टङ्कप्रसादलाई आज पश्चिमतिरको साइकलको यात्रा औधि रमाइलो लागिरहेको थियो। साइकलको क्यारियरमा आफ्नी धर्मपत्नी कोमल बसेकी थिइन्। साइकलका पेडलमा खुट्टाहरू घुमाउँदा टङ्कप्रसादलाई दन्त्यकथाहरूमा सुनेको वायुपङ्खी घोडाका पखेटाहरू फटफटाइरहेको भान भइरहेको थियो। खुसीहरू छचल्किएर पोखिइरहेका थिए। उसलाई यी पोखिएका खुसीहरूले पछाडि बसेकी आफ्नी प्रिया कोमललाई सर्वाङ्ग भिजाइरहेको अनुभव भइरहेको थियो।
साइकलका ह्यान्डलमा हात, पेडलमा खुट्टा र भान वायुपङ्खी घोडाको भए पनि टङ्कप्रसादको मन समययन्त्रमा बसेर दुई वर्षपहिलेको समयमा पुगिसकेको थियो। त्यसबेला टङ्कप्रसादको विवाह भर्खरै भएको थियो। सायद एक दुई महिना भएको हुँदो हो। बसाइ थियो आयाबारीमा र जागिर स्थानीय माद्यमिक विद्यालयमा शिक्षक। घरमा उसका परिवारका सदस्यहरू थिए स्वयम् ऊ, उसकी प्रिया कोमल, विमाता कालिकादेवी, विमाताकी बहिनीको छोरो नरेन्द्र र उसका दुई भतिजाहरू गेहेन्द्र र नीलमणि।
उसको समययन्त्रको यात्रालाई प्रिया कोमलको कोमल आवाजले पुनः वर्तमानमा ल्यायो। उनी भनिरहेकी थिइन्-‘हेर्नुस् त! कति राम्रो पुल! एक छिन त्यो रूखको छायामा बसौँ न है?’ उसले पुलुक्क अगाडि हेर्यो। सामुन्ने रहेछ नागरडुब्बाको पुल र त्यसअगाडि ठूलो आँपको रूख! कठै बरा! उसलाई त भित्रैबाट उकुसमुकुस भएर आयो। पस्चातापका पसिनाले उसलाई निथ्रुक्क भिजायो। सोच्यो- मैले कति अन्यायमा उनलाई थुनेर राखेको रहेछु! साधारण पुल देखेरै उनी यति खुसी भइन भने अलिक राम्रै ठाउँमा घुम्न जान पाए? साइकललाई बाटाका छेउमा राखेर उनीहरू आँपको रूखको छायामुनि बसे। आँपको रूखको छायामा बसेर शीतल ताप्ता टङ्कप्रसादको मन पनि आँपको फलझैँ अमिलोबाट गुलियो हुँदै गइरहेको थियो। पारीपट्टि खेतमा एक जोडी खेतमा उठेका डल्लाहरू फुटाइरहेका थिए। उसलाई लाग्यो उसका केही व्यवहारका डल्लाहरू पनि यसरी नै फुट्नुपर्छ। ती जोडीका शरीरमा नगन्य लुगा भए उनीहरू अत्यन्त खुसी देखिन्थे। अनायास उसले महाकवि देवकोटालाई सम्झ्यो- गरिब भन्छौ , सुखको मझैँ धनी……….। उसलाई लाग्यो कोमल र ऊ पनि त्यही स्थितिमा भएको भए कति खुसीहरू बटुलेर डालामा हाल्थे होलान्। उसले पुलुक्क प्रियाका आँखामा हेर्यो -उनका आँखाहरूले पनि ठ्याक्कै त्यसै भनिरहेका थिए।
केही समयको विश्रामपश्चात् फेरि उनीहरूको वायुपङ्खी घोडाको यात्रा सुरू भयो। उसका आँखाहरू बाटामा र हातखुट्टाहरू साइकलमा व्यस्त भए। तर मन भने फेरि समययन्त्रमै चढ्छु भनेर जिद्दि गर्न लाग्यो, उसको केही लागेन। टङ्कप्रसादको विवाह भएको एक हप्ता भएको थियो। ऊ र उसकी प्रिया भर्खर माइत-ससुरालबाट आएका थिए। उसलाई बोलाएर विमाता कालिकादेवीले खरो आदेश दिएकी थिइन ‘टङ्क! तिमी अब ससुराली र कोमलका कुनै आफन्तकहाँ नजाने है!’ नवविवाहित टङ्कप्रसादले पारिवारिक परिचय पनि सकेको थिएन, यस्तो आदेशले ऊ त हल्लियो नै, साथै विस्मित पनि भयो। उसले कारण जान्न चाहेर प्रश्न गर्यो ‘किन र?’ त्यसको उत्तर विमाताको मुहारमा उम्लिएका भावहरूले समेत दिइरहेका थिए ‘किन भन्ने? तिम्रा ससुरालीले जन्तीप्रति गरेको अपमानको बदला लिन!’ उसले लाख सम्झने प्रयास गर्यो, आफ्नो विवाह। आफ्नो विवाहको दिन कुनै कुनामा पनि अपमानित भएजस्तो लागेन। फेरि सोध्यो ‘कसरी?’ फेरि पनि मनको रिस अनुहारमा समेत आएर पोखियो ‘त्यति पनि थाहा छैन? तिम्रा ससुरालीले जन्तीलाई बलेँसी चुहिएको धमिलो पानीमा पकाएको चिया दिए रे, मलाई चारूले भनेकी।’
उत्तर सुनेपछि उसका नौनारी गलेर आए। ओठ-मुख सुके। उसलाई यो कुरा साँचो हो भन्ने चाहिँ पटक्कै लागेको थिएन। विमाताको स्वभावबाट ऊ राम्ररी परिचित थियो। दस-बाह्र वर्षको विमातासँगको बसाइमा उसलाई कालिकादेवी नै यो संसारकी सबैभन्दा दुखी र प्रताडित नारी हुन् भन्ने कुराको विश्वास दिलाइएको थियो। दस-बाह्र वर्षको उमेर सायद मानव जीवनमा सबैभन्दा महत्त्वपूर्ण हुन्छ, यस उमेरमा मस्तिष्कले जे ग्रहण गर्यो त्यो चिरकालसम्म रहन्छ। टङ्कप्रसादको त्यो कलिलो मस्तिष्कमा यी कुराहरू भर्न स्वयम् कालिकादेवी, उनका मातापिता लगायत भाइबहिनी समेत लागेका थिए। ऊ पनि विश्वास गर्थ्यो साँच्चै कालिकादेवी नै यस्ती स्त्री हुन् जसले अब सुख मात्र पाउनुपर्छ, उनले पाउने धेरै दुख पाइसकिन्। धेरैजसो उनकै भनाइ मान्ने हुनाले कतिपय अवस्थामा उसले पारिवारिक मर्यादालाई पनि ख्याल गरेन अर्थात् आफ्नै मातापिताविरूद्ध पनि निर्णय लियो टङ्कप्रसादले। मनका अन्तरकुन्तरमा मैले गरेका कामहरू गलत हुन् भन्ने लाग्दालाग्दै पनि टङ्कप्रसादले दुखी नारीलाई अरू दुख नदिन ती कामहरू गर्दै गयो। उसका मनमा दुखी नारीको छवि बनाउने कलाकारहरूले कालिकादेवा दुखी हुनुको कारणचाहिँ दिएका थिए – अत्यन्त शोख र सुन्दर कालिकादेवीलाई टङ्कप्रसादका बुबाले बिहे गरेको छैन भनी झुक्याएर बिहे गर्नु र उमेर धेरै हुनु। अर्थात् बुढो मान्छेले राम्री र असल केटीको भविष्य बर्बाद पार्नु।
‘गल्नुभएन? फेरि एकछिन बसौँ न!’ प्रिया कोमलका वाक्यले फेरि टङ्कप्रसादको समययन्त्रको यात्रालाई रोक्यो, एक छिनलाई। उनीहरू साइकलबाट ओर्ले। चारआलीको जङ्गलको छेउमा पो आइपुगिएछ। जङ्गलको छेउको चौरीमा कोमल पलेँटी कसेर बसिन्। टङ्कप्रसादले उनको काखमा टाउको राखेर सामुन्नेको जङ्गललाई हेर्न लाग्यो। जङ्गलका छेउमा भएको सखुवाको रूखको हाँगामा एक जोडी गौँथली आएर बसे। टङ्कप्रसादले अनुभव गर्यो उनीहरू नै भुइँबाट उडेर गौँथली भएर हाँगामा बसेका छन्। भालेपोथी दुईजना मात्रै, न आफन्तको चिन्ता न सामाजिक रीतिथिति र मानमर्यादाको तगारो, स्वच्छन्द र स्वतन्त्र। उसले प्रिया कोमलतिर नफर्की गौँथलीमै नजर गाडेर भन्यो – ‘कोमल! यो गौँथलीको भालेले विमातालाई खुसी पार्नुपर्दैन होला, हगि?’ उनी केही बोलिनन्। एक छिनपछि उसका निधारमा पानीका दुई थोपा खसे। पुलुक्क उनीपट्टि हेर्दा उसले थाहा पायो मोतीका दुई दाना उनका नयनबाट फुत्केर उसको निधार हुँदै हृदयमा पुगिसकेछन्। भन्यो – ‘कोमल! तिम्रा आँखाबाट खस्ने यी मोतीका दाना अन्तिम होऊन्।’
अन्तरङ्ग क्षणहरूलाई आत्मसात् गर्दै उनीहरू फेरि बाटो लागे दक्षिणतिर। मन न हो, बारम्बार फर्किरहन्छ पहिलेतिरै। टङ्कप्रसादले हार खाएर आफूलाई पनि मनसँगै हुत्यायो विगतमा। विमाताको आदेश जे पनि मान्ने भन्दैमा टङ्कप्रसाद अविवेकी, राम्रो नराम्रो छुट्ट्याउनै नसक्ने मान्छेचाहिँ होइन। शिक्षाले मानिसको व्यवहारमा परिवर्तन नल्याए शिक्षाको कुनै अर्थ नै छैन भन्ने कुरामा विश्वास राख्दथ्यो ऊ। तर समाजले एउटा शिक्षित व्यक्तिले विमातालाई यस्तो व्यवहार गर्यो भन्ला भन्ने डर थियो उसका मनमा। मानिसको कतिपय चरित्र सामाजिक नभएर पारिवारिक मात्र हुन्छ जसका बारेमा समाजलाई थाहापत्तै हुँदैन। यदि यस्ता चरित्रहरू नराम्रा भइदिए भने त परिवारका सदस्यहरूले पाउनसम्म दुख पाउँछन्। सायद टङ्कप्रसादले यस्तै विश्लेषण गरेको थियो आफ्नो घरमा पनि।
उसले वास्तविकता बुझ्न खोज्दा उनले कालो अनुहार लाएर आँखाभरि आँसु पार्दै भनेकी थिइन् – ‘जन्तीलाई स्क्वास दिन भनेर दिउँसो तयार पारेको चिनी पानी उभ्रिएको थियो, त्यसैलाई किन खेर फाल्नु भनेर सानीमाले चिया बनाएर बाँड्नुभएको हो।’ यो सुनेपछि उसले कोमललाई ग्वाम्लाङ्ग अँगालो हालेको थियो। अगाडिको ऐनामा देख्यो उसको छायाका पनि आँखा रसाएका थिए। उसलाई अब लाग्न लागेको थियो ऊ चक्रव्यूहमा फँस्दै छ र निस्कने प्रयास गरेन भने धेरै ढिलो हुनेछ।
विवाहपछिका केही घटनाहरूले पनि टङ्कप्रसादलाई असजिलो परिस्थितिको आभासचाहिँ गराईसकेका थिए। ऊ स्वाभाविक रूपमा आफ्नी प्रिया कोमलसँग धेरै समय बिताउन चाहन्थ्यो। उसले धेरै सुनेजानेको मधुमास त परै जाओस् घरमै पनि श्रीमतीसँगको साहचर्यमा बाधा पुर्याउने खालका अनेक घटनाहरू घटाइन्थे। त्यसबेला पनि ऊ उकुसमुकुस भएर विस्फोट हुनचाहिँ नखोजेको होइन तर बिहे गर्नेबित्तिकै विमातालाई हेप्न थाल्यो भन्ने भनाइ आँउछ कि भन्ने डरले उसले आफैँलाई बिस्फोट हुनबाट बचायो। ऊ कोमलका निर्मल आँखाहरूमा हेर्थ्यो। सरलताले छताछुल्ल भएको अनुहार देख्दा उसलाई साह्रै हीनताबोध हुन्थ्यो, ग्लानि हुन्थ्यो। विषाद र कुण्ठाले उसका मनमा डेरा हाल्न थालिसकेका थिए।
एक दिन सायद व्यवहार राम्रै अवलोकन गरेर होला गेहेन्द्र र नीलमणिले भनेका थिए – ‘काका! विवाहपछि काकाकाकीको सम्बन्ध र व्यवहार सर्वोपरि हुन्छ है। पतिपत्नीको सम्बन्धभन्दा अरू सम्बन्धहरू गौण हुन्छन्, काका बुझिहाल्नुहुन्छ!’ त्यसबेला यस कुरालाई खासै ध्यान नदिए पनि पछि त्यस सल्लाहको गाम्भीर्य राम्रै गरी महसुस गर्यो टङ्कप्रसादले।
भतिजाहरूको सल्लाह र प्रिया कोमलको निर्मलताले उसमा अद्भुत साहसको सञ्चार भएको थियो। अर्को दिन ऊ स्फूर्त देखिन्थ्यो सायद राति निश्चिन्त निदाएकाले होला। विद्यालय जान खाना खाइवरी तयार भइसकेपछि उसले विमातालाई आफ्नो निर्णय सुनायो – ‘म आज कोमललाई लिएर उनकी सानीमाकहाँ भद्रपुर लिएर जान्छु।’ उसले सम्झ्यो कोमलले विवाह भएर आएदेखि सानीमासँग भेटघाट गर्न भद्रुपुर जाऔँ भनेकी थिइन्। उसको निर्णयले कालिकादेवीको अनुहार हठात् कालो भयो। मुहारमा तुफान आयो – ‘मैले भनेको बिर्स्यौ? यही हो तिम्रो औकात?’ उसले दृढ भएर भन्यो – ‘बिर्सेको छैन, तर आज म उनीसँग भद्रपुरचाहिँ जान्छु।’ यति भनेर, जबाफको आगमनलाई वास्तै नगरी उसले आफ्नो अठ्ठाइस इन्च अग्लो साइकल निकालेर आँगनमा ठड्यायो। इनारका छेउमा लुगा धोइरहेकी कोमलका छेउमा गएर भन्यो – ‘कोमल एक बजे तयार भएर बस्नू है! आज सानीमाका घरमा जानुपर्छ भद्रपुर।’ कोमलले आश्चर्यले टाउको उठाएर हेरिन्। उनका आँखाबाट बर्सेको प्रेमले नुहाउँदै टङ्कप्रसाद विद्यालयतिर हुइँकियो।
एक बजेसम्म तीनवटा कक्षाहरूमा पढाउँदा उसले आफूमा नवीन शक्तिको सञ्चार भएको अनुभव गरेको थियो। एक बजेपछि साइकलमा चढेर घर आउँदा कोमल तयार भैसकेकी थिइन्। विमाता कोठामा बसेर आफ्ना अस्त्रहरू चलाउन थालिसक्नुभएको थियो। अझ आफ्ना कुरा मनाउने ब्रम्हास्त्र – आँसुका बलिन्द्र धारा सुरू भइसकेका थिए। तर आज उसलाई ती सबैको वास्ता थिएन। उसले विमाताका सामु पुगेर बिदा माग्यो – ‘हामी हिँड्न लागेका।’ विमाताले राताराता आँखा पार्दै भन्नुभयो ‘त्यसो भए तिमी मैले भनेको नमान्ने?’ उसभित्र ग्लानि र अपमानले ज्वालामुखिको रूप लिइसकेको थियो जसको विस्फोटलाई थाम्न उसले आफूलाई असमर्थ पायो। उसका मुखबाट लाभा निस्क्यो -‘म तपाईँलाई सम्मान गर्छु! तर तपाईँले कोमल र मेरो सम्बन्धलाई आफ्नो मनखुसी नियन्त्रण गर्न पाउनुहुन्न र फेरि यस्तै भयो भने परिणाम तपाईँका लागि राम्रो हुनेछैन।’ ऊ निस्क्यो कोठाबाट । उसले उसका मुखबाट निस्केका लाभाले कसकसलाई डढाउने हो भन्ने हेक्का राख्न जरुरी सम्झेन। उसले भन्यो -‘हिँड कोमल।’ ऊ र कोमल साइकलमा लागे पश्चिमतिर।
सम्झनाका यानमा चढ्दाचढ्दै साइकल ठोक्कायो टङ्कप्रसादले ढुङ्गामा। सम्झनाका ज्वालामुखीले उसका आँखा झन्डै ढाकेका थिए र उसले ढुङ्गा देखेन। उनीहरू भद्रपुर पुगिसकेका थिए। कोमलले भनिन् – ‘चिया पिएर जाऔँ न हुन्न?’ उसले भन्यो -‘हुन्छ!’ र उनीहरू लागे चिया पसलतिर। पसले सँग चिया माग्दा चिया नपाइने जानकारी आयो। टङ्कप्रसादले प्रस्ताव राख्यो – ‘कोमल गर्मी पनि भएको छ चिसो पिऔँ न है?’ कोमलको सहमतिपछि उसले दुईवटा फ्यान्टा मगायो। फ्यान्टा आइसकेपछि उसलाई कुन्नि के मन लाग्यो फ्यान्टा खाने दुइटै पाइपलाई एउटै बोतलमा हाल्यो। उनीहरू आमनेसामने बसेका थिए। एकएकवटा पाइप मुखमा हालेर एउटै बोतलबाट फ्यान्टा पिउन थाले। ठीक आमनेसामने बसेका कोमल र टङ्कप्रसादका आँखा जुधे। टङ्कप्रसादका हृदयबाट प्रेम उसका आँखाको बाटो हुँदै कोमलका आँखामा र उनको हृदयमा गइरहेको थियो। कोमलले त्यस प्रेमलाई शब्दमा ग्रहण गरिन् -‘कोमल आजदेखि तिम्रा-मेरा बीचमा केही आउने छैन, न मूर्त, न अमूर्त। तिम्रा-मेरा बीचमा सबै बाधाहरू आजैदेखि हटे। अब हामीमा तिमी र म मात्र हुनेछौँ।’ कोमलका आँखाबाट फेरि मोतीका दानाहरू ओर्लिन खोजे तर यी दानाहरू खुसीका मोतीहरू थिए। पन्ध्र किलोमिटरको साइकलको यात्रामा अझै पन्ध्र किलोमिटर थपौँ थपौँ लागिरहेको थियो टङ्कप्रसादलाई ।
***********
2062 भदौ 27
(स्रोत : Kumud Adhikari’s Blog)