व्यङ्ग्य कविता : आफ्नो भाग्य आफैं कोरौं

~चट्याङ मास्टर~Chatyang Master

स्कुलले परीक्षाफल प्रकाशित गर्‍यो
महान विद्यार्थीको सिङ्गै समूहलाई फेल गर्‍यो
बाध्य भएर महान विद्यार्थीको सशक्त समूहले
खबरदारी शभाको आयोजना गर्‍यो
स्कुल चौरमा शक्ति प्रदर्शन गर्‍यो

सबै जाति, जनजाति, लिङ्ग, बर्ग र समुदायका विद्यार्थी
जांच नदिएका, दिन नसकेका र दिन नपाएका विद्यार्थी
बर्षौदेखि परीक्षामा फेल गराईएका र भएका विद्यार्थी
कयैन आन्दोलनका घाईते र सहिद विद्यार्थी
सम्पूर्ण विद्यार्थीको त्यत्रो त्याग तपस्या र बलिदानको अपमान गर्दै
स्कुलले परीक्षाफल प्रकाशित गर्‍यो
महान विद्यार्थीको बलिदानी समूहलाई फेरि फेल गर्‍यो
विद्यार्थी बिरोधि चरित्र प्रदर्शित गर्‍यो।

स्कुलले विद्यार्थी माथि दमन शोषण अन्याय र अत्याचार गर्‍यो
सामन्त बादी, नोकरशाही, बिदेशी दलालको चरित्र प्रदर्शित गर्‍यो
आन्दोलित विद्यार्थी समूहसँग बिगतमा पटक पटक भएको
सहमति र सम्झौताको बेवास्ता गर्‍यो।
बर्सौंदेखि दमित, दलित, शोसित, अपहेलित विद्यार्थीमाथि फेरि आक्रमण गर्‍यो
स्वाभिमानी विद्यार्थीको पास हुन पाउने अधिकारमा निर्मम प्रहार गर्‍यो
स्कुलले आफ्नो सर्बसत्ताबादी चरित्र प्रदर्शित गर्‍यो
महान विद्यार्थीको सिङ्गै बलिदानी समूहलाई फेल गर्‍यो।

विद्यार्थीको काम पढ्नु हो, यो हामीलाई कसैले सिकाई रहनु पर्दैन
तर यो आजको असामान्य परिस्थितिमा सामान्य नियम लागू हुँदैन
सिङ्गै सिक्षा नीति संक्रमण कालबाट गुज्री रहेको छ
विद्यार्थीको भविष्य विद्यार्थी आफैले लेख्ने बेला आएको छ
शिक्षक हुनेले सत्ता र शक्तिको दम्भ नदेखाए हुन्छ
हामी सप्पै विद्यार्थी एकजुट भएर स्कुल कब्जा गर्यौं भने
आजसम्म फेल भएका र फेल गराईएका सप्पै विद्यार्थी पास हुन्छौ
उपस्थित सबै फेल विद्यार्थी साथी हो!
अब परीक्षाफल स्कुलले होइन, यही आम सभाबाट प्रकाशित गर्छौ

हामी एकजुट भएर यो आन्दोलनलाई सफल पारेपछि
हामीले स्कुल कब्जा गरेपछि
सप्पै विद्यार्थी पास हुने छन्
उनीहरुले पास गराएका मात्रै डाक्टर इन्जिनियर वकिल प्राध्यापक हाकिम हुने
बर्तमानको यो अन्यायपूर्ण परम्परागत शोषण र दमनकारी प्रणालीको अन्त्य हुने छ
अनि, आन्दोलनकारी शक्तिका सप्पै साथीहरु
डाक्टर इन्जिनियर वकिल प्राध्यापक हाकिम हुनु हुने छ
आउनुहोस, आजको यो महान क्रान्तिलाई सफल पारौं
मास्टर चुटौ, बेञ्च ब्ल्याक बोर्ड तोडौं, प्रशासनकाको टाउको फोडौ
महान क्रान्तिकारी विद्यार्थीको शक्ति प्रदर्शन गरौँ
आफ्नो भाग्य आफैं कोरौं!

प्रकाशित मिति: आइतबार, फाल्गुण १७, २०७१ १०:०८:५९

(स्रोत : setopati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.