मुलुकका अनेक दलमा मेरा साथीहरू थिए
एउटा दलको साथीले
मेरो शिरको टोपी माग्यो
मैले दिइनँ
उसले अरु दलसँग मिलेर
मेरो विरुद्ध जुलुस गर्यो
मेरो टोपी खोस्यो र लगायो
दोस्रो दलको साथीले कोट माग्यो
तेस्रो दलको साथीले सर्ट माग्यो
चौथो दलको साथीले पैण्ट्स माग्यो
पाँचौँले जुत्ता, छैठौँले मोजा माग्यो
सातौँ दलको साथीले कट्टु माग्यो
सर्वाङ्ग उदाङ्गो हुन लाज लाग्यो, र
वस्त्रहरू दिन मैले ठाडै इन्कार गरेँ
उसले सर्वदलीय मोर्चा गठन गर्यो
उनीहरुले ठूलो आन्दोलन चलाए, जुलुसले घेरे
मलाई समाते, लतारे, लडाए
पाता फर्काएर बाँधे, अनि
एक एक वस्त्र लुटेर मेरा
उनले बाँडेर लगाए आधारातमा, र
मलाई सिंहदरबारतिर हिनाउँदै उनीहरुले
अन्तिम नारा लगाउन थाले –
“विक्रम सुब्बा – नांगो छ !
म जुलुसमा हिँड्दै सोच्दै थिएँ-
संविधानको कुन रित्तो छातीमा
म पस्ने नांगो राज्य तोक्ला सायद-
म त्यही नांगो राज्यको मुख्यमन्त्रीका रुपमा
गए राति सर्वदलीय सहमतिमा चुनिएको हुँ !!
र त सर्वदलीय शीर्ष मानिसहरू
खुसीले उफ्रीउफ्री नारा लगाइरा’छन्-
“विक्रम सुब्बा – नांगो छ ! विक्रम सुब्बा – नांगो छ !!”
(२०७२ श्रावण २४)
(स्रोत : Esamata )
Pingback: कविता : नांगो छ ! | harishjoshi1's Blog