“यसको केश काटेर डल्लै बजार घुमाउनुपर्छ,“ – फलानोले भन्यो।
“छात्तीमा नाम पनि लेख्नुपर्छ….मज्जा आउँछ,” ढिस्काले थप्यो। ”छिनार…..गाउँको नाम नै बदनाम गर्यो यसले,” अर्को एकजना चिच्यायो।
“लोग्ने पो त्यस्तै अरे! हुनु पनि सुख-सम्पत्तिले मात्रै सबै आइमाईलाई घरमा बाँधेर कहाँ राख्न सक्छ र !” पर एककुनामा बसेका आइमाईहरु कानेखुशी गर्नथाले। ”हो नि ! पहिलेको स्वास्नी पनि भागेको अरे! अन्त यो छोरा पनि त उसको होइन’रे,” अर्की चुप बस्न सकिन।
” हो र ?” बाठी चाहिँले बुझपचाई।
” लौ ठीकै छ, सबै एकछिन चुप लागी बस्नोस्……के फैसला गर्न पर्ने हो पञ्चायतले गरिहाल्छ ,” बसेको पञ्चायतको छानिएका सभापति भुँडे-मोटे कार्की दाइले भने।
” केको फैसला ? लात्तै-लात्तीले छादुन्जेल दिनुपर्छ आफै ठेगान लाग्छ,” जोशिला युवक रमेश आफ्नो पाखुरा सुर्काउँदै पिटौंला जस्तै गरी अघि बढ्यो।
पञ्चायतमा भइरहेका यी सबै तर्कहरु सुन्दै बेञ्चीमा बसेर आफ्नै धुनमा एकाग्र थिएँ। मेरो चोर आँखा भुइँमा टुसुक्क बसेकी करुणामाथि थियो। राम्री पनि त औधीं। किन पो केटाहरुले गति नछाडुन त। उस्तै कन्ये तरुणीहरुलाई सुन्दरतामा परै छाड्ने नाकनक्श भएकी। गोलो पहाडी मुहार, तिखा आखाँ, मिलेको नाक अनि गोरो गालामा सानो कोठी, सुहाउँदिलो कद – त्यसै हेरुँ-हेरुँ लाग्दी। एउटी नानीकी आमा नै भए पनि गजबको आकर्षण थियो उसको शरीरमा। मैले आफ्ना लोभी आखाँहरुलाई उसको शरीरभित्र जति गाड्न सक्थे त्यति गाडें।
” पिटामारले फैसला हुदैन भाइहरु हो…..कुरा भनेको सधैँ न्यायसङ्गत गर्नुपर्छ….” सभापति कार्की दाइले रमेशलाई हप्काए। मानवीय गुण होला उनको। मानवप्रति सहानुभुति।
” हैन एकदम ठीक हो दाइ…..यो केटा र यो आइमाईलाई भक्कु कुट्यो भने साउँ-सुद बराबर हुन्छ,” जिब्रोलाई लड्बडाउँदै लोग्ने उमेशले आफ्नो मनभित्रको बहलाई पोख्यो। सबैको आ-आफ्नो दु:ख हुन्छ , मनको व्यथा हुन्छ। एकाअर्काको मनको व्यथाहरु बुझ्न सके सन्सारमा थुप्रै थोकको परिभाषा नै बेग्लै हुन्थ्यो। गालाभरि लछ्प्रै कालो दाह्री र बेतरकीबले लगाएको प्यान्ट र शर्टमा उमेशको भाव-भङ्गिमाले ऊ मातेको स्पष्ट देखिंदै थियो। आर्थिक दृष्टिकोणले सम्पन्न सुशील उमेश त्यसो त कहिले मात्दैन तर आफुमाथि आइपरेको विपत्ति खप्न नसकेर मातेको होला…..दु:ख भुलाउन।
“तपाईं चुप्प लागेर बस्नोस…….पिटामार नै गर्नु थियो भने पञ्यायत बसाल्ने केही काम नै थिएन….अब के गर्ने हो त्यो पञ्चले फैसला गर्छ,” सभापतिको आदेश। सोझो र सरल उमेशले हुन्छ भन्ने पाराले टाउको र हात हल्लायो।
”तिमी के भन्छौ भाइ?……..तिमीलाई तिम्रो आमा-बाबाले यहाँ पढ्नु पठाएको कि बदमासी गर्नु…लाज लाग्दैन तिमीलाई…!: मुन्टो निहुराएर नगिचै उभिएको कलिलो भाइ रञ्जनतिर फर्केर कार्कीदाइले सोधे। संसारमा नचिताएका थुप्रै कुराहरु हुन्छ्न। प्रोढ तर आकर्षक करुणा र रञ्जनमाझ यस्तो अनैतिक सम्बन्ध होला भन्ने कमैले आशा गरेका थिए। अस्ति गाउँकै एकजना भाइले प्रत्यक्ष भेट्ट्याउँदा पो निकै हल्ला मच्चियो। उमेश र करुणामाझ महाभारत नै भयो। घरको वातावरण अशान्त भयो र यो लन्ठा मेटाउन पञ्चायत बस्न पर्यो। अब दुइ सङ्गै नबस्ने भएका छ्न – उनीहरुको अन्तिम फसेला।
”भन भाइ ! के गर्नु तिमीलाई ?” सभापति कार्कीदाइ यसपल्ट निकै जोरले चिच्याए – “बिगार्ने बेलामा लाज लाग्दैन अहिले लाज मानेर हुन्छ!” सानो भाइ रञ्जनको सातोपुत्लो हरायो होला- झन शब्दै निस्केन उसको मुखदेखि। मुन्टो निहुर्याएर आफ्नो अपराधको सजाय भोग्न मौन स्वीकृति प्रदान गर्यो उसले।
”यसको पनि केश-सेश काटेर नाङ्गो-बनाएर सिस्नुले कुट्दै पुरै गाउँ डुलाउनुपर्छ ,” हुलमा उभिएका एकजना सभ्य भद्रपुरुशले आफ्नो मन्तव्य प्रकट गरे।
”अन्त सर तपाईं के भन्नुहुन्छ ?” ध्यानमग्न भएर करुणालाई नै एकटक हेरिरहेको थिएँ…. कार्कीदाइको प्रश्नले म खङ्ग्रङ्ग भएँ। ”हजुर ,” भनेर आत्तिंदै उनितिर हेरें। मनभित्रको चोरले भाग्ने ठाउँ पाएन। ” तपाईं के भन्नुहुन्छ ?” आँखालाई चञ्चल पार्दै मतिर हेरेर हाँस्दै कार्कीदाइले प्रश्नलाई दोहोर्याए।
”खै……तपाईंले जे मनासिब सम्झिनुहुन्छ त्यसै गर्रौं,” यति मात्र भन्न सकें। कठोर र निर्दय सास्तीको पक्षमा म थिइँन तर भन्ने आँट गर्न सकिनँ।
”करुणा तिमी उसित पक्कै नबस्ने होइन त ?” कार्कीदाइले उमेशतिर औंल्याउँदै करुणालाई सोधे। प्रत्युत्तरमा करुणाले टाउको हल्लाउन अघि उमेश चिच्यायो –“ मसित यो बस्ने होइन….म पो येसलाई घरमा राख्दिनँ…..पातर्नी….!”
”ठीकै छ ! तिमीहरु यस्तै चाहन्छौ भने करुणाको बस्ने चाँजो नमिलुञ्जेल तल धाराघरमा बस्नु….आजैदेखि…..अनि एकदुइ दिनमा तिमी आफ्नो बस्ने ठाउँको ठेगान लगाउनु…ठीकै छ होइन ? कार्कीदाइले निर्णय सुनाए। स्वीकृतिमा मातेर अस्थिर भएको आफ्नो टाउको हल्लायो उमेशले। कार्कीदाइको कुरा काट्ने साहस छैन उसित….असलमा कसैसित पनि छैन।
केही नबोली करुणा मुन्टो निहुर्याएर बसिरही निष्कृय ज्वालामुखीसरह।
” तर त्योभन्दा अघि यो अलच्छिनीको केश काटेर मुडुले बनाएर डुलाउनुपर्छ…..तब पो चेत्छ येस्ले,” विरक्तिएको उमेश बडबडाउन थाल्यो – “यो मोरो कुकुरलाई मैले कत्ति सघाएँ…मेरै घरमा डाका हाल्यो येस्ले…येस्लाई त कालो मोसो दलेर डुलाउनुपर्छ…मेरो घर बर्बाद गर्ने असली दुश्मन यै हो ,” रञ्जनप्रति आफ्नो रीस पोख्यो उसले।
”हो नि…..यस्ताहरुलाई त भक्कु धुलाइ गर्नुपर्ने!” हुलदेखि एकदुइजना कराए।
”यस्ता केरेक्टरलेसहरु भएको ठाउँमा छोरी-चेली राख्नु पनि अप्ठ्यारो हामीलाई त !” अन्यहरुले मन्तव्य पोखे।
”हुन त यस्ताहरुलाई यस्तै सजाय दिनुपर्ने हो तर न्याय-कानुन आफ्नो हातमा लिनु भएन…न्याय-कानुन अनुसार फैसला गर्नुपर्छ नत्र भरै केही नराम्रो भैहाले जिम्मा कसले लिने ? गाउँनै विपत्तिमा फँस्छ,” कार्कीदाइको अनुभव बोल्यो। फसेला भयो। ”करुणा ! तिमी एकदुइ दिन तल धाराघरमा बस्नु….आइमाई भनेर त्यति दया गरेको नि! त्यसपछि आफ्नो बस्ने ठाउँ खोजेर गइहाल्नु…बुझ्यौ ?” कार्कीदाइले करुणालाई यति भनेर रञ्जनतिर फर्केर फसेला सुनाए-“तिमी चाहिँ भोलि बिहानै यो घर छोडेर अन्तै जानु…..पर्सी यो गाउँमा तिमीलाई देख्यौं भने तिम्रो जिम्मा तिमी आफै लिनु….म केही जान्दिनँ…ठीकै छ होइन सर ?” कार्कीदाइले सुनाएको फसेलामा मैले “ठीकै हो” भनिसकेपछि कसैले विरोध गर्ने आँट गर्न सकेनन। पञ्चायत बर्खास्त भयो। सबैले रञ्ज्नलाई धिक्कार्दै सराप्दै अनि लालायित आँखाले करुणाले नियाल्दै बाटो लागे।
पञ्चायत बसेकै साँझ।
झमक्क अँध्यारो भइसकेको थियो। आफुलाई लागेको हरहर तिर्खा मेटाउन म बिस्तार तल धारातिर जाँदै थिएँ बाटैमा फर्किंदै गरेका कार्कीदाइसित जम्का भेट भयो।
हामी दुवै ट्वाल्ल पर्यौं।
(स्रोत : Samakalinsahitya)