कथा एकदमै सानो घटनाबाट सुरु हुन्छ, मानौँ यो कुनै घटनानै होइन ।
मैतिदेवीको विश्रान्ती चियापसलअगाडि ऊ दुई वटै हात पैन्टको गोजीमा घुसारेर उभिएको थियो । एक हुल कलेजका विद्यार्थीजस्ता देखिने केटीहरू उसको अगाडिबाट गए र जाँदाजाँदै एक जना सुन्दर अनुहार उसलाई हेरेर मुस्कायो । ऊ मुस्काऊँ कि यसै बसिरहूँको दोमनको स्थितिमा थियो तर ओठहरू अलिअलि खुम्चिसकेका थिए । त्यसबेला अझ ऊ द्धिविधाग्रस्त भयो जब पर पुगेर पनि सबैजनाले फर्केर हेरे ।
‘कोही चिनेकै केटी हुनुपर्छ’ उसले मनमनै भन्यो र सम्झिन थाल्यो । कतै सँगै कलेज पढेको साथीको साथी हो कि परिचय भएर पनि बिर्सेको ? अथवा ऊ पहिलेपहिले ससाना लेखहरू पनि लेख्ने गर्दथ्यो गोरखापत्रमा, कतै त्यसको प्रभाव हो कि ? गोरखापत्रमा ऊसँगै पढ्ने एक जना साथी थियो उसैले सिकाएर दुईचार लेख छापिएका थिए ।
“नेपालमा गरिबी र त्यसको निवारणका उपाय” भन्ने उसको लेखमा त पाठक प्रतिक्रिया पनि आएको थियो ।
मैतिदेवीको यो मुस्कानले उसलाई निरन्तर लखेटिरहृयो । झल्झली मुस्कान देखिन्थ्यो तर त्यस पछाडि उभिने व्यक्ति खुट्याउन भने उसले अझै सकेको थिएन ।
एक पल्ट उसले कलेजको स्वागत–समारोहमा गीत पनि गाएको थियो । मञ्चबाटै “यति चोखो यति मीठो दिउँला तिमीलाई माया” गीत त नारायणगोपालको हो तर गाउँदागाउँदै उसले यति ठाउँ खुस्काएको थियो कि त्यो एकदम “फ्रेस” गीतजस्तो लाग्दथ्यो ।
उसले धेरै तरिकाबाट सोचिरहेको थियो तर झसङ्क भयो जब जोन अर्थात् जनार्दनले उसलाई पिठ्यूँमा हिर्काउने र के छ यार ?’ भन्ने कार्य एकै पल्ट गरयो ।
“के हो राष्ट्रिय चिन्तनजस्तो छ नि” उसको साथी हाँस्यो । उसले केही हैन भनेर टारिदियो किनभने खास कुरा भन्ने हो भने साथीले उल्याउने सम्भावना प्रबल थियो ।
“वाह जुँगा त क्या राम्रो तिम्रो, त्यसमा पनि अझ पाल्ने र काट्ने स्टाइल” साथीले यसो भनेपछि उसले हातले छेउको जुँगा काटिएतिर छाम्यो ।
बिहान निस्कनुअघि ऊ सेभिङ गर्दै थियो अचानक जुँगाको छेउतिरको टुप्पो चट्टै काटियो । यसले गर्दा एकातिर लामो र अर्काेतिर छोटो भएको चाहिँ हो तर उसले केही दिनमै पलाइहाल्छ नि भन्ने ठानेर त्यसै छाडिदियो । हुन त यसअघि पनि उसको जुँगाको प्रसंशा धेरै पल्ट भइसकेको थियो, सँगै पढ्ने साथीहरूले उसलाई जुँगा पाल्ने एक जना चर्चित नायकको नामले समेत सम्बोधन गर्दथे जसको करामत तिनै बाक्ला जुँगाकै थियो ।
“लौ शेरबहादुरको दोश्रो बिहे लौ आयो ताजा खबर” एक जना फुच्चे हकर छेवैमा आएर कराएपछि सबको ध्यान केन्द्रित भयो । सबैले मुखामुख गरे, उसले खल्ती छाम्यो जम्मा १० रुपैयाँ थियो । सारै कुतुहल लागेपछि ५ रुपैयाँ तिरेर उसले पत्रिका किन्यो र साथीलाई भन्यो “हेर यत्रो ठूलो मान्छे भएर ……….।”
“थुइक्क” पत्रिका यसो हरेपछि आफू मुर्गा भएको महसुस भयो उसलाई । मुगु जिल्लाका प्रा.वि.का प्रधानाध्यापक शेरबहादुर गुरुङले आफैँले पढाउने छात्रालाई दोश्री श्रीमती बनाए ।’ समाचारको अन्तिममा लेखिएको थियो । उसको साथी मजाले हाँसेपछि उसलाई झन् लज्जाबोध भयो ।
‘सर चिया ’ उसले अघि अर्डर गरेको चिया आइपुगेको थियो । गोजीमा पाँच रूपैयाँमात्र भएकाले ऊ ठूलै समस्यामा प¥यो । चिया एक्लै खानु अशोभनीय हुने र साथीलाई पनि तिरिदिन पैसा नभएपछि बढाइसकेको हात पनि खुम्च्याएर उसले ‘लिँदै गर्नुस् है, म आइहाल्छु’ भनेर कुलेलम ठोक्यो ।
त्यहाँबाट हिँडेर बानेश्वर र दिउँसो रत्नपार्क आउँदा पनि उसलाई निरन्तर मैतिदेवीको मुस्कानले पछ्याइरहृयो । सोच्दासोच्दा उसको टाउको दुख्न सुरु भइसकेको थियो । “आ, जेसुकै होस्’ भनेर उसले बिर्सिदिने कोसिस पनि गरेको हो तर एकै छिनपछि सम्झिँदा ऊ त्यही सम्झिरहेको हुन्थ्यो ।
टाउको भारी भएर कतिपल्ट उसलाई जीउचाहिँ आफ्नो टाउको भने कुनै क्वीन्टल वजन नाघेको व्यापारीको राखिदिएजस्तो पनि लागेको हो । राति बिछ्यौनामा पल्टिँदा मुस्कानले उसलाई धेरैपल्ट खैनी खुवायो र अन्तमा मिलिक्क आएको आइडियाले राहत दियो “भोलि भेटेर सोध्ने कुरा खत्तम”
बिहान उठ्दा उज्यालो भइसकेको थियो । मुख धोएर उसले एकदुई व्यायाम ग¥यो, ऐना हेरेर कपाल मिलायो । दोहो¥याएर कहिले अगाडि कहिले दायाँबायाँ ऐना पु¥याएर विभिन्न कोणबाट आफ्नो अनुहार हेरयो कहिले मुस्काएर कहिले गम्भीर भएर ।
“मान्छे त म हैन्डसम नै हुँ ।” सोचेर एक्लै हास्यो उ ।
ऊ मनमनै ढुक्क भयो र सम्झ्यो अनुहार राम्रो नभएको भए किन सीता मरिहत्ते गर्थी ? फेरि सँगसँगै सम्झ्यो त्यो सीता जहिले पैसा सापट भनेर लग्ने तर नफर्काउने । एक पल्ट कोठामा आउँदा भर्खर पहाडबाट घ्यू र मह आएको थियो त्यो समेत लगी उसले ।
“तिमी त पहाडको मान्छे सधैँ खाएको त हो नि यसपाला म टेष्ट गरूम् न है ?” उसले नाइँ भन्न सकेन । त्यसपछि भयो के भने घ्यू र मह सीताले टेष्ट गरी तर उनीहरूको सम्बन्धले भने सधैँका लागि रेष्ट गरयो ।
ऊ विश्रान्तिअघि पुगेर उभियो । बाटोमा मानिसहरूको चहलपहल सरर्र हेरेर भित्र पस्यो र चियाको अर्डर गरयो । भित्र मानिसहरू जेरीपुरी कपाकप खाइरहेको देखेपछि उसलाई चिया अर्डर नगरेर जेरी खाएको भए पनि हुने रहेछ भन्ने लागेको हो तर भनिसकेको हुँदा ऊ बाहिर आएर उभियो ।
हिजो देखिएकी युवती फेरि देखिएपछि ऊ उत्साहित भयो । उनीहरू दुई जना थिए र ऊतिर हेरेर हाँसिरहेका देखिन्थे । यसैबेला एक जना भुसतिघ्रे कानमा कुण्डल लगाएको, पाखुरामा ट्याटु बनाएको, जुरेलीको जस्तो कपाल भएको युवा “हाई बेबस्” भन्दै उनीहरूसँग मिसिएपछि उसले सोधनी गर्ने कार्यक्रम आजका लागि स्थगित गरिदियो ।
“के ठाउँ–कुठाउँ चिलाउँछ ।” उसले चोकनेर उभिएर कन्याउँदाकन्याउँदै एक जना पुरानो मित्र देखियो र उसले कन्याउँदैको हात सिधै लगेर त्यो मित्रसँग मिलायो तर पुरानो मित्र अलिक अन्कनाएको भने देखेन ।
केही छिनको भलाकुसारीपछि उसको साथीले गम्भीर प्रसङ्ग निकाल्यो “हैन, सेना समायोजन र संविधान जारी गर्न सरकारले ढिलाई गरेपछि तनावको स्थिति भइरहेको छ, खास कुरो त इन्डिया सकारात्मक हुनुपरयो ।
यसो भन्ने मित्र सानोतिनो नेता नै थियो । चिटिक्क ढाकाटोपी, सुतीको कपडा उसको पहिरन थियो भने बोल्दाखेरि ऊ प्रायः “मलाई के लाग्छ भने……..” भनेर वाक्यलाई जटिल बनाउँथ्यो । हो कि हैन उसले त्यो मित्रको कुनै ठोस उत्तर दिएन बरु हे¥यो माथि टेलिफोनका तारमा बसेको चराले उसको टोपीमा नराम्ररी बिष्ट्याइदिएको छ त्यो थाह नपाएरै मित्रभने लगातार बोलिरहेको छ ‘मलाई के लाग्छ भने सरकारले समावेसीकरणलाई ध्यान दिनुपर्छ र अनिवार्य–शिक्षा लागू गर्नुपर्छ ।’
तर उसको राजनैतिक कुरा सुन्न झर्को लागेपछि अर्को मित्रले भन्यो– हैन, हरि अधिकारीको शनिवार आउने पुस्तक समिक्षाले त कसैलाई नछोड्ने भयो ।
यसैबेला केही कलिला विद्यार्थीहरू अङ्ग्रेजीमा कुरा गर्दै अगाडिबाट गए । उसको मित्रले भन्यो “हैन अचेलको शिक्षा निकै राम्रो मान्नुपर्छ भाषा पनि निकै राम्रो ।”
“के कुरा गर्छौ यार, बोर्डिङ स्कुलमा पढेको भए म पनि देखाइदिन्थेँ ।” उसले भन्यो ।
“देखाउनेले सरकारी स्कुल पढेर पनि देखाएकै छन् नि ”
बहस लम्बिने छाँट देखिएको थियो तर यसैबेला अर्को एक मित्र पनि थपिन आइपुग्यो । एक छिनको कुराकानीपछि उसले भन्यो “हिँड डाक्टर, रत्नपार्कसम्म जाऔँ, जेरीपुरी ख्वाउँछु ।”
खासमा त ऊ डाक्टर, कम्पाउन्डर केही थिएन तर पुराना मित्रहरू उसलाई डाक्टर भनेर पनि चिन्ने गर्दथे । कलेज पढ्दा अधिकांश विषयमा परिभाषा घोक्नुपर्ने, यस्तै एक दिनको परीक्षामा उसले परिभाषा कण्ठ नगरेकोले शिक्षाविद् डा. माइकलका अनुसार “शिक्षा मानिसको विकासको आधार हो” भन्ने लेखेर पास गरयो । यसैबेलादेखि जिस्क्याएर साथीहरूले उसलाई डाक्टर भन्नु सामान्य भएको थियो ।
जेरीपुरी भनेपछि उसलाई प्रस्ताव ठीकै लागेको थियो तर अर्काे साथीले चाबहिलसम्म गएर आउने अनि बियर–सेकुवा खाने प्रस्ताव राखेपछि ऊ अलमल्ल परयो । एकै छिनमा एक जनाले पूर्व र अर्काेले पश्चिमतिर तान्न थालेपछि उसलाई समस्या परयो । उसले लगाएको पुरानो पातलो ज्याकेट च्यातिएला भन्ने डरले ऊ त्राहिमाम धेरैबेर हुनुपरेन किनभने एकै छिनमा उसका दुवै मित्रहरूका हातमा एक–एकवटा बाहुला थिए ।
“वा क्या स्टाइल हेर्दाहेर्र्दै ज्याकेट हाफ पो भयो ।” उसका मित्रहरू पछुताउनुको साटो लडिबुडी गरेर हाँसिरहेका थिए ।
“तर एउटा कुरा नि डाक्टर, यो जुहारीकोटजस्तो ज्याकेट तेरो जुँगाको स्टाइलसँग ठ्याक्कै मेल खान्छ यार ।” उनीहरू हाँसिरहेका थिए, ऊ रिसाउँदै त्यहाँबाट हिँड्यो र नजिकैको सैलुनमा छि¥यो । ठूलो ऐनामा हेरेपछि उसलाई आफ्नो जुँगा एउटा लामो र एउटा छोटो भएकोले निकै अनौठो महसुस भएको प्रष्ट भयो ।
“यो अर्काेतिर पनि खुर्किदेऊ त” उसले दुवैतिरको जुँगा बराबर बनाएर मिलाउने विचार गरयो ।
“अरे, पूरै फालिलिनुस् हजुर ” नाऊँले पिच्च भित्तामा खैनी थप्दै भन्यो ।
“किन ग्राहक कम आउँछन् यहाँ ? एक जनाबाटै धेरै कमाउनुपरयो ?”
उसले ज्याकेटको रिस नाऊमाथि पोख्यो । नाऊले दुवैतिरको जुँगाको टुप्पा बराबर बनाइदिएपछि उसको अनुहारनै फेरियो । ओठको बीचतिर बाक्ला जुँगा तर छेउतिर सफाचट । उसलाई जुँगा यतिनै राख्ने कि फालिदिनेसम्म भएको हो तर एक त उसलाई जुँगा खौरिएको अनुहार न स्त्री न पुरुषजस्तो लाग्ने, दोस्रो पूरै खौरिँदा केही दिन घरभित्रै बस्नुपर्ने सम्भावनाले रोकेको थियो ।
“होस्, आखिर स्टाइल पनि त फेरिन्छ” भनेर उसले जुँगा सुम्सुम्याएर उठ्यो । नाऊ भने बिहानबिहानै अचम्मको ग्राहक र उसको जुँगा देखेर भित्तातिर फर्केर हाँस्यो र ऊ हिँडेपछि सँगैको साथीलाई भन्यो “यी कोनो फिल्मी कलाकार बुझाइए ।”
ऊ त्यहाँबाट फर्किँदा फेरि मैतिदेवीको मुस्कानले आक्रमण गरिरहृयो । उसले ज्याकेटको कुरा बिर्सियो जुँगाको कुरा बिर्सियो र सम्झ्यो मनै हर्ने त्यो मैतिदेवीको मुस्कान । जबजब ऊ मुस्कान सम्झिन्थ्यो उसलाई एक प्रकारको आनन्द–अनुभूति हुन्थ्यो ।
“मिल्ने भए त्यो मुस्कान गोजीमा राखेर हिँड्थेँ ।” आफू उदास हुँदा त्यही हेरेर रमाउँथेँ र बिर्सिदिन्थेँ सबै दुःखहरू ।’ उसले मनमनै सोच्यो ।
उसको जुँगा फेरि साथीभाइ, इष्टमित्रबीच टिप्पणीको विषय बन्ने निश्चित थियो । मानिसहरूको पनि अचम्मको बानी हुन्छ, टिप्पणी गर्ने । अलिकति मोटायो अथवा दुब्लायो भने टिप्पणी । अथवा जुँगा राखेपनि टिप्पणी, फालेपनि टिप्पणी । तर यस्ता टिप्पणी भने उसलाई असजिलो लाग्ने गर्दछन् ।
“कठैबरा, तपाईंको त पैन्ट त हराएछ नि है ?” उसको टोलको हरेक मान्छेले उसलाई यस्तो भन्न थालेपछि त्यसबेला ऊ कोठाबाट निस्कनै छाडेको थियो ।
खासमा रातिमा छतमा सुकाएको पैन्ट चोरी भएको थियो तर हल्ला यसरी भयो मानौँ लगाएकै पैन्ट हराएको होस् । छिमेकमा एक जना काका थिए सबको हालखबरको जानकारी राख्ने सानोतिनो एफ्.एम्. सरहनै थिए उनी । कतिले उनलाई खवरीलाल पनि भन्थे । पैन्ट हराएको बिहान उनी आइपुगेका थिए, दुईचार दिनसम्म ‘थाह छ उसको त पैन्ट हरायो नि ’ भेट्ने हरेकलाई यही सुनाउँथे उनी । अझ यसमा यसरी फूलबुट्टा भर्ने गर्थे उनी घटनाअगाडि र पछाडिका कैयौँ रोमाञ्चक प्रसङ्ग थपथाप पनि गरेर भन्दा सुन्नेलाई निकै चाखलाग्दो हुन्थ्यो कुनै पनि घटना ।
पैन्ट हराएपछि कैयौँ दिनसम्म “आरामै ?” भनेर सोधेजस्तो “पैन्ट हराएछ च्वच्व” भन्ने गर्दथे उसलाई परिचित मानिसहरू ।
ऊ निकै लज्जित हुन्थ्यो त्यसबेला । चिनेको कुनै पनि युवती उसलाई हेरेर मुसुक्क मुस्काए पनि ऊ मनमनै सोच्थ्यो “उफ्, यसलाई पनि थाहा भइसकेछ पैन्ट हराएको कुरा”
भोलिपल्ट फेरि बिहानै ऊ चौक आइपुग्यो र हिजोकै स्थानमा उभियो । आज भने कुरा कसरी सुरु गर्ने भनेर गम्दै थियो ऊ ।
“तपार्ईँलाई चिनेजस्तो लाग्यो नि ” भनेर सुरु गर्ने विचार गरेको थियो उसले तर कुनै केटी फसाउने बहाना गर्ने युवकले बोलेजस्तो सस्तो सम्वाद लाग्यो यो वाक्य उसलाई । “एउटा कुरा सोधूँ ” फेरि उसले सोच्यो र एकछिनपछि कृपया भन्ने शब्द अगाडि राख्दा निकै शिष्ट देखिने ठान्यो उसले । ऊ तर्कनाहरूमा डुबिरहँदा त्यही युवती आउँदै गरेको देखियो बाटोमा । सन्जोगले ऊ आज एक्लै देखिएपछि उसले निकै सञ्चो अनुभव ग¥यो । जति युवती नजिक आउँदै थिई, उसले योजना बनाएका सम्वाद बिस्र्याे ।
“अङ्कल, यु रियल्ली लुक लाइक चार्ली च्याप्लिन, आज त झन् दुरुस्तै ” उल्टै त्यो केटी मुख थुनेरै हाँसी ।
केटी हिँही ‘हिही’ गर्दै । “अङ्कल” को प्रहारले एक छिन त ऊ थङ्थिलो भयो । एक छिनपछि जुँगा छाम्यो, अनि नरमाइलो अनुहार बनाएरै फटाफट हिँड्यो । त्यो मैतिदेवीको मुस्कान थिएन, उसको नमिल्दा जुँगामा ताकेर हानेको प्रहार थियो भन्ने बुझेर ऊ निकै विरक्तियो ।
“न रहे बाँस, न बजे बाँसुरी” ऊ सिधै सैलुनमा पस्यो ।
उसलाई देखेर नाऊ एकपल्ट मुस्कुरायो । कुर्सीमा बसेर राम्ररी हेरेपछि उसलाई ग्लानि भयो कस्तो हाँसउठ्दो अनुहार बोकेर हिँडिरहेको रहेछ ऊ राजधानीजस्तो शहरमा ।
“सुटिङ सक्यो हजुर, मलाई के थाहा कि हजुर कलाकार होइसिन्छ नत्र त्यस्तो जुँगा को राख्छ र हजुर आजभोलि”
नाउँले आफूलाई लागेको साँचो कुरा बोलेको हो तर उसलाई लाग्यो फेरि अर्को एक जनाले कठालो समातेर हिर्काउँदै छ उसलाई बीच दोबाटोमा उभ्याएर ।
“नकरा मूला यो सफाचट बनाउने ” उसले आँखा तरयो ।
जुँगा पूरै खौरिएपछि ऐनामा हेर्दा उसले अर्कै अनुभव गरयो र हिँड्यो घरतिर फटाफट । कोही नभेटिए हुन्थ्यो बाटोमा भन्दै । ऊ गएर कोठाको चुकुल लगाएर बस्न चाहन्थ्यो चुपचाप तर गेटभित्रबाट बन्द रहेछ ।
गेट ढक्ढक्याएपछि कौसीमा बसेकी उसकी भाउजू उसलाई हेरेर कराउनुभयो “को आयो फेरि ? छैन, कोठा भाडामा छैन भाइ, हिजोनै गइसक्यो ।”
उसलाई भाउन्न भएर आयो र थुचुक्क त्यही बसूँझैँ भयो ।
कथा एकदमै सानो घटनामा अन्त्य हुन्छ, मानौँ यो कुनै अन्त्यनै होइन – ऊ अचेल घरबाहिर निस्केको छैन ।
*******
(स्रोत : Ramesh Kshitij’s Blog)