। कर्णले मत्स्यवेद गर्नेमा उनीसमेत विश्वस्त थिइन्। तर, ‘तल्लो जाति’ को युवककी पत्नी हुनु उनलाई स्वीकार्य थिएन र घोषणा गरिन्, ‘म सूतपुत्रसित बिहे गर्दिनँ।’ वीरताको यो अर्को अपमान थियो। दुर्योधनले ‘निच जातिको’ कर्णलाई मित्र र अंगदेशको राजा बनाएको हस्तिनापुरका भारदारहरूलाई सह्य थिएन। कौरव सेनापति बन्ने क्रममा भीष्मले भनेका थिए, ‘म सेनापति रहुन्जेल सूतपुत्र कर्णले युद्ध गर्न पाउँदैन।’ खासमा यो युद्धको सुरुवातमै कौरव पक्षको पराजयको उद्घाटन थियो। भीष्म अर्जुनको सरशैयामा नपरुन्जेल महावीर कर्णविना महाभारत युद्ध चलिरह्यो। कर्ण दुर्योधनका सच्चा हितैषी थिए। त्यसैले भीष्मपछि सेनापति बनेका द्रोणलाई रणनीति सुधार्न जब उनी सुझाव दिन्थे, द्रोण बातैपिच्छे उनलाई युद्धबाट निकालिदिने धम्की दिन्थे।

द्रोणको पतनपछि कर्ण स्वयं सेनापति भए। उनले माद्र नरेश शल्यलाई सारथि बनाए जो नकुल र सहदेवका साख्य मामा थिए। ती एक नम्बरका धोकेबाज थिए। पाण्डवका पक्षमा लड्न आएका उनी युधिष्ठिरको उपेक्षा र दुर्योधनको सत्कारबाट प्रेरित भएरै कौरव पक्षमा लागेका थिए। युद्ध सुरु हुने बेला कुन्ती र कृष्णले पाण्डव पक्षलाई सघाउन आग्रह गर्दा उनले कौरव पक्षबाट लडे पनि ऐनमौकामा दुर्योधनलाई कमजोर बनाउने वाचा गरेका थिए। त्यो वाचा उनले बारम्बार कर्णलाई अर्जुनको दाँजोमा अत्यन्त हेय देखाएर, उनको मनोबल गिराउने व्यवहार गरेर पूरा गरे। सारथि भएर पनि कर्णको आदेश मान्न उनी अस्वीकार गर्थे। बारम्बार उनी ‘अर्जुनले तिमीलाई नमारी छाड्दैनन्’ भनेर कायल पार्थे।

कर्णलाई पाण्डवतर्फ मिलाउन आग्रह गर्ने क्रममा कृष्णले कर्णको जन्मभेद खोल्दै भनेका थिए, ‘तिमी नै पाण्डवमध्ये जेठा मानिनेछौ।’ जेठा भएका नाताले राजा बन्ने र सुन्दरी द्रौपदीको पति बन्ने अवसर उनलाई पनि मिल्नेवाला थियो। सुन्दरी द्रौपदीका लागि पाँच दाजुभाइमा फुट हुने डरले युधिष्ठिरले उनलाई पाँचै दाजुभाइकी साझा पत्नी बनाएका थिए। तिनै पद्मिनीमाथि हिस्सा लाग्ने लोभले कर्णलाई तान्न सकेन। सत्यनिष्ठ मानिएका पाण्डवहरूका भने द्रौपदीबाहेक निजी पत्नीहरू पनि थिए। युधिष्ठिरले शिविदेशका राजा गोवासनकी छोरी देविका, भीमले राक्षस कुलकी हिडम्बा र काशीराजकी छोरी बलन्धरासँग बिहे गरे। द्रौपदीसँग युधिष्ठिरको सहवासका बेला कुटी छिर्दा अर्जुनलाई १२ वर्ष बह्मचार्यको सजाय भयो। त्यसै अवधिमा नाग राजकुमारी उलुपी, मणिपुर राजकुमारी चित्रांगदा र कृष्णकी बहिनी सुभद्रालाई पत्नी बनाएर धनुर्वीर अर्जुन पत्नीवीर पनि भए। चेदी नरेशकी छोरी करेणुमतीलाई नकुलले र मद्र नरेशकी छोरी विजयालाई सहदेवले निजी पत्नी बनाए। तर, कृष्णको प्रस्ताव अस्विकार्दै एक पत्नीव्रत कर्णले निर्द्वन्द्व भएर भने, ‘मेरो यौवन केवल मेरी पत्नीका लागि हो।’

जीवनका हरकदममा अपमानित कर्णले कहिल्यै स्वधर्म त्यागेनन्। जन्मले राजकुलकै भए पनि आमाकै कारण निच जातिको अपमानपूर्ण जिन्दगी बाँच्नुपरेको पहिलोपल्ट थाहा पाउँदा कुनै युवकको मनोविज्ञान कस्तो होला? कर्णले त्यही मर्मभेदी स्थितिको साक्षात्कार गरे। तर, त्यसको प्रतिक्रिया उनले आमा कुन्तीसित कहिल्यै प्रकट गरेनन्। युद्ध सुरु हुनै लाग्दा कुन्तीले पनि उनलाई पाण्डवतर्फ लाग्न आग्रह गरिन्। जन्मदात्री भएर पनि आमा हुन नसकेकी, आफ्नो अपमानपूर्ण जीवनको कारक बनेकी तिनै कुन्तीलाई समेत उनले ममतामयी आमाको सम्मान दिए। तिनको कुकृत्यका लागि कुनै गुनासो गरेनन्। याचकलाई कहिल्यै निराश नफर्काउने कर्णले ‘अर्जुनबाहेक कसैलाई नमार्ने’ वाचा गरे। नभन्दै युद्धमा युधिष्ठिर, भीम, नकुल, सहदेवलाई पक्रेर, तिनको तेजोबध गरेर ज्यान माफी दिए। युद्धअघि छोरा अर्जुनको जितका लागि इन्द्रले ब्राह्मण भेष धरेर कर्णसँग कवच मागेका थिए जुन जन्मदै उनको शरीरमा टाँसिएको थियो। इन्द्रले षड्यन्त्र गरेको थाहा पाउँदा पनि उनले आफ्नो जीवनकै मूल्यमा कवच दिएर पठाए। अर्जुनको शरशैयामा सुतेपछि भीष्म स्वयंले पाण्डवतर्फ लाग्न सुझाव दिँदा उनले विनम्रतापूर्वक अस्विकार्दै दुर्योधनप्रतिको अविरल वफादारी दर्शाएका थिए।

यो बेग्लै कुरा हो, टुहुरा पाँच पाण्डवमाथि सय भाइ कौरवले गर्नुसम्म अन्याय गरेका थिए। भीमलाई विष खुवाएर नदीमा फ्याँकिएको थियो। राज्यसत्ताबाट च्युत गर्न अत्यन्त विष्फोटक पदार्थहरूले बनेको लाहाको घरमा जलाएर मार्ने षड्यन्त्र गरियो। बनवास र गुप्तवासका क्रममा पनि बारम्बार मार्न खोजियो। भीष्म, विदूर, द्रोण, कृपाचार्यजस्ता न्यायप्रेमी लाचार छायाँ भए। कौरवको हाहामा लागेर विपत्तिमा परेका पाण्डवको धज्जी उडाउनु, आफ्नो अपमानको बदला लिन दुःखी द्रौपदीप्रति अश्लील कटाक्ष गर्नु, दुर्योधनलाई युद्ध प्रेरित गरेर नरसंहारलाई निमन्त्रणा दिनु सज्जन कर्णलाई सुहाउने कुरा थिएन। तथापि, उनी दुर्योधनको पक्षमा पुग्नु अनौठो थिएन।

दुर्योधन क्षत्रीय कुलीनताको भन्दा वीरताको सम्मान गर्थे। राजाका ज्येष्ठ पुत्र नै भविष्यमा राजा बन्ने राज परम्पराअनुसार पाण्डवहरूलाई राज्यमाथि अंश दाबी गर्ने अधिकार पनि थिएन। भीम सानैदेखि हदै खलेपु थिए। उनी रूख हल्लाएर हाँगामा बसेका कौरवलाई खसाल्थे। जुल्फी पक्री फनक्क घुमाएर पाहाजस्तै पछार्थे। पोखरीमा निःसासिने गरी डुबाइदिन्थे। यही सम्झेर दुर्योधनले आफ्नो राज्यमाथि खतरा देखी पाण्डवलाई पन्छाउन खोजे। कति अवस्थामा पाण्डव दुर्योधनसँग सम्झौता गर्ने मनस्थितिमा पुग्थे। कृष्ण बारम्बार युद्धका लागि उचाल्थे। तर, आफैं राजपाठबाट गहलहत्याइँदा पनि पाण्डवको क्षत्रीय र राजकुलीन अभिमान हदै उत्ताउलो थियो। तिनको यही जातिवादको अहम्ले कर्णलाई दुर्योधनको घेरोमा धकेलिदिएको थियो।

तथापि, कर्ण आफ्नो सत्यनिष्ठा, दयालुपन र दानी स्वभावबाट डगमगाएनन्। युधिष्ठिर जुवामा पराजित भएपछि दुर्योधनले द्रौपदीलाई सभामा घिच्याएर ल्याउन कर्णलाई अह्राएका थिए। दुर्योधनको अन्यायपूर्ण आदेशका लागि उनले द्रौपदीसँग माफी मागे। द्रौपदी रजस्वला भएर एकवस्त्रा रहेकी थाहा पाउँदा त्यसै फर्के। दुर्योधनले षड्यन्त्रपूर्वक पाण्डवको हत्या गर्ने योजनालाई कायरता भन्दै दुत्कारे।
महाभारत युद्धमा उनले देखाएको अद्वितीय वीरताका अनेक घटना छन्। उनले अश्वमुख नामक वाण प्रहार गर्दा कृष्णले चलाखी गरेर रथ ननुहाएका भए अर्जुन स्वयं मारिने थिए। तैपनि कर्णको वाणले अर्जुनको किरिट र मुकुट उछिट्टियो। अरू चार पाण्डवको त उनले सातै लिएका थिए। अन्ततः कर्ण स्वयं युद्धको नियमविपरीत अर्जुनको ब्रह्मास्त्र प्रहारबाट मारिए। हिलोमा जाकिएको रथको पांग्रा उठाउन लाग्दा निःशस्त्र कर्णमाथि प्रहार गर्न कृष्णले आदेश दिए। कर्णले युद्धको नियम सम्झाउँदा कृष्णले उनको खिल्ली उडाए। कर्णको सहादतपछि सञ्जयले भनेका थिए, ‘याचकले माग्दा जसले सदैव दिन्छु भन्यो, याचकका लागि जसले कहिल्यै हुन्न भनेन, जसलाई सज्जनहरूले सदैव सत्पुरुष माने, तिनै कर्ण आज युद्धमा मारिए। याचकरूपी पन्छीहरूको कल्पवृक्ष ढल्यो।’

स्टार प्लसको शृंखलामा कर्णको ब्रह्मास्त्रबाट अर्जुनलाई बचाउनु असम्भव भएपछि कृष्ण भागेझैं गरी अर्जुनको रथ यस्तो दलदलतिर लैजान्छन् जसलाई पछ्याउँदै जाँदा कर्णको रथ भासिन्छ। आचारसंहिताविरुद्ध अर्जुनको प्रहारबाट कर्ण मरणान्त हुँदा आर्तनाद गर्दै कुन्ती पाण्डवहरूलाई कर्णको असली परिचय दिन्छिन्।’ पाण्डवहरूले खै गर्दा आमा कुन्तीलाई बचाउँदै कर्ण भन्छन्, ‘यो सब मैले गर्दा भएको हो प्रिय अर्जुन। म तिमीलाई हराउन चाहन्थेँ। छल गरेर तिमीले ममाथि विजय प्राप्त गरे पनि धर्म र नैतिकताका दृष्टिले त मैले नै तिमीलाई पराजित गरेँ! किनभने कृष्णको छल बुझ्दाबुझ्दै मैले तिमीमाथि कहिल्यै छलपूर्वक प्रहार गरिनँ।’

(स्रोत : Nagariknews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.