चुरे पहाड पेरिफेरी चुलाचुली । एउटा अजङ्ग गोहिको दाँत जस्ता तिखा होचा अग्ला पहाडहरु । त्यही पहाडको चेपबाट बग्दै आउने मौवा खोला । बर्खा मासमा मै हुँ भन्ने लाठेहरु पनि कति चीत पर्छन् तर, हिउँदमा भने तरुनीको घुँडा सम्म भिजाउन नसकेर भाग्छ उँदै उँदै मधेसतिर ।
मौंवा खोलाको सातौँ जँघार तरेर ढाकरमा तोक्मा लाउँदै पुर्नेले एक थकान खुइया मा¥यो, ‘उइस् ! एति बिहानै यो घाम नि के विधि चर्केको हाओ । मंगलसिं, डबले र कोक्मा ठूलेले पनि तोक्मामा भारी थमाउँदै उसै गरि खुइया मारे । यति बेला मधेस त झन् कस्तो होला गाँठे ! डबलेले निधारको पसिना चिम्सिले खुक्र्याउँदै भन्यो । ‘मान्छे त उसिन्या आलु जस्तै होइन्छ होला ।’ मंगलसिंले अनुमान ग¥यो ।
यति कुरा हुँदा पुर्नेले ढाकर उठायो, ‘हाइया !’ तोक्माहरु बज्दै थिए, टक्रक् टक्रक् टक्रक् .. . ! झिसमिसे मै जुनको उज्यालोमा मधुमल्लाबाट नुनको भारी बोकेर हिँडेका पुर्ने, कोक्मा ठूले, मंगलसिं र डबलेले यही मौवा खोलाको नौ जँघार तर्न अझैँ बाँकी छ । तब पेरुङ्गेको चेपारो, त्यहाँ देखि टोड्के कुसुण्डेको ठाडो उकालो । बाटो सम्झेर साध्ये छैन ।
यो बाटोमा यी चार प्राणीहरु मात्र छैनन् । यसरी ढाकर बोकेर उकालो ओरालो गर्नेहरु वा सुन्तला, कुचो, आदिको भारी लादेर मधेस झर्नेहरुको लर्को लामो छ । किराना पसलका सामान, तेल, मट्टीतेल बोकेर उकालो चढ्नेहरुको हुल पनि कम छैन । पान्थरको दक्षिण भेगमा बस्नेहरुका लागि पहाड–मधेस गर्ने यो मात्र एउटा चल्तीको बाटो हो ।
मौवा खोलाको अन्तिम जँघार तरेपछि, थकाई मार्न ढाकर बिसाएर कटुवा बेर्दै कोक्मा ठूलेले आउँदै गर्ने मान्छेलाई औंल्याउँदै भन्यो, ‘हाउ, उ.. त्यो आउने प्रभु माइला जस्तो छ नि ? हिँडाइ त ।’
‘हो हाओ पक्कै !’ छेउ नआइपुग्दै मंगलसिंले सोधिहाल्यो ।
‘हाओ, कताबाट हो प्रभु माइला ?’
प्रभु माइलाले मुसुमुसु हाँस्दै छेउमै आइपुगेर भन्यो, ‘म त यसो सु समाचार बाँढ्न मधेस झरेको थिएँ । फर्कदै गरेको ।’
‘के को समाचार हाओ माइला ?’ डबलेले हत्तपत्त सोध्यो ।
‘प्रभु येसूको सुसमाचार ।’ प्रभु माइलाले भन्यो ।
‘धत् ! म त !’ डबलेले आफ्नो निधार प्याट्टै हिर्कायो ।
‘माइला त आजै सप्तमी नभा नि रबि पुग्छ होला । गफसफ गर्दै जानु हुन्थ्यो । के गर्नु ? बाटो मिले पनि भारी मिल्दैन ।’ कोक्मा ठुलेले कटुवाको ठुटो निभाउँदै भन्यो ।
‘जाउँला नि काका गफ गर्दै । प्रभुको कृपाले मलाई त केही हतारो छैन ।’ प्रभु माइलाले भन्यो ।
‘लु ः हाओ उठुँ !’ कोक्मा ठूलेले उठ्दै भन्यो ।
‘लु ः लु !’ सबै ज¥याक जुरुक उठे । कोक्मा ठूले अघि अघि पछि पछि तीन भाइ । पुच्छरमा प्रभु माइलाले काँधमा एउटा सानो झोला भिरेर पछ्यायो । त्यो सानो छोलामा एउटा बाइबल, केही येसूका समाचार छापिएका साना मसिना पुस्तिकाहरु होलान् । अरु धेरै भए एक जोर फेर्ने लुगा होला । झोला हेर्दा यस्तै अनुमान हुन्थ्यो । प्रभु माइला नाम हुनु अघि उसको खास नाम केशमान थियो । गाउँघरमा माइला भनेरै बोलाइन्थ्यो । ख्रिस्टियन धर्म अनुसरण गरेपछि केशमान ख्रिष्टमान भए । गाउँलेहरुले यो नाम उच्चारण गर्न अप्ठेरो लाग्यो । र सँधै प्रभुकै मात्र कुरा गर्ने भएकाले गाउँलेहरुले नाम राखिदिए, प्रभु माइला ।
प्रभु माइलाको सुतिखेति भन्नु नै प्रभु येसू थियो । जे कुरा गरे पनि, जहाँबाट कुरा सुरु गरे पनि आखिरमा उ प्रभुकैमा कुरा पु¥याउँथ्यो ।
‘पापबाट मुक्ति प्रभु येसूले मात्र दिन्छन् । स्वर्गको बाटो भनेकै प्रभुलाई विश्वास गर्नु हो । मेरो काम भनेको प्रभुको समाचार तपाईहरु जस्ता निमुखा अन्धकारमा रहेकासम्म पु¥याउनु मात्र हो । विश्वास गर्ने नगर्ने तिमीहरुको कुरा । तर, कुरा सत्य हो ।’ प्रभु माइला यहाँ पनि सुरु भइसकेका थिए ।
ढाकरमा तोक्मा लगाउँदै डबलेले भन्यो, ‘आरिन ! हाम्ले त पापै गरेको छैन ।’
‘ल, मान्छे त जन्मदै पापी हुन्छ । तिमीले जानी नजानी कति पाप गरिसकेका छौ ।’ प्रभु माइलाले भन्यो ।
‘नजानीकन गरेको पाप त माफ हुन्छ भन्छन् ।’
‘माफ हुन्छ तर, माफी प्रभुले मात्र दिन सक्नुहुन्छ ।’ प्रभु माइलाले आफ्नो प्रभुको जयगान गायो ।
‘हाम्रो देवी देउताले नि दिन्छन् होला ।’ मंगलसिंले कुरा राख्यो ।
‘धत् ! त्यस्ता ढुङ्गा मुढाका देउताहरु । के कुरा गरेको मंगलसिं, अलिकति पढे लेखेको तिमी त, कुरा बुझ्छ होला भनेको झन् पो लाटा रैछौ छ्या । यो हिन्दु धर्म भनेको यस्तो असभ्य पाखण्डी राक्षस धर्म हो । जहाँ ढुङ्गालाई बलि दिन्छन् ।’
‘होइन हाओ, हामी त किराँती पो त माइला ।’ प्रभु माइलाको कुरा बिचैमा काट्दै डबलेले भन्यो ।
‘होइन के कुरा ग¥या ? यो किराँती भनेको पनि हिन्दु नै हो । सुँगुर कुखुरा काट्छौ, माङको नाममा जाँड रक्सी खान्छौ । त्यहि हिन्दु देवी देउता भएको मन्दिरमा जान्छौ । मुर्ती पुजा गर्छौ । कुरा एउटै होइन अनि ?’
‘फरक छ होला हाओ माइला ।’ डबलेले फेरि बिचैमा कुरा काट्दै भन्यो ।
‘फरक केहि पनि छैन डबले । हेर, किराँती भए पनि हिन्दु भए पनि यी जाने भनेको सबैले नर्कनै हो । फेरि के नै गरेको छ र, किराँत धर्मले ? किराँती माङसामाङले खोई के दियो तपाइहरुलाई ? ढाकर बोकेर सधैँ खाएका छौ । सधैँको दुःख । ल, मलाई हेर तिमीहरुको जस्तो जहान बच्चा मेरा पनि छन् । तै, खाएकै छौँ ,लाएकै छौँ । छोराछोरी दार्जेलिङ पढ्दैछन्, मिसनेरि स्कुल । ल, हेर्न प्रभुको कृपा ।’ प्रभु माइलाले धारा प्रवाह दियो ।
चारै जना चुपचाप भए । झन्नैझन्नै पेरुङ्गेको आधाबाटो काटेपछि कोक्मा ठूलेले ढाकर बिसाउँदै भन्यो, ‘भोकले.., अब, याँ देखि माथि साह्रै हिँड्न सकिदैन जस्तो लाग्यो, साथी हो बिसाउँ ।’ भोक र थकाईले होला केही नबोली सबैले आफ्नो ढाकर भित्तामा अढेस्याएर बिसाए ।
कोक्माठूले चुर बेर्न बस्यो । मंगलसिहं भात तिहुन पकाउने दाउरा खोज्न झाडी पस्यो । डबले चुला बनाउन लाग्यो । पुर्नेले चारैभाइको ढाकरबाट चामल बटुल्न लाग्यो । प्रभु माइला भने अपरिचित जस्तो भएर ढुङ्गा माथि चढेर रमिता हेर्न लाग्यो । एकैछिनमा सबैकुरा जोडजाड गरेर भाततिहुन पकाउन लागे । एउटा चुलामा डेक्चीभरी चामल नाच्दै थियो । अर्को चुलामा कराहिमा किनामा उम्लिदै थियो ।
बाटो हिँड्नेहरुमा किनामा मन नपराउँनेहरु नाक खुम्चियाउँदै हिँडेको देखेर रसिक हुँदै पर सियाँलमा बसेको पुर्नेले भन्यो– ‘ओए, डबले ! मान्छेको चोखे लाग्छ है, छोःछोः गर !’ सबै गलल हाँसे । भात तिहुन सबै तयार भएपछि कोक्मा ठूले भाग लाउन बस्यो । बराबरी गरेर चार भाग लगायो ।
केही ठूलै कुरा बिर्सेजस्तो अत्तालिँदै कोक्मा ठूले करायो, ‘हत्तेरिका हाओ ! प्रभु माइलालाई त बिर्सेछौँ नि ।’ सबैको भागबाट एक एक चोइली झिकेर कराहीमा प्रभु माइलाको लागि भाग बनाए ।
प्रभु माइलालाई खान बोलाउँदै पुर्नेले साथीहरुलाई भन्यो, ‘लु, थालुङ् पो ।’ सबै जनाले खान सुरु गरे ।
प्रभु माइला भने । प्रार्थना गर्न दुवै हात बाँधेर बसे, ‘प्रभु ! तपाईको कृपाले यसरी नै खाना पाएको छु । तपाईलाई लाख लाख…. ’ मङ्गलसिं जुरुक्क उठ्यो र केही नभनी प्रभु माइलाको भागको कराही उठाएर पर बाटोमा फाल्यो ।
माईला अक्मक्यो प्रार्थना बिचमा बिस्र्याे पनि । ‘खन्द्रयाङग’ गर्दा मात्र अरुले चाल पाए । मंगलसिं रिसायो– ‘लु जाँ… ! तेरो प्रभुलाई माग अब । यहाँ हामीले आफ्नो गाँस काटेर दे’को पनि तरो प्रभुले दे’को रे ।’
अरु साथीहरु के भन्नु ? के बोल्नु ? भएर मुख भित्रको गाँस पनि निल्न बिर्सेर बसिरहेका थिए । प्रभु माइलाले भने रातोपिरो मुख बनाएर मंगलसिंलाई एकोहोरो हेरिबसेका थिए ।
भूइँमा आँखा झुकाउँदै प्रभु माइला बोल्यो– ‘ठीक छ केही छैन, प्रभुले दिनु भएको थियो उहाँले नै लिनु भयो ।’
‘फेरि, यो मु* !’ मंगलसिंले अगुल्टो टिपेर प्रभु माइलालाई झम्टिन खोज्दा डबलेले रोक्यो ।
झगडा हुने सम्झे पछि कोक्माठूलेले भन्यो,– ‘ओए माइला, आफ्नो बाटो समा । बसिरहिस भने बित्थामा कुटाई खान्छस् । ओए मङगलसिं, तँ पनि चुप बस, खा ।’
‘सुँगुरको खोरमा हिरा भएँ ।’ प्रभु माइला हिँड्यो । मङ्गलसिंको रिस मरेकै थिएन, बेस्मारी भात मुछ्दै भन्दै थियो,–‘मुलाङको प्रभुको इच्छा !’
(स्रोत : Ruprekha)