हामीले,
नदेखेको पनि देख्नेगरी
जब आँखा खोल्यौँ
हाम्रो विरान परिवारको साथी
उनै थिइन् ।
आफ्ना लागि कहिल्यै दुख्न नभ्याएकी उनी
हाम्रा शिशिर र हाम्रा बर्खाहरूमा
निरन्त हाम्रा लागि दुखिरहिन्
हाम्रा घरका उत्सव र पर्वहरूमा
हामीलाई नपरेको चटारो
उनलाई प-यो
परानुभूतिका हामीले नछिलेका गन्थ्रहरू
दिनदिन, घरघरमा
उनी बाँच्थिन्
मलामी जनेहरू–
इराङ्–तपन दोभानबाट फर्कंदा
तल, एक्लेपीपलमा चिया खान्थे,
उनले पकाएको चिया त चल्दैनथ्यो
उनले हाँसपोखरीदेखि बोकिल्याएका दाउरा चल्थे ।
विकासले पाइला नटेकेको त्यस भूगोलभरि
डाडु, पुन्यूँ, थाल, बटुका र भाँडाहरूमा
उनले आरनमा लेखेका महाकाव्यहरू छन्,
झुपडीबाट उठेर महलमा पसेका दुखका उद्गारहरू छन्,
पवित्र अर्घ चढाउने पात्रहरूमा,
अपवित्र नैनीको समाजशास्त्र छ
अनि, त्यसै गाउँमा छ कथा नैनीको
जसको मृत्युमा
मलामी जान भ्याएन गाउँ
भ्याए पनि चाहेन क्यार।
सबैको मलामी, नैनी नै नभएपछि,
आज दोभन पनि रोएको हुनुपर्छ,
र बगेको हुनुपर्छ नदीसँगै
एक विषद् शोककाव्य बनेर
बिरहको गाउँतिर ।
(स्रोत : Facebook )