दउँसोको समय थियो । प्रचण्ड गर्मी थियो । खेतको आलीमा बकुलाहरुको ताँती थियो । फरूवा खेलाउँदाखेलाउँदै थाकेका जुगरा र उसको छोरा फगुना रूखको छहारीमा सुस्ताउँदै थिए । कसैको आगमनले आत्तिएका बकुलाहरु तर्सिएर एकाएक पखेटा फट्फटाउँदै उड्न थाले । त्यो आगमन अरु कसैको नभएर तिनीहरुकै जमिनदार भक्तबहादुरको थियो । ऊ कमैयाहरु खेतमा काम गर्दै छन् कि छैनन् भनी हेर्न आएको थियो । ऊ एक हातले कालो छाता समातेर बडो सतर्कतापूर्वक आलीमा पाइला चाल्दै थियो ता कि उसको टलक्क टल्किएको जुत्ता र सुकिलो कमिजमा हिलो नलागोस् । ऊ जुगरा र फगुनालाई आराम गरेको देख्नासाथ कराउन थाल्यो, ‘ए अल्छी मोराहरु हो, तिमीहरु यसरी आराम गरेर के गर्न खोज्दै छौ ? तिमीहरु चाहन्छौ कि मैले हलो जोतूँ ? धान रोपूँ ? दुनियाँको रोपाइ सकिन आँटिसक्यो । आफ्नो भने सुरसारै छैन ।’
‘त्यसो होइन मालिक, काम गर्दा गर्दा जिउ गलेर एकछिन यसो थकाइ मारेको मात्र हो ।’ मालिकलाई शान्त पार्न खोज्दै जुगरा काममा लाग्यो । फगुनालाई भने जमिनदारलाई फरूवाले छप्काइदिऊँ जस्तो लाग्यो तर त्यो उसको क्षणिक आवेग मात्र थियो ।‘हाम्रो मालिक त कस्तो सन्काहा ! पागल जस्तो छ ।’ फगुनाले बाबासँग साउती गर्दै भन्यो । जमिनदार हिँडिसकेपछि फेरि उसले भन्यो, ‘मालिककी एउटी बहिनी थिई रे । बिहे हुन नसकेर बुढीकन्या बसेकी । एक जना लक्का जवान कमैयासँग रातारात गायब भई । कसैलाई पनि थाहा भएन तिनीहरु कता गए । नाङ्गो तरबार हावामा नचाउँदै त्यस दिन मालिक पागल झैँ भएका थिए रे ।’
‘चुप लाग्, मालिकले यस्तो कुरो गरेको सुने भने के गर्छन् ! तँलाई थाहा छैन ?’त्रसित हुँदै जुगराले फगुनालाई हप्कायो ।
पश्चिमको क्षितिजमा अस्ताउन लागेको सूर्य रक्तिम रङमा परिणत भयो । चराहरु चिरबिर चिरबिर गरिरहेका थिए । पहाडबाट दक्षिणतिर आकाशमा बकुलाहरु माला गाँसे झैँ लहरमा उडिरहेका थिए । काम सकेपछि दुबै जनाले नजिकको खोलामा हातखुट्टा धोए । राँगाको जुवामा हलो अड्याई छत्री पिठिउँमा टाँगेर घरतिर हिँडे । खेतवरपर अरु कमैयाहरु पनि थिए । मानौँ तिनीहरुलाई कुनै हतार थिएन । शिथिल पाइला आफ्नै गतिमा चाल्दै थिए । राँगाहरु पनि दिनभरिको जोताइले निकै थाकेका थिए । तिनीहरुको पेट भासिएको खाल्डो झैँ थियो । तिनको करङ एक एक गरी सजिलै गन्न सकिने थिए । तिनको पदचाप सुन्दा खोलाको किनारमा बसी ‘ट्वार्र ट्वार्र’ कराइरहेका भ्यागुताहरु वेगसाथ खोलाको पानीमा हाम फाल्दै थिए । ‘चुप्लुङ चुप्लुङ’ आवाज निस्किरहेको थियो । अँध्यारोले ढाक्दै गएको बाटोमा जुनकिरीहरु मसाल बोकेर अँध्यारोका विरूद्ध फुत्त फुत्त जुलुसमा निस्किँदै थिए ।
जुगराकी श्रीमती फुलमाया ओसरामा बसेकी थिई । बासमती चामलको भातको बास्ना तिनीहरुको नाकसम्मै आइपुग्यो । गाउँभरिको रोपाइ सकिएकोले घरमा सामूहिक हरकिहुवा भोज हुँदै थियो । जुगराले भोजमा सामेल हुन मालिकसँग अनुमति माग्यो, ‘मालिक आज बडघरको
घरमा भोज छ । म पनि जाऊँ कि जस्तो लागिरहेको छ ?’
‘ए ! तँ पनि भोजमा जान्छस् ?’
‘हजुर मालिक ।’
‘एक्लै जान्छस् ?’
‘जहानलाई पनि लग्छु मालिक ।’
‘ठिक छ ठिक छ, जहानलाई पनि लग् । जाँड खा, मासुढिव्रmी खा, रमाइलो गर ।’ जमिनदारको मुखबाट यस्तै शब्दहरु झ¥यो विनाबास्नाको पलाँसको फुल फुतु फुतु झरे झैँ । यसका विपरीत जुगरा निराश र गम्भीर देखियो । यसैले जमिनदारले पुनः प्रश्न गरे, ‘के भयो तँलाई ?’
‘देहरीमा एक गेडो अन्न छैन मालिक, अरुका भुराभुरीले राम्रो लाएको र मिठो खाएको देख्दा आफ्ना भुराभुरीले घुटुघुटु थुक निलन्छन् । त्यो देख्दा मन साह्रै रून्छ मालिक ।’ उसले आफ्नो विरक्तिको कारण जमिनदारका अगाडि राख्यो ।
‘ए ! त्यसो भए तँलाई खर्च चाहियो ?’
‘हजुर मालिक ।’ उसले सहमति जनायो । जमिनदारले उसलाई पाँच सय ऋण दिए ।
उसले तमसुक गरिदियो । उसले पहिले लिएको ऋण छँदै थियो । त्यसमाथि पाँच सय थपियो । यो पाँच सयले भविष्यमा कुन रुप लिने हो त्यो भन्न सकिन्न । जेहोस् एक दिन भए पनि आफ्ना जहानलाई मिठो मसिनो खुवाउने धोको पुरा हुने भयो । ऊ मक्ख थियो ।
बडघरको आँगनमा सबै जना गोलाकार रुपमा भेला भएका थिए । मान्छेहरुको ओहोरदोहोर चलिरहेको थियो । कोही मदिराले छल्किएको प्यालामा ओठ डुबाउँदै भन्दै थिए, ‘आफूलाई सम्हाल्ने गरी पिउनू है ।’
कोही आउँदै थिए ।
‘आउनुस्, बस्नुस् बस्नुस् ।’ बडघर आगन्तुकहरुको स्वागत गर्दै थियो । त्यही मेसोमा चिम्से अनुहार लिएर चिलिमे बुढो ‘टक्¥याक टक्-याक’ पौवा बजाउँदै आइपुगे ।
‘अहो ! बाजे आइपुग्नुभयो ?’ फगुनाले बस्ने ठाउँ छाड्दै भन्यो ।
‘अँ आइपुगेँ ।’ बुढाले ‘ख्याँ ख्याँ’ गर्दै खोकेर भने ।
‘बाजे यो पौवा त गजबको छ ! पौवा लगाउने बानी परेपछि अरु मनै पर्दैन । बजारको चप्पल दुई दिन चल्दैन । कतै टाढा हिँडेको बेला फित्ता छिनेर कम दुःख हुँदैन । बाजेले खुब चिलिम तान्नुहुन्थ्यो हो ?’ बुढाले निकै ‘ख्याँ ख्याँ’ गरेपछि उसले सोध्यो ।
‘त्यसको त कुरै नगर । तिम्रो जस्तो जवानीमा त होडबाजी नै चल्थ्यो । कसले कति चिलिम रित्याउन सक्छ भनेर । त्यसमा म सधैँ अगाडि हुन्थेँ । बिस पच्चिस चिलिम नरित्याएको दिनै हुँदैनथ्यो ।’ आफ्नो विगतप्रति बुढाले गर्व गरे । अन्दीको जाँड र ढिव्रmीको स्वाद लिएपछि
फेरि भन्न थाले, ‘जाँड त जति छिप्पियो त्यति कडा र लाग्ने हुन्छ ।’
कोही आएर एउटा खुट्टा भाँचिएको पिर्कामा बस्दा उत्तानो परेर ढुनमुनियो ।
‘जानुस् जानुस्, तपाईंले निकै पिउनु भए जस्तो छ ।’ केही उरन्ठेउला केटाले भर्खर आएको बिचरालाई जबरजस्ती पठाइदिए । कोही कोही भने डफ बजाएर गाउन सुरू गरे ।
‘अहो ! सुर न तालको कौवा जस्तो रूखो के गाएको होला ! मलाई देऊ म गाउँछु ।’
बुढाले पहिले ‘खाँ खाँ’ गरेर कुनै उस्तादले जस्तो गला सफा गरे । अनि दायाँ हातको हत्केलाले डफ हान्दै औँलाहरुले ताल दिन थाले । त्यही तालको गहिराइमा डुबेर मिठो आलाप निकाल्दै गाउन थाले, ‘अरे ह अँ … ।’ उनले यताउता नजर घुमाउँदा सबै जना शान्त थिए । रातको
सुनसान वातावरणमा सुमधुर सुरतालको गुञ्जन टाढा टाढासम्म फैलिँदै थियो ।
‘अरे वाह ! बाजे, यो उमेरमा पनि क्या गाउनुहुन्छ !’
‘शब्द शब्दको मर्म बुझेर हृदयको गहिराइबाट गाउन सक्नुपर्छ । गीत आफै मिठो हुन्छ ।
तिम्रो उमेरमा म नाचको मण्डले थिएँ । खुब गाइन्थ्यो नाचिन्थ्यो । अब बुढो भएपछि जोस जाँगर मर्दै गयो ।’ आफ्नो प्रशंसा सुनेर भावुक हुँदै बुढाले भने ।
दिउँसो गर्मी भए पनि राति पानी परेकोले हल्का चिसो थियो । यसैले फगुनाले एउटा पातलो च्यादर ओढेको थियो । उसले च्यादरभित्रै आङ सिरिङ्ग गर्ने वस्तु भएको अनुभव ग-यो । त्यसको बेवास्ता गर्दै ऊ निदाउन खोज्यो । खुट्टामा त्यही वस्तु लहरा झैँ बेरियो । उसको मनमा चिसो पस्यो । उसले च्यादरभित्र बिस्तार हात छिरायो । त्यसलाई बाहिर निकाल्यो र आत्तिएर एक्कासि चिच्यायो, ‘साँप … ।’
उसले त्यहाँभन्दा बढी बोल्न पाएन । गोमन सर्पले ‘फ्याँ’ गर्दै विषदन्त उसको निधारमा गाड्यो । फणा फैलाएर जिब्रो लपलपाइरहेको गोमन सर्प उसको हातमा डोरी बेरिए झैँ बेरियो ।
ऊ चिच्याउँदै खटियाबाट भुइँमा लड्यो ।
‘के भयो ? के भयो ?’ बुढाबुढी र भुराभुरी कराउन थाले ।
फगुनाको मुखबाट फिँज निस्किन थाल्यो । उसको श्वास प्रश्वास अवरूद्ध हुँदै गयो । उसको मुटुको चाल अनियमित हुन थाल्यो । ढिब्री बाल्दा गोमन सर्प भित्ताको प्वालबाट बाहिर निस्किँदै थियो । त्यो देखी फुलमाया रूँदै चिच्याई, ‘लौ न फगुनाको बाबा, मालिकलाई बोलाउनुस् ।’ ऊ हस्याङफस्याङ गर्दै मालिकको घरतिर दौडियो ।
‘मालिक मालिक, उठ्नुस् न मेरो छोरोलाई सर्पले टोक्यो । उठ्नुस् न केही गर्नुस् मालिक ।’ ऊ सहयोगका लागि जोड जोडले चिच्याउन थाल्यो । मालिकको दुवार ढक्ढकायो । कसैले दुवार खोलेर हेरेनन् । त्यसपछि ऊ गुरूबालाई बोलाउन कुद्यो । गुरूबाले आएर फगुनाको नाडी छाम्यो । नाडी चल्न छाडिसकेको थियो । मुटुको धड्कन चलेको छ कि छैन भनी छुट्ट्याउन सकिने अवस्था थिएन । सबै प्रयत्न असफल भयो ।
‘तँलाई केही हुन्न छोरा, हेर् आँखा खोल् छोरा, आँखा खोल् ।’ उसले करूण चित्कार ग-यो ।
‘हे भगवान् ! हामीसँग कुन जुनीको बदला लियौ ?’ फगुनाले निकै बेरसम्म हलचल नगरेपछि आकाशतिर हेर्दै विलाप ग-यो ।
रजनी उज्यालिँदै गर्दा फगुनाका आँखामा मृत्युको कालो बादल छाइसकेको थियो ।
(स्रोत : शब्दाङ्कुर चैत २०७०)