लाम्टा चुस्दा चुस्दैको
दूधे बालक
मोहि पार्दा पार्दैको
मदानी
रोप्दा रोप्दैको
पाखो बारी
अनि बग्दा बग्दैको
एक ढिको आँशु
फ्ल्यासब्याकमा राखेर
मैच्याङले
दक्षिण बेग मारेको
एक दशक वितेछ
आज एक दशक पछि
हर्लक्क बढ्न बिर्सेको
ख्याउटे छोरो
नौनी नबन्दैको
अधकल्चो दही
अनि टक्क अडिएको
एक ढिको आँशु
मैच्याङको आगमनले
चलायमान छ
नजिकै
मैच्याङले उघारेको लगेजबाट
निस्किदैछ
सेरेलेक्स र हर्लिक्स
काजु बदाम र पेस्ता
डाल्ढाको घिउ
चारआना जग्गाको लालपूर्जा
यतिखेर
कान कान पुग्ने गरि
च्यातिएको ओठ बोकेर
छोरो हाँस्दैछ
सायद्
अघायो
सायद्
मोटाउला पनि
एउटा कुरा
पर्दा पछाडी
मैच्याङ
खङ्ग्रङै सुकेकी छे
(स्रोत : eJanata)