नहुँदा तिमी बतास आएन
जूनेली फिका प्रकाश आएन
बनेर बादल हराएँ तिमीमा,
नयनको तिम्रो आकाश आएन |
नारा यो सडकमा जारी भएछ
भोक र पहाड हाराहारी भएछ
भँगालोसरी फाटेर मनोभाव,
मुटुबाट देश पारी भएछ |
म आदर्श जिएर बदनाम
मदिरालयमा नपिएर बदनाम
थाकेर पलपल अभावका दौडमा,
भोकका नशाले खिएर बदनाम |
चुहुने छानाको अत्यास उस्तै
मन मनमा विरोधाभाष उस्तै
झुटको तेजाब पिलाई हरदम,
खोक्रो पेटको उपहास उस्तै ।
सर्वदा कालो बादलमा छु
अन्योलको गहिरो खाडलमा छु
हेरेर सखारै अभावका झण्डा,
देशको अनन्त कोलाहलमा छु ।
बसेर पलकमा प्रित जगायौ
हृदयमा प्रेमिल संगीत जगायौ
बनेर चमक हीराको जस्तो,
मरू जीवनमा हरित जगायौ ।
रक्तिम विगतको निशानी हरायो
त्याग र बलिदानको कहानी हरायो
मुलुकलाई अर्पिए जिन्दगी जसले,
तिनैले देखेको बिहानी हरायो ।
बसेर पलकमा प्रीत जगायौ
मुटुमा मिलनका संगीत जगायौ
बनेर चमक हीराको जस्तो,
मरू जीवनमा हरित जगायौ ।
सपनाको महल ढालेर रमायौ
झुट्टा नारा फलाकेर रमायौ
बेचेर सपूतको बलिदानी गाथा,
संविधानको खाका फालेर रमायौ ।
बस्तीमा खुसीको प्रकाश हरायो
छाप्रोमा राहतको आभास हरायो
आमाको हुर्मत लुटेर तिमीले,
समुन्नत नेपालको आस हरायो ।
रित्ता भाँडाको संगीत अजम्मरी
खुला आकाशको शीत अजम्मरी
बाढी र हुरी खपेर जीवनमा ,
थाप्लो र नाम्लोको प्रीत अजम्मरी ।
हिटलरी लबेदा सिउँदैछ मान्छे
मान्छेकै आँसु पिउँदैछ मान्छे
बिर्सेर विश्व बन्धुत्व भाव ,
मसाने जिन्दगी जिउँदैछ मान्छे ।
बुद्ध र गान्धीलाई सराप्छ मान्छे
मृत्युका फेहरिस्त छाप्छ मान्छे
थापेर चिता मानव शिविरमा ,
अवसानका अस्थि नाप्छ मान्छे ।
प्रदेश मनको रेगिस्तान भो
बेइमानी वाचा वरदान भो
मुर्झायो गुराँस आस्थाको जब,
शकुनीको भव्य सम्मान भो ।
ठूलो मान्छे बन्नलाई पढ्नु पर्छ साथी
कुलत छाेडी सन्मार्गमा बढ्नु पर्छ साथी
बगाएर आफ्नै देशमा पसिनाको खोलो,
प्रगतिको शिखरमा चढ्नु पर्छ साथी ।
झूठको तेजाब पिउँदैछु यहाँ
उध्रेको स्वाभिमान सिउँदैछु यहाँ
बनायौ गुमनाम झण्डालाई जब,
धरती झैँ फाटेर जिउँदैछु यहाँ ।
उसले उसलाई सुरा पिलाउँछ
पार्श्व धोका उसलाई दिलाउँछ
सुरा नाता अमर बनाउँदै,
मदिरालयमा हात मिलाउँछ ।
नारा यो सडकमा जारी भएछ
भोक र पहाड हाराहारी भएछ
भँगालो सरि फाटेर मनोभाव,
मुटुबाट देश पारि भएछ ।
अन्यौलको कालो बादलमा छु
त्रासको गहिरो खाडलमा छु
हेरेर सखारै अभावका झण्डा,
देशको अनन्त कोलाहलमा छु ।
गुन्यू र चोली फाटेर गयो
मुस्कानले आज ढाँटेर गयो
देखाई छाप्रो, नाम्लो र डोको,
भाषणले झुट साटेर गयो ।
आफ्नै आँखाको नानी हरायो
तिमी बसेको निशानी हरायो
जलायौ मन पारेर खरानी,
उदायो रात बिहानी हरायो ।
आकाश नीलो बादल छ उस्तै
भोकले मान्छे कायल छ उस्तै
फरक के भो ? भाषणले तिम्रो,
कपटले मुलुक घायल छ उस्तै ।
सम्झेर तिमीलाई बहार आयो
औँसीमा चाँदको आकार आयो
बढेर निश्वास आगमनले तिम्रो,
देहमा रूमानी झङ्कार आयो ।
एकताको गुराँस मारेर उभियौ
दासताको जालमा पारेर उभियौ
बिर्सेर स्वाभिमानी चन्द्र र सूर्य,
अखण्डताको बरखी बारेर उभियौ ।
हृदयमा देशको गरिमा बिलायो
रगतले कोरिएको सीमा बिलायो
स्वाभिमानी गाथा बेचेर तिमीले,
झण्डामा सपूतको प्रतिमा बिलायो ।
पदचापले तिम्रो पुलकित बनायो
रात भो बेग्लै विस्मित बनायो
बिलायो स्वरूपले अँधेरी जब,
बाहुपासले चित्त पल्लवित बनायो ।
चुहुने छानाको अत्यास उस्तै
मन मनमा विरोधाभाष उस्तै
भएर निर्वासित आफ्नै भूगोलमा,
खोक्रो पेटको उपहास उस्तै ।
डोरी सर्प प्रतीत हुन्छ यहाँ
भोकले सगरमाथा छुन्छ यहाँ
पिलाई भयको तेजाब हरदम,
देशान्तर मुर्कट्टा चुन्छ यहाँ ।
अहमको धुनी ताप्छ मान्छे
मान्छेलाई मौन सराप्छ मान्छे
कपटको मृदङ्ग बजाई हरपल,
नेपथ्यमा छुरा अर्जाप्छ मान्छे ।
(स्रोत : Umesh Luitel’s Facebook)