“आमा,बाबा, म सोमुसँग पुरानो मुस्ताङ हेर्न जाउँ है ।” मुक्तिनाथको थकाइ मेटिएपछि अभिनवले बाबासँग मायालाग्दो पारामा भनेको थियो ।
“पख् मेरो फुर्सत छैन । भरपर्दो मानिस फेला परेमा पठाइ दिउँला । यहाँबाट धेरै टाढा पर्छ,पुरानो मुस्ताङ”बाबाको कुरा सुनेर अभिनव खिस्रिक्क परेको थियो ।
“सोमुलाई लिएर गए हुँदैन बाबा ? उसका मीत पनि छन् रे लोमान्थाङमा । सोमु त एक्लै पनि आउने जाने गर्छ रे !” अभिनवले अझै कर गरेपछि बाबाले सबैसँग बुझेर सोमुसँग पठाउने मञ्जुरी दिनुभएको थियो ।
“होइन के भन्नुभएको तपाइँले,सोमुको भरमा यसलाई कसरी पठाउने ? केही भइहाल्यो भने ? दुबै साना छन !”आमाले बिरोध गर्नुभएको थियो ।
“तिमी पिर नगर न,मैले सबै बुझिसकें । सोमुको आमाले पनि फरक पर्दैन भन्नुभएकोले पो यसको रहर पुगोस् भनेर जाओस् भनेको त । यहाँबाट भरपर्दो र चिनेको मान्छेलाई घोडामा जिम्मा लाएर पठाउँला,भएन ! नयाँ ठाउँ घुमेर नयाँनयाँ ठाउँ देखोस् न ।”बाबाले अमालाई राम्ररी सम्झाउनुभए पछि बल्ल अभिनवको अनुहार उज्यालो देखिएको थियो ।
“सोमु र घोडा लिने दाइलाई नछाड्नू नि ! तिमी बाबुछोरा मैले भनेको मान्ने होइनौ !” आमाले हिंड्ने बेलामा पनि सम्झाउनु भयो ।
“मुस्ताङको मुख्य बजार र पुरानो राज्य असाध्यै रमाइलो छ । मैले मीतज्यूलाई यो बिदामा आउँछु भनेर भनेको पनि थिएँ । त्यहाँको बारेमा उनलाई मलाई भन्दा पनि धेरै बढी कुरा थाहा छ ।” सोमुले बाटामा हिंड्दा भन्यो । अभिनव र सोमु दुबैजना घोडामा थिए । घोडा लिएर आएका दुईजना दाइहरू पनि असाध्यै बेस रहेछन् । उनीहरूले पनि धेरै नयाँ कुरा बताए ।
“बाख्राजस्तै देखिने ती बाख्रा त होइन । भेडाहरू सँगै चरिरहेका ती के हुन सोमु ?” बाटोपारिको चौरमा चरिरहेका बस्तु देखेर अभिनवले सोध्यो ।
“ए त्यो,गाई त हो नि । तिम्रो तिर गाई हुँदै न र ! भेडा, बाख्रा, च्याङ्ग्रासँगै भुइँथाकल चरिरहेका ती गाईलाई यतातिर लुलु भन्छन् बुझ्यौ ।” ती गाई मोटाएका बाख्राभन्दा धरै ठूला देखिंदैनथे ।
बाटामा उनीहरू बसेका ठाउँदेखि नै बिदेशी पर्यटकहको दोहोरो लाम देखियो । कोही बाटा छेउका पसल–होटेलहमा थकाइ मारिरहेका थिए, कोही चारैतिरको फोटो खिचिरहेका देखिन्थे ।
अभिनव र सोमु जोमसोम बस्तीबाट पुरानो मुस्ताङ शहरतिर लागे । साँझ झमक्कै परेपछि मात्र उनीहरू बीस–बाईस घरमात्र भएको एउटा पातलो बस्ती फेला पारे ।
“यो गोराहरूको बस्ती हो । यो बस्तीबाट अलि उता ठूलो पर्खाल देख्यौ, हो त्यही चारैतिरबाट घेरेको पर्खालभित्र यहाँको पुरानो शहर छ लोमान्थाङ ।” सोमुले बताए पछि अभिनव केही बेर त अक्कनबक्क प¥यो ।
“पर्खालले घेरेको शहर रे ! गारा भनेको चाहिं के नि ?” उसले सोमुको कुरा नबुझेर सोध्यो ।
“ हो, पर्खालले घेरेको शहर ! धेरै पहिले मुस्ताङ छुट्टै राज्य थियो रे । त्यसलाई ल्हो राज्य भन्थे ! त्यतिबेलाका राजाहरू बस्न भनेर यो राजधानी शहर बनाएको रे । राजा को सुरक्षा गर्न र शत्रुले हमला गर्न नसकून भनेर शहरलाई यसरी चारैतिरबाट बलियो र अग्लो पर्खालले घेरेको रे, बुझ्यौ ! किल्ला भनेको यस्तै त हो नि” सोमुले बेलीबिस्तार लायो।
“अनि गारा भनेको चाहिं के नि ।” अभिनवले फेरि सोध्यो ।
“ए. तिमी छेत्री–बाहुन, हामी थकाली भने जस्तै कामीथरका मान्छेलाई यतातिर गारा भन्छन् । यिनीहरू पर्खाल भित्रको शहरिया मान्छेको अन्न पिन्ने, कुट्ने काम गर्छन् ।” उसले अथ्र्यायो ।
उनीहरू त्यो पर्खालको एकठाउँमा रहेको ठूलो ढोकाछेउ पुगे । एउटै खापाबाट बनेको त्यो काठको ठूलो ढोका दश–बाह्र वर्ष अघिसम्म राती सधैं बन्द हुन्थ्यो रे । रेखदेख नपुुगेर ठाउँठाउँमा पर्खाल भत्केपछि बन्द गर्न छाडेका रे ! पर्खाल फराकिलो र पाँचकुने थियो । पर्खालको ५०–५० मिटर जति फरकमा चारैतिर खुला देखिने गोलो–गोलो आकारका तेह्रवटा कोठाहरू देखिन्थे । त्यस्तो कोठालाई बुर्जा भन्दारहेछन् । पहिले यस्तो बुर्जा सत्रवटा थिए रे । बुर्जाबाट शहरको बाहिर चारैतिर राम्ररी देखिंदो रहेछ ! शहर बाहिर कहाँ के भएको छ भन्ने कुरा सजिलैसँग हेर्न सकिने गरी यी बुर्जा बनाइएका रहेछन् । अभिनवहरू त्यो ठूलो ढोकाभित्र पसे । अभिनवलाई अर्कै नौलो दुनियाँमा पाइला हाले जस्तो लाग्यो ।
“ओहो मीतज्यू आएछ, ऊ को नि ?” पर्खालको त्यो ठूलो ढोकाबाट पसेर केही बेर हिँडेपछि उनीहरू एउटा घरमा पुगे ।
त्यहाँ उनीहरूकै उमेरको एउटा केटोले स्वगत ग¥यो । उसले बख्खु र दोचाजस्तै देखिने लुगा र जुत्ता लाएको थियो । लामो कपाल पालेर कोरीबाटी गरेको थियो । घाँटीमा पोतेजस्तै नीलो रातो पत्थरको माला थियो । देवीदेउताको फोटो भएको अर्काे माला पनि घाँटीमा झुण्डिएको देखिन्थ्यो । यहाँ आएदेखि नै अभिनवले केही लोग्नेमान्छे–स्वास्नीमान्छेका साथै केटाकेटीले समेत त्यस्तै पहिरन गरेको देखेको थियो । त्यसो हँुदा उसलाई अनौठो भने लागेन ।
जाडो ठाउँ भएकोले यिनीहरूले पनि तिब्बतका मान्छेहको जस्तै लुगा लाएका होलान्,उसले अनुमान ग¥यो । अझ केही लोग्ने मानिसले कम्मरपेटी जस्तै देखिने पटुकामा एउटा सानो छालाको बट्टा भिरेका देखिन्थे । केटा र केटीहरू त्योे छालाको बट्टामा सानाठूला सियो राख्दा रहेछन् । यो त्यहाँका लोवाहरूको चलनै हो रे,घोडा डो¥याउने दाइले भनेका ।
”लोवा भनेको चाहिं के हो नि ?”अभिनवले सोधेको थियो ।
“ मुस्ताङका रैथानेहलाई लोवा भन्छन् । सुरुमा तिब्बतबाट आएर मुस्ताङको उत्तरी सिमानामा बसोबास गर्न थालेका मानिस नै लोवा हुन्,बुझ्यौ बाबु ! यिनीहरूलाई लोथा र लोता पनि भन्छन् । यिनै लोवाहरूले राज्य गरेका पुरानो मुस्ताङ राज्यको राजधानीको नाम ल्हो मान्थाङ हो । त्यसैले ल्हो मान्थाङका बासिन्दालाई लोथा पनि भन्छन् । मुस्ताङको नाम पनि लोमान्थाङबाटै बनेको भन्छन् ।”अभिनवलाई यो बताउने उनीहरूरूसँगै आएका दाइ पनि यतैका भएकाले सबै कुरा थाहा रहेछ ।
यिनीहको बाबुबाजेको सम्पत्तिमा जेठो छोरो मात्रै हक लाग्छ रे । माहिलोलाई चाहिं भीक्षु बनाउन गुम्बा पठाउँदा रहेछन् । कान्छोले कि त जेठाको सहयोगी बन्न्ुापर्ने रहेछ, कि लामा बन्नुपर्ने रे । आफू छुट्टै बस्ने भए बाबुबाजेको घरसम्पत्ति सबै छाड्नु पर्ने रे ।
ती एकनासे घरमध्ये दुई–चारवटा चाहिं तीनतले देखिन्थे । नत्र केही घरहरू दुईतले र धेरैजसो एकैतले मात्र । एउटै आकारका घरहरूको भने छानो जोडिएको देखिन्थ्यो । निकै पर सबैभन्दा ठूलो एउटा पाँचतले घर पनि देखियो ।
“त्यो के नि ?”सेता कमेरा पोतेका ढुङ्गका घरहरूको छानाका चारै कुनामा राता कपडा फर्फराइ रहेका देखेर अभिनवले फेरि सोध्यो । घरका छाना सिलोट जस्तै पातला ढुङ्गाले छाएका देखिन्थे । घरहरू धेरैजसो एकअर्कासँग जोडिएका थिए । झ्यालको ठाउँमा सानासाना प्वाल मात्र थिए ।
“ए…त्यो,त्यो मन्त्र लेखेको घुम्ने मानेलाई छोर्तेन भन्छन् । त्यो कपडामा पनि मन्त्रहरू लेखेको हुन्छ ।”सोमुले जवाफ दियो ।
शहर भनिने उनीहरूको त्यो गाउँ दक्षिणबाट उत्तरतिर फैलिएको थियो । यो शहर धवलागिरि पर्वतको श्रृङ्खलाभन्दा १६ किलोमिटर मात्रै पर छ रे भनेको सुनेर अभिनवलाई अचम्मै लाग्यो ।
“सबैलाई सञ्चै छ, मीतज्यू ! मीतबा, मीतआमा चाहिँ काँ’ हुनुहुन्छ नि ? यी मेरा साथी अभिनव, काठमाणंौबाट घुम्न आएका । यिनका बाबा जोमसोममैं हुुनुहुन्छ !” सोमुले मीतसँगभन्योे ।
“सञ्चै छ,बा–आमा कुडाककाँ गा’का छन् ।” त्यो केटोले भन्यो ।
सोमुले आफ्नो मीतको नाम सोंङ्मा परबल विष्ट भन्ने बताइसकेको सकेको थियो । त्यताका मानिसको कुराकानी पहिले नै सुनिसकेको हुनाले सोङ्माको बोली भने उसलाई त्यति अनौठो लागेन ।
“लु खा ।” भित्र गएर बसेपछि सोङ्माले उनीहरूको अगाडि एक–एकवटा असाध्यै राम्रो भाँडोमा तात्तातो चिया दियो ।
“तिमी पनि खाऊ न सोङ्मा !” अभिनवले उसलाई पनि सँगै खान अनुरोध ग¥यो । हातैले छोइएला झैं हिउँले ढाकिएका हिमाल नजिकैको त्यो ठाउँ चिसैै थियो । त्यसैले मीठो स्वादको त्यो तातो चियाले अभिनवको जिउ नै गर्माइदियो ।
“कुडाक भनेको चाहिं को नि ?” अभिनवले नबुझेर सोध्यो ।
“हामी लोवाहमा कुडाक, सेल्मा र रिगहिन गरी तीनथरी छौं । तिब्बती भाषामा कुडाक भनेको राजाको खलक हो । उनीहरू पछि हामी सेल्मा पर्छौं । हाम्लाई कसैले विष्ट र ठकुरी भन्छन् कसैले लुम्बो ं। जमिन्दारको परिवार लुम्बो हो । अहिले त कुडाक पनि आफूलाई बिष्ट–ठकुरी भन्न थालेकाछन् । साधारण जनतालाई रिग्हिन भन्छौंंै, बुझ्यौ ! अघि यो शहरलाई घेरेको पर्खाल देख्यौ नि, हो त्यो पर्खाल भित्र यी तीनथरीले मात्रै घर बनाएर बस्न पाउँछन् । पर्खाल बाहिर गाराको बस्ती त देखिहाल्यौ होला ।” सोङ्माले लामै बेलीबिस्तार लायो ।
सोङ्माको घर तीनतले थियो । छिमेकका अरूचाहिं दुईतले देखिन्थे । पछि सोध्दा थाहा पायो,सबैभन्दा ठूलो र धेरै आकर्षक देखिने सेतो पाँचतले घर मुस्ताङ्गे राजाको दरबार रहेछ । त्यो दरबारभन्दा अग्लो देखिने एउटै मात्र रातो गुम्बा थियो । त्यो पर्खालभित्र गुथाङ, गुथाङ डोल्मा, पोतालिङ र ज्याथाङ नामका चारवटा टोल रहेछन् । राजाको दरबार र मानिसका घरहरू दक्षिणी र गुम्बाहरू उत्तरी खण्डमा बनेका रहेछन् । राजाको भन्दा अलि सानो तीन तलासम्मको घर लुम्बो वा सेल्माहले मात्र बनाउन पाउँछन् रे । साधारण जनताले दुईतलाको भन्दा ठूलो घर बनाउन नपाउने रहेछ । शहरको चारै कुनामा एकएकवटा छोर्तेन रहेछन् ।
त्यहाँका रमाइला कुरा र दृश्यमा रमाउँदा रमाउँदै साँझ पर्न आँटिसकेछ । भोलि रमाइला ठाउँ र गुफा कन्दराहरू हेर्ने सल्लाह मिलाएर आज उनीहरू त्यही बस्ने भए । सोमुका मीतबा र मीत आमा पनि उनीहरूलाई देखेर असाध्यै खुसी हुनुभयो ।
(स्रोत : बालकथा सङ्ग्रह : “यती, अन्तरिक्ष र गाउँघरका कथा” )