कथा : अस्मिता

~शिव प्रकाश~SHiva Prakash

जीवनको सरल रेखालाई समयले एकाएक बङ्ग्याइदियो ! आज म मेरा मनका भित्ताहरुलाई चिर्छु र उदाङ्गो बनाउँछु आफूलाई । एउटा वसन्त मरिसक्यो ! थाह छैन, अर्को आउँछ कि आउँदैन ? बरु अब मेरो जीवनमा कुनै वसन्तहरु नआउन् !
सोचेँ, सोचेँ, धेरै सोचेँ ! फेरि सोचेँ– आज म किन यसरी सोचिरहेकी छु, आवश्यकता भन्दा बाहिर ? आजको यो रात निद्राको रात भएन, छट्पटीको रात भयो । मेरा लागि कुनै रातहरु यस्ता भएका थिएनन् । कि यो रात आफै छट्पटाएको हो ? नत्र यसरी म कहिल्यै छट्पटाएकी थिइन ।
फेरि सोच्छु– भोलि सबै कुरा भन्छु तर भोलि कहिले हुन्छ ? किन यो रात झन् झन् लम्बिदै छ ? मनोवादका भँगालामा किन रुमलिरहेकी छु, म ? म छट्पटीको आहालमा डुब्दैछु । सायद छोरी हुनुको सजाय हो यो मलाई ? झन् झन् प्रशव बन्दै एउटा पीडापीण्ड मभित्र हुर्किरहेको छ तर यसको आयतनलाई अब फैलन दिन्न । भोलि सबै कुरा बा–आमासँग भन्छु ! भन्छु ! भन्छु !! भन्छु !!! निस्कर्ष निकाल्छु– मैले नभनी हुदैन ।
तर किन भन्नु ? कसले बुझ्छ मेरो कुरा ? फेरि कसले पत्याउँछ मेरो विवशता ? मलाई किन कोही चाहियो र कसैलाई यो सबै बताउनु ? के छैन मसँग ? केको कमी छ मलाई ? आई टिको डिग्री छ, जागिर छ,पैसा छ, सुख छ, सुविधा छ, अनि त्यसमाथि अमेरिकाको बसाइ । सबै छ । अरु के चाहियो ? तर पनि आज किन सबै भएर पनि केही नभए जस्तो लागिरहेको छ । किन आफूलाई नितान्त रित्तो, खाली र तन्नम जस्तो भेटिरहेकी छु ? एक्लो पाएकी छु ।
जे होस् मभित्र जे छ, छ ! म त्यसलाई मभित्रै राख्छु । तर नभनेर पनि कति गुम्स्याउने ? चिप्लेकिराका सिङ् जस्ता यी गुम्स्यावटहरु घरी बाहिर घरी भित्र गरिरहेछन् । अझै कति गुम्साउनु यी उकुसमुकहरुलाई ?
हरेक पटक ठान्छु, अर्को पटक भन्छु तर हेरक अर्को पटकहरु फेरि अर्कोपटकमा सरिरहेका छन् । जे होस् यसपटक म अवश्यै भन्छु । तर अरु त अरु बा–आमाले पनि सायद मेरो विश्वास गर्नु हुन्नहोला ! उहाँहरु पनि यही समाजको परिवार हो । म उहाँहरुको नजरमा पनि सायद दोषी भै सकेकी छु ।
हो, मेरो कोही साथी छैन तर म आफै मेरो साथी हुँ । मलाई यहाँसम्म ल्याउन मैले नै मलाई सहयोग गरेकी हुँ । मलाई अरु कोही किन चाहियो ? आखिर मान्छे सबै वसन्त जस्तै हुन् । उ, उसका लागि बाँचेको छ तर मेरा लागि मरिसक्यो । त्यो चिसो मुर्दालाई अब म किन व्युँत्याउँछु ? अझ चिसिन दिन्छु ।
यो रात छिटो कटिदिए हुन्थ्यो । हरेक शनिबार जस्तै भोलि पनि बा–आमाको फोन आउँछ । आज सात वर्ष भएछ म अमेरिका आएकी पनि । यी सात र्वषमा कयौ रातहरु विते तर कुनै रातहरु यस्ता लामा भएका थिएनन् । कुनै रातले मलाई यसरी चिढ्याएका थिएनन्, सताएका थिएनन्, अत्याएका थिएनन् ! विचलित बनाएका थिएनन् ! कामको बोझ पनि त्यतिकै छ, कहिलेकाहीँ खान पनि विर्सिन्छु । अमेरिकाको आर्थिक मन्दिले गर्दा जागिर जोगाउन पनि गाह्रो छ । यो गाह्रोलाई सजिलो बनाउन आवश्यकताभन्दा बढी काममा घोटिनु परेको छ । छट्पटी झन् बढेर आउँछ । ओल्टोकोल्टो फेर्दै निदाउँन खोज्छु, निद्रा लाग्दैन । आफैसँग आफ्नै बातैबातमा रात बित्दैछ । रातभर ओरिपरिका भित्ता र पर्खालहरु हेरेर थाकोका आँखा लठ्नि थालेका मात्र छन्, मस्तिष्कमा बाको फोनको आवाजको आभाष भइरहेछ । नभन्दै फोन आयो ।
– हलो ! मिसु म बा बोलेको ! ल शुभकामना !
– के को शुभकामना, बा ?
– वसन्त आएकोमा !
म अचानक स्तब्ध भएँ । बा बोलिरहनु भएको छ । म सुनिरहेकी छु । के भनुँ, नभनुँ जस्तो भो । बाले कसरी थाह पाउनु भो वसन्तको बारेमा ? कताकता अलिकति त्रास, अलिकति संकोच अनि अलिकति लज्जाको चुली भित्रभित्रै चुलिन थाल्यो । मनमा शंका उपशंकाहरु हुर्हुती बले पनि मुटु भने चिसो चुह्लो जस्तो भयो ।
– बा, वसन्त त मरिसक्यो !
म फेरि स्तव्ध भएँ, मेरो मुखबाट एकाएक खुस्कियो । आँखा चिम्लिएँ, टाउको हल्लाएँ । ओहो, मैले के भन्न पुगेछु ! यो त मेरो नितान्त निजी मामला हो, यो कुरा मैले बासँग किन खोले ! बाले के भन्नु भयो होला, के ठान्नु भयो होला भन्ने सोचे तर धन्य बाले बुझ्नु भएनछ ।
– के भनेको, मैले कुरा बुझिन ! छोरी, तिम्रो जीवनको पच्चीऔं वसन्त । आज तिम्रो जन्मदिन । ल भाग्यमानी हुनु । हामी बा–आमाको शुभार्शिवाद छ ।
म एकाएक छाँगाबाट खसे जस्ती भएँ । म भित्रभित्रै आफैभित्र अल्मलिएँ । लजाएँ, शर्माएँ, एकछिन टोलाएँ ! यसपली मैले मेरो जन्मदिन पनि विर्सिएँ । अब बाँकी के छ ? अनि त्यसै त्यसै झन थाके जस्ती भएँ । साहस बटुल्ने प्रयत्न गरेँ । एकछिन मौन बसेर सोचेँ– आज म भन्छु, धेरै भइसके मैले भन्छु भनेको । एउटा पीडाको पहाड मभित्र चुलिदै गइरहेको छ । यसलाई आज म भत्काउछु । चिर्छु, फुटाउछु, च्यात्छु अनि फ्याक्छु अर्थात ध्वस्त बनाउछु । बा–आमाले पनि धेरै कर गरिसक्नु भयो । धेरै खोजीनीति गरेजस्तो लागेको छ । पक्कै बा–आमाभित्र धेरै शंकाउपशंका गाँजिन थालेका छन् । मैले आज पनि भनिन भने मभित्रको आर्तनाद कसैले सुन्दैन । आज म चिच्याउँछु अनि सुनाउँछु ।
उहाँहरुले पनि धेरै पटक भनिसक्नु भएको छ, तिमीसँग एउटा कुरा सोध्नु छ तर बा–आमाले पनि सधै टार्दै आउनु भएको छ मैले जस्तै । मैले जे भन्न खोजीरहेकी छु उहाँहरुले पनि सायद त्यही सोध्न खोज्नु भएको होला । उहाँहरुलाई सोध्ने अवसर दिनु भन्दा म आफैं किन नभनुँ ? मभित्र साहसको सानो अंकुरण टुसाउन थाल्छ तर बासँग यस्ता कुरा कसरी गर्नु ? जे भए पनि म त छोरी हुँ, छोरा भएको भए कुरा बेग्लै । फेरि मेरो त्यो साहसको सानो टुसो त्यसै भाँचिन्छ । म असहाय बन्छु ।
– बा, मेरो हाकिमको फोन आयो पछि कुरा गर्छु, शायद केही जरुरी भयो होला ।
मैले बहाना बनाएर फोन राखेँ । फेरि सोच्न थालेँ– आमालाई भन्छु तर आमासँग पनि यस्ता कुरा कसरी गर्ने ? हरेक छोराछोरीका लागि बा भन्दा आमा धेरै नजिकको साथी हुन्छ तर साथीसँग पनि कतिपय कुराहरु खोल्न सकिदैन । त्यसमाथि आमा ! उहाँले के सोच्नु होला !
ए भिनाजु ! एकाएक मस्तिष्कमा भिनाजु आउनु भो । भिनाजुले बुझ्नु हुन्छ यस्ता कुरा । उहाँ अमेरिका बसेको पनि दश वर्ष भो तर भिजानुलाई पनि कसरी भन्नु ! हैन, हैन, भिनाजु भन्दा पनि दिदीलाई भन्न सजिलो हुन्छ । अहो, जोना दिदी ! ह्युस्टनमा बसेकी दिदीलाई सबै कुरा बताएँ । अनि बल्ल हलुको भयो । पानी परेपछिको आकाश खुले जस्तो खुला र चंगा भयो मन । आफैसँग एकछिन् आफैं रमाए । अब मेरा मनका भित्ताहरु खाली भैसकेका छन् । मलाई हलुका महसुस भएको छ । धेरै गरुङ्गो बोझ बिसाएर लामो सुस्केरा हाल्दाको अनुभूति भयो ।
एकाएक बाको फोन आयो । झस्किए, सोचेँ– अब के भन्ने होला ! कसरी भन्ने होला ! तिमीले बा–आमालाई यी सबै कुरा भन्नै पर्छ, उहाँहरुले यी कुरा थाह पाउनै पर्छ भन्ने जोना दिदीको सुझाव सम्झिए । फेरि साहस बटुले । मरो मन आफैसँगको सम्वादमा भए पनि कान फोनमा छ । बा बोलिरहनु भएको छ, म सुनिरहेकी छु ।
– छोरी मिसु, आज तिम्रो जन्मदिनको दिन मैले केही दिनु पर्ने हो तर म उल्टो तिमीसँग केही माग्छु । मलाई विश्वास छ तिमीले मेरो विश्वास तोड्दैनौ ।
मैले सोधेँ– के कुरा हो त्यस्तो बा ? बाले संक्षेपमा बताउनु भयो तर बाको मागलाई मैले सहजै स्विाकार्न सकिन । म विचार गर्छु मात्र भनेँ ।
बा– आमाको खुसीका लागि मैले आफूलाई तोड्नु पर्छ । मैले आफूलाई बचाउँनका लागि बा–आमालाई भत्काउनु पर्छ । या त लठ्ठी भाँचिन्छ, या त साप मर्छ । फेरि मनमा अनेकानेक कुराले घोच्न थाले । पीडा बल्झिन थाल्यो ।
लठ्ठी नभाँची साप मार्नु छ, तर कसरी ? अनि कसरी बताऊँ यो सबै बा–आमालाई ? नबताए म उहाँहरुको नजरमा झन् ठूलो अपराधी ठानिन्छु । म उहाँहरुको नजरमा अपराधी घोषित हुन चाहन्न । हाम्रो समाजमा अझै पनि विवाहपूर्वको सम्बन्धलाई अपराध ठानिन्छ । हुन त यो अपराध पनि हो, यसले कति विकृति पनि ल्याएको छ । कति दुःखद दूर्धटनाहरु पनि घटाएकाको छ । कतिको जीवन वरवाद पनि पारेको छ । कसरी बुझाउँ यो सब् ? म भित्र उर्लिएको साहसको भेल एकाएक बालुवामा पानी जस्तो भयो । क्षणभरमै म फेरि शक्तिहिन बने । मेरा नौनारी त्यसैत्यसै गलेर आए । वसन्तलाई सम्झिए, उसले भरखरै लेखेको इमेल सम्झिए, अनि अहिले बासँग मलाई माग्न आएको सम्झिदा झन्झन् घृणा लागेर आयो । के म कुनै बस्तु हुँ र मलाई माग्न उ मेरा बाआमासामू गयो ? हिजो मैले माया गरेरको मान्छे, आज उसले मप्रति माया देखाउँदा म भने घृणा गर्न थालेकी छु । आखिर यो सबै समयको खेल हो । हिजो म उसको नजरमा नराम्री थिएँ, काली थिएँ तर आज मेरो डिग्री, कमाई अनि अमेरिका बसाइले उसका आँखा फरक भए । दृष्टि परिवर्तन भयो र उ मलाई अप्सरा देख्न थालेको छ । हिजो म प्रेमको भोकी थिएँ, मेरो मनमन्दिरमा उसलाई साजाएर राखेकी थिएँ तर मेरो प्रेमपूजाको थालीमा उसले लत्यायो । आज उ भोकाएको छ, उसलाई प्रेमको भोक हैन, भोगको भोक जागेको छ । अमेरिकामा सेटल हुने सपना देख्न थालेको छ । त्यो सपना देख्दा देख्दै उ छटपटिएर, जलेर मर्ला बरू तर त्यो सपना पुरा हुदैन । त्यो मेरो लागि मरिसक्यो, चिसो मुर्दा भै सक्यो । हुन त उ धन्यवाद पात्र पनि छ । उसैले गर्दा आज म यहाँसम्म आएर आफूलाई उभ्याउन सफल भएँ । उसले मलाई नटुटाएको भए सायद म आफूलाई बनाउने थिइन होला !
सम्पूर्ण साहस बटुल्दै भने– बा, म केही भन्न चाहन्छु तर ……..
–तर, तर के ? भन … के कुरा…. ?
सम्पूर्ण साहस बटुल्दा पनि बासँग कुरा गर्ने साहस भने ममा भएन र भने– इमेलमा लेख्छु ।
म इमले लेख्न थालेँ– वसन्तको कुरा नगर्नु होला, उ तपाइँसामू मलाई माग्न मात्र हैन मर्न आए पनि म तयार हुन सक्दिन । हिजो म उसका लागि नराम्री थिएँ, आज कसरी राम्री भएँ ? उ लगनगाँठोमा बाँधिएर मेरो जीवनसाथीको रुपमा बस्न हैन, मेरो लोग्ने मात्र हुन चाहन्छ । त्यही लगनगाँठो समाएर अमेरिका आउने तिर्खाले रन्थनिएको काकाकुल हो उ । तिर्खाएर मर्ने छ । मर्न दिनुस् ।
म उसका कुराहरुलाईँ थाँति राख्दै भन्छु मलाई किन कसैले माग्ने ? म दिनका लागि जन्मिएकी थिएँ भने जन्मिने वित्तिकै तपाइँहरुले कसैलाई दिएको भए हुन्थ्यो । तर अहिले मेरो जन्मदाता म आफैं भएकी छु, मेरो पुनर्जन्म मैले आफैंलाई गराएकी छु । क्षमा गर्नु होला, अब त्यो अधिकार म आफैंसँग मात्र सायद सुरक्षित छ । म तपाइँहरुलाई टुटाउन चाहन्न तर मेरो वाध्यता बनेको छ मेरो आत्मनिर्णय, आत्मसम्मान र स्वाभिमान ! अनि म आफूलाई भत्काउन पनि सक्दिन ।
हो तपाइँहरुले भन्नु भयो, मलाई हेर्न अरु पनि आउँदैछन् राम्रा घरानाबाट । मंसीरमा मेरो विहे गरिदिने सोचाइमा तपाइहरु हुनुहुन्छ । ठीक छ म तयार छु । तर मलाई किन कसैले हेर्ने ? बदलामा मैले किन तिनलाई नहेर्ने ? पुरुषले नै नारीलाई किन हेर्ने, नारीले पुरुषलाई किन नहेर्ने ? के म लाटी, बहिरी, लंगडी, अन्धी छु भनेर हेर्ने ? भए पनि ती मान्छे जस्तै मान्छे हुँ म पनि । त्यसैले तिनका आँखाले मलाई देख्न सक्दैनन् । आँखा देख्ने तर मलाई नदेख्ने अन्धाहरुको भीडमा म आफूलाई देखाउन चाहन्न । अनि मान्छे हेर्ने कि घर हेर्ने, विचार हेर्ने कि अनुहार हेर्ने ? दुविधामा छु, म ! तपाइँहरुको सोचाइ पनि त्यही छ मेरो बारेमा, जुन अरुको छ । तपाईँहरु पनि त्यही मान्छेको जंगलभित्र हुनुहुन्छ । मान्छेले मान्छेको बारेमा जे पनि सोच्न थालेको छ, जे पनि बोल्न थालेको छ र जे पनि गर्न थालेको छ । म कुरालाई लम्ब्याउन चाहन्न । हुन्छ म आउँछु । तपाइँहरु जे भन्नु हुन्छ म त्यो गर्न तयार छु तर म जे भन्छु त्यो गर्न तपाइँहरु र त्यो समाज पनि तयार हुनु पर्छ । विवाह जीवनको पद्धति हो, म त्यो भन्दा बाहिर जान चाहन्न तर त्यो पद्धतिको कठघराभित्र आफूलाई बन्धक बनाउन पनि सक्दिन । बरु फड्को मार्न तयार हुन्छु ।
मलाई थाह छ– आखिर त्यही भनिरहेछन् सबैले घर छोडेर विदेश बसेकी तरुनी छोरी ….. त्यसमाथि अमेरिका ! अनि त्यहाँको फ्रिडम ! अनि त्यसका पछाडि एउटा ठूलो प्रश्न चिन्ह ! मलाई यो पनि थाह छ– त्यो प्रश्न चिन्ह मेरो जीवनको परिचय बनेको छ । तर फ्रिडमको अर्थ फ्रि हैन भन्ने कुरा कसैले बुझेका छैनन् । मोज, मस्ति, ब्वाइफ्रेन्ड, वियर, वाइन, ह्विस्की, क्लव, डान्स, बार, रेष्टुरेन्ट ! धेरै मान्छेको धारणा यस्तै छ अमेरिकाको बारेमा । हुन पनि त्यस्तै छ तर त्यस्तो मात्र पनि छैन । यो आफूमा भर पर्ने कुरा हो । अमेरिका गएको कुन मान्छे चोखो हुन्छ र ? प्रश्नमाथि प्रश्न र शंकामाथि शंकाको थाकले थिचिएको छ मान्छे । हो धरैले यस्तै जीवन पनि विताएका छन् तर ती सबैबाट अगल रहेर धेरैले आफूलाई नितान्त आफूमै सिमीत पनि राखेका छन् । तपाइँहरुको सोचाइ पनि यही छ, मेरो छोरी अब यो समाजमा बिक्दिन होला ! अरुले पनि यही सोचेका छन् यस्ती तरुनी त्यतिकै कसरी बसी होली ? आखिर तपाइँहरुले बारम्बर भन्न खोजेको कुरा पनि यही हो । जुन आज मैले नै भने ।
विश्वास नहुन सक्छ । मैले संसारलाई विश्वास दिलाउन जरुरत पनि छैन । हो, धेरै भए केटासाथीहरु तर मेरो कुनै ब्वाइफ्रेन्ड भएन, मैले अहिले सम्म वियर, वाइन, ह्क्सिी केही पिएको त हैन, छोएको पनि छैन । म कुनै बार, डान्स क्लब कतै गएको छैन । मैले मेरो मलाई मभित्रै जिउँदो राखेकी छु । मेरो अटल विश्वासभित्र मेरो कुमारित्व जिउँदो र जग्जगाउँदो छ । मेरो अखण्ड अस्मिता र अस्तित्व मेरो स्वाभिमान र अभिमान भएर मभित्र बसेका छन् । के म यी सबै कुरा संसारलाई सुनाएर आफुलाई विकाऊँ ? मलाइ बेचिनु छैन ।
दुःखका साथ भन्छु– एउटा मानव आकृति मेरो मेडिकल परीक्षण पछि बिहे गर्न तयार भएको कुरा पनि आमाका मुखबाट केही अघि सुनेको थिएँ । त्यसलाई हुन्छ भनिदिनु म मेडिकल परीक्षणका लागि पनि तयार छु तर त्यसको मूल्य त्यो मानव आकृतिलाई कति महँगो पर्छ, उसलाई थाह छ कि छैन ? उसको पनि परीक्षण कतैबाट हुन्छ र हुन जरुरी छ भन्ने कुरा त्यसले बुझेको छ कि छैन ? त्यसले आफ्नो कुमारत्वलाई कतिपटक उघेलेको छ ? आत्म साक्षी राखेर भनोस् । रावणले सीताको परीक्षा किन लिने ?
यी कुराहरु समाजले पत्याउदैन । हाम्रो समाज भदौमा आँखा फुटेको गोरु जस्तो छ । तपाइँहरु पनि त्यही आँखा फुटेको समाजको सदस्य हो । यथार्थ यही हो । मभित्रको यो प्रशवपीडालाई आज मेरो आफ्नै साहसको बलले अलिकति भए पनि निकालेकी छु । मैले मर्यादा र अनुशासनको घेरा तोडेको नठान्दिनु होला । यो मेरो विवशता हो ।
मलाइ लोग्ने चाहिएको छैन । हो तपाइँहरुले लोग्ने दिन सक्नु हुन्छ तर मलाई लोग्ने हैन जीवनसाथी चाहिएको छ । म मेरो जीवनसाथी छान्न सक्षम छु जस्तो लागेको छ । यो मेरो आत्मनिर्णय हो ।
मेरा बारेमा तपाइँहरुभित्र गुम्सिएर बसेका सबै जिज्ञासाको एउटै उत्तर हो, मेरो आत्मनिर्णय । यसको सम्मान गर्न सक्नु हुन्छ भने म सबै कुराका लागि तयार छु । हैन भने म जहाँ छु, म त्यही हुने छु । मेरो आत्मनिर्णय, मेरो आत्मसम्मान र मेरो स्वाभिमान नै मेरो जीवन साथी हुनेछ । मेरो जीवन पद्धति हुनेछ । मेरो अस्तित्व सधैं जीवित हरने छ ।
बाको इमेल आयो, त्यसमा लेखिएको थियो– मिसु, म तिम्रो आत्मसम्मानको सम्मान गर्छु ।

(बोस्टन, अमेरिका)

(स्रोत : KhassKhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.