संस्मरण : कृष्णभूषण बल

~डा. ध्रुवचन्द्र गौतम~Dhruba Chandra Gautam

२०२९ साल हुनुपर्दछ। हामी विराटनगर गएका थियौं। जहाँ गए पनि, साहित्यकारसँग भेटघाट गर्न खोजिन्छ। त्यहाँ पनि एक दिन केही कविहरुसँगको भेट भयो, थोरै मात्र परिचित, धेरै अपरिचित। कवि भएपछि कविता पाठ होस् यो त हामी पनि चाहन्थ्यौं। यस्तो पनि हो क्यार त्यो कार्यक्रम नयाँ कविहरुको कविता सुन्ने भनेर आयोजना गरिएको थियो। तर वृहद होइन, संक्षिप्त। थोरै कवि/नयाँ कवि धेरै।

महिना त जाडैको थियो जस्तो लाग्दछ। विराटनगर त्यसो त गर्मीमा पनि गइएको छ, तर त्यसबखत माघ–फागुन थियो। जाडो न गर्मीजस्तो। बसन्तको माहौलमा हामीले विराटनगरका नयाँ कविहरुलाई सुनेका थियौं। यही एउटा घटना भन्नु पर्दछ भएको हो।

त्यतिका कवि सुनेका थियौं। रुटीन कविता, केही राम्रा कविता पनि थिए। तर ध्यानाकर्षण गर्‍यो केवल एक कविता वा त्यसैका कविले। मैले पहिलो पटक तिनलाई सुनेको थिएँ। ‘म छाप्न चाहन्न’ वा ‘छापेको छैन’ भन्थे। छापेको भए पनि मैले उनीलाई त्यही मैले सुनेको कवितामार्फत हो। क्या कविता थियो? कति प्रभावकारी थियो, आज चालिस वर्षपछि पनि त्यसको सम्झना आइरहेको छ भने, कवितामा अवश्य पनि मानसिक बबन्डर मचाउने तागत होला। कविताको शीर्षक पनि बबन्डरमय थियो, विषय त झनै, ‘चैतको हावा।’ त्यसैका कवि थिए कृष्णभूषण बल।

त्यही परिचय कवि कृष्णभूषण बलसितको मेरो प्रथम परिचय थियो। कविता, त्यस बखतको पञ्चायती व्यवस्थाविरुद्ध गतिलो अझ बबन्डरमय प्रहार थियो। त्यसो हुँदाहुँदै पनि एउटा शक्तिशाली कविता पनि थियो त्यो, जसमा कलात्मकताको एउटा प्रवाह निरन्तर थियो। हामी कृष्णभूषण बलको त्यो कविता सुनेर अभिभूत भयौं। विनोदले त्यो कविता ‘समीक्षा’ का लागि भनेर मागे।

त्यही थियो कृष्णभूषण बलसितको परिचय। प्रथम परिचय। उनको कवितासित पनि। त्यस बखत बल, नयाँ बल थिए। पछिका कुरा त इतिहास हुन्।

बल कविता लेख्दै गए। उचाई नाप्दै गए। उनीसँगै लेख्ने कति कवि ‘खेल्ने’ मात्र भए। उनी कविताप्रति समर्पित रहे, कहिले उत्ताल तरङ्ग बनेर कहिले शान्त वहाव बनेर।

उनी राष्ट्र बैंकमा काम गर्दथे। एक पटक काठमाडौं सरुवा भए। तिनताका उनीसित धेरै भेट हुन्थ्यो। ‘बैठकी’का शोखिन थिए, ‘बैठकी’ पनि हुन्थ्यो। कहिलेकाहीँ खानपिनमा बहकिने आनन्द पनि लिन्थे, तर ‘अब त बिसाउँ होला थापाजी’ जस्तो सदावहार कविता त्यसै बहकाइबाट उमार्थे पनि।

कविका रुपमा एक स्मरणीय कवि बने उनी। कृष्णचन्द्रसिंह प्रधानलेसमेत उनको मुक्तकण्ठले प्रशंसा गरेका थिए। त्यो प्रशंसा उनको कवित्वकै उचाईको थियो। उनको कवितामा एउटा उम्दापन र उचाई थियो नै। शब्द–चयन, शैली विषय सबमा। अनि उनको वाचन पनि प्रभावकारी थियो। एउटा कविका लागि यही चाहनाको कुरा हुन्छ। तर सबैले चाहेको पुग्दैन। उनको पुग्दै थियो। अंग्रेजीमा पनि उनका कविताको अनुवाद भएको छ।

व्यवहारमा पनि उनी भिन्नै थिए। उनी स्पष्टवादी थिए। वक्ताका रुपमा उनको स्पष्टता मिसिएको हाँस्यचेतले श्रोतालाई प्रभावित तुल्याउँदथ्यो।

पोहोर नै त हो विराटनगरमा नेपाली लेखक संघको अधिवेशन भएको थियो। बल उपाध्यक्ष थिए। दिनभरि व्यस्त हुन्थे, विभिन्न जिल्लाबाट लेखकहरु आएका थिए। केही जनासित साँझको जिम्मेदारी पनि पालन गर्दथे।

त्यही मैले देखेँ, कृष्णभूषण बलको ‘पेय’मा ठूलो परिवर्तन आएको छ। म उनीलाई ‘भूषण जी’ भन्थे। उनी मलाई दाइ भन्थे। थालनीदेखि गरिएको सम्बोधन अन्त्यसम्म कायम रह्यो। त त्यस साँझ मैले देखेँ, भूषणले नाममात्रको लिए। त्यो पनि लिँदैन थिए होलान्, मेरै प्रश्न जोगाउन हो कि? मैले भने– ‘भूषणजी, आज किन त?’

अरु भन्नै नपर्ने, किनभने, मूक भाषा पनि कहिलेकाहीँ उत्तिकै स्पष्ट हुन्छ।

कृष्णभूषण बलले भने– ‘दाइ टाढा जानु छ फेरि घरमा… अचेल कम खान्छु। नत्र दाइहरुसित बसेर खान त मन थियो नि।

यो वर्ष–डेढ वर्षअघिको कुरो हो। उनले निकै कन्ट्रोल गरेका थिए। तै पनि यस्तो कसरी भयो। प्रेसरका रोगी त उनी पहिलेदेखि नै थिए। औषधि खान्थे। औषधि खान बिर्से या यस्तै केही भयो कि? के भन्नु? उनको खबर सुन्नासाथ दिग्दार लागेर आयो। उठबस भएका मान्छे थिए। श्रद्धाञ्जलि दिनु पर्छ, यो चिताएको थिइनँ। यो शब्द पनि अनौठो छ। ध्वनिमा कति मिठो छ, अर्थमा ‘चैतको हावा’ छ, बबन्डर छ हुरीबतास छ।

उनी अझै धेरै लेख्थे पक्कै छ, अब खल्बलियो। उनीसित मेरो व्यक्तिगत घनिष्ठता हो भन्दा अलिक अप्ठ्यारो पर्छ। मान्छेले ठान्नेछन् म बढी बोलिरहेको छु। फोन हुँदैन थियो, इमेल थिएन, केवल भेटदाखेरि ‘दाइ–भूषणजी’को सम्बन्ध हुन्थ्यो। तर त्यो जहिले पनि रह्यो। त्यसैमा मलाई आत्मीयता लाग्दथ्यो। उनका कविताहरुको म प्रशंसक हुँ सधैँ। साँच्ची भन्ने हो भने, उनको व्यक्तित्वको प्रभाव केही कविहरुमा टड्कारो देख्छु, उल्लेख गर्दिन।’

विराटनगरमै भूषणले आफ्ना केही कविता सुनाएका थिए। उनको र उनका बारे लेखिएको पुस्तक दिएका थिए। उनको कवित्वको अलग्ग प्रभाव थियो, यो त सबैले भन्लान्, तर के गर्ने, प्रभावलाई त प्रभाव नै भन्नुपर्‍यो। उनले आफ्नो ठाउँ बनाएर गएका छन्, यद्यपि गएको ठाउँमा उनले छाडेको रिक्तता पनि छ, त्यो खल्बल्याउने खालको छ।

‘अर्को पटक भूषणले बसौला दाइ, यसपालो त्यस्तै भयो।’ बलको पोहोरको कुरो।

अब त्यो अर्को पटक आउँदैन। उनको कविताले उनलाई सम्झाइरहला। एकेडेमीले त श्रद्धाञ्जलि सभा गर्‍यो। राम्रो गर्‍यो। लेखक संघ किन मौन बसेको होला?

हामीलाई माया गर्ने मान्छे हुन्। स्नेह र सद्भाव राख्दथे। यस्ता मान्छे साहित्यबाट कम हुँदा लाग्छ, साहित्यमा कठोरताको केही वृद्धि भएको छ। म कृष्णभूषण बललाई उनको कविता र व्यक्ति दुवैका लागि श्रद्धा दिन चाहन्छु।

(स्रोत : Dristy – Weekly)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.