~दीपज्योति थापा~
हामीलाई नसोध्नुहोस
आफन्त गुमाउँदाको पीडा कस्तो हुन्छ ?
आँखाबाट चस्मा उतार्नुहोस ।
यतिबेला–
हामी मरे–मरेजस्तो देखिन्छौं
हजुरको एसएलआर क्यामेराले कैद गर्नुहोस
हाम्रा मोटा मोटा आँसुहरू
सुन्नुहोस… !
रुँदारुँदै थाकेका आँखाले के भन्छन ?
तपाईंहरू–
छाप हानेका पाल ल्याउनुहोस
चाउचाउ, चिउरा र पानी
केही प्याकेट नुन, बिस्कुट
वा दुई मुठ्ठी काँटी
तर…..
राहत बाँडें भनेर हाम्रो तस्बिर नलिनुहोस है !
आहत बनाउँछ ।
मलाई थाहा छ
अब तपाईंले सोध्नुहुन्छ–
‘भूकम्पमा के–के पुरिए ?’
टिप्नुस–
–घर
–गोठ
–केही गाईभैंसी, बाख्रा र कुखुराहरू
–मेहनत, पसिना अनि जिन्दगीभरको कमाइ ।
क्यामेरा मैतिरै तेर्सिंदैछन
कसरी भनुँ ?
लोग्नेसँगै पुरियो सिन्दुर
बच्चासँगै ममता
आफन्तसँगै आफ्नोपन
कोही धरहरामा पुरिए
अब के भनुँ ?
‘खोइ मेरो किताब
खोइ मेरो पेन्सिल
स्कुल ब्याग, टिफीन बक्स ?
खोइ मेरो स्कुल ?’
यस्तै सोध्छ सानो छोरा
मध्यरातमा झस्कन्छ, ब्युँझेर फेरि सोध्छ–
‘आमा भुइँचालो आको हो ?’
त्यसैले उसलाई चाहिँ नसोध्नुहोस
‘बाबु ! भुइँचालो कस्तो लाग्यो ?’
ऊ परदेशीहरू आए ।
सायद आफ्नी आमालाई खोजेको हुनुपर्छ
राम ! राम !
उनीहरूले भेट्नेछन
आमाको बदलामा उनको रातो पछ्यौरी
मौका छोपेर सोध्नुहोस तिनलाई
रुदैं सुनाउनेछन
पछ्यौरीमा बुनिएका आमाका यादहरू
यो पीडाका दलदलमा फसेका बेला
तपाईं सोध्नुहुन्छ– साहस
उः त्यो नांगिएको रुख देख्नुहुन्छ ?
त्यसले गुमाएको छ हाँगा र पातहरू
हाँगामा गुँड लाएर बसेका
एक जोडी माउ चरा र बच्चाहरू
तैपनि, उभिएको छ त्यो अटल
हो, म त्यै रुख बन्छु ।
थाहा छैन….
यो समयले दिएको पीडागीतको बदलामा
कहिले फिर्ता होलान हाम्रा अमूल्य मुस्कान ?
यतिबेला–
छाती भर्भराएको छ
आँखा फर्फराएको छ
आँत सुकेको छ
सास रुकेको छ
कृपया अब नसोध्नुहोस–
‘तपाईंलाई कस्तो अनुभव भइरहेको छ ?’
(स्रोत : संगम साहित्य चौतारी)